Category: अर्थ

  • मध्यपुर थिमिमा बजार अनुगमन तिब्र

    भक्तपुर, असोज ३०
    मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु भएसँगै मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो ।
    चाडपर्वको बेला मूल्यबृद्धि गर्ने, सामानको अनावश्यक भण्डारण गरी कृतिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, गुणस्तरहिन वस्तुको बिक्रि वितरण गरी उपभोक्ता ठगी गर्ने, अखाद्य एवम् म्याद गुज्रेका र लेवल नभएका वस्तु बिक्रि वितरण गर्ने प्रवृत्ति देखा पर्ने भएकाले बजारलाई स्वस्थ बनाई आम उपभोक्तको अधिकार रक्षाका लागि बजार अनुगमनलाई तिव्रता दिएको सामूदायिक शाखा एवम् महाशाखा प्रमुख तुलसीभक्त तकोले बताउनुभयो ।

    “चाडपर्वको समयमा बजारमा सामग्रीहरुको कृतिम अभाव हुन नदिन, अखाद्य बस्तुको किनवेच र कालोबजारीमा नियन्त्रण गर्न मध्यपुर थिमि नगरपालिकाको बजार अनुगमन टोलीले बजार अनुगमनलाई तिव्रता दिएको हो,” उहाँले भन्नुभयो ।

    उहाँले व्यवसायीलाई हत्तोत्सायी बनाउने भन्दा पनि उनीहरुलाई स्वस्थ र स्वच्छ वातावरणमा व्यवसाय सञ्चालन गरी आम उपभोक्ताको हित र रक्षाको लागि प्रोत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको बताउनुभयो ।
    नगरपालिका, प्रहरी, नगरप्रहरी र सञ्चारकर्मी सम्मिलित अनुगमन टोलीले मध्यपुर थिमिको मूख्य बजार क्षेत्र बहाखाबजार, शंखधरचोकलगायतका मिठाई पसल, किराना पसल, खाद्यान्न पसल, मासु पसल, मार्टमा अनुगमन गरी विभिन्न कमीकमजोरी औंल्याएर सुझाव तथा निर्देशन दिएको तकोले जानकारी दिनुभयो ।


    अनुगमनका क्रममा मिठाई पसल र मासु पसलमा सरसफाईको कमी देखिएको, मिठाई पसलले खाद्य अनुज्ञापत्र नलिई प्याकेजिङ गरिएको, व्यवसाय दर्ता नविकरण, ढक तराजुको जाँच नविकरण गरिएको पाईएको उहाँले बताउनुभयो । अनुगमनलाई दशैं बिदा अघिसम्म निरन्तरता दिईने र दशैंपछि पनि यसलाई नियमित गरी बजारलाई अनुशासित बनाउने उहाँले जानकारी दिनुभयो ।

  • आ.व. २०७९÷०८० मा शुभकामनाको मूनाफा २ करोड ६० लाख

    भक्तपुर, असोज २७
    भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गरेको छ ।
    गत आ.व.मा विभिन्न शिर्षकमा १४ करोड ६३ लाख ६ हजार ९९८ रुपैंया आम्दानी गरेको शुभकामनाले व्याज, कर्मचारी, व्यवस्थापन, कार्यालय सञ्चालन। सहकारी कार्यक्रम, क्षमता अभिबृद्धि, गैर वित्तिय कार्यक्रम, कर्जा जोखिम कोष, शेयर लाभांश र सुरक्षित पुँजी, कर योग्य वचत र आयकरको खर्च समेत कटाएर २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गर्न सफल भएको हो ।
    संस्थाको शनिवार सम्पन्न २३ औं वार्षिक साधारण सभामा संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो । उहाँले गत आ.व.को मसान्तसम्म २१ लाख ४८ हजार बृद्धि भई कुल १० करोड ७ लाख ३९ हजार ४ सय रुपैंया शेयर पुँजी रहेको बताउनुभयो । संस्थामा वचत निक्षेप ९२ करोड ६४ लाख ८९ हजार ९२ रुपैंया, जगेडा कोषमा १३ करोड ६२ लाख ६२ हजार ५०५ रुपैंया रहेको छ ।
    शुभकामनामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष शेयर सदस्य समेत बृद्धि भएको छ । संस्थामा आ.व. २०७८÷०७९ मा कुल ८ हजार ८१५ शेयर सदस्य रहेकोमा आ.व. २०७९÷०८० मा २३१ महिला, २३४ पुरुष र १२६ बाल वचतकर्ता बृद्धि भई ४४७८ महिला, ४११४ पुरुष, संस्था ९ र बाल वचतकर्ता ६८७ गरी कुल ९ हजार ४०६ शेयर सदस्य पुगेको संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले जानकारी दिनुभयो ।
    अध्यक्ष कासुलाले विश्वव्यापी आर्थिक मन्दी, सहकारी संस्थामा देखिएको आर्थिक संकटलगायतका कारण सहकारी प्रति सदस्यहरुको विश्वास कमजोर हुँदा पनि सदस्य केन्द्रीत र समूदायमा आधारित रहेर चलेका संस्थाहरुमा पनि छिटपुट समस्या देखिएको र स्थानीय बजारमाका सबै जसो व्यवसाय खस्किएको कारण सदस्यहरुको रोजगारी, उत्पादन तथा क्रयशक्तिमा कमी आएकोले अनुमान गरिए अनुसार वचत संकलन, ऋण लगानी नहुँदा मूनाफामा पनि कमी आएको बताउनुभयो ।


    साधारण सभाको उद्घाटन गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले सञ्चालक समिति, संस्थापक शेयर सदस्य, कर्मचारी, व्यवस्थापक सबैको सहकार्य, परिश्रम र मेहनतले सदस्यहरुको विश्वास आर्जन गर्दै शुभकामनाले आजको सफलता प्राप्त गरेको भन्दै प्रशंसा गर्नुभयो ।
    उहाँले सहकारीले निम्न र मध्यम वर्गिय नेपालीहरुको साना साना व्यवसायमा लगानी गरेर उनीहरुको जीवनस्तर उकास्न ठूलो सहयोग गरेको चर्चा गर्दै अहिले सहकारी क्षेत्रमा जुन समस्या देखिएको छ, यसलाई एक अर्कामा विश्वास गरी सहकार्य, समन्वय गरी हल गर्नुपर्नेमा जोड दिनुभयो ।
    सो अवसरमा शुभकामनाले छात्रवृत्ति वितरण गर्नुका साथै, असल ऋणी, असल वचत कर्ता, ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल वचत तथा ऋण सहकारी संघका सञ्चालक मन्दरा मिश्र, राष्ट्रिय सहकारी बैंक भक्तपुरका प्रवन्धक मुना केसी, जिल्ला सहकारी संघका कोषाध्यक्ष सावित्री धौभडेल, भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरी बल्ल, शुभकामनाका निवर्तमान अध्यक्ष न्हुछे कुमार त्वायना, प्रमुख सल्लाहकार बालमुकुन्द सुवाललगायतले सहकारी क्षेत्रमा आएको संकटका बावजुद शुभकामनाले उत्कृष्ट कार्य गरेको बताउनुभयो ।
    सूर्यविनायकमा आफ्नै भवनमा मूख्य कार्यालय रहेको शुभकामनाको भक्तपुरको नासमना र व्यासी गरी दुई स्थानमा सेवा केन्द्र रहेको छ । संस्थामा ऋण उपसमिति, शिक्षा उपसमिति, एक्सेस उपसमिति, पदपुर्ति उपसमिति, सामाजिक क्रिायकलाप उपसमिति, खेलकुद उपसमिति, प्रकाशन उपसमिति, व्याजदर परिमार्जन उपसमिति, महिला तथा बालबालिका उपसमिति, मृतक राहतकोष उपसमिति, लघुवित्त उपसमिति, नासमना सेवा केन्द्र व्यवस्थापन उपसमिति, व्यासी सेवा केन्द्र उपसमिति, कृषि तथा मल व्यवस्थापन उपसमिति क्रियाशिल रहेको संस्थाका उपाध्यक्ष निर्मला सुवालले जानकारी दिनुभयो । शुभकामनामा प्रवन्धक रेश्मी श्रेष्ठको नेतृत्वमा २५ जना कर्मचारी कार्यरत छन ।

  • मध्यपुर थिमि नगरपालिकाको गत आर्थिक वर्षको आन्तरिक आम्दानी २४ करोड

    भक्तपुर, असोज १७
    मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा २४ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखी ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजश्व शाखा गरी १० वटा संकलन केन्द्रबाट गत आ.व.मा २४ करोड १३ लाख ३८ हजार ७४८ रुपैंया आन्तरिक आम्दानी गरेको हो ।
    मध्यपुर थिमिले गत आ.व.मा नगर कार्यपालिकाको राजश्व शाखाले संकलन केन्द्रहरु मध्ये सबैभन्दा धेरै ८ करोड ५ लाख ३० हजार ८५८ रुपैंया आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिए ।
    वडा कार्यालयहरु मध्ये सबै भन्दा धेरै वडा नं. ३ ले आम्दानी गरेको छ । वडा नं. ३ ले ३ करोड ९८ लाख १७ हजार २२५ रुपैंया आम्दानी गरेको हो । वडाले ४ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखिएकोमा करिव ४ करोड संकलन गर्न सफल भएको बताउँदैं वडा नं. ३ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले भन्नुभयो, “व्यवसाय दर्ता अभियान अन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसल पसलमा पुगेर व्यवसाय दर्ताको लागि अनुरोध गरिएको र सो अनुसार करिव ४ सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिव ४ करोड राजश्व संकलन गर्न सफल भएको हो ।”


    वडा कार्यालयहरु मध्ये वडा नं. २ ले २ करोड २७ लाख ५५ हजार ७७४, वडा नं. १ ले २ करोड २२ लाख ४२ हजार ९५६, वडा नं. ४ ले १ करोड ९२ लाख ६४ हजार ६२०, वडा नं. ९ ले १ करोड ६३ लाख ८२ हजार ५८७ रुपैंया संकलन गरेको नगरपालिकाका सूचना अधिकारी एवम् महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिनुभयो ।
    यसैगरी वडा नं. ५ ले १ करोड ५० लाख ५५ हजार ९८, वडा नं. ६ ले ९७ लाख ५९ हजार २१७, वडा नं. ८ ले ८८ लाख ४६ हजार ८०० र सबैभन्दा कम वडा नं. ७ ले ६६ लाख ८३ हजार ७२४ रुपैंया आम्दानी गरेको सिलवालले बताउनुभयो ।

  • बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७ दिने सूचना

    भक्तपुर, असोज १७
    मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स प्रा.लि., तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरु र एस.ओ.एस. बालग्राम सानोथिमिलाई बक्यौता कर तिर्न असोज १६ गते ७ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
    एस.ओ.एस. बालग्रामले घरजग्गाको सम्पत्ति कर नबुझाएको र पटक पटक ताकेता गर्दा पनि अटेर गरेकोले सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
    ‘यस नगरपालिका वडा नं. २ (साविक वडा नं. १७)मा अवस्थित एस.ओ.एस. बालग्राम सानोथिमि, भक्तपुरले यस नगरपालिकालाई तिर्न बुझाउन बाँकी सम्पूर्ण बक्यौता घरजग्गा सम्पत्ति कर बुझाउन पत्राचार गरिएकोमा निर्धारित अवधि भुक्तान भईसक्दा पनि कर तिर्न नआएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सम्पूर्ण बक्यौता घरजग्गा सम्पत्ति कर तिर्न बुझाउन हुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख गरिएको छ ।


