Category: अर्थ

  • भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी निर्विरोध निर्वाचित

    भक्तपुर, पुस २८
    भक्तपुर उद्योग वाणिज्य संघको ५७ वर्षिय ईतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ । संघको शनिवार सम्पन्न ३६ औं साधारण सभा र अधिवेशन २०८० ले रोशनी धौवञ्जालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
    अधिवेशनले यसअघि वरिष्ठ अध्यक्ष रहनुभएका धौवञ्जाको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्र शंकर तिमिलाले जानकारी दिनुभयो ।
    अधिवेशनले कृष्णमुरारी न्यौपाने वरिष्ठ उपाध्यक्ष, गणेशहरि प्रजापति उपाध्यक्ष, राजेन्द्र प्रसाद प्रजापति वस्तुगत उपाध्यक्ष, दिनेश गोसाईं एशोसियट उपाध्यक्ष, नविन प्रजापति महासचिव, सचिन्द्र प्रधानाङ्ग सचिव, विश्वराम दुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
    यसैगरी सदस्यहरुमा अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुखजु, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानावासु, रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर निर्विरोध निर्वाचित भएका छन । यस्तै महिला सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगत सदस्यमा गणेशभक्त हुँमागाईं र एशोसियट सदस्यमा जितेन्द्र खायमली र राजेश त्वानावासु निर्विरोध निर्वाचित भएको तिमिलाले जानकारी दिनुभयो ।

     

  • राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदो–पूर्वअध्यक्ष श्रेष्ठ

    भक्तपुर, पुस २७
    एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिप कुमार श्रेष्ठले राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदैं गएको बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य संघको ३६ औं साधारण सभा तथा अधिवेशन २०८० को शुक्रवार उद्घाटन गर्दै श्रेष्ठले राजनीतिले अर्थतन्त्रलाई प्राथमिकता नदिँदा नेपालले सुनको थालमा माग्दैृ हिँड्नु परेको टिप्पणी समेत गर्नुभयो ।
    उहाँले संसारका मरुभूमिहरु हरियाली बन्न थालेको तर नेपाली युवाहरुको विदेश पलायनका कारण हरियाली नेपाल मरुभूमिमा परिणत हुँदै गएको बताउनुभयो । जलविद्युतको विकासबाट मात्र देश समृद्धि बनाउन सकिने धारणा राख्दै उहाँले कोभिडबाट थलिएको अर्थतन्त्र र विश्वव्यापी पर्यटन बजारमा परेको प्रभावहरुलाई हेरेर प्रतिस्पर्धी बजारमा आफूलाई बचाउन सकिने गरी उद्यमीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।


    उहाँले संघको पदाधिकारी हुनेहरुले स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने र केही लिन्छु भन्ने भन्दा केही दिन्छु भन्ने भावना भएकाहरु संघमा हुनुपर्नेमा जोडदिँदैं सामुहिक प्रयास र टिम वर्कले मात्रै उद्देश्य हासिल गर्न सकिने धारणा राख्नुभयो । उद्यमीहरु आफूलाई बन्दकीमा राखेर देशलाई केही दिन २४ घण्टाको समयमा २५ घण्टा जुत्नु परेको बताउँदैं उहाँले आयातलाई विस्थापन गरी निर्यातमुखी अर्थतन्त्रको विकासमा जोड दिनुभयो ।
    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पहिला थुन्ने त्यसपछि मात्रै सुन्ने सरकारको रबैयाले व्यवसायीहरु निरुत्साहित भएको भन्दै उदमीले आफ्नो व्यवसायिक धर्मलाई कायम राख्दै आफ्नो कर्म नछाड्न आग्रह गर्नुभयो । स्थानीय मौलिक सिपलाई पुस्तान्तरण होइन हस्तान्तरणको आवश्यकतामा जोड दिदै श्रेष्ठले व्यवसायीले धुक्क भएर लगानी गर्ने वातावरण बनाउन चेम्बर ल आवश्यक भएकोमा जोड दिनुभयो ।


    नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले आर्थिक मन्दीले उद्योगको उत्पादन र बिक्रि पनि बढाउन नसकेकाले बैंकको व्याज र ऋण समेत तिर्न नसक्ने अवस्था आएको प्रति चिन्ता व्यक्त गर्नुभयो । व्यवसायीलाई कर माथि कर मात्र लगाउने र सरकारी सुविधा कटौती गर्ने व्यवहारमा सुधार्नुपर्नेमा जोडदिदै उहाँले उद्यम विकासकालागि विना धितोको ऋण र व्यवसाय विमाकालागि समेत सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सरकार र नीजि क्षेत्रको सहकार्यमा विभिन्न कार्य गर्दै आइरहेको चर्चा गर्दै संघले भक्तपुरको पर्यटन उद्योगको विकासमा थप कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले स्थानीय स्तरको उद्योगलाई थप प्रवद्र्धन र लगानी गरेर निर्यातमुखी उद्योगको रुपमा विकास गर्न संघले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले संघले भक्तपुरको हस्तकला, काष्ठकला र वास्तुकलाका सिप र यहाँको मौलिक उत्पादन जुजु धौ, कालो भादगाउँले टोपीको उद्योग देशका अन्य भागमा पनि बिस्तार गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो ।


    आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख डिलिपकुमार गौतमले व्यवसायीहरुले जति आम्दानी र कारोवार गरेको छ त्यति मात्रै कर तिर्ने व्यवस्था भएकाले आर्थिक मन्दीले कर तिर्न असहज नहुने बताउनुभयो ।
    संघका अध्यक्ष शिव प्रसाद मानन्धरको अध्यक्षतामा आयोजित सो साधारण सभामा आयात निर्यात व्यवासायमा उत्कृष्ट व्यवसायीहरुलाई सम्मानित गर्नुका साथै सहयोगी व्यक्ति व्यक्तित्व तथा संघ संस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा स्मारिका समेत विमोचन गरिएको थियो ।


    कार्यक्रमका वरिष्ठ उपाध्यक्ष रोशनी धौबन्जा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, युवा व्यवसायी संघका अध्यक्ष विश्वराम कवां, संघका पूर्व अध्यक्ष केपी ताम्राकार, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेम खर्बुजा, नेपाल चेम्बर अफ कमर्श भक्तपुरका अध्यक्ष कविराज श्रेष्ठलगायतले व्यवसायीको हकहितका लागि व्यवसायीक संघ संस्थाहरुले सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
    यसैबीच अधिवेशनले वरिष्ठ उपाध्यक्ष रोशनी धौवञ्जालाई संघको नयाँ अध्यक्षको रुपमा सर्वसम्मतरुपमा चयन गरेको छ । संघको इतिहासमा धौवञ्जा पहिलो महिला अध्यक्ष समेत बन्न सफल भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपानेलगायतका पदाधिकारीहरु सर्वसम्मतरुपमा चयन भएका छन ।

