भक्तपुर, असार ११
आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमवार बसेको १६ औं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१÷०८२ का लागि २ अर्ब ६६ करोड ४३ लाखको बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरापलिकाले चालु खर्चका लागि कुल बजेटको ५८.९३ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पुँजीगत खर्चका लागि ९९ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिनुभयो । पुँजीगत खर्चका लागि नगरले विनियोजन गरेको रकम भक्तपुरको कुल बजेटको ३७.३० प्रतिशत हो । साथै, वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख अर्थात् ३.७५ प्रतिशत विनियोजन गरेको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रको लागि ५४ करोड, स्वास्थ्य क्षेत्रको लागि १३ करोड ३० लाख, सम्पदा पुनःनिर्माण र सांस्कृतिक संरक्षणको लागि १० करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, कृषि क्षेत्रको लागि ५ करोड २० लाख, वातावरण तथा सरसफाइको क्षेत्रमा १९ करोड ६५ लाख, पर्यटन प्रबद्र्धनमा ६ करोड ९५ लाख रुपैयाँ छुट्याइएको जोशीले बताउनुभयो ।
भौतिक पूर्वाधारतर्फ नगरपालिकाले ५७ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खेलकुद तर्फ ४ करोड ५५ लाख, युवा तथा महिला लक्षित कार्यक्रमका लागि ४ करोड ३० लाख, सामाजिक सुरक्षातर्फ ४० करोड ५० लाख र विविध योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।
Category: अर्थ
-
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड
-
मध्यपुर थिमि नगरपालिकाको आ.व.२०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक
भक्तपुर, असार ११
मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको दशौं अधिवेशनमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, कमेरोटार जग्गा एकिकरण आयोजना र सिन्टिटार जग्गा एकिकरण आयोजना र सामाजिक सुरक्षा भत्तासहितको कुल ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक भएको बजेट अनुसार नगरपालिका सञ्चालनतर्फ १ अर्ब ६९ करोड ९ लाख १३ हजार ५ सय विनियोजन गरिएको छ । जसमध्ये पुँजीगत खर्चका लागि ९८ करोड ३७ लाख ३५ हजार रुपैयाँ विनियोजन गरेको छ । जुन कुल बजेटको ५८.१८ प्रतिशत हो । त्यस्तै, आगामी आ.वमा चालू खर्चका लागि नगरपालिकाले कुल बजेटको ४१.८२ प्रतिशत अर्थात ७० करोड ७१ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ६१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट ३५ करोड ८८ लाख रुपैयाँ र अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् ६० करोड १ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट प्राप्त हुने १० करोड ६६ लाख रुपैयाँ र लागत सहभागीता १ करोड सहित १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान गरेको छ ।
नगरपाकिकाले आगामी आर्थिक वर्ष नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाका लागि ५७ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सिन्टिटार जग्गा एकीकरण आयोजनाका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि २२ करोड रुपैयाँ र सडक बोर्डको ७० लाख रुपैयाँ विनियोजन गरेको छ । -
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशतसम्म छुट
भक्तपुर, असार ७
स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्गस्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ ।
सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरु हुन्, बालीले सदैब गुणात्मक उत्पादनलाई प्राथमिकता दिंदै आएको सर्बविदित्तै छ । १७२ बर्ष भन्दा लामो आफ्नो लेगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधी र आधुनिकता सँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, ब्यावसायि तथा संभ्रान्तहरुको पहिलो रोजाई बन्दै आएको छ ।
होटल उडल्याण्ड सँगै दरबारमार्गमा रहेको वाच ग्यलरीले नेपाली बजारमा लामो समयदेखी बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनीसँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो ।
बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनीसँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएको वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले बताउनुभयो ।
“नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौं,” उहाँले भन्नुभयो, “त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनीसँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौं । सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिंदैदन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौं ।” कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ । -
भक्तपुर नगरपालिकाको १० महिनाको आम्दानी १ अर्ब २३ करोड, खर्च १ अर्ब ७ करोड
भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को १० महिनामा एक अर्ब २३ करोड रुपैंया आम्दानी गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यकालको दोस्रो वर्ष पुरा भएको अवसरमा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले सो जानकारी दिनुभएको हो ।
उहाँले चालु आ.व.मा आन्तरिक र वाह्य गरी कुल २ अर्ब १३ करोड २३ लाख आय अनुमान गरिएकोमा २०८१ बैशाख मसान्तसम्म कुल १ अर्ब २३ करोड ७५ लाख आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार यो कुल अनुमानित आयको ५८ प्रतिशतमात्र हो ।
चालु आ.व.मा आन्तरिकतर्फ ६० करोड र बाह्य स्रोततर्फ १ अर्ब ५३ करोड २३ लाख ४० हजार तथा गत वर्षको बांँकी मौज्दात १३ करोड ६२ लाख ५४ हजार गरी कुल २ अर्ब २६ करोड ८५ लाख ९४ हजार स्रोत अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले चालु आ.व.को साउनदेखी बैशाख मसान्तसम्मको १० महिनामा आन्तरिक आयतर्फ ४० करोड ९३ लाख संकलन भएको बताउनुभयो । उक्त रकम चालु आ.ब.को लक्ष्यको ६८ प्रतिशत हो । गत बर्षको सोही अवधिको तुलनामा उक्त रकममा रु. ९ करोड ६४ लाख वृद्धि भएको उहाँले बताउनुभयो । “यो गत बर्षको तुलनामा ३१ प्रतिशतले बृद्धि हो । यो करको क्षेत्र बिस्तार हुँदै जानुको परिणाम हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार नेपाल सरकारबाट राजश्व बाँडफाँटतर्फ चालु आ.व. मा ५ करोड २० लाख, वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जम्मा ४४ करोड ४० लाख, मालपोत रजिष्ट्रेशनबाट रु. १ करोड ५३ लाख प्राप्त भएको छ भने बागमती प्रदेश सरकारबाट यसै आ.व. मा वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानतर्फ जम्मा ३ करोड ६० लाख रुपैयाँ, सवारी करको राजश्व बाँडफाँडबाट रु. २ करोड ३३ लाख रुपैयाँ प्राप्त भएको छ ।
उहाँले राजश्व संकलनलाई प्रविधि मैत्री बनाउन विभिन्न सफ्टवेयर तथा अनलाईन भुक्तानी प्रणालीको प्रवद्र्धन गर्दै लगिएको बताउँदैं यसले नागरिकहरुले सहज, सुलभ तरिकाले राजश्व भुक्तानी गर्ने कार्य भई सेवा प्रवाह छरितो भएको दावी गर्नुभयो ।
उहाँले आर्थिक वर्षको पहिलो १० महिनामा चालु खर्चतर्फ १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार विनियोजित रकम मध्ये ८५ करोड १९ हजार खर्च भई विनियोजित रकमको ६२ प्रतिशत खर्च भएको बताउनुभयो ।
पुँजीगत खर्चतर्फ विनियोजित रकम ८० करोड ४१ लाखमध्ये २० करोड ४२ लाख ५३ हजार खर्च भई २५ दशमलव ३२ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख विनियोजन भएकोमा २ करोड ३५ लाख खर्च भएको छ ।
चालु आ.व.मा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ कुल विनियोजित २ अर्ब २६ करोड ८५ लाख ९४ हजार मध्ये बैशाख मसान्तसम्म ४७ दशमलव ४८ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनुभयो । -
आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु
भक्तपुर, चैत्र २२
आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आज (बिहिवार)देखी सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको सो महोत्सव सल्लाघारीमा सुरु भएको हो । महोत्सव अर्को वर्षको बैशाख २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सव बैशाख २ गते सम्पन्न भएपनि बैशाख ३ गते विशेष सांगीतिक कार्यक्रम हुने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । उहाँले सो सांगीतिक कार्यक्रममा नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक प्रस्तुती रहने उहाँले बताउनुभयो ।
“नयाँ वर्ष र भक्तपुरको विश्व प्रसिद्ध बिस्काः जात्राको अवसर पारेर विगतका वर्षमा जस्तै यसवर्ष पनि महोत्सव आयोजना गरिएको हो,” उहाँले भन्नुभयो ।
महोत्सवमा कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिनुभयो । त्यसैगरी स्थानीय उत्पादन र खानाका परिकारसहितका स्टल पनि रहनेछ ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आायोजकले जानकारी दिएको छ ।
महोत्सवमा ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ भने विद्यार्थीलाई ५० र सर्वसाधरणलाई ७० रुपैंयाको प्रवेश शुल्क निर्धारण गरिएको छ । महोत्सवमा भक्तपुर, काठमाण्डौं, ललितपुर र काभ्रेपलाञ्चोकका करिव ५ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले महोत्सवले अहिलेको आर्थिक मन्दीले महोत्सवमा उपलब्ध गराउने छुटको अफरले सर्वसाधारणले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुरको स्थानीय उत्पादनले बजारीकरणको मौका पाउनुका साथै विश्वास व्यक्त गर्नुभयो । उहाँले
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने र सर्वसाधरणले पनि एकै थलोमा आवश्यक सामग्री सहुलियतमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । -
मध्यपुर थिमिको आयोजनामा ६७ औं सहकारी दिवसमा प्रभातफेरी
भक्तपुर चैत्र २०
‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने राष्ट्रिय मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाले मंगलवार ६७ औं सहकारी दिवस मनाएको छ । सहकारीप्रति नगरवासीलाई जागरुक बनाउने उद्देश्यसहित मध्यपुर थिमिले यसवर्ष बृहत कार्यक्रम आयोजना गरी सहकारी दिवस मनाएको हो ।
नगदेशको छ्वासटोलमा आयोजित मूल समारोहको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सहकारीहरुलाई व्यवस्थित गर्न अर्को सातादेखी सहकारी अनुगमनलाई तिव्र रुपमा सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले सहकारीहरुलाई नियमन र व्यवस्थित गरी वचतकर्ताको वचत सुरक्षित गर्न नगरपालिकाले सहकारी ऐन र नियमावली कार्यान्वयनमा ल्याईसकेको बताउँदैं सहकारीहरुको समस्याको रुपमा रहेको ऋण असुलीलाई सहज बनाउन नगरपालिकाले सहकारीहरुको ऋणको साँवा व्याज समयमा नतिर्ने वचतकर्तालाई स्थानीय सरकारको सेवामा रोक लगाउने सम्मको व्यवस्था भएको जानकारी दिनुभयो ।
“सहकारीहरुलाई व्यवस्थित गर्न नगरपालिकाले लागि परेको छ । सहकारीका ऋणीहरुलाई समयमा सावाँ व्याज भुक्तानी गर्न सार्वजनिक सूचना समेत जारी गरिसकेका छौं,” उहाँले भन्नुभयो ।
उहाँले सहकारीकै कारण धेरैले आफ्नो जिविकोर्पाजनमा सहज महसुश गरेको भएता पनि केही सहकारी सञ्चालनहरुको बदमासीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम हुनु र सहकारी प्रति आम नागरिकको विश्वास घट्नु चिन्ताको विषय भएको बताउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले सरकारीका समस्यालाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताउँदैं सहकारी सञ्चालकका कारण वचतकर्ताको वचत असुरक्षित भए नगरपालिकाले चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम् सहकारी रजिष्ट्रार राम बहादुर केसीले सहकारीहरुका आफ्ना गल्ती र कमीकमजोरीले गर्दा पनि सहकारीमा समस्या आएको बताउँदैं त्यस्ता गल्ती र कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रम अघि नगरका विभिन्न स्थानबाट सहकारीकर्मीहरुले साँस्कृतिक झाँकीसहित प्रभातफेरी गर्दै वडा नं. ७ नगदेशको छ्वासटोल आईपुगेका थिए । मध्यपुर थिमि नगरपालिकाको सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जितका अनुसार वडा नं. १, २ र ३ का सहकारीहरु सानो थिमि, वडा नं. ४, ५ र ६ का सहकारहरु बालकुमारी मन्दिर परिसर र वडा नं. ७, ८ र ९ का सहकारीहरु बोदेको चारदोवाटो चोकमा जम्मा भई प्रभातफेरी गर्दै नगदेश आइपुगेको हो ।
कार्यक्रममा मध्यपुर थिमिका ११९ वटा सहकारीका करिव ३ हजार जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागी सहकारी संस्थाहरुको उपस्थितीको मूल्यांकन गरी उत्कृष्ट पहिलो, दोस्रो, तेस्रो र सान्त्वना छनोट गरी पुरस्कृत गर्ने व्यवस्था समेत गरिएको छ । -
मध्यपुर थिमि नगरपालिकाले अनुमति नलिएका होर्डिङ बोर्ड हटाउने
भक्तपुर, चैत्र १२
मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्डहरु हटाउने भएको छ । मध्यपुर थिमिले सोमवार विज्ञापन कर वापतको रकम तिरेर अनुमति लिन ३० दिने सूचना जारी गर्दै कर तिरेर अनुमति नलिए त्यस्ता होर्डिङ बोर्डहरु हटाउने जानकारी दिएको हो ।
नगरपालिकाभित्र अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रूपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरूको विज्ञापन तथा प्रचार–प्रसार सामग्रीहरू राखिएको पाईएको सूचनामा उल्लेख छ ।
‘यस नगरपालिकाको अनुमति नलिई तथा कानून बमोजिम बुझाउनु पर्ने विज्ञापन कर समेत नबुझाई जथाभावी रुपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरुको विज्ञापन तथा प्रचार सामग्री राखिएको पाईएकोले अनुमति नलिई वा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिङ बोर्ड, फ्लेक्स, व्यानर, डिस्प्ले बोर्ड, परिचयपाटी, वाल सटर पेन्ट्स, लोगो तथा चिन्हलगायतका सम्पूर्ण विज्ञापन सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र मध्यपुर थिमि नगरपालिकाको राजश्व शाखामा सम्पर्क राखी नगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम लाग्ने विज्ञापन कर तिर्न बुझाउन अनुरोध गरिएको छ’, सूचनामा उल्लेख छ ।
सूचनामा तोकिएको समयमा कानून अनुसार कर बुझाई अनुमति नलिए त्यस्ता विज्ञापनका सामग्रीहरु हटाई जफत गरिने जनाएको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विज्ञापन कर नतिरी कुनै पनि प्रचारका सामग्री राख्न नपाउने ऐनमा उल्लेख भएको बताउँदैं त्यस्ता सामग्री हटाउन र विज्ञापनका सामग्रीहरुलाई नियमन गर्न सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो । उहाँले तोकिएको म्याद सकिएपछि अनाधिकृतरुपमा राखिएका विज्ञापनका सामग्री हटाउने अघियान शुरु गर्ने बताउनुभयो । -
उपभोक्ता स्वयम् जागरुक र सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड
भक्तपुर, चैत्र २
उपभोक्ता अधिकारका लागि उपभोक्ता स्वयम् जागरुक र सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले नियमनकारी निकायले पनि बजारको नियमित अनुगमन र नियमन गरी आफ्नो भूमिकालाई इमान्दारीपूवर्क निभाउनुपर्ने बताएका छन ।
विश्वक उपभोक्ता दिवसको अवसरमा शुक्रवार राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरले आयोजित ‘स्वच्छ र प्रतिष्पर्धी बजार ः उपभोक्ताको सार्वभौम अधिकार’ विषयक कार्यक्रममा सहभागीहरुले उपभोक्ताहरुको हित संरक्षणमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने सुझाव समेत दिएका छन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य रेखा यादवले उपभोक्ता आफै सचेत नहुदाँसम्म अधिकार प्राप्त नहुने भएकाले चनाखो हुन आग्रह गर्नुभयो । उहाँले बजारमा वस्तु वा सेवा खरिद गर्दा नेपालको ऐन कानूनले उपभोक्तालाई दिएका अधिकारको उपयोग गरी उक्त वस्तु वा सेवाको गुणस्तरियता, मूल्य र उपभोग्य मितिको बारेमा ज्ञान लिएर खरिद गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नियमनकारी निकायले नियमितरुपमा अनुगमन गरी उपभोक्ता अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीले पनि उपभोक्ता हितलाई केन्द्रविन्दुमा राखेर व्यवसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ताको अधिकार संरक्षण र सम्वर्धनका लागि सवै जिम्मेवार बन्न जरुरी रहेको धारणा राख्नुभयो ।
बागमती प्रदेशका सांसद किरण थापाले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले नियामक निकायले पनि आफ्नो कार्य क्षमतामा विकास र बिस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशिल हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर खड्काले उपभोक्ताहरुलाई सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार रहेको बताउनुभयो । उहाँले जिससको भूमिका अनुगमन र समन्वयकारी रहेको बताउँदैं उपभोक्ताको हकहित संरक्षणको लागि बजार अनुगमनमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले प्रशासनले बजार अनुगमनलाई प्रभावकारी बनाउँदैं लगेको जानकारी गराउँदैं सेवा दिने निकाय, उद्यमी, व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सवै क्षेत्र आआफनो क्षेत्रमा इमान्दार हुन सकेमा सुशासन र अधिकार पनि मजबुत हुने बताउनुभयो ।
मञ्चका भक्तपुर अध्यक्ष मनोज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैयाँ धौवञ्जा, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख आशिष दाहाल, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति पर्शुराम पाण्डे, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजालगायतले बजारमा उपभोक्ता हित विपरीत हुने कुनै पनि प्रकारका ठगी, कालोबजारी, मिसावट, गुणस्तरहीन वस्तुको बिक्री–वितरणबारे उपभोक्तालाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।
उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था छ । सो व्यवस्थामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ । साथै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक पनि संविधानमा सुनिश्चित गरिएको छ । -
महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमूलक सिपसँग जोड्नुपर्छ– प्रजिअ श्रेष्ठ
भक्तपुर, फागुन २५
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउन उनीहरुलाई उत्पादनमूलक सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । ११४ औं अन्तर्राष्ट्रि«य महिला दिवसको अवसरमा बिहीबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘आर्थिक विकासमा महिला उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर बन्न नसक्दा हिँसामा पर्ने गरेको बताउनुभयो ।
उहाँले महिलाहरु महिलाहरु सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । “सिप उत्पादनसँग जोडिए मात्रै रोजगार वृद्धि भई आत्मनिर्भर बन्न सकिन्छ” उहाँले भन्नुभयो, “सिपले महिलाहरुलाई जीविकोपार्जनमा आत्मनिर्भर बनाउनुका साथै राष्ट्रका कुनै पनि क्षेत्रको नेतृत्वमा पुग्न सक्षम समेत बनाउँछ ।”
प्रजिअ श्रेष्ठले जोखिम कम हुने क्षेत्र पहिचान गरी लगानी गर्न महिला उद्यमीहरुलाई आग्रह गर्नुभयो । “आफूलाई ज्ञान भएको तथा आफूसँग भएको सिपअनुसारको व्यवसायमा लगानी गरेमा मात्रै लगानी सुरक्षित हुन्छ,” उहाँले भन्नुभयो । महिला उद्यमशीलता विकास हुने तालिमहरु पनि लिँदै जानुपर्नेमा जोड दिँदैं उहाँले सिप र तालिमबिना सञ्चालित व्यवसाय दीर्घकालीन नहुने भएकाले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले पहिलेको तुलनामा अहिले राज्यका आर्थिक, सामाजिक, राजनीतिकलगायत हरेक क्षेत्रमा महिलाहरुको योगदान बढ्दै गएको भए पनि महिलाहरुको कामको सम्मान र सही मूल्यांकन हुन नसकेको बताउनुभयो । महिलाहरुलाई बोक्सीको आरोपमा यातना दिने, दाइजो प्रथा, छाउपडी प्रथाको अन्त्य अझै हुन नसकेको भन्दै उहाँले महिलाहरु माथि हुने कुनै पनि किसिमका अन्याय हुन नदिन महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले महिलाहरुले आवाज बुलन्द गरेकै कारण पहिलाको तुलनामा धेरै अधिकार पाउन सकेको धारणा राख्नुभयो । उहाँले संघले महिला सशक्तीकरण, उद्यमशीलता वृद्धि, सीप विकास, नेतृत्व क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । “जिल्लाका महिलाहरुलाई उद्यमी बनाउन स्थानीय तह, प्रदेश, संघीय सरकारसँगै विभिन्न सरकारी नियकासँग सहकार्य गरी महिलाहरुलाई आवश्यक तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै जाने छौं,”उहाँले भन्नुभयो ।
कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख मेरिना चित्रकार, समाजसेवी कृष्णेश्वरी हाडा, शिक्षा विकास तथा समन्वय एकाईकी इकाई प्रमुख कमला ज्ञवाली, संघका उपाध्यक्ष गणेशहरि प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा संघले जिल्लाका दुईजना महिलालाई सम्मान गरेको छ । प्रजिअ श्रेष्ठले महिला स्वरोजगारका लागि प्रेरक व्यक्तिको रुपमा रमालक्ष्मी प्रजापतिलाई सम्मान पत्रसहित खादा ओढाएर र महिला उद्यमी चेतकुमारी चित्रकारलाई दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । -
दुधको भुक्तानी माग्दै कृषक सडकमा
भक्तपुर, फागुन १८
दुधको बाँकी बक्यौता भुक्तानी माग गर्दै बिहिवार भक्तपुरका किसानहरुले सडकमा प्रदर्शन गरेका छन । नेपाल दुग्ध विकास संस्थान (डिडिसी)बाट दुधको भूक्तानी नपाएका कृषकहरुले भक्तपुरको जगाती चोकमा भैंसीसहित विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शनका क्रममा कृषकहरुले दुधको छिटो भुक्तानी माग गर्नुका साथै सरकार विरोधी नारा लगाएका थिए । किसानलाई सत्तामा पुग्नु छैन्, दुधको भुक्तानी चाहिएको छ भन्दै आन्दोलनमा आएका कृषकहरुले ‘सिंहदरवार खाली गर, भैँसी पाल्न आउँदै छौं’ नारा लगाउनुका साथै विदेशबाट दुधजन्य पदार्थ खरिद नगर्न चेतावनी पनि दिएका थिए ।
संस्थानले छिटो भन्दा छिटो दुधको भुक्तानी नदिए सरकार विरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने बाध्यता आउने नेपाल किसान महासंघ भक्तपुरका अध्यक्ष ईन्द्र बहादुर प्रजापतिले बताउनुभयो । स्वदेशी कृषकको दुध खरिद नगर्ने, भुक्तानी पनि नदिने संस्थानले दुग्ध पदार्थ विदेशबाट आयात गर्नु लज्जाको विषय भन्दै उहाँले असक्ष नेतृत्वका कारण अहिलेको परिस्थिती आएको आरोप लगाउनुभयो ।विरोध प्रदर्शन पश्चात कृषकहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई माग पत्र बुझाएका थिए । मागपत्र बुझ्दै प्रजिअ रोशनीकुमारी श्रेष्ठले कृषकको मागलाई सम्बन्धीत कार्यालयमा ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउनुभयो ।