    यसैगरी मध्यपुर थिमि नगरपालिकाले व्यापारिक प्रतिष्ठान बतास एशोसियट्स प्रा.लि गैह्रीधारा काठमाण्डौलाई ७ दिनभित्र नगरपालिकालाई तिनुपर्ने कर बुझाउन सूचना जारी गरेको छ । बतासले नगरपालिकासँग २०७५ मंसिर २० गते अरनिको राजमार्ग अन्र्तगत मनोहरा पुल लोहकिल्थलीदेखी राधेराधे हुनुमन्ते पुलसम्मको सडक खण्डमा सोलार सडक बत्ती, आधुनिक ट्राफिक पोष्ट र दुई खम्बे सार्वजनिक जानकारी दुरी, दिशा, गति, स्थान र संकेत आदिसहित व्यवसायिक सन्देश बोर्ड जडान, सञ्चालन तथा हस्तान्तरण परियोजना सम्झौता गरेको थियो ।
    सो सम्झौता अनुसार नगरपालिकालाई बुझाउनु पर्ने विज्ञापन कर तथा रोयल्टी वापतको रकम हालसम्म दाखिला नगरेकोले बाँकी बक्यौता बुझाउन ७ दिनको सूचना जारी गरेको नगरपालिकाले जनाएको छ ।


    यस्तै नगरपालिकाले तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरुलाई पनि बाँकी बक्यौता तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले स्पिनिङ मिल्सका सञ्चालक समितिका अध्यक्ष शिवकुमार अग्रवाल, सञ्चालकहरु विमलादेवी अग्रवाल र सुमित कुमार अग्रवालका नाममा मिल्सको नाममा रहेको साविक कित्ता नं. ५८ को क्षेत्रफल ७००२.१० बर्गमिटर जग्गा र सो जग्गामा अवस्थित भौतिक संरचनाहरुको नियमानुसार तिर्नु बुझाउन बाँकी घरजग्गा कर ७ दिनभित्र बुझाउन सूचना जारी गरेको हो ।

     

  • लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण

    भक्तपुर, असोज १५
    सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण गरिएको हो ।
    सूर्यविनायकमा लम्पी स्किन रोगबाट ३१६ वटा गाई मरेको थियो । नगरपालिकाले दुध दिने गाईको १० हजार रुपैंया र दुध नदिने गाईको ७ हजार रुपैंयाका दरले राहत वितरण गरिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले २४७ जना किसानलाई २७ लाख ५२ हजार रुपैंया राहत वितरण गरिएको हो ।


    नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राहत रकम वितरण गर्दै नगरप्रमुख बासुदेव थापाले लम्पी स्कीनले किसानलाई पारेको क्षतीपुर्ती स्वरुप रकम वितरण गरिएको बताउनुभयो । उहाँले राहत रकम ठूलो नभएपनि किसानलाई पशुपालन ब्यवसायबाट विस्थापीत हुन नपरोस भन्ने उद्देश्यले अनुदान सहयोग गरिएको बताउनुभयो ।
    लम्पी स्कीन महामारीको समयमा पशु चिकित्सकहरु पठाएर निःशुल्क रुपमा जाँच र खोपको व्यवस्था गरेर सहयोग गरेको बताउँदै नगर प्रमुख थापाले नगरपालिकाले सकेसम्म आफ्नो कर्तब्य निर्वाह गरेको र आगामी दिनमा पनि किसानको लागि थप कार्यक्रम ल्याइने विश्वास दिलाउनुभयो ।
    नगरपालिकाको १० वटै वडाबाट लम्पी स्कीन रोगका कारण के कति क्षति भयो र के कति गाई मरे भनेर लगत संकलन गरेको थियो । लगत संकलनमा दुहुनो, ब्याउने र बाछी गरि ३१६ वटा गाई मरेको पाइएको थियो ।

     

