Category: अर्थ

  • अनमोलको वचतको खुद नाफा ९४ लाख २७ हजार

    भक्तपुर, कार्तिक १०
    अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले आर्थिक वर्ष २०७७÷०७८ मा ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको छ । संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित प्रतिवेदनअनुसार संस्थाले गत आ.व. २०७७÷०७८ मा १० करोड २६ लाख ६७ हजार ११२ रुपैयाँ १७ पैसा आम्दानी गरी ९ करोड ३२ लाख ३९ हजार ४३४ रुपैयाँ ७० पैसा खर्च भई ९४ लाख २७ हजार ६७७ रुपैयाँ ४७ पैसा मुनाफा गरेको हो ।
    कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संस्थाले कार्तिक ३ गतेदेखि १७ गतेसम्म कार्यालयमा नै साधारणसभा तथा निर्णय प्रमाणिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
    संस्थाका अध्यक्ष बच्चुराम थापाले सहकारीहरुका निहीत स्वार्थ र महत्वकांक्षी योजनाका कारणले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो संस्था त्यतातिर नलागेको स्पष्ट पार्नुभयो । उहाँले संस्थाको आफ्नै निर्माणाधिन भवनमा निरन्तर काम भई रहेको बताउँदै यस आर्थिक वर्षभित्रै नयाँ भवनबाट कार्यालय संचालन हुने जानकारी दिनुभयो ।
    सचिव राजु श्रेष्ठले संस्थाले आफ्नो कार्य क्षेत्रभित्र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा बृद्धि भईरहेको बताउनुभयो । उहाँले संस्थाले सहकारी सिद्धान्त, ऐन, नियम, विनियम र आचार संहिताको पूर्ण पालना गर्दै आफ्नो सदस्यहरुका छरिएर रहेको पूँजीलाई संकलन गर्दै आफ्ना सदस्यहरुका बीच उत्पादनमूलक, सिपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रुपले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो ।
    कोषाध्यक्ष तुलसादेवी थापा राईले संस्थामा २ हजार ९७ महिला र २ हजार ९२ पुरुष गरी कूल ४ हजार ८८९ जना सदस्यबाट ३ करोड २१ लाख ३८ हजार ७०० रुपैयाँ शेयर पुँजी संकलन भएको जानकारी दिनुभयो ।
    लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी बृद्धि गर्ने उद्देश्यले संस्थाका सदस्यहरुलाई नियमानुसार शेयर खरिद गर्न र थप सुविधा सहितको नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव दिनुभयो । उहाँले संस्थामा काम गर्ने कर्मचारीहरुको मनोबल र आत्मबल बढाउन समय, काल, परिस्थिति अनुरुप आवश्यक नयाँ ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्ने तथा संस्थाको आर्थिक एवं प्रशासनिक व्यवस्था समयानुकुल सुदृढ गर्नका लागि विद्यमान नीति नियम र कार्यविधिहरु परिमार्जन गर्दै लैजानु पर्ने सुझाव दिनुभयो ।
    संस्थाका प्रबन्ध निर्देशक राजु थापाले अनमोलले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सफल भएको बताउनुभयो । उहाँले सदस्यको सन्तुष्टि नै संस्थाको सफलताको कडी भएकोले सदस्यहरुको आवश्यकता र चाहाना अनुरुप कार्यक्रमहरु बनाई लागू गर्ने र मूल्यांकन गर्ने योजना संस्थाको रहेको जानकारी दिनुभयो ।

  • तिहारको लागि पाला बनाउन व्यस्त भक्तपुरका कुम्हाले समुदाय

    लक्ष्मी गारु, भक्तपुर, कार्तिक ५
    नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री फलफुल, सयमत्री र मखमली फुलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो छ ।
    बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुम्हाले समूदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याईनभ्याई भएको छ । “तिहार आउन अझै हप्ता दिन भन्दा बढी समय बाकी छ । हप्ता दिनभित्र माग अनुसारको पाला पठाउन नसके बनाएको व्यर्थ हुन्छ,” भक्तपुर तालक्व (पोटरी स्क्वायर) का हरिशरण प्रजापतिले भन्नुभयो ।
    उहाँका अनुसार अचेल तालक्वका कुम्हाले समूदायहरुको दिनचर्या नै पाला तयार गर्ने कार्य मै बित्ने गरेको छ । तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर कुम्हालेहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन । तिहारमा लक्ष्मी पुजाका लागि बाहिरी जिल्लाहरुबाट समेत पालाको माग आउने भएकाले गमला, धुपरौ, खुत्रुके लगायत विभिन्न पर्यटकीय सामाग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको हरिशरणले बताउनुभयो ।