  • मध्यपुर थिमि वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट छैंठौं

    भक्तपुर, पुस २६
    मध्यपुर थिमि नगरपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट अंकका साथ देशभर छैंठौं र भक्तपुर जिल्लामा पहिलो बन्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मध्यपुर थिमि १०० पूर्णाङ्कमा ७९.५ अंकका साथ भक्तपुरका चार पालिका मध्ये पहिलो बन्न सफल भएको हो ।
    मन्त्रालयले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनसहित पाँच बुँदे मूल्याङ्कनका आधारमा बर्सेनि स्थानीय तहहरुको मूल्याङ्कन गरी उनीहरुले पेस गरेका योजनामा बजेट पठाउँदै आएको छ ।
    मन्त्रालयका अनुसार मध्यपुर थिमि नगरपालिकासहित भक्तपुरको भक्तपुर नगरपालिका मोरङको जहदा गाउँपालिका, ग्रामाथान गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, सिरहाको विष्णुपुर गाउँपालिका, धादिङको ज्वालामुखी गाउँपालिका, पाल्पाको निस्दी गाउँपालिका, जुम्लाको कनका सुन्दरी गाउँपालिका, जुम्लाकै तातोपानी गाउँपालिका, मुगुको मुगुम कर्मारोङ गाउँपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिकाले मात्रै मन्त्रालयले तोकेको मूल्याङ्कन बुँदा पूरा गरेका छन् । मूल्याङ्कन अङ्कमा पनि यिनै पालिकाले अधिकतम् नम्बर ल्याएका छन् । सात सय ५३ पालिकामध्ये न्यूनतम अङ्क सिरहाको विष्णुपुर गाउँपालिकाले हासिल गरेको मन्त्रालयले जनाएको छ ।
    समितिबाट ६ सय ५२ पालिकाको नतिजा प्रकाशन भएकोमा २ सय ५१ पालिका फेल भएको मन्त्रालयले जनाएको छ ।
    १०० पूर्णाङ्कमा ज्वालामुखीले ८६.५, कानका सुन्दरीले ८६, पञ्चेश्वरले ८४.५, मुगुम कार्मारोङले ८१, तातोपानीले ८१, मध्यपुर थिमिले ७९.५, भक्तपुरले ७४, निस्दीले ७३.५, धनकुटाले ६८.५ र ग्रामथानले ६६ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
    १०० पूर्णाङ्कमा योजना तथा बजेट कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९, लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १७ अङ्क वितरण हुन्छ ।
    हालसम्म सात सय २४ वटा पालिकाले अनुशिक्षण सम्पन्न गरेका छन् । त्यसैगरी ६ सय ६९ पालिकाले आफ्नो प्रारम्भिक नतिजा तयार गरेका छन् भने ६६७ पालिकाको मूल्याङ्कन तय गर्न जिल्ला समन्वय समितिबाट मिति तय गरिएको छ ।
    कोशी प्रदेशका ५०, मधेस प्रदेशका ५२, बागमतीका ६, गण्डकीका २२, लुम्बिनीका २५, कर्णालीका १३ र सुदूरपश्चिम प्रदेशका १९ पालिकाले हालसम्म मन्त्रालयले तय गरेको मूल्याङ्कन पद्धतिका बुँदाहरु कुनै पनि कार्यान्वयन गरेका छैनन् ।
    मन्त्रालयले स्थानीय तह वित्तीय सुशासन मूल्याङ्कन, स्थानीय आर्थिक मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणालीमा स्थानीय तहहरुले गरेका कामका अधारमा मात्रै विकास बजेट पठाउँदै आएको छ । यस वर्ष ८७ करोड बजेट वितरण गर्ने मन्त्रालयको योजना छ । तर, फेल भएका स्थानीय तहलाई बजेट नपठाइने मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
    “बेरुजु पाँच प्रतिशतभन्दा कम र बजेट असार मसान्तभित्र पास भएका पालिकामात्रै पास भएका छन्, बाँकी फेल भएका छन् । अब पास भएका पालिकाहरुमामात्रै बजेट पठाउँछौँ,” उहाँले भन्नुभयो ।
    मधेस प्रदेशका रौतहटको फतुवा विजयपुर नगरपालिका, सर्लाहीको हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकासहित तीन पालिकाले अझै बजेट पेस गरेका छैनन् ।
    सहसचिव भट्टराईका अनुसार धेरैजसो पालिकाको बेरुजु ५ प्रतिशतभन्दा बढी छ । “अहिले पनि महालेखापरीक्षकको कार्यालयको टोलीले स्थानीय तहको बेरुजु हेरिरहेको छ, धेरै पालिकामा बेरुजु देखिएको रिपोर्ट हामीले पाएका छौँ,” उहाँले भन्नुभयो ।

     

  • चाँगुनारायणमा साँस्कृतिक औद्योगिक ग्राम स्थापना हुन्छ – प्रदेश मन्त्री चित्रकार

    भक्तपुर, पुस २४
    वागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले चाँगुनारायण नगरपालिकामा साँस्कृतिक औद्योगिक ग्राम स्थापना गर्ने बताउनुभएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको ३३ औं साधारणसभा तथा महिला उद्यमी समितिको ३१ औं साधारणसभालाई मंगलवार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री चित्रकारले करिव ६० रोपनी क्षेत्रफलमा सो साँस्कृतिक औद्योगिक ग्राम स्थापना हुने जानकारी दिनुभएको हो ।
    उहाँले औद्योगिक ग्रामका लागि नगरपालिकाले ६० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको र सो ग्रामको सम्भाव्यता अध्ययन तथा डिपिआर निर्माण प्रक्रिया अघि बढीसकेको बताउनुभयो ।
    उहाँले प्रदेशको उद्योग, वाणिज्य सम्बन्धी ऐनहरु त्रुटीपूर्ण रहेको र उद्योगी व्यवसायी मैत्री हुन नसकेको महसुश गरी परिमार्जनको तयारी भइरहेको बताउँदैं स्थापनाको छोटो समयमा मन्त्रालयले उद्योगी व्यवसायीहरुको हितमा उल्लेख्य कार्य गरेको चर्चा गर्नुभयो ।


    कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारका विभिन्न नीतिहरु घरेलु तथा साना उद्योग मैत्री बन्न नसक्दा मुलुकको ३० प्रतिशत घरेलु तथा साना उद्योग बन्द भएको बताउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उद्योगी व्यवसायी मुलुकको आर्थिक गतिविधि विकासको मेरुदण्ड भएको बताउँदैं जिल्ला प्रशासन उद्योगी व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्दै अघि बढ्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
    नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले भक्तपुरको मौलिक उत्पादन जुजु धौ व्यवसायी समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो ।


    महासंघका अर्का उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले घरेलु मदिराको उदाहरण दिँदैं नेपाली परम्परागत उत्पादनहरु कानूनको दृष्टिमा अवैध उत्पादन हुँदैं गएको र यसले मुलुकको मौलिक उत्पादन संकटमा पर्दै गएको बताउनुभयो ।
    भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघले साना ठूला व्यवसायीको रुपमा भेदभाव नगरी भक्तपुरका विभिन्न व्यवसायीक संघ संस्थाहरुको संयुक्त कार्यदल गठन गरी उद्योगी व्यवसायीका समस्या हल गर्न सामूहिक प्रयास गर्ने वातावरण निर्माण गरिरहेको बताउनुभयो ।
    भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले समितिले घरेलु संघसँगको सहकार्यमा गो लोकल कार्यक्रम र युवाहरुलाई स्वरोजगार बनाई विदेशिनबाट रोक्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।


    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले घरेलु उद्योगका उत्पादनलाई आम नागरिकले बेवास्ता गर्नाले उद्योग व्यवसाय फस्टाउन नसक्दा मुलुकमा बेरोजगारी समस्या बढ्नुका साथै युवा विदेश पलायन हुने अवस्था आएको बताउँदैं सबै नागरिकले नेपाली मौलिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले संघका विभिन्न ३३ विधाका ८८४ उद्यमीहरु संघमा आवद्ध भएको जानकारी दिँदैं संघले उद्योग दर्ता नविकरणको लागि सहजीकरण, प्यान दर्ता तथा आयकर तिर्न सहजीकरण, तालिम तथा गोष्ठिलगायतका कार्यक्रम मार्फत उद्योगीहरुको हितमा संघले काम गर्दै आइरहेको बताउनुभयो ।


    कार्यक्रममा संघका सचिव श्याम सुन्दर श्रेष्ठ, महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठ, सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष समिता ध्वजु, भक्तपुर घरेलु वचत तथा ऋण सहकारी संघका अध्यक्ष लक्ष्मण ग्वाछा, काठमाण्डौं घरेलु तथा साना उद्योग संघका अध्यक्ष सीता कार्की, भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष विरेन्द्र जती, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश महिला उद्यमी समितिका अध्यक्ष सुलोचना श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका उद्योग अधिकृत आशिष दाहाल, आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख दिलिप गौतमलगायतले घरेलु उद्योगी व्यवसायीहरुको समस्या समाधान गरी यसको प्रवद्र्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।
    सभाले संघका सचिव श्यामसुन्दर श्रेष्ठको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हरिगोपाल त्वायनाको आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गरेको अध्यक्ष खर्बुजाले जानकारी दिनुभयो ।

    सो अवसरमा संघले पुर्ण श्रेष्ठ राईस मिलका गोविन्द किल्ला श्रेष्ठ र नेवा तान उद्योगका प्रोपाइटर कमलकेशरी कर्माचार्यलाई सम्मान गरिएको थियो ।

     

  • भक्तपुर चेम्बरका सदस्यहरुलाई अभिमुखीकरण

    भक्तपुर, पुस २२
    भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुलाई चेम्बरले प्रदान गर्दै आएका विविध सेवा सुविधाहरुका बारेमा अभिमुखीकरण गरेको छ । मध्यपुर थिमिमा आइतवार आयोजित उक्त अभिमुखीकरणमा चेम्बरबाट सदस्यहरुले लिन सक्ने लाभका विषयमा सदस्यहरुलाई सुसुचित गराएको थियो ।
    सो अवसरमा भक्तपुरका चेम्बरका अध्यक्ष कविदास श्रेष्ठले व्यवसायिकता सिर्जना हुने खालका युवा लक्षित कार्यक्रमहरु सञ्चालनमा ल्याई स्वरोजगारलाई प्रोत्साहन गर्ने लगायत बैदेशिक रोजगारको विकल्पको रुपमा साना तथा मझौला उद्यमीहरुको संख्या बढाउनमा चेम्बरले विशेष भूमिका खेल्ने बनाउनुभयो ।
    उहाँले व्यवसायिक अवसर पहिचानका लागि तथ्यांक आवश्यक पर्ने भएको हुँदा चारवटै नगरपालिकाहरुमा व्यवसायिक तथ्यांक अध्यावधिक गराउन चेम्बरले विशेष पहल गर्दै आएको जानकारी गराउनुभयो ।
    कार्यक्रममा सहभागीहरुबाट कर प्रशासनमा सुधारका लागि व्यापक पहल गरिनुपर्ने, वस्तुगत संघहरुको नेतृत्व क्षमता विकासका लागि तालिमहरुको आयोजना गरिनुपर्ने, नेतृत्व लगायत व्यवसायिक विकासजस्ता तालिम गोष्ठीहरुको आयोजना गरिनुपर्ने, आयात निर्यातमा लाग्दै आएको करका विषयमा पुनविर्चारका लागि पहल गरिनुपर्ने, निकासी करमा ब्यापक छलफल हुनुपर्ने र तथ्यांकहरु अध्यावधिक हुनुपर्ने जस्ता विषयहरुमा चेम्बरबाट पहल गर्न सुझाव दिएका थिए ।
    भक्तपुरका चेम्बरका महासचिव ज्ञानेन्द्र मानन्धरले सहभागीहरुबाट आएको सल्लाह सुझावहरुलाई समेट्दै संस्थाको नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताउनुभयो ।
    कार्यक्रममा चेम्बरका गतिविधिहरु लगायत चेम्बरले उपलब्ध गराउदै आएका सेवा सुविधाहरुका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले प्रस्तुतीकरण गर्नु भएको थियो ।

  • सिम्रिक सहकारीको १४ औं साधारण सभा सम्पन्न

    भक्तपुर, पुस २२
    भक्तपुरको ताथलीस्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य शिविरसहित १४ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ९ मा रहेको सो सहकारीको साधारणसभा तथा स्वास्थ्य शिविर सुर्यविनायक गणेश मन्दिर परिसरमा भएको हो । स्वास्थ्य शिविरका लागि नेशनल बाथरोग सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।
    सो सभाको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातले नाफाको पछि लाग्ने स्वभावका सञ्चालक रहेका सहकारीले समुदायमा आधारित क्रियाकलाप नगर्दा समुदायमा आधारित सहकारीसमेत बदनाम हुनु विडम्बना रहेको बताउनुभयो ।
    उहाँले पछिल्लो समयमा स्थानीय तहहरूमा बहुउद्देश्यीय सहकारीको संख्या बढेको उल्लेख गर्दै स्थानीय व्यक्तिको सक्रियतामा मात्र सञ्चालित सहकारीमा बचत गर्न अनुरोध गर्नुभयो । वडा अध्यक्ष त्यातले सो अवसरमा सहकारीका उत्कृष्ट बचतकर्ता र ऋणीलाई सम्मान गर्नुभएको थियो ।
    कार्यक्रममा मासिक असल बचतकर्ता सम्मानबाट श्यामु बस्नेत, सामुहिक जमानी ऋणतर्फ उत्कृष्ट ऋणी सम्मानबाट मनहरि बस्नेत, धन जमानी ऋणतर्फ उत्कृष्ट ऋणी सम्मानबाट पुस्कर खत्री, उत्कृष्ट बाल बचत सम्मानबाट प्राश्ना न्हेम्हाफुकी र उत्कृष्ट दनिक बचत सम्मानबाट राजु बाला सम्मानीत भएका थिए । ।
    कार्यक्रममा सयपत्री साकोसका अध्यक्ष हरिगोपाल बासुकला तथा प्रगति युवा समाजका सचिव रविन्द्र न्हेम्हाफुकीले सहकारीले वित्तीय अनुशासन कायम गरी समुदायका लागि काम गर्न सके सहकारी सिद्धान्तअनुसार काम हुने बताउनुभयो ।
    ताथलीको तैकाबु गणेश सांस्कृतिक समूहको सांस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा सहकारीका सचिव हरिसुन्दर छुकां, कोषाध्यक्ष अर्जुन सुवेदी, ऋण उपसमिति संयोजक उत्तम साखकर्मी तथा लेखा समिति सदस्य घनश्याम खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    सहकारीका अध्यक्ष रमेश न्हेम्हाफुकीको सभापतित्वमा सम्पन्न सो सभामा उहाँले सहकारीलाई थप समुदायमैत्री बनाउने प्रतिवद्धता जनाउनुभयो । वि. सं. २०६७ सालमा स्थापति सो सहकारीमा ५९४ सदस्य रहेका छन् भने आ. व. २०७९÷८० मा ७२ लाख ३४ हजार शेयर पूँजी भएको छ । सहकारीले सोही आर्थिक वर्षमा ३ करोड ७ लाख ५८ हजार बचत संकलन गरि ३ करोड ७३ लाख ३८ हजार रूपैयाँ ऋण लगानी गरेको छ ।

     

  • शिव शिखरका पीडितद्धारा संघर्ष समिति गठन

    भक्तपुर, पुस १
    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट वचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । पीडित वचतकर्ताहरु शनिवार काठमाण्डौमा सम्पन्न भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो ।
    समितिले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शिव शिखर सहकारीमा वचत गरेका करिब एक लाख ८० हजार वचतकर्ता र लगानी संस्थाहरुको अर्बौं रकम डुब्ने खतरा रहेकाले वचतकर्ताको रकम संरक्षणका लागि संघर्ष समिति बनाइएको संयोजक लम्सालले बताउनुभयो ।
    “सहकारीको विश्वासमा परेर एक लाख ८० हजार वचतकर्ताले वचत गर्दै आएका थिए । जसको वचत रकम करिब १० अर्ब छ । शिवशिखरको नाममा पैसा उठाउने काम यसका संस्थापक अध्यक्ष केदारनाथ शर्मा जो अहिले कैलाली कारागारमा छन् । केदारनाथ शर्मा संस्थापक भएको शिवशिखर सहकारी संस्थालाई नेपाल सरकारले ठगी गर्ने लाइसेन्स दिएको जस्तो भएको छ,” अध्यक्ष लम्सालले भन्नुभयो ।
    संघर्ष समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ सह– संयोजक महेन्द्र महर्जन, सह–संयोजकहरुमा शुभाषचन्द्र भट्ट (सुदूरपश्चिम प्रदेश), गणेश थापा (कर्णाली प्रदेश), सागर भण्डारी (लुम्बिनी), खेमराज सापकोटा (गण्डकी), बद्रिनाथ पोखरेल –बागमती) रहेका छन् ।
    सचिवमा गणेश मल्ल, कोषाध्यक्ष चक्रमान श्रेष्ठ, सूचना सदस्य सुमन गोपाली, सदस्यहरुमा वेद प्रकाश महरा, केशव क्षेत्री, तारा कुँवर, छविलाल बस्नेत र तुल्सीराम कोजु रहेका छन् । त्यसैगरी, सल्लाहकारहरुमा विमल साउद, कमला जोशी र सुन्दर बानियाँ रहेका छन् ।
    संघर्ष समितिले सरकारसँग वचतकर्ताकोे सभ्य र शान्त आवाजलाई कमजोरीका रुपमा नलिन अनुरोध गरेको छ । साथै, शिव शिखरका संस्थापक अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा बैंकमा रहेको कर्जा विना ब्याज चुक्ता गराएर बाँकी रकम पीडित वचतकर्तालाई फिर्ता गराउन पनि सरकारसँग माग गरेका छन् ।
    साथै, संघर्ष समितिले शिव शिखरका अध्यक्ष शर्माले जग्गा किन्नका लागि दिएको अग्रिम रकम संकलन गरी फिर्ता लिनुपर्ने रकम एक लाखभन्दा कम वचत भएका वचतकर्तालाई फिर्ता गर्न सुरु गर्नुपर्ने माग राखेका छन् ।
    त्यसैगरी, शिव शिखर सहकारीबाट प्रवाहित कर्जा असुलउपर गर्न सरकारले पहलकदमी लिनुपर्ने उनीहरुको माग छ । उनीहरुले शिव शिखर सहकारीका अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा विभिन्न वित्तीय संस्थाले कर्जा प्रवाह गरेको र ती वित्तीय संस्थाहरुले लिलामीमार्फत् आफ्नो–आफ्नो कर्जा असुल उपर गर्न थाल्दा वचतकर्ताको वचत डुम्ने खतरा बढेको बताएका छन् । उनीहरुले लिलामी प्रक्रिया रोक्न समेत सरकार समक्ष आग्रह गरेका छन् ।
    उनीहरुले वचतकर्ताको रकम फिर्ताको सुनिश्चितता र वचत रकम फिर्ताको लागि पहल लिन सरकारसँग माग गरेका छन् । शिव शिखर सहकारीका देशभर ३६ वटा शाखा कार्यालय रहेका छन् । हाल शिव शिखरका सञ्चालक असिम राज भण्डारी, पुष्पकर मल्ल र अध्यक्ष शर्मा र उनकी श्रीमती गीता पक्राउ परिसकेका छन् ।

     

     

     

  • अर्थतन्त्रलाई चलायमान बनाउनका निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण–राष्ट्रपति पौडेल

    भक्तपुर, मंसिर ६
    राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ४६ औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
    उहाँले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सर्तकता अपनाउन जरुरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “पृथ्वी रहे मात्र हामी रहन्छौं भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”


    उहाँले अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताउदै भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सर्तकता अपनाउनु जरुरी छ ।”
    उहाँले हालै नेपालको भ्रमण गर्नु भएका संयुक्त राष्ट्र संघका महासचिवले पनि जलवायु परिवर्तनको एजेण्डालाई उच्च महत्व दिनु भएको प्रसङ्ग स्मरण गराउर्दै कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न सवैलाई आग्रह गर्नुभयो ।
    उहाँले विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा भौतिक पूर्वाधारको क्षेत्रले पनि प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

     

  • बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु

    भक्तपुर, कार्तिक २
    भक्तपुरका स्थानीय बजारमा म्याद नाघेका, लेवल नभएका र कुहिएका खाद्य वस्तु छ्यापछ्याप्ती भेटिएका छन । चाडपर्वलाई लक्षित गरी भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा साना किराना पसलदेखी ठूला मार्ट, थोक बिक्रेता र डेरी पसलसम्म म्याद नाघेका, लेवल नै नभएका र कुहिएका खाद्य वस्तु भेटिएको हो ।
    यसैगरी मासु पसल, मिठाई पसल र डेरी पसलमा गरिएको अनुगमनमा सरसफाई नभएको, कुहिएको र ढुसी परेको र खाद्य वस्तु समेत बिक्रिका लागि राखिएको पाईएको छ ।
    पटक पटकको बजार अनुगमनका क्रममा सचेत गराएका व्यवसायीले समेत विगतका गल्ती पुनः दो¥याएको पाईएको छ । केहीले भने विगतमा गरिएको बजार अनुगमनका क्रममा दिएका निर्देशन पालना गरिएको पाईएको छ ।


    भक्तपुरमा बडादशैं, तिहार र छठलाई लक्षित गरी चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय। सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले कहिले संयुक्त त कहिले छुट्टाछुट्टै टोली बनाएर बजार अनुगमनलाई तिव्रता दिएको छ ।
    चाँगुनारायण नगरपालिकाले वडा नं. १ को दुवाकोट र वडा नं. ६ नगरकोटलगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ । सूर्यविनायक नगरपालिकाले बालकोट, सल्लाघारी, सूर्यविनायक, जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाका विभिन्न क्षेत्रको बजार अनुगमन गरी म्याद नाघेका, लेवल नभएका र अनुमति विना प्याकेजिङ गरिएका खाद्य वस्तु जफत गरी नष्ट गर्ने र व्यवसायीलाई स्थलगतरुपमै उपभोक्ता हित संरक्षण ऐन २०७५ को विभिन्न दफा बमोजिम दण्ड जरिवाना लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
    उहाँले अनगुमनका क्रममा व्यवसायीहरुले कतिपय म्याद नाघेका वस्तुहरु पनि बिक्रिका लागि राखिएको पाईएको र केहीले भने पहिले दिएको निर्देशन अनुसार अलग राखिएको पाईएको चाँगुनारायण नगरपालिकाका प्रशासकिय अधिकृत सुरज पौडेलले बताउनुभयो ।


    अनुगमनका क्रममा मासु पसल र डेरी पसलमा सडेगलेका वस्तु र बिक्रिका लागि तयार पारिएका ताजा खाद्यवस्तु एउटै फ्रिजमा राख्ने गरेको पाईएको सूर्यविनायक नगरपालिकाका अनुगमन अधिकृत कपिल अधिकारीले बताउनुभयो ।
    उपभोक्ता हित संरक्षण मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले बजारमा व्यवसायी अझै सचेत नभएको पाईएको बताउनुभयो । “आम उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी स्वच्छ र स्वस्थ खाद्य वस्तु मात्र बिक्रि गर्नुपर्छ भन्ने चेत अझै पनि व्यवसायीमा नभएको पाईएको छ,” उहाँले भन्नुभयो । व्यवसायिक संघ संगठनले व्यवसायीलाई सचेतना कक्षा पनि बेलाबेलामा सञ्चालन गर्नुपर्ने खाँचो देखिएको उहाँको भनाई छ ।
    “व्यवसायीलाई सम्बन्धीत व्यवसायी संघ संस्थाहरु जस्तो भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ, भक्तपुर चेम्बर अफ कमर्शलगायतका संघसंस्थाहरुले व्यवसायीहरुलाई बेला बेलामा व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने ऐन, नियम, निर्देशिका, व्यवसायीक आचरण र सरसफाईलगायतका विषयमा सचेतना कक्षा सञ्चालन गरी उनीहरुलाई सचेत बनाईनुपर्छ तर भक्तपुरमा त्यसो गरेको पाईंदैन,” उहाँले भन्नुभयो ।


    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमनलाई हरेक महिना नियमितरुपमा निरन्तरता दिनुपर्ने बताउनुभयो । “चाडपर्वमा मात्र बजार अनुगमन गर्दा व्यवसायीले मात्र होइन आमनागरिकले पनि हेर्ने दृष्टिकोण सकारात्मक छैन । बजार अनुगमन नियमित नभएकाले पनि बजारमा सुधार नदेखिएको हो,” उहाँले भन्नुभयो । बजार अनुगमन व्यवसायीलाई हतोत्सायी बनाउने भन्दा पनि प्रोत्साहित बनाउने उद्देश्यले गरिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
    अनुगमनका क्रममा कतिपय स्थानीय उत्पादनमा लेवल नभएको पाईएको घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रतिनिधि सरस्वती पौडेलले बताउनुभयो । “प्याकेजिङका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्छ भन्ने ज्ञान समेत नभएको पाईयो,” उहाँले भन्नुभयो ।


    भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि विश्वराम दुवालले व्यवसाय दर्ता भन्दा पनि म्याद गुज्रेका, लेवल नभएका र सरसफाई नै अहिलेको बजारको समस्या देखिएको बताउनुभयो । उहाँले संघले व्यवसाय दर्ता र सञ्चालन सम्बन्धी सहायक पुस्तिका समेत प्रकाशन गरी व्यवसायीलाई व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने आवश्यक विवरणसहितको जानकारी दिने गरेको बताउँदैं व्यवसायीले सो अनुसार अझै नगरेको पाईएको संघका प्रतिनिधि विश्वराम दुवालले बताउनुभयो ।

     

     

     

     

  • राधेराधेमा न्युम्यु ब्राण्डको चस्मा पसल सञ्चालन

    भक्तपुर, कार्तिक १
    मध्यपुर थिमि–९ राधेराधेमा रुवेन एण्ड रिनभ ईन्टरप्राईजेजले न्युम्यु ब्राण्डको चस्मा पसल र सोरुम सञ्चालनमा आएको छ । रोधरोधस्थित भाटभटेनी अगाडि स्थानीय रिभु चक्रधरले सो पसल सञ्चालनमा ल्याएको हो ।
    बडादशैंको अवसर पारेर शुरु गरिएको चस्मा पसलमा दशैं अफर समेत रहेको छ । विभिन्न प्रकारका चस्मामा छुटको व्यवस्था समेत गरिएको सञ्चालक रुवेन एण्ड रिनभ ईन्टरप्राईजेजका प्रोपाइटर चक्रधरले बताउनुभयो ।
    हाललाई चस्मा मात्र बिक्रि वितरण गरिने भएपनि चाडपर्व सकिएपछि आँखा विशेषज्ञसहित आँखा जाँच सेवा समेत शुरु गरिने चक्रधरले जानकारी दिनुभयो ।


    पसलको शुभारम्भ गर्दै भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले आर्थिक मन्दीकाबीच नेपालमा नै केही गर्छु भन्ने व्यवसायीलाई सबैले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
    न्युम्युले नेपालमा सन् २०१५ देखी विभिन्न प्रकारका चस्मा बिक्रि वितरण शुरु गरेको थियो । न्युम्युले काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न शहरमा गरी एक दर्जन भन्दा स्थानमा सो रुम सञ्चालनमा ल्याईसकेको छ ।