  • शंखधर वचतको अध्यक्षमा श्यामकृष्ण चयन

    भक्तपुर, भदौ ३१
    मध्यपुर थिमि ४, शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्यामकृष्ण बसी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न १६ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।
    सभाले संस्थाको उपाध्यक्षमा केशवमान श्रेष्ठ, सचिवमा लक्ष्मीभक्त श्रेष्ठ र कोषाध्यक्षमा न्हुछेराज बज्राचार्य सर्वसम्मत चयन गरेको छ । साथै रामसुन्दर श्रेष्ठ, रोजना श्रेष्ठ र सरिता श्रेष्लाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ ।
    यसैगरी हिरारत्न बज्राचार्य लेखा सुपरिवेक्षण समितिको संयोजक र सदस्यहरुमा सविना श्रेष्ठ र रिम्सा श्रेष्ठ चयन भएको छ । सभाले रत्नकृष्ण श्रेष्ठलाई ऋण उपसमितिको सचिव र रत्नसुन्दर श्रेष्ठ सदस्यमा चयन गरेको नवनिर्वाचित अध्यक्ष श्यामकृष्ण बसी श्रेष्ठले जानकारी दिनुभयो ।

     

  • गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालन

    भक्तपुर, भदौ २७
    सेकुवाको पारखी हुनुहुन्छ तर घरपायकको गन्तव्यमा उत्कृष्ट सेकुवा घर नहुँदा चिन्तित हुनुहुन्छ भने अब तपाईंलाई सहज हुने भएको छ । मासुको परिकार सेकुवाका पारखीहरुका लागि मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालनमा आएको छ । अटोमोवाइल व्यवसाय अन्तर्गत दुई पाङ्ग्रे सवारी साधनको बिक्रि वितरण गर्दै आएका व्यवसायीको समूहले अगेनो सञ्चालनमा ल्याएको हो ।
    अगेनोको मूख्य आकर्षण सेकुवा नै भएको सञ्चालक कान्छा डंगोलले बताउनुभयो । अगेनोमा विशेषगरी बंगुर (पोर्क), खसी र चिकेनका सेकुवाको परिकार पाईन्छ । साथै विभिन्न परिकारका खाजाका सेट, मम, चाउमिनका साथै अर्डर अनुसार खानाको पनि व्यवस्था रहेको डंगोलले बताउनुभयो । अगेनोमा बंगुर, चिकेनको सेकुवाका लागि आपैंmले मासु छनोट गरी किलोमा जोखेर पनि लिन सकिने डंगोलले जानकारी दिनुभयो ।


    सञ्चालन शुभारम्भ भएको अवसरमा हरेक परिकारमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताउँदैं अर्का सञ्चालक मिलन सिग्देलले अगेनोमा पाईने सबै प्रकारका मदिरा बोटलमा तोकिएको अधिकतम खुद्रा मूल्यमा पाईने जानकारी दिनुभयो ।
    करिव दुई रोपनी क्षेत्रफलमा पैmलिएको अगेनोमा पार्किङको प्रसस्त व्यवस्था रहेको अर्को सञ्चालक निरज श्रेष्ठले बताउनुभयो । उहाँले अगेनोले सेकुवा पोल्ने अत्याधुनिक प्रविधि उपयोगमा ल्याएको र यसले खानाको स्वादका साथै स्वर्थवर्धक समेत हुने दावी गर्नुभयो ।
    अगेनोका अर्का सञ्चालक दुर्गा कार्कीले भक्तपुर र विशेष गरी मध्यपुर थिमि क्षेत्रमा सेकुवाको लागि उत्कृष्ट रेष्टुरेन्ट नभएकाले यहाँका सेकुवा पारखीहरुलाई लक्षित गरी सेकुवा घर सञ्चालनमा ल्याएको बताउनुभयो । सेकुवा घरको उद्घाटन ज्येष्ठ नागरिकद्धय गोपीकृष्ण न्यौपाने र सावित्रा सिग्देलले गर्नुभएको थियो ।

     

  • कौशलटारमा खुल्यो यामाहाको ‘ब्लु स्क्वायर’ शो रुम

    भक्तपुर, भदौ २५
    मध्यपुर थिमि–३ कौशलटारमा यामाहा मोटरसाइकलको नयाँ अत्याधुनिक शो रुम सञ्चालनमा आएको छ । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले सोमवारदेखी अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शो रुम सञ्चालनमा ल्याएको हो ।
    यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’लाई अवलम्वन गरी कौशलटारमा उक्त शो रुम सञ्चालनमा ल्याएको हो । यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लु स्क्वायर शो रुमलाई लिईएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताउनुभयो ।


    ब्लु स्क्वायर शो रुममा प्रयोग भएको ब्लु कलरले यामाहा ब्राण्डको ‘रेसिङ डिएनए’ र स्क्वायरले ‘वन स्टप वाइइंग जक्सन’ जसमा ग्राहकले मोटरसाइकल, स्कुटर एसेसोरिज र एपिरियल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने जनाउने क्षेत्रीले जानकारी दिनुभयो ।
    यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलब्धतालाई महशुस गर्न पाउनुको साथै क्यु आर कोड मार्फत भौचरहरु प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको छ । स्थापनाकालदेखी ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ब्लु स्क्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा बृद्धि गर्ने कम्पनीको ठहर रहेको छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शो रुमहरु नेपालभर सञ्चालनमा ल्याउने क्षेत्रीले जानकारी दिनुभयो ।
    शो रुमको एमएडब्लु ग्रुप अफ कम्पनीजका एम डी विष्णु कुमार अग्रवाल, हिमालय रोडिज सिजन ५ का सञ्चालक सुरज सिंह ठकुरी, ग्याङ लिडर एवम् नायिका प्रियंका कार्कीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

     

     

  • जग्गाको कित्ताकाट खुला गर्ने निर्णयको नेपाल जग्गा तथा आवास विकास महासंघद्धारा स्वागत

    भक्तपुर, साउन ३१
    नेपाल जग्गा तथा आवास विकास महासंघले भू–उपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी जग्गाको कित्ताकाट पूर्णरुपमा खुला गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । महासंघले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै जग्गाको कित्ताकाट खोल्ने निर्णयको स्वागत गरेको हो ।
    महासंघले देशको समग्र आर्थिक गतिविधि सुस्त बन्दै गएको वर्तमान परिप्रेक्ष्यमा कित्ताकाट खुलेबाट घरजग्गा क्षेत्रको कारोबार सहज भई मुलुकको अर्थतन्त्र चलायमान बन्ने छ भन्ने अपक्षा गरेको जनाएको छ ।
    ‘भू–उपयोग नियमावली, २०७९ मा भएको पहिलो संशोधनबाट नेपालको रियल इस्टेट व्यवसायीका साथै सर्वसाधारण जनता समेतले सहजरुपमा कित्ताकाट गर्न पाउने भई अन्ततः यसबाट घरजग्गाको खरिद बिक्रीमा पारदर्शीता कायम गर्नमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं । यसका साथै हामी सरकारसँग भूमि सम्बन्धी एकीकृत ऐन र शहरी विकास ऐन समेत जारी गरियोस् भन्ने आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    साथै, घरजग्गा व्यवसायलाई मर्यादित, व्यवसायिक, स्वच्छ एवं पारदर्शी बनाउँदै जग्गा तथा आवास विकास मार्फत् देशको अर्थतन्त्रलाई योगदान पुर्याउने लक्ष्यका साथ महासंघ व्यवस्थित शहरीकरण र जग्गा तथा आवास विकास लगायतका विषयहरुमा सबै सरकारी निकायहरुसँग सहयोग, समन्वय एवं सहकार्य कायम राख्दै मुलकको अर्थतन्त्रलाई सबल बनाउन सदा तत्पर रहेको समेत जनाएको छ ।

     

  • भक्तपुरमा पर्यटक आगमन–अघिल्लो वर्षको तुलनामा ३ गुणा बृद्धि

    लक्ष्मी गारु, भक्तपुर, साउन २६
    भक्तपुर नगरका सम्पदा अवलोकनका लागि आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ गुणा बढी पर्यटकको आगमन भएको छ । विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेखनीय बृद्धि भएसँगै भक्तपुर नगरमा पर्यटकहरुको चहलपहलमा समेत दिन प्रतिदिन बृद्धि भएको छ ।
    आर्थिक वर्ष २०७८÷०७९ मा ५३ हजार ५६० जना विदेशी पर्यटकहरूले भक्तपुर नगरका सम्पदाहरुको अवलोकन गरेको थिए भने आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ६७ हजार ६५२ जना पर्यटकको आगमन भएको भक्तपुर नगरपालिकाले जनाएको छ । त्यसमध्ये ८६ हजार ३ सय ३४ जना (गैरसार्क) र ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् ।
    सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ ।
    आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा गैर सार्क २२ हजार ८७ जना र चीनसहित सार्क राष्ट्रका ३१ हजार ४७३ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको छन । आ.व. २०७८÷७९ मा ४ करोड ८९ लाख भन्दा बढी पर्यटन शुल्क उठेकोमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५०० रुपैयाँ पर्यटन शुल्क उठेको नगरपालिकाले जनाएको छ ।
    आ.व.२०७८÷७९ को तुलनामा यस आ.व. २०७९÷८० मा १ लाख १४ हजार ९२ जना पर्यटकहरुको संख्या बृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ६४ हजार २४७ जना र सार्क एवम् चीनका ४९ हजार ८४५ जना पर्यटकहरु रहेका छन् । त्यस्तै आ.व.२०७८÷७९ को तुलनामा यस आ.व. २०७९÷८० मा रु. १३ करोड ३१ लाख ३६ हजार ४ सयले पर्यटन शुल्कबाट नपाको आय बृद्धि भएको हो ।


    भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांक अनुसार आ.व. २०७९÷८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इङ्गल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिंगापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकहरुले भक्तपुर भ्रमण गरेका छन् ।
    भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ ।
    भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक नेपाली एक हजार ५ सयलाई बृद्धि गरी एक हजार ८ सय कायम गरी शुल्क संकलन गर्दै आएको छ । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरुलाई ५ सय रुपैंया शुल्क संकलन गर्दै आएको छ ।
    भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसँग उठाउँदै आएको पर्यटन सेवा शुल्क नगरपालिकाको मुख्य आयस्रोत भएको बताउँदै पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनुभयो । नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्य स्थलको रुपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको उहाँले बताउनुभयो ।
    भक्तपुर नपामा हाल दैनिक औसतमा ४÷५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । भक्तपुरमा पर्यटकहरूको आगमनसँगै भक्तपुरका व्यवसायीहरु पनि खुशी छन् र भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढेको अवस्था छ ।
    भक्तपुर नगरपालिकालेले पर्यटकहरुलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सुचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको सोही केन्द्रका कर्मचारी मुरज दिदियाले बताउनुभयो । हाल भक्तपुर नपाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारीहरु कार्यरत रहेको र भक्तपुर नपाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय टुरिष्ट गाईडहरुलाई आवश्यक तालिम दिई व्यवस्थापन गर्दै आइरहेको छ ।
    समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरूलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरूसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको नगरपालिकाले जनाएको छ ।
    भक्तपुर नपाले हालै भक्तपुर भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरिएको थियो ।
    हरेक वर्ष विश्व पर्यटन दिवस, विश्व सम्पदा दिवस, टुरिष्ट गाईड दिवसजस्ता नियमित दिवसहरु मनाउँदै आएको छ । भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहहरुलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । भक्तपुर नपाले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रयास समेत गरिरहेको छ ।
    पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गरेको छ । साथै चालु आर्थिक वर्षमा पनि यस्ता गतिविधिलाई निरन्तर सञ्चालन गर्दै जाने नगरपालिकाको योजना रहेको छ ।