Category: अर्थ

  • पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन

    भक्तपुर, माघ २७
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो ।
    उहाँले मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उहाँले भन्नुभयो, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै अप्ठ्यारो परे फुकाउन तयार छु ।’ उहाँले कर्मचारीले काम गर्न खोजेको भएपनि मुर्त रुपले अघि बढ्न नसक्दा पुँजीगत खर्च कम भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
    ‘प्रक्रियामा रहेका कार्यक्रमहरु छिटो अघि बढाउन प¥यो’ मन्त्री पौडेलले भन्नुभयो,‘घोषित निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्न नपरोस् ।’ उहाँले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखहरुलाई निर्देशन पनि दिनुभयो । ‘मन्त्रालयमा समस्या श्रृजना हुनुभनेका चुनौति हो ।’ मन्त्री पौडेलले भन्नुभयो, ‘समाधानका लागि कर्मचारीमा कार्यक्षमता र कार्यकुशलता आवश्यक पर्छ ।’
    मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार चालूतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तियमा ३८.८९ प्रतिशत, पुँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तिय तर्फ ३ प्रतिशत रहेको छ । यस्तै संघमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीय तर्फ २.८२ प्रतिशत रहेको छ ।

  • भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व

    भक्तपुर, पुस २४
    भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको शनिवार सम्पन्न १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले गंगाराम मानन्धरको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन गरेको हो ।
    अधिवेशनले कार्यसमितिको उपाध्यक्षहरुमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिवमा अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल, सहकोषाध्यक्षमा बुद्धी कुमार मुस्याख्वलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा शिवराम बैद्य, श्याम सुन्दर नगरकोटी, अर्जुन गोपाल द्यौभडेल, विश्वराम खर्वुजा र राकेश प्रजापतिलाई सर्वसम्मत चयन गरेको छ ।
    अधिवेशनको उद्घाटन गर्दै नेपाली सिने जगतका चर्चित नायिका तथा रिसिक ट्रेडिङ्ग कन्सर्न प्रा लि का कार्यकारी निर्देशक करिस्मा मानन्धरले हरेक क्षेत्रमा चुनौती रहेको बताउनुभयो । उहाँले चुनौतीहरुलाई पार गर्दै अघि बढ्न सकेमात्र कुनै क्षेत्रमा सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सिने क्षेत्रबाट भर्खरै व्यवसायीक क्षेत्रमा प्रवेश गरेकोले आफु सिक्ने क्रममा रहेको बताउँदैं यसरी नै सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले व्यवसायिक एकता अपरिहार्य रहेको बताउनुभयो । उहाँले पछिल्लो समय कोरोना भाइरसका कारण व्यापार व्यवसाय धराशयी बन्दै गएको अवस्थामा व्यवसायिक एकता भए मात्र त्यस्ता चुनौतीहरुलाई पार गर्न सकिने बताउनुभयो । व्यवसायमा इमान्दारी पनि आवश्यक भएको बताउँदैं उहाँले सबै व्यवसायीलाई इमान्दारीपूर्वक व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो ।
    भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले कोभिड महामारीमा व्यवसायीहरुले सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमूना प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो । कोभिडका कारण आफ्नो व्यवसाय ठप्प भएपनि घरभित्र बन्दी बन्नु परेका र कोभिडले संक्रमितहरुको सेवामा व्यवसायीहरुले उत्कृष्ट कार्य गरेको बताउनुभयो ।
    कार्यक्रममा नेपाल मोबाइल ब्यवसायी महासघंका सचिव दिलबहादुर तामाङ, संघका सचिव रामप्रसाद खर्बुजा, महासचिव चन्द्रभक्त श्रेष्ठ र उपाध्यक्ष गंगाराम मानन्धरले संघको गतिविधि लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
    अधिवेशनको बन्दसत्रले महासचिव चन्द्रभक्त श्रेष्ठ र कोषाध्यक्ष अल्वर्ट बज्राचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।


    भक्तपुर मोवाइल ब्यवसायी संघमा नगरकोटी
    यसैगरी भक्तपुर मोवाइल ब्यवसायी संघको अध्यक्षमा श्यामसुन्दर नगरकोटी सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले नगरकोटीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
    संघको उपाध्यक्षमा होम प्रसाद बजगाई, सचिवमा विमल गोले तामाङ कोषाध्यक्षमा लव कृष्ण श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा रविन लामा, रोशन अधिकारी, आकास गिरी, रामगोपाल ख्वालापाला, रोशन श्रेष्ठ, कृष्ण चन्द्र कर्माचार्य, डेनिस दुवाल, दिपेश श्रेष्ठ र रमेश खायामली सर्वसम्मतरुपमा चयन भएका छन ।