    “बिहान सबेरै उठने हो, चिया नास्ता गर्ने, अनि अघिल्लो दिन मै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई क्युमा बसेर पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा नै व्यस्त छौं । अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन,” उहाँले भन्नुभयो ।
    अचेल भक्तपुरका तालक्वका कुम्हालेहरु मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुम्हालेहरु समेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् ।
    विशेषगरी धनकी देवी लक्ष्मीको पुजा गर्ने पर्व भएकाले तिहारमा फलफुल, सयपत्री फुलसँगै झिलीमलि बत्ति बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पुजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ ।


    पछिल्लो समय तिहारमा बत्ति बाल्नकै लागि विद्युत बत्तीको माग समेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रंगीचंगी बात्ती बालेर झिलीमिली पार्ने गरेपनि अनिर्वाय रुपमा दियो पनि बाल्नु पर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरु बताउँछन । केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिएपनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउँछन । “विभिन्न आधुनिक विद्युतिय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो,” उहाँले भन्नुभयो ।
    कुम्हालेहरुले तयार भएको पाला होलसेल व्यापारीहरुलाई बिक्रि गरिन्छ । होलसेल व्यापारीहरुले एउटा पालाको एकदेखी दुई रुपैंयाँमा हजारौंको संख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरु माझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो ।
    भक्तपुरमा उत्पादन गरेको पाला उपत्यका लगायत काभ्रेको बनेपा, धुलीखेल, पनौती, धादिङ, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौंडा, चितवनका व्यापारीहरुले समेत लिन आउने गरेको रामप्रसादले जानकारी दिनुभयो ।

  • व्यक्तिको नाममा दर्ता भएको भक्तपुर दधिकोटको ४७ रोपनी जग्गा सार्वजनिक भएको ठहर

    भक्तपुर, असोज २१
    भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले भक्तपुरबाट जाँदा जाँदै व्यक्तिले दर्ता गरिसकेको ४७ रोपनी जग्गालाई सार्वजनिक कायम गरेका छन । भक्तपुरबाट सरुवा भई असोज १७ गते आइतवार रमाना लिएर गएका भण्डारीले गत भाद्र ३० गते रोश प्रधान र गोपाल बज्राचार्यको नाममा दर्ता श्रेष्ता कायम रहेको साविक दधिकोट गाविस वडा नं. ५ क (हाल सुर्यविनायक नगरपालिका वडा नम्बर ४) को कित्ता नम्बर ६१ को क्षेत्रफल ३० रोपनी ८ आना र कि. नं. ६२ को १६ रोपनी १२ आना जग्गालाई सार्वजनिक कायम गरेका हुन ।
    मालपोत ऐन २०३४ को दफा (७) ३ मा जग्गावालाको नाम, थर, वतन, उमेर वा बाबु, बाजे पति वा ससुराको नामथर वा जग्गाको कित्ता नम्बर, क्षेत्रफल वा किसिम फरक परेकोमा वा दोहोरो दर्ता हुन गएकोमा मालपोत कार्यालयले आवश्यक जाँचबुझ गरी सो कुरा सच्याई दोहोरो श्रेष्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ ।
    सोही अनुसार उल्लेखित कि. नं. ६१ र ६२ को दोहोरो श्रेष्ता देखिएको र सो जग्गाको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कानुन अनुसार गर्नु भन्ने निर्देशनात्मक आदेश दिएको समेतलाई कार्यान्वय गर्ने क्रममा भण्डारीले सो जग्गाको दोहोरो श्रेष्ता खारेज गरी नेपाल सरकारका नाममा कायम गर्नुभएको हो ।
    ‘दधिकोट वडा नं. ५ क कि नं. ६१ र ६२ को जग्गा साविक सर्वे नापीको क्षेत्रीय किताव हेर्दा सो जग्गा मालपोत ऐन २०३४ को दफा २ ख२, ख३, जग्गा नापजाँच ऐन २०१९ को दफा २ङ च तथा मुलुकी देवानी संहिता ऐन २०७४ भाग–४ सम्पत्ति सम्बन्धी कानुनको दफा २९९ ग अनुसारको जग्गा भएको देखिँदा यस्तो प्रकृतिको जग्गा कसैले दर्ता गर्न र आवाद गर्न हुँदैन यदि कसैले त्यस्तो जग्गा दर्ता गरेमा मालपोत ऐन २०३४ को दफा २४ (२) मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०५ (२) बमोजिम स्वतः बदर हुने छ भनी कानुनी व्यवस्था भएको हुँदा दधिकोट वडा नं. ५ क कि. नं. ६१ को क्षे. फ. ३०–८–०–० र ६२ को क्षे. फ. १६–१२–०–० जग्गा नेपाल सरकारका नाममा र रोश प्रधान, गोपाल बज्राचार्यका नाममा दोहोरा श्रेष्ता कायम भएकोमा मालपोत ऐन २०३४ को दफा ७ (३) बमोजिम ज ध मध्ये रोश प्रधान र गोपाल बज्राचार्यको नाममा देखिएको दोहोरो श्रेष्ता खारेज हुने ठहर्छ,’ भण्डारीको फैसलामा उल्लेख गरिएको छ ।
    स्रोतका अनुसार साविक सर्भे नापीको फिल्डबुकमा किसानको महलमा नाम, थर, वतनमा पर्ती, जग्गाधनी महल खाली र किसानको व्यहोराको महलमा पनि पर्ती जनिएको स्पष्ट उल्लेख भएको सो जग्गा २०३१ जेठ ३१ गते रत्नलाल श्रेष्ठको नाममा दर्ता गरिएको थियो । सो जग्गा श्रेष्ठको नाममा दर्ता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानविन गरी आयोगले सो जग्गा रत्नलाल श्रेष्ठको नाममा दर्ता गर्ने गरी गरेको निर्णय त्रुटिपूर्ण रहेको निर्णय गरेको स्रोतले जानकारी दिए ।
    श्रेष्ठको मृत्यु पश्चात २०३९ फागुन ३१ मा हिरामाया श्रेष्ठसमेत ५ जनाको नाममा नामसारी भएपछि उक्त जग्गा तह तह हक हस्तान्तरण भई अन्तिममा रोश प्रधान र गोपाल बज्राचार्य समेतको नाममा दर्ता कायम रहेको थियो ।
    सोही जग्गा मालपोत ऐन २०३४ को २ (ख)को परिभाषा बमोजिमको जग्गा भएको हुँदा उक्त कित्ता जग्गा मालपोत कार्यालयको २०४९ असार ३० गतेको निर्णय बमोजिम नेपाल सरकारको नाममा दर्ता प्रमाणित गरी तत्कालिन श्री ५ को सरकारको नाममा श्रेष्ता कायम भएको थियो ।
    जग्गाधनी बज्राचार्यको मृत्युपछि उहाँकी पत्नी इन्दिरा बज्राचार्यले अन्य हकवालाको हक हिस्सा कायम हुने गरी बज्राचार्यको हकहिस्सा नामसारीको लागि २०७७ पुस २६ गते माग निवेदन पेश गर्नुभएको थियो ।
    सो निवेदन उपर कारवाही गर्नेक्रममा मालपोतको कम्प्युटर अभिलेखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट रोक्का राख्नु भनी आदेश भए बमोजिम रोक्का भनी कैफियत महलमा जनिएको देखिएपनी रोक्का रजिस्टरमा भने रोक्का नरहेको पाईएको थियो । त्यसैगरी मोठ रोक्का व्यहोरामा जग्गाधनी गोपाल बज्राचार्य समेत र नेपाल सरकारका नाममा दर्ता प्रमाणित भई दोहोरो श्रेष्ता कायम रहेको देखिएको थियो । नापी कार्यालयको फिल्डबुकमा कि. नं. ६१ को किसानको महलमा पर्ती र कि. नं. ६२ को किसानको महलमा वन वुटेन उल्लेख भई जग्गाधनी महल खाली रहेको थियो ।
    प्रमुख मालपोत अधिकृत भण्डारीले सो सम्बन्धमा थप स्पष्ट पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । आयोगले २०७७ माघ ६ गते मालपोतलाई पत्र पठाई कानुन बमोजिम गर्नुभनी निर्देशन दिएको थियो । सो सम्बन्धमा मालपोतले २०७७ माघ १५ गते मिसिल माग गर्दा आयोगले २०७८ असार २९ गते ‘मालपोत कार्यालयले गरे गराएको त्रुटि सच्चाई कानुन बमोजिम जो जे गर्नुपर्ने गरी सो को जानकारी आयोगमा गराउने’ भने आयोगको मिति २०७० माघ ७ गतेको बैठकले गरेको निर्णयको प्रतिलिपिसहित मालपोतलाई पठाएको स्रोतले जानकारी दिए । भण्डारीले आयोगको सो निर्णय र निर्देशन समेतलाई पालना गरी उल्लेखित कि. नं. ६१ र ६२ सार्वजनिक कायम हुने पैmसला गरेको हो ।

  • बजार अनुगमन – सेल्सबेरी, विगमार्ट र भाटभटेनीमा समेत अनियमितता

    भक्तपुर, असोज २१
    भक्तपुरका साना किराना पसलदेखी ठूला सेल्सबेरी, विगमार्ट र भाटभटेनी सुपर मार्केटले समेत उपभोक्तालाई ठगी गरेको पाईएको छ । विशेषगरी म्याद नाघेका वस्तु बिक्रि गर्ने, प्याकेटमा प्याकिङ गरेको मिति, उपभोग्य मिति र तौल उल्लेख नगरी बिक्रि गरेर उपभोक्ता अधिकारलाई कुण्ठित गर्ने गरेको पाईएको हो ।
    नेपालको विद्यमान ऐन कानुनले गुणस्तरिय सेवा तथा वस्तुको उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर बजार अनुगमनका क्रममा उपभोक्ताका त्यस्ता अधिकारीलाई बेवास्ता गरी मनलाग्दी तरिकाले दैनिक उपभोग्य वस्तुको बिक्रि वितरण भईरहेको पाइएको बजार अनुगमन टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।
    बडादशैं, तिहार, छठलगायतका ठूला चाडपर्वको अवसरमा अचाक्ली बढेको मूल्यबृद्धि नियन्त्रण गर्ने, कालोबजारी गर्नेलाई कारवाहीको दायरामा ल्याउने र बजारमा सहज र सरल आपुर्ती व्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
    अनुगमनका क्रममा अनियमितता गर्ने व्यवसायीलाई नगद जरिवानाका साथै सुधारको लागि चेतावनी दिने गरेको सहायक प्रजिअ परियारले बताउनुभयो । उहाँले मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित सेल्सबेरी मार्टलाई २० हजार जरिवाना गरिएको जानकारी दिनुभयो ।


    सेल्सबेरीमा अनुगमनका क्रममा म्याद गुज्रेका र कुहिएका मम, ससेसलगायतका मासुजन्य परिकार बिक्रिका लागि राखिएको पाईएको थियो । अनुगमन टोलीले ती वस्तु जफत गरी नष्ट गरिएको परियारले बताउनुभयो ।
    त्यसैगरी लोहकिल्थलीकै विगमार्टमा पनि केही वस्तुमा लेवल स्पष्ट नभएकाले जफत गरिएको र अबदेखी लेवल स्पष्ट हुनेगरी राख्न निर्देशन दिनुका साथै चेतावनी दिएर छाडिएको परियारले बताउनुभयो ।
    अनुगमनका क्रममा स्थानीय तहका जनप्रतिनिधिले समेत उपभोक्ता अधिकारलाई बेवास्ता गरेको पाईएको परियारले बताउनुभयो । मध्यपुर थिमि–४ का वडासदस्य सुन्दरलाल श्रेष्ठले सञ्चालन गरेको सुन्दर मसला उद्योगले लेवल नराखी मसला प्याकेट गरेर बिक्रि वितरण गरेको पाईएको थियो । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिई जिरा, बेसार, खुर्सानीलगायतका मसला प्याकेट गरी बिक्रि वितरण गरिरहेको पाईएकोले एक पटकलाई चेतावनी दिएर यथासिघ्र कानुनी प्रक्रिया पुरा गरी उद्योग सञ्चालन गर्न निर्देशन दिएको परियारले बताउनुभयो ।
    अनुगमनका क्रममा दैनिक अतिआवश्यकीय वस्तुमा पर्ने दुधजन्य पदार्थमा समेत हेल्चेक्र्याइ गरी मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको पाईएको परियारले बताउनुभयो ।


    मध्यपुर थिमि–३ सुन्दरबस्तीस्थित चण्डेश्वरी डेरीले दुधमा अखाद्यय वस्तु मिसावट गर्ने गरेको, कम तौल राखी दुधजन्य वस्तु बिक्रि वितरण गरिरहेको, दुधको फ्याट जाँच गर्ने नगरेको, दुधजन्य पदार्थमा लेवल नराखेको, म्याद नाघेका वस्तु बिक्रि वितरण गरिरहेको पाईएको थियो । अनुगमन टोलीले सो डेरीलाई तत्काल १० हजार जरिवाना गरिएको परियारले जानकारी दिनुभयो ।
    यसअघि गत असोज ..गते भक्तपुर सेल्सबेरीलाई ५ हजार जरिवाना गरिएको थियो भने राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना गरिएको थियो ।
    प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएपछि उपभोक्ता र व्यवसायीहरुमा सचेतना बृद्धि भएको नागरिक समाज सञ्जाल भक्तपुरका संयोजक एवम् नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले बताउनुभयो । उहाँले अनगुमनलाई चाडपर्व लक्षित मात्र नगरी वर्षैभरी निरन्तर गरिराख्नुपर्ने सुझाव दिनुभयो ।
    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बजार अनुमगनलाई आकस्मिक र योजनावद्ध गरी दुई तरिकाले निरन्तरता दिने बताउनुभयो । उहाँले चाडपर्वका बेला आवश्यकता अनुसार आकस्मिकरुपमा अनगुमन गर्ने र अन्य बेलापनि तालिका नै बनाएर बजार अनुगमनलाई निरन्तरता दिई उपभोक्ताको अधिकारको रक्षा गर्ने बताउनुभयो ।
    उहाँले नागरिक समाजले पनि स्वस्पुर्तरुपमा बजार अनुगमन गर्ने र उपभोक्ताहरुलाई सचेत पार्ने कार्य गर्न आग्रह गर्दै त्यस्ता कार्यमा प्रशासनले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
    सहायक प्रजिअ परियार नेतृत्वको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका उमेशकुमार दाहाल, जिल्ला प्रशासन कार्यालयका अधिकृत लुमा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कौशल ओझा, नेपाल गुणस्तर तथा नापतौल विभागका पवन चन्द, सूर्यविनायक नगरपालिकाका सुरज पौडेल, मध्यपुर थिमि नगरपालिकाका धनकृष्ण श्रेष्ठ, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।

  • सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

    भक्तपुर, असोज १७
    जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि सेल्सबेरीलाई ५ हजार जरिवाना गरेको हो ।
    सेल्सबेरी मार्ट सञ्चालन गर्ने हिमालयन सुपर मार्ट प्रा. लि.ले अनुगमनका क्रममा खरिद बिल, खरिद बिक्रि खातालगायतका आवश्यक कागजपत्र पेश गर्न सकेको थिएन । सेल्सबेरीले ढक काँटा पनि अनुमति नलिई प्रयोग गरिरहेको पाईएको थियो ।


    त्यसैगरी बजार अनुगमन टोलीले सल्लाघारी चुनदेवीस्थित चुनदेवी किराना पसललाई १० हजार जरिवाना गरेको छ । अनुगमनका क्रममा उपभोग्य म्याद नाघेको र ननाघेको खाद्यवस्तु एउटै स्थानमा राखेको, गोदाम फोहोर दुर्घन्धित पाईएको र खरिद बिल पेश गर्न नसकेपछि टोलीले तत्काल १० हजार जरिवाना गरेको हो ।
    टोलीले सो पसलका प्रोपाइटर निलिमा कर्माचार्यलाई खरिद बिलहरु लिएर तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिनुभयो ।


    टोलीले भक्तपुर सूर्यविनायकस्थित भक्तपुर हार्डवेयर, मानन्धर हार्डवेयर, र चम्पकेश्वर हार्डवेयरमा पनि अनुगमन गरेको थियो । सो क्रममा हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको थियो भने चम्पकेश्वर हार्डवेयरले सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको थियो साथै आवश्यक बिल बिजकसमेत नराखेको पाइएको प्रजिअ केसरीले बताउनुभयो । त्यसैगरी टोलीले सूर्यविनायकस्थित दिपु इम्पेक्समा पनि अनुगमन गरेको थियो ।
    सहायक प्रजिअ केसरी नेतृत्वको टोलीमा जिल्ला प्रशासन कार्यालयका अधिकृत लुना श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका उमेशकुमार दाहाल, गुणस्तर तथा नापतौल कार्यालयका पवन चन्द, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर उद्योग वाणिज्य संघका गौतम सूजखु, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

  • भक्तपुरमा सहकारी माफिया सलबलाउन थाले – अध्यक्ष खड्का

    भक्तपुर, असोज १७
    जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले भक्तपुरमा सहकारी माफियाहरु सलबलाउन थालेको बताउनुभएको छ । मध्यपुर थिमि १ लोकन्थलीस्थित दिव्यश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै अध्यक्ष खड्काले बढी व्याज दिने र छिटो छरिटो ऋण दिने प्रलोभन देखाई केही सहकारीमार्फत माफियाहरु सलबलाउन थालेको बताउनुभएको हो ।
    उहाँले सहकारी समूदायमा आधारित हुनुपर्ने सिद्धान्त विपरित केहीले विकासे र नाफामुखी सञ्चालन गरिरहेको आरोप पनि लगाउनुभयो । ‘एउटै टोलका छिमेकी, दाजुभाई र साथीभाई संगठित भई समूदायमा आधारित भएर सहकारी सञ्चालन गर्नुपर्ने सिद्धान्त विपरित अहिले केही ठूला भनाउँदा सहकारीहरु केही सिमित व्यक्तिहरुले नीजि संस्था जस्तै सञ्चालन गरिरहेका छन । त्यस्ता सहकारी भक्तपुरमा पनि सलबलाउन थालेको छ,’ उहाँले भन्नुभयो, ‘विशेषगरी अरनिको राजमार्ग छेउछाउ उनीहरुले आकर्षक नारा दिएर कार्यालय सञ्चालन गरेका छन । यस बारेमा सबै सचेत हुनुपर्ने बेला आएको छ ।’
    एउटा सहकारीले बदमासी गरे भक्तपुरका सबै सहकारीको साख गिर्ने र विश्वसनीयता हराउने मात्र नभई यहाँको पुँजी समेत पलायन हुन सक्ने खतरा रहेको बताउँदैं अध्यक्ष खड्काले सहकारीका विकृति र विसंगतीलाई न्यूनिकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप शर्माले छरिएर रहेका स साना पुँजी संकलन गरी संस्थाले सदस्यहरुको आर्थीक हितमा अधिकतम परिचालन गर्ने उद्देश्य अनुरुप सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एसएमएस वैंकिङ, मोवाईल वैकिङ सेवा शुरु गर्ने योजना रहेको जानकारी दिँदैं जगेडा कोषलाई बलियो बनाउँदैं संस्थाको घर जग्गा खरिद गर्ने योजना रहेको बताउनुभयो ।
    संस्थाका सचिव अमृत प्रसाद श्रेष्ठले संस्थाको शेयर पुँजी २ करोड ३९ लाख ३१ हजार ३ सय पुगेको जानकारी दिनुभयो । उहाँले आर्थीक वर्ष २०७७÷०७८ मा १७ करोड ६१ लाख ६ हजार ६८३ रुपैंया विभिन्न शिर्षकमा निक्षेप संकलन गरेको र ११ करोड ९ लाख ३ हजार ६ सय रुपैंया कर्जा प्रवाह गरेको बताउनुभयो । उहाँले कर्जा जोखिम कोषमा २० लाख ८३ हजार ५३५ रुपैंया रहेको जानकारी दिँदैं संस्थाले आ.व. २०७७÷०७८ मा १४ लाख ९२ हजार ७४३ खुद वचत गरेको बताउनुभयो ।
    कोषाध्यक्ष अनन्त खड्काले संस्थामा १ हजार ८७७ जना सदस्य रहेको जानकारी दिँदैं सभामा आर्थीक प्रतिवेदन पेश गर्नुभएको थियो ।
    कार्यक्रममा मध्यपुर थिमि वडा नं. १ का वडासदस्य रत्न कुमाल, संस्थाका उपाध्यक्ष तिर्थलाल कुटु, लेखा सुपरिवेक्षण समितिका संयोजक जगतकृष्ण प्रजापति, ऋण उपसमितिका सदस्य भाइराम कुटुलगायतले सहकारी र संस्थाका विविध पक्षबारे चर्चा गर्दै कोरोना महामारीको विषम परिस्थितीमा संस्थाले सदस्यहरुलाई वित्तिय सहुलियत तथा सुविधा प्रदान गरेको बताउनुभयो ।

  • शंखधरका उत्कृष्ट कारोवारीलाई सम्मान

    भक्तपुर, असोज १७
    मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाका उत्कृष्ट कारोवारी शनिवार सम्मानित हुनुभएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभाको अवसरमा गत आर्थीक वर्ष २०७७÷०७८ मा सबैभन्दा धेरै आर्थीक कारोवार गर्ने सदस्य अष्टबहादुर कुटुलाई सम्मान गरेको हो ।
    त्यसैगरी संस्थाले ज्येष्ठ सदस्यहरुमध्ये पुरुष तर्फ काजीबहादुर मानन्धर र महिला तर्फ राजमाया मकै प्रजापति, गत वर्षको एसईई परीक्षामा संस्थाका सदस्यहरुका छोराछोरीहरु मध्ये उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो भने आदर्श मावि लायकू, बालप्रेमी मावि बालकुमारी, गणेश मावि नगदेशका एक÷एक जना विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको थियो ।


    सभामा संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले संस्थामा ३ हजार ८६ जना सदस्यहरुबाट ४ करोड ९ लाख ४९ हजार ७ सय शेयर पुँजी रहेको जानकारी दिनुभयो । उहाँले संस्थाले विभिन्न १० वटा नीति तथा ६ वटा कार्यविधि बनाइ सञ्चालन गरिरहेको बताउनुभयो ।
    सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले संस्थाले विभिन्न शिर्षकका वचत खाताहरुबाट ३८ करोड ५२ लाख २३ हजार ३१५ रुपैंया निक्षेप संकलन गर्न सफल भएको बताउनुभयो । त्यसैगरी विभिन्न शिर्षकमा ३१ करोड १७ लाख ७४ हजार ११६ ऋण लगानी गरी संस्थाले गत आर्थीक वर्ष ९४ लाख १९ हजार २१५ मुनाफा गर्न सफल भएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।


    कोषाध्यक्ष रामबहादुर श्रेष्ठले आर्थीक प्रतिवेदन पेश गर्दै संस्थाको जगेडा कोषमा २२ लाख ३७ हजार ६३, संरक्षित पुँजी फिर्ता कोषमा १६ लाख ७७ हजार ७९८, सहकारी प्रवद्र्धन कोषमा ३३ हजार ५५५ र अन्य कोषहरुमा ४९ लाख ९९ हजार ८३७ रुपैंया जम्मा भएको जानकारी दिनुभयो ।
    यसअघि सभाको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृदिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताउनुभयो । उहाँले नेपाल कृषिप्रधान देश भएकाले सहकारीको माध्यमबाट कृषिमा लगानी गरी अगाडि बढ्ने प्रदेश सरकारको नीति रहेको बताउँदैं बागमती प्रदेशले यो आर्थिक वर्षमा ३ प्रतिशत व्याजमा कृषि तथा अन्य व्यसायमा लगानी गर्ने गरी रु. दुई अर्ब छुट्याइएको जानकारी दिनुभयो ।


    कार्यक्रममा बागतमी प्रदेशका सदस्य प्रतिमा श्रेष्ठले सहकारी संस्थाले मध्यपुर थिमिको पर्यटक प्रवद्र्धनमा पनि लगानी गरी स्वदेशी तथा विदेशी पर्यटकलाई यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदा, पुरातात्विक वस्तुहरु, यहाँको कृषि प्रणाली, माटोको भाडाकुँडा बनाउने प्रविधिहरुमात्र देखाउन सकेपनि आर्थिक उपार्जन गर्न सहज हुने बताउनुभयो । ‘यहाँका परम्परागत तथा पुरातात्विक सम्पदा, कला संस्कृतिको जगेर्नागरी संग्रहालय निर्माण गर्न सकेका पनि स्वदेशी तथा विदेशीहरु पर्यटकहरु ती सम्पदाको अध्ययन अनुसन्धान गर्न पर्यटकहरु आउने छ,’ उहाँले भन्नुभयो ।


    अहिलेसम्म मध्यपुर थिमिमा पर्यटक भित्र्याउनेतर्फ कुनै योजना नगरिएको र पर्यटकबाट एक रुपैयाँमा आम्दानी गर्न नसकेको औंल्याउनुहुँदै उहाँले यहाँका मठमन्दिर, पाटी पौवा, कला संस्कृति, जात्रा पर्वहरुको प्रचाप्रसार गरी पर्यटकलाई आकर्षित गर्न सहकारीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा संस्थाका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, जिल्ला बचत तथा ऋण संस्था लि. भक्तपुरका सदस्य पञ्चकृष्ण श्रेष्ठ, जिल्ला सहकारी संघका सुलोचना दुवाल, स्फेकका अध्यक्ष हिरारत्न वज्राचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

  • शंखधरचोकमा दशैं तिहार बजार मेला

    भक्तपुर, असोज १६
    बायरिलाँ टोल सुधार समितिको आयोजनामा मध्यपुर थिमि शंखधरचोकमा दशैं तिहार बजार मेला खुलेको छ । मेला आगामी कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ ।
    दशैं तिहार जस्ता चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुका साथै लत्ताकपडा र आवश्यक घरायशी सामग्री उपलब्ध गराउने उद्देश्यले दशैं तिहार बजार मेला आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । मेलामा प्रत्येक शनिबार सांस्कृतिक झांकी प्रस्ततु गर्नुका साथै नेवाः परिकारहरुको स्टल राखिने छ । मेला स्थलका प्रत्येक पसलबाट एक हजार रुपैंया बराबरको सामग्री खरिदमा ग्राहकलाई उपहार कुपनको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    मेलाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनमा मेला महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, कार्यक्रम संयोजक रत्न श्रेष्ठ, उपाध्यक्ष उमेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

  • आ.व. २०७७÷०७८ मा शुभकामना साकोसको खुद वचत २ करोड ५० लाख ८९ हजार

    भक्तपुर, असोज १६
    भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी मध्येको एक शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष राम कासुलाले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा र बन्दाबन्दीको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरी सदस्यहरुको घरदैलोमा पुगेर सेवा प्रवाह गरेको जानकारी दिनुभयो ।
    उहाँले प्रविधियुक्त बनाउने संस्थाको लक्ष्य अनुरुप शुभकामना स्मार्ट बैंकिङ्ग सेवा मार्फत ई टेलर शुरु गरिएको बताउँदैं आगामी दिनमा क्यु आर कोड प्रविधिबाट रकमान्तरण गर्ने, सहकारीबाट सहकारी तथा बैंकमा रकमान्तरण सेवा सुविधालगायतका सेवा थप गर्दै जाने विश्वास दिलाउनुभयो ।


    सभामा आर्थीक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष बलराम जु. श्रेष्ठले संस्थाले गत आर्थीक वर्ष २०७७÷०७८ मा २ करोड ५० लाख ८९ हजार ६३३ रुपैंया खुद वचत गरेको जानकारी दिनुभयो । संस्थाले आ.व. २०७७÷०७८ मा विभिन्न शिर्षकमा १२ करोड ११ लाख ५० हजार २९२ रुपैंया आम्दानी र ९ करोड ४८ लाख २९ हजार ४७५ रुपैंया खर्च गरी २ करोड ५० लाख ८९ हजार ६३३ रुपैंया खुद वचत गरेको हो ।
    स्थापनाकालमा ७५ जना सदस्यहरुबाट ७ लाख ५० हजार पुँजी संकलन गरी सञ्चालनमा आएको शुभकामना साकोसमा ४ हजार ९ महिला, ३ हजार ६ सय ३६ पुरुष र ६५१ बाल वचतकर्ता गरी कुल ८ हजार ३०५ जना सदस्य रहेको संस्थाको शनिवार सम्पन्न २१ औं वार्षिक साधारणसभामा सचिव पुष्पलाल तिमिलाले जानकारी दिनुभयो ।
    संस्थामा हाल ९ करोड ६५ लाख ७२ हजार ८ सय, जगेडा तथा अन्य कोषमा १३ करोड ५७ लाख ५२ हजार ८७७ रुपैंया सहित कुल सम्पत्ति १ अर्ब २५ करोड ९८ लाख ९१ हजार ४४५ रुपैंया पुगेको सचिव तिमिलाले बताउनुभयो ।
    कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवम् पुर्वअध्यक्ष बालमुकुन्द सुवालले एसियाली ऋण महासंघ (अक्कु)बाट एसियामै पहिलो पटक सन् २०१६ र १७ मा संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको जानकारी दिँदैं संस्थाले प्राप्त गरेको ख्यातीलाई जोगाउन संस्थाका सबै तह र तप्कामा रहेको सबैको साथ सहयोग र हातेमालो आवश्यक भएको बताउनुभयो ।
    सभामा संस्थाका निवर्तमान अध्यक्ष न्हुँछेरकुमार त्वायनालाई उहाँको कार्यकालमा संस्थाले अक्कुबाट एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला सुवाल, निवर्तमान अध्यक्ष त्वायनालगायतले सहकारी संस्थाका विविध पक्षमा चर्चा गर्दै सदस्यहरुले चनाखो भई संस्थाको गतिविधिमा निगरानी गरिरहनुपर्नेमा जोड दिएका थिए ।

  • नेपाली काँग्रेस चाँगुनारायण नगर समितिद्धारा विपन्न विरामीलाई आर्थिक सहयोग

    भक्तपुर, असोज १६
    नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले नगरकोटफेदी निवासी राम के.सीको उपचारार्थ उहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका के.सी अल्काई रोगको उपचारका क्रममा संक्रमण भई थप उपचारको लागि बुद्धमाई फाउण्डेशन प्रा.लि, टेकु, काठमाण्डौमा उपचाररत हुनुहुन्छ ।
    नेपाली कांग्रेस जिल्ला विपद् सहायता कोष, क्षेत्र तथा नगर समिति र वडा समितिका पदाधिकारी तथा सदस्यहरुलगायत मानवीय सेवाभावबाट प्रेरीत सहयोगीमन भएका महानुभावहरुबाट संकलित ५९ हजार रुपैया चाँगुनारायण नगर समितिका सभापति शिवहरी के.सी तथा वडा नं ६ का वडा सभापति बिरमान तामाङ्गले संयुक्त रुपमा के.सीका दाजु ज्ञान बहादुर के.सीलाई हस्तान्तरण गर्नु भएको थियो ।
    सहयोग रकम हस्तान्तरण गर्नुहुदै नगर सभापति के.सीले आपत् विपद्का समयमा मानवीय सेवा भावले आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
    विरामी के.सीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता सांसद कृष्णलाल भँडेल र नगरकोटका क्षेत्रीय प्रतिनिधि हरिशरण बास्तोलाको समन्वयमा नेपाली कांग्रेस चाँगुनारायण नगर समितिकोे पहलमा उपचारको लागि सहयोग रकम संकलन गरीएको नगर समितिका सचिव दिनेश थापाले बताउनुभयो ।
    उपचार सहयोग रकम हस्तान्तरण कार्यक्रममा चाँगुनारायण नगरसमितिका उपसभापतिद्वय राजेन्द्र कुमार दाहाल र दिनेशराज गिरी, सचिवद्वय दिनेश थापा र सिजन कार्की, सहसचिव गोकर्ण पुरी, क्षेत्रिय प्रतिनिधिहरु गोकुलराज खत्री, हरीशरण बास्तोला, रमेश के.सी लगायतको उपस्थिती रहेको थियो ।