Category: अर्थ

  • राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना

    भक्तपुर, असोज १४
    मध्यपुर थिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहिवार बजार अनुगमन गर्ने क्रममा भाटभटेनीले खरिद बिलविजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्रि वितरण गरेको पाईएपछि सो जरिवाना गरेको हो ।
    अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु चिनीमा कालोबजारी गरेको पाईएको थियो । कालो बजारी सम्बन्धी ऐनले खरिद मूल्यको २० प्रतिशत भन्दा बढी नाफा लिएर वस्तु बिक्रि वितरण गरेको पाईए कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ । भाटभेटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्रि वितरण गरीरहेको अनुगमनका क्रममा पाईएको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो ।


    भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी ८९ रुपैंया बिक्रि वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाईएको हो । त्यस्तै बोटलको पानी २६ रुपैंयामा खरिद गरेर ४५ रुपैंयामा बिक्रि वितरण गरिरहेको पाईएको थियो ।
    अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेको समेत बिक्रिका लागि राखिएको पाईएको थियो । भाटभेटेनीले एक किन्दा अर्को सितैमा अफर राखेर बिक्रिका लागि राखिएका बिस्कुटका प्याकेट टुटेको र फुेटेको पाईएको हो ।


    त्यसैगरी भाटभटेनीले तरकारी र फलफुलमा समेत उपभोक्तालाई ठगी गरेको पाईएको थियो । तरकारीका प्याकेटमा मुल्य राखेपनि तौल नराखेर प्रति केजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिएर बिक्रि गरेको पाईएको हो ।
    अनुगमनका क्रममा भोटभेटेनीलाई वस्तुको खरिद बिल बिजक नपाईएको, उपभोग्य मिति नाघेका वस्तु र उपभोग योग्य वस्तू एउटै स्थानमा भण्डार गरेको, बिस्कुटका प्याकेटमा अंकित मुल्य भन्दा दोब्बर मुल्यमा बिक्रि वितरण गरेको पाईएको थियो ।


    त्यसैगरी भाटभेटेनीको प्रांगणमा रहेको केएफसी चिकेन र पिजा अटमा अनुगमन गर्दा स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाईएको थियो ।
    अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी केसरी नेतृत्वको अनुगमन टोलीमा वाणिज्य, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासंघ, मध्यपुर थिमि नगरपालिका, नेपाल पत्रकार महासंघ भक्तपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • आ.व. २०७७÷७८ मा बाबा साकोसको खुद नाफा ५७ लाख ३६ हजार

    भक्तपुर, असोज ९
    बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७÷७८ मा रु. ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ ।
    संस्थाको शनिवार सम्पन्न १६ औं वार्षिक सभामा दिइएको जानकारी अनुसार संस्थाले गत आ.व. मा ४ करोड ९२ लाख २ हजार १ सय रुपैंया शेयर पूंजी रहेको र ३५ कारोड ८७ लाख ७२ हजार ४ सय ४३ रुपैंया ८६ पैसा निक्षेप संकलन गरी २९ करोड ९७ लाख ६५ हजार ९ सय ६२ रुपैंया २६ पैसा लगानी गरेको थियो ।
    साधारणसभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बाबा साकोसको वासलात, नाफा नोक्सानको सूचकांक विश्लेषण गर्दै संस्था प्रगति उन्मुख पाएको बताउनुभयो । उहाँले कोभिड– १९ को महामारीका बीच पनि संस्थाले वासलात १० करोडमा बृद्धि गर्नु बाबा साकोसको कुशल ब्यवस्थापनबाट संचालन रहेको प्रमाणित भएको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले बाबा साकोसले नेपाल कोरिया नगरपालिका मैत्री अस्पताललाई कोभिड– १९ को महामारीको समयमा स्वास्थ्य पेसन्ट मनिटर सहयोग गर्न यस भेगको सहकारीहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्नु, वातावरणीय क्षेत्रमा सुधार ल्याउन बायो–कल्चर बृक्षारोपण गर्नु, शिक्षा क्षेत्रको विकास गर्न स्नातकोत्तर तह उत्तीर्णलाई सम्मान गर्नु प्रशंनिय रहेको उल्लेख गर्नुभयो ।


    उहाँले मध्यपुर थिमि नगरपालिकाको विगत र वर्तमानको विकास निर्माणको चर्चा गर्दै नगरको सम्पदा, पार्क, संस्कृति क्षेत्रको घुम्न लायकको गन्तब्यको रुपमा विकास भएको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा संचालनमा रहेको स्वास्थ्य बीमा सेवा सरकारले अस्पताललाई दिनु पर्ने ९ करोड रुपैया नदिएपछि हाललाई बन्द गर्ने अप्रिय निर्णय लिनु परेको बताउदै सरकारबाट भुक्तानी लिन आवश्यक दबाब पनि दिदै गरेको जानकारी दिनुभयो ।
    कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले बाबा साकोसले सदस्यहरु बीच आर्थिक कारोबारको बिस्तारका साथै सामाजिक, सांस्कृतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान गरेको चर्चा गर्दै संस्थाले अझ बढी प्रगति गर्न सकोस भनी कामना गर्नुभयो ।
    जिल्ला समन्वय समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठले संस्थाको स्थापनाकालदेखि सदस्यहरुको आर्थिक विकासमा बाबा साकोसले उल्लेखनीय कार्य गर्दै आएको चर्चा गर्दै सफलताको कामना गर्नुभयो ।
    संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले संस्थाको सदस्यहरुको सफलताको लागि केन्द्रित गरेर नै सबै कार्य सम्पादन गरी सहकारीको मूल्य, मान्यतालाई आत्मसात गरी कारोबार गर्दै आएको जानकारी दिनुभयो । उहाँले पैसाको आधारमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट दिने सेवा स्थगित नगर्न आग्रह गर्दै कानूनी प्रक्रिया मिलेमा बाबा साकोसले अस्पतालको लागि आपतकालिन ऋण लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
    कार्यक्रममा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले आ.व. २०७७÷७८ को प्रगति प्रतिवेदन तथा आ.व. २०७८÷८९ को वार्षिक कार्ययोजन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष पे्रमरत्न मानन्धरले आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदन तथा आ.व. २०७८÷७९ को अनुमानित बजेट प्रस्तुत गरी पारित गरिएको थियो ।
    सभामा विभिन्न संकाय र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका शेयर सदस्यका छोराछोरीहरुलाई चाँदीको पदक, नगद, मायाको चिह्न सहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मानित स्नातकोत्तर तह उत्तीर्ण हुनेहरुमा योगेश श्रेष्ठ, ललित मानन्धर, अनुज श्रेष्ठ, रमिता भासिमा, प्युरी जोशी खतोखो, सुनिता श्रेष्ठ, डा. विनय श्रेष्ठ, डा. अनिल शंखदेव र विपिन मानन्धर रहेका छन् । कार्यक्रममा सम्मानितको तर्फबाट डा. विनय श्रेष्ठ, संस्थाका उपाध्यक्ष राजेश श्रेष्ठले संस्थाको विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

  • भक्तपुर नगरपालिकाका सफाई मजदुरहरुलाई कम्पोष्ट मल बनाउने तालिम

    भक्तपुर, भाद्र २३
    भक्तपुर नगरपालिकाले सफाई मजदुरलाई जापानी प्रविधि रिकीसी विधिद्धारा फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको छ । नगरको कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई उपयोगमा ल्याउने र नगरलाई थप सफा बनाउने उद्देश्यले नगरपालिकाले आफ्ना ३० जना सफाई मजदुरलाई १० दिने सो तालिम प्रदान गरेको हो ।
    सो तालिमको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नगरको फोहरमैला व्यवस्थापन सम्बन्धी परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रुपान्तरण गर्ने प्रयासमा रहेको बताउनुभयो । उहाँले सिंगो भक्तपुरलाई सफा र स्वस्थ नगर बनाउन रिकीसी विधि उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
    नगरको फोहर व्यवस्थापनमा दैनिक १ सय ५० भन्दा बढी सफाई मजदुरहरु क्रियाशील रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुरलाई अझ सुन्दर बनाउन, कृषि उत्पादन वृद्धि गर्न र आर्थिक उपार्जन गर्न यस विधि उपयोगी हुनेछ ।”
    उहाँले नगरको फोहर व्यवस्थापनकै क्रममा कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्दै आएकोमा हाल आधुनिक प्रविधिको प्रयोग गरी कुहिने बस्तुहरूलाई गन्ध नआउने गरी कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री वितरण गरी आय आर्जन गर्ने श्रोतको रुपमा विकास गरिने लक्ष्य नगरपालिकाले लिएको बताउनुभयो ।
    भक्तपुर कृषिप्रधान र कृषकहरुको बाहुल्यता भएको जिल्लाको रुपमा परिचित भएको बताउनुहुँदै उहाँले कुहिने फोहरलाई मलको रुपमा परिणत गर्दा यहाँका किसानहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
    भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्वले फोहोर व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुर नपाले वैज्ञानिक ढंगले कुहिने फोहरलाई गन्धरहित किसिमले व्यवस्थापन गर्न विभिन्न ठाउँहरुको अध्ययन अवलोकनपश्चात रिकीसी विधि अपनाउने प्रयासमा रहेको बताउनुभयो । भक्तपुर नपाले आफ्नै स्रोत साधन र कर्मचारीहरुबाट नगरको फोहर व्यवस्थापन गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा रिकीसी कम्पोष्ट प्लान्टका प्राविधिक सल्लाहकार किमुरा गोरोले भक्तपुरलाई विश्व जगतमा सफा, सुन्दर र व्यवस्थित नगरको रुपमा परिचित गर्न फोहरमैला व्यवस्थापनको उचित विधि अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले फोहोर व्यवस्थापनको प्रविधि वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदैं यस प्रविधिको प्रयोगबाट भक्तपुर अझ सफा नगरको रुपमा परिचित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
    रिकीसी कम्पोष्ट प्लान्टका दीक्षा श्रेष्ठले रिकीसी कम्पोष्ट विधिबारे संक्षिप्त जानकारी दिँदैं पुरानो प्रविधिबाट वैज्ञानिक ढंगले फोहरमैला व्यवस्थापन गर्नु नै यस विधिको विशेषता भएको बताउनुभयो ।
    कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष एवम् वातावरण समितिका सदस्य महेन्द्र खायमली र भक्तपुर नपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवालले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । तालिममा भक्तपुर नपाको फोहरमैला व्यवस्थापनमा कार्यरत ३० जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • वागीश्वरी मा वि र कलेजको वार्षिक बजेट २३ करोड

    भक्तपुर, भाद्र ११
    भक्तपुर नगरपालिकाद्धारा सञ्चालित वागीश्वरी माध्यामिक विद्यालय र कलेजले शुक्रवार अनलाईन मार्फत वार्षिक बजेट सार्वजनिक गरेको छ ।
    कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स (प्राविधिकशिक्षा) तर्फ दुई करोड ६५ लाख ८१ हजार १ सय ६९ रुपैयाँ गरी जम्मा १७ करोड २१ लाख ७५ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।
    यस्तै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पाँच करोड ७२ लाख २८ हजार २ सय ६४ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । कलेजले यसवर्ष अनुसन्धानमूलक गतिविधिको लागि २८ लाख ७५ हजार बजेट विनियोजन गरेको प्राचार्य श्रेष्ठले बताउनुभयो ।
    सो विद्यालय र कलेज वार्षिक एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिँदै आएको दावी गरेको छ । विद्यालय र कलेजमा गरी करिव ५ हजार विद्यार्थी अध्ययनरत रहेको छ ।
    कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले कलेज र विद्यालयले झण्डै एक करोडको छात्रवृत्ति दिँदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

     

  • हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा थिमि एसएस चोकमा

    भक्तपुर, भाद्र ४
    हजुरलाई नमस्ते ट्रेड लिन्कको पहिलो शाखा भक्तपुरमा सञ्चालनमा ल्याइएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्र्तगत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै शाखा खोलिएको हो ।
    शाखाको शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ लोक दोहरी गायक बद्री पंगेनी, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ भक्तपुरका पूर्व अध्यक्ष राजाराम न्हिसुतू, नेपाल हेभी इक्विपमेन्ट मेकानिक संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य मुकेश पन्तलगायतले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।
    भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप, चौतारा, मेलम्ची, चरिकोट, मन्थलीलगायतका पूर्व क्षेत्रका व्यवसायीहरुको सुविधाका लागि शाखा खोलिएको शाखा प्रमुख फाल्गुण कुँंवरले बताउनुभयो ।
    कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्कका सञ्चालक एवम् समाजसेवी ताराबहादुर कुँंवरले भविष्यमा हेटौडा, पोखरालगायतका ठाउँंमा पनि शाखा खोल्ने योजना रहेको बताउनुभयो ।
    हजुरलाई नमस्ते ट्रेड लिन्कको मुख्य कार्यालय काठमाडौंको बाफलमा रहेको छ । कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्कका व्यवस्थापक प्रदीपराज गिरी, भक्तपुर शाखाका प्रमुख कुँंवरलगायतले नाफा भन्दा पनि व्यवसायीको सहुलियत र सहजताका लागि शाखा बिस्तार गरेको जनाउनुभयो । शाखाबाट हेभी इक्विपमेन्ट (डोजर) का पार्टपूर्जाहरु बिक्री गरिने छन् ।

  • भक्तपुरको दुधपाटीमा नेपाल बैंकको काउन्टर सञ्चालन

    भक्तपुर, भाद्र १
    नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा आजदेखी सेवा बिस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवा सुविधालाई ध्यान दिँदैं दुधपाटीमा काउन्टर स्थापना गरी नेपाल बैंकले सेवा बिस्तार गरेको हो ।
    सो काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख प्रजापतिले विदेशी लगानी र नीजि क्षेत्रको बैंक भन्दा भरपर्दो सरकारी स्वामित्वको बैंकमा कारोवार गर्नु बढी सुरक्षित हुने बताउनुभयो । उहाँले विदेशी लगानी भएका बैंक धेरै भएको र ती बैंकले नेपाली पुँजी विदेश लगिरहेकोले त्यस्ता बैंकलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।


    विदेशी लगानीका बैंकहरुले सरकारी बैंकको संरचना ध्वस्त बनाउन विभिन्न खाले योजना र सुविधा दिने गरेको आरोप लगाउँदैं उहाँले सरकारी लगानीका बैंकहरुले पनि प्रतिष्पर्धामा जान सोही अनुसारको योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
    “नीजि बैंकका प्रतिनिधिहरु घरघरमा गएर सेवा सुविधा दिने गरेका छन । सरकारी बैंकहरुले पनि त्यसतर्फ ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले सरकारी बैंकहरुमा कर्मचारीका पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजश्व संकलनलगायतका सेवाहरु पनि भएको र ती सेवाहरुको चापले ढिलासुस्ती हुने गरेको जनगुनासो रहेको बताउँदैं नगरप्रमुख प्रजापतिले जनगुनासोको समयमा सम्बोधन हुन सके सरकारी बैंकको साख दिगो रहने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले जुनसुकै क्षेत्रमा सरकार बलियो भए मात्र जनताले पनि सरल र सहजरुपमा छिटो छरिटो सेवा पाउने भएकाले बैंकिङ क्षेत्रमा पनि सरकारी बैंक बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा. कृष्णप्रसाद पोखरेलले ९ दशकको इतिहास बोकेको नेपाल बैंकको सेवा बिस्तारले भक्तपुर नगरका पश्चिम भेगका जनताले सरल र सहजरुपमा बैकिङ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
    नेपाल बैंक बागमति प्रदेश प्रमुख निरुजा श्रेष्ठले दुधपाटी काउन्टरको बिस्तारसँगै भक्तपुरमा तीन शाखा र चार वटा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो ।


    उहाँले नेपाल बैंकले पनि नीजि बैंकसँग प्रतिष्पर्धा गर्न घरघरमा गएर सेवा दिने नीति अनुरुप आवश्यकता अनुसार सेवा काउन्टरको बिस्तारलाई अघि बढाएको जानकारी दिनुभयो । उहाँले नेपाल बैंकले देशका ७१ जिल्लामा २११ शाखा, १४७ एटिएम र ४५ वटा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले नेपाल बैंक देशका सबै पालिकामा पुग्ने लक्ष्यका साथ अघि बढीरहेको जानकारी समेत दिनुभयो ।
    कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दिपा पनेरुले भक्तपुरमा थप २ देखी ३ वटा शाखा बिस्तार गर्ने योजनाका साथ कार्य अघि बढीरहेको जानकारी दिनुभयो ।

  • मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको छ – पूर्व गभर्नर डा. नेपाल

    काठमाडौं, साउन ३०

    नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताउनुभएको छ । उहाँले अप्ठ्यारो बेलामा मौद्रिक नीति आएको र कोभिडले पारेको असरलाई राहत प्याकेजको रुपमा आएको स्पष्ट पार्नुभयो ।
    रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको विशेष साक्षात्कारमा उहाँले कोभिडले गर्दा यो अप्ठ्यारो अवस्थामा सरकारले केही गर्नुपर्छ भन्ने आम जनताको चाहना रहेको र सोहीअनुसार मौद्रिक नीति आएको बताउनुभयो । तल्लो वर्गलाई सम्बोधन गर्नेगरी अबको बजेट आउनुपर्नेमा उहाँको जोड छ । कोभिडको तेस्रो लहरमा हिजो आएको मौद्रिक नीतिले आर्थिक पूर्नस्थानमा सहयोग पुग्ने पनि नेपालले विश्वास दिलाउनुभयो ।
    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, ‘केन्द्रीय बैंक सुविधा÷सहुलियत दिने संस्था होईन । त्यो तपाईँहरु प्रष्ट हुनुपर्छ । सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको राज्यले हो । सरकारले हो । त्यो भनेको बजेटमार्फत नै हो ।’ उहाँले अप्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकता महशुस भएको उहाँले बताउनुभयो ।
    उहाँले भन्नुभयो, ‘केन्द्रीय बैंकको सबभन्दा ठूलो र महत्वपूर्ण काम भनेको मुद्रा स्फितीलाई कन्ट्रोलमा राख्ने, वित्तिय स्थायित्व हेर्ने हो । भोली वित्तिय स्थायित्व खलबलियो भने संसारलाई कसैले दोष दिँदैन्, केन्द्रीय बैंकलाई नै दिईन्छ ।’
    उहाँले पुँजी बृद्धिको कारण जोखिम बहन गर्ने क्षमता बृद्धि भएको स्मरण गराउनुभयो । उहाँले सरकारले आर्थिक बृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र भनेको नै रेमिटेन्समा आधारित छ, आर्थिक क्रियाकलाप नबढ्नुञ्जेलसम्म सामानहरु महँगो हुन्छ । पेट्रोलियम पदार्थहरु सबै महँगो हुँदैछ । भारतबाट आउने भएकाले नेपालमा त महँगो हुने निश्चित् छ ।’
    उहाँले देशको अर्थतन्त्र सुधार गर्नको लागि खोपको व्यवस्था सुलभ हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रिस्क लिएर व्यापार व्यवसाय गर्न जाँदैन्, खोप नै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता हो । यसलाई मध्य नजर गरेर कार्यक्रम ल्याउनुपर्छ ।’ उहाँले मौद्रिक नीति कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
    अर्का पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले साउनको पहिलो हप्ता आउनुपर्ने मौद्रिक नीति किन ढिलाई आयो ? भनेर चर्चा भएको भएपनि ढिलै भएपनि आएकोले अब कार्यान्यवनको पाटोमा ध्यान दिनुपर्ने बताउनुभयो ।
    उहाँले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा धेरैभन्दा धेरै पैसा आउँछ, वस्तु र सेवाभन्दा बढि पैसा आउँछ, त्यतिवेला मुद्रा स्फिती चर्किएर जान्छ । सरकारले त्यतिवेला जिम्मा लिन चाहँदैनन् ।’
    मौद्रिक नीतिमा राहत र पूनःस्थापनाबारे कुरा गरिएपनि सोअनुरुप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘यसअघिको मौद्रिक नीतिले निजी क्षेत्रमा पनि आशावादी बढेको थियो, तर कार्यान्वयनको पक्षमा अलिकति कमजोर भयो । अहिले आएको नीतिमा कसिलो मौद्रिक नीतिको आवश्यकत्ता हो भनिएको छ, अहिले आएको मौद्रिक नीतिमा साना, लघु, मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने भनिएको छ, यो राम्रो कुरा हो ।’
    यसपटकको मौद्रिक नीतिमा गत सालको तुलनामा केही जाँगर चलाएर आफूहरु अघि बढ्छौं भनेर आश्वासन दिईएको पनि क्षेत्रीको भनाई छ । उहाँले अर्थमन्त्री जनार्दन शर्मा जनयुद्धको कमाण्डर भैसकेको व्यक्ति भएकोले र उनले ‘म पैसाको लालच गर्दिन्, काम गर्नुहोस, म विभेद गर्दिन’ भनेर कर्मचारीलाई भनेकोले मन्त्री शर्मा अनुशासनमा रहे राम्रो काम हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ आफूले भनेजस्तै राम्रो अनुशासनमा रहनुभयो भने काम राम्रो हुन्छ ।’ उहाँले मौद्रिक नीति कार्यान्वयनको पक्ष जटिल हुने भएकोले कार्यान्वयनमा नै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

  • स्व. कार्कीको स्मृतिमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

    भक्तपुर, साउन २४
    श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारस्थित मानव सेवा आश्रमलाई आज (आईतवार) खाद्यान्न सहयोग गरेको छ । स्व. श्यामबहादुर कार्कीको १४ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
    स्व. कार्की तत्कालिन बालकोट गाउँ विकास समितिका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसको सशस्त्र आन्दोलनमा सहभागी भएर प्रजातन्त्र प्राप्तिको लागि अग्रमोर्चामा रहेर योगदान गर्ने प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो । उहाँ स्थानीय निकाय सञ्चालन सम्बन्धी बौद्धिक नेता समेत हुनुहुन्थ्यो ।
    प्रतिष्ठानले प्रत्येक वर्ष रक्तदान आयोजना गरी बालकोट क्षेत्रका सामुदायिक विद्यालयहरुलाई पोशाक र पुस्तकलगायतका शैक्षिक सामग्री वितरण गर्दै आएकोमा यसवर्ष कोभिड संक्रमणको जोखिमका कारण आश्रमलाई खाद्यान्न सहयोग गरेर स्मृति दिवस मनाएको प्रतिष्ठानका अध्यक्ष एवम् स्व. कार्कीका छोरा बिष्णुराज कार्कीले बताउनुभयो ।


    खाद्यान्न हस्तान्तरण गर्दै नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्व. कार्की विकासप्रेमी र समाज परिवर्तनका अगुवा नेता भएको स्मरण गर्नुभयो । उहाँले प्रतिष्ठानले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै स्व. कार्कीको स्मृतिमा मानव कल्याणको कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
    आश्रममा ४० जना आश्रित रहेको जानकारी दिँदैं आश्रमका संयोजक जानुका पौडेलले सहयोगी हातहरुको सहयोगले नै आश्रमले सहाराविहिन नागरिकलाई आश्रय दिँदैं आएको बताउनुभयो ।
    सो अवसरमा बागमति प्रदेशका सांसद एवम् नेपाली कांग्रेस संसदिय दलका उपनेता कृष्णलाल भँडेल, नेपाली कांग्रेस जिल्ला सचिवद्धय निशान ढुंगेल र उद्धव सिलवाल, सहसचिव किरण न्यौपाने, नेपाल महिला संघ भक्तपुर सभापति सरु बाँनिया, प्रतिष्ठानका सचिव प्रदिक कार्कीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

  • व्यवसायिक कर नीति सम्बन्धी अन्तरक्रिया सम्पन्न

    भक्तपुर, साउन २०

    भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरले संयुक्तरुपमा जिल्लाका व्यवसायीहरुलाई बुधवार व्यवसायिक करका विविध पक्षहरुका बारेमा अन्तरक्रिया मार्फत अभिमुखीकरण गरेको छ ।
    नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा व्यवसायमा विद्यमान कर व्यवस्था र आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा उद्यमी व्यवसायी र वरिष्ठ लेखा परीक्षकहरुबीच अन्तरक्रिया भएको थियो ।
    कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले राज्यले निर्दिष्ट गरेका ऐन नियमहरुका बारेमा उद्यमी व्यवसायीहरु जानकार भईराख्नु पर्ने बताउनुभयो । उहाँले यस्ता ऐन नियमहरुका बारेमा उद्यमी व्यवसायीलाई सू–सुचित गर्नुपर्ने दायित्व चेम्बरको पनि भएकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


    नेपाल अडिटर्स एसोसियसन भक्तपुरका अध्यक्ष एवं वरिष्ठ लेखा परीक्षक हिरा काजी बज्राचार्यले करको दायराबाट कोही पनि उम्किन नसक्ने बताउँदैं करका विषयमा जोकोही पनि जानकार भएर बस्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
    एसोसियसनका सचिव ज्ञानकृष्ण श्रेष्ठले आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा प्रस्तुतीकरण दिँदैं उद्योग व्यवसायमा हिसाव कितावहरु चुस्त दुरुस्त भएको अवस्थामा करमा खासै समस्या नहुने र कर बचत गर्न सकिने प्रावधानहरु पनि धेरै रहेको बताउनुभयो ।
    भक्तपुरका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा एसोसियसनका केन्द्रिय सदस्य चन्द्रभक्त श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष कविदास धौबजी, सचिव सुरेन्द्र श्रेष्ठ लगायतका पदाधिकारहरुले कर नीतिका विविध पक्षहरुका बारेमा बोल्नु भएको थियो ।

  • राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशत बृद्धि

    ललितपुर, साउन ८

    राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा ४१ प्रतिशतले वासलात बृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो ।
    यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको बृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड–१९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको बृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत बृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।
    बैंकले कर पश्चातको खुद नाफामा ४८ प्रतिशतको बृद्धिदर हासिल गर्दै १ अर्ब ६६ लाख कमाएको छ । यससंगै बैंक एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८ प्रतिशतले बढी रहेको छ ।
    पछिल्ला वर्षहरुमा बैंकको शाखा बिस्तार, व्यवसाय तथा वित्तिय आकारमा व्यापक बृद्धि देखिएको छ । पछिल्लो तिन वर्षको वित्तिय विवरण विश्लेषण गर्र्दा बैंकको वासलातमा २२७ प्रतिशत, शेयर पूँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको बृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठुलो वित्तिय परिचालन गर्ने बैंकको वित्तिय अवस्था ‘क’ वर्गका केही वाणिज्य बैंकहरु भन्दा समेत ठुलो र सुदृढ देखिएको छ ।
    बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ । सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनि आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकारात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष के.बी उप्रेतीले बताउनुभयो । बैँकको वर्तमान सञ्चालक समितिको कार्यकाल भित्र नै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवा उपलब्ध गराउने गरी बैँक अघि बढेको समेत उप्रेतीले जानकारी दिनुभयो ।
    बैंकले पछिल्लो तिन वर्ष लगातार १५ प्रतिशतले लाभाशं वितरण गर्दै शेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको जनाएको छ । बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार वचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले जानकारी दिनुभयो ।