  • चाँगुनारायण नगरपालिकाको राजश्व संकलन १२ प्रतिशत

    भक्तपुर, पुस १८
    चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी पुस १५ सम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र राजश्व गरेको छ । नगरको आइतवार शुरु भएको दशौं नगरसभामा उपप्रमुख विणा बास्तोलाले चालु आर्थिक वर्ष २०७८÷७९ को समिक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आ. व.मा २८ करोड ८४ लाख ५ हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको चाँगुनारायणले पहिलो साढे पाँच महिनामा १२ दशमलव १५ प्रतिशत मात्र राजश्व संकलन गरेको जानकारी दिनुभएको हो ।
    सभामा उपप्रमुख बास्तोलाले नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताउनुभयो ।
    यसैगरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् १२ जना महिलाहरुलाई ५ दिने आधारभूत साबुन बनाउने तालिम, १८ जना महिलाहरुलाई अचार बनाउने तालिम दिइएको उल्लेख गर्दै नगर उपप्रमुख बास्तोलाले महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत मखमली जुत्ता बनाउने, कम्प्युटर, आधारभूत मन्टेश्वरी र एडभान्स मन्टेश्वरी तालिम सम्पन्न भएको जानकारी दिनुभयो ।
    भौतिक पूर्वाधार विकास अन्तर्गत कूल ४८६ वटा योजना रहेकोमा १५७ वटा योजना गत आर्थिक वर्षबाट दायित्व सरेर आएको बताउँदैं उहाँले चालु आर्थिक वर्ष २० लाख भन्दा बढीका ३९ वटा योजना रहेकोमा २३ वटा योजनाको ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । उहाँले सिलाई कटाई तालिम र बेतबाँसको सामग्री तालिम चालु रहेको बताउनुभयो ।
    बालमैत्री स्थानीय शासनअन्तर्गत नीतिगत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखकीरण, बालमैत्री वडा सहजकर्ताहरुको नियुक्ति, बालमैत्री सहजकर्ताहरुलाई क्षमता विकास प्रशिक्षण भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि २६२ वटा बाल समूह गठन, १० वटा बाल सञ्जाल गठन भएको जानकारी दिनुभयो । ‘नगरपालिकाको ९ वटै वडामा बालमैत्री कक्षा व्यवस्थापन गरी ३०० सार्वजनिक स्थलहरुमा बालमैत्री आचारसंहिता, साबधान बोर्ड, बालश्रमविरुद्धको पम्प्लेट राखिएको छ,’ उहाँले भन्नुभयो, ‘सो कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म २२ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।’
    सभामा चाँगुनारायण नगरपालिकाको कर्मचारी समायोजन ऐन २०७८, विनियोजन ऐन २०७८ पेश भएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

  • बोडेको अष्टमंगल वचतको लाभांश ११ प्रतिशत

    भक्तपुर, पुस ११
    मध्यपुर थिमि–८ बोडेस्थित अष्टमंगल वचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ । संस्थाले आइतवार नवौं साधारणसभा गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गरेको हो ।
    संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ६ लाख २८ हजार ४३३ रुपैंया खुद नाफा आर्जन गरेको जानकारी दिँदैं संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतिले सहकारी क्षेत्र वित्तिय प्रतिवेदन ढाँचा २०७६ अनुरुप आर्थिक विवरण बनाउनु पर्ने भएकाले सो अनुरुप विभिन्न ५ शिर्षकमा ३० प्रतिशत थप कोषमा छुट्याउनु परेकाले लाभांश ११ प्रतिशत मात्र वितरण गरेको बताउनुभयो ।
    संस्थाले गत आर्थिक वर्ष १७ लाख ३२ हजार ८७५ रुपैंया व्याज आम्दानी गरेको जानकारी दिँदैं संस्थाका कोषाध्यक्ष श्याम सुन्दर चक्रधरले कोभिड–१९ का कारणले गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारणले जनजीवन तथा सबै व्यवसायहरु प्रभावित भएकाले त्यसको असर सहकारीको वित्तिय कारोवारमा पनि देखिएको बताउनुभयो ।
    साधारणसभाको उद्घाटन गर्दै मेघा बैंकका निर्देशक डा. ईन्द्रबहादुर मल्लले बैंक र सहकारी एक अर्काका परिपुरक भएको बताउनुभयो । अनिश्चित भविष्यलाई सुनिश्चित गर्न वचत गर्ने बानी बसाल्नु पर्ने सुझाव दिँदैं मल्लले वचत गर्ने बानीलाई संस्थागत गर्न सके मात्र प्रतिफल पाउन सक्ने बताउनुभयो ।
    दुई अर्बको चुक्ता पुँजीबाट शुरु गरिएको मेघा बैंक हाल १६ अर्बको चुक्तापुँजीका साथ सञ्चालन भइरहेको जानकारी दिँदैं मल्लले मेघा बैंकमा हाल दुई लाख ५० हजार भन्दा बढी सर्वसाधारणको शेयर लगानी रहेको बताउनुभयो ।
    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले सहकारीका नाममा विकृति भित्रिएकाले निक्षेपकर्ता चनाखो हुनुपर्ने बताउनुभयो । सहकारी भन्ने बित्तिकै स्थानीय टोलबासी, दाजुभाई वा चिनजानका समाजका प्रतिष्ठित व्यक्तित्वहरु सञ्चालक भए मात्र विश्वासिलो हुने बताउँदैं प्रजापतिले ठूला ठूला नारा र आकर्षक व्याजदरको नाममा लोभमा फस्न नहुने सुझाव दिनुभयो ।
    मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार राईले सहकारी भनेको समूदायमा आधारित संस्था भएकाले सबै सदस्यहरुको समान र उत्तिकै जिम्मेवारी रहने बताउनुभयो । उहाँले संस्थाप्रति सञ्चालक समिति मात्र नभई साधारण सदस्यहरु पनि बफादार बने मात्र संस्थाले उन्नती प्रगति गर्न सक्षम हुने बताउनुभयो ।
    सो अवसरमा संस्थाले संस्थाका ज्येष्ठ सदस्य ८१ वर्षिय रत्नहरी चाँसी श्रेष्ठलाई नगद दुई हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो भने सहकारी स्थापनाका सहयात्री सहपाठी नेत्र विशेषज्ञ डा. रश्मी श्रेष्ठलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो । बोडे माविको एसएलसी व्याच २०५५ का विद्यार्थीहरुको ४० जनाको समूहले शुरु गरेको उक्त संस्थाले यसअघि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता र जिवन्तता दिन योगदान गर्ने जुजुभाई बास श्रेष्ठ, बुद्धकृष्ण बाग श्रेष्ठ, बोडेका स्थानीय साँस्कृतिक गुरुलगायतलाई सम्मान गरिसकेको संस्थाका सचिव कन्चन मान सिपाईले बताउनुभयो ।

  • विद्युतको खपट बढाऔं – घिसिङ

    भक्तपुर, पुस ३
    विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपट बढाउने चुनौती रहेको बताउनुभएको छ । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र ई. सम्वतको नयाँ वर्ष २०२२ को अवसरमा शनिवार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै घिसिङले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकोमा अहिले विद्युतको खपट बढाउनु पर्ने चुनौती रहेको बताउनुभएको हो ।
    उहाँले विद्युतको खपट बढाउन आग्रह समेत गर्नुभयो । “कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत कसरी खपट गर्ने भन्ने चुनौती छ,” उहाँले भन्नुभयो, “आम नागरिकलाई विद्युतको खपट बढाउन आग्रह गर्दछु ।”
    आफु एक्लैको प्रयासले नभई टिमका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको स्पष्ट पार्दै घिसिङले त्यसको जस सबैलाई जाने बताउनुभयो । “म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन । मैले मेरो कर्तव्य र जिम्मेवारी इमान्दारिकता पूवर्क निर्वाह गरेको हुँ । यसमा सबैको साथ र सहयोगका साथै उत्तिकै मेहनत र परिश्रम पनि रहेको छ,” उहाँले भन्नुभयो ।

  • विरियानी अड्डाको नयाँ शाखा सानोथिमि प्लानिङमा

    भक्तपुर, मंसिर २६
    के तपाई बिरियानीका पारखी हुनुहुन्छ ? यदी तपाईं साँच्चै विरियानीका पारखी हुनुहुन्छ भने अब तपाईंको घरमा विरियानीका परिकार आइपुग्ने भएको छ ।
    लामो समय युरोपका विभिन्न शहर र दुवई, अष्ट्रेलियामा वैदेशिक रोजगारी अन्तर्गत होटल व्यवसायमा रहेका युवाहरुको समूहले नेपालमा शुरु गरेको विरियानी अड्डाको शाखा भक्तपुरको मध्यपुर थिमि–२ सानोथिमि प्लानिङमा पनि खुलेको छ ।
    खानाका पारखीहरुले सधै नयाँपन र नयाँ स्वाद खोजीरहने भएकाले नेपालमा विरियानीको बजारीकरण शुरु गरिएको विरियानी अड्डाका सञ्चालक राजन खनालले बताउनुभयो ।
    नेपालमा आइसकेपछि नेपालको बजारमा पाईने विरियानीको तीन महिना लामो अध्ययन र अनुसधन गर्दा मूल्यमा महँगो भएको र विरियानीको मौलिक स्वाद नभएको पाईएपछि यसैमा केही गर्न सकिन्छ भनेर विरियानी अड्डाको अवधारणा अघि सारेको उहाँले बताउनुभयो ।
    ‘नेपालमा विरियानी अड्डको रुपमा पहिलो शाखा खोलिएको तीन महिनामा नै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन भयो । लकडाउन भएको २० दिनपछि नै विरियानी अड्डालाई सूचारु गर्दै अनलाइन डेलीभरी सेवा शुरु गरी लकडाउनलाई अवसरको रुपमा सदुपयोग गरें, उहाँले भन्नुभयो ।
    लकडाउनकै बीच बालुवाटारमा विरियानीको अर्को शाखा बिस्तार गरिएको जानकारी दिँदैं खनालले लकडाउनमा काठमाण्डौं सुतिरहँदा आफुहरु भने उठीरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनमा काठमाण्डौं सुतिरहयो, हामी उठी रहयौं ।’
    उहाँले विरियानी अड्डाको पहिलो लक्ष्य र उद्देश्य ग्राहक एवम् उपभोक्ताको सन्तुष्टि रहेको बताउनुभयो । ‘ग्राहक सन्तुष्ट भयो भने फेरीफेरी आउनु हुन्छ र व्यापार फस्टाउँछ । ग्राहक नै आउनु भएन भने लगानीको के अर्थ रहयो र,’ उहाँले भन्नुभयो, ‘लगानी गरेपछि नाफा खोज्नु स्वभाविक हो, तर हाम्रो पहिलो उद्देश्य ग्राहकको सन्तुष्टि हो । त्यसपछि मूनाफा ।’
    विरियानी अड्डामा विरियानीका विभिन्न परिकारसँगै इण्डियन खाना र नेपाली क्लासिकल खानाका साथै मम चाउमिन जस्ता परिकार पाईने छ ।
    उपत्यकामा ८ वटा स्थानमा विरियानी अड्डाको शाखा बिस्तार गर्ने लक्ष्य रहेको खनालले बताउनुभयो । ललितपुरको झम्सिखेल, कलंकी, चावहिललगायतका ८ स्थानमा बिस्तार गरेपछि नेपालमा अन्य विभिन्न शहरमा १६ वटा गरी २२ वटा शाखा खोल्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
    करिव डेढ करोडको लगानीमा खोलीएको सानोथिमि प्लानिङस्थित विरियानी अड्डामा दुई दर्जन कामदारले रोजगारी पाएका छन । विरियानी अड्डाले काठमाण्डौं उपत्यकाका जुनसुकै स्थान र काभ्रेको बनेपा धुलिखेलसम्म होम डेलीभरी प्रदान गर्दै आइरहेको छ । त्यसका लागि ८ जना रायडर रहेको अनालले बताउनुभयो । अड्डाले पाँच किलोमिटरसम्म निःशुल्क होम डेलीभरी दिँदै आइरहेको छ भने त्यसभन्दा माथि न्यूनतम शुल्क लिने गरेको खनालले बताउनुभयो ।
    विरियानी अड्डाको सञ्चालकमा हाल पाँच जना रहेका छन । खनालका अलावा नवराज खत्री, अमृत राउत, विश्व पाण्डे र रविन पाण्डेले विरियानी अड्डाको अवधारणा अघि सारेका हुन ।

  • हनुमानघाटस्थित ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’ पुनःनिर्माण सम्पन्न

    भक्तपुर, मंसिर १६
    भक्तपुर नगरपालिका–७, हनुमानघाटमा परम्परागत मौलिक शैलीको ‘खोह्र दीप ध्वाखा’ निर्माण गरिएको छ । भक्तपुर नगरपालिकाको योजना अनुसार स्थानीय उपभोक्ता समितिले सो ध्वाखा निर्माण गरिएको हो ।
    ध्वाखा निर्माणका लागि रु.४८ लाख ६९ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले जानकारी दिनुभयो । दायाँ बायाँ सहायक द्घार र बीचमा मुख्य द्धार रहेको खोहा दीप ध्वाखा निर्माणको लागि ४९ लाख ९५ हजार ९ सय ७४ रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन भएको साँधले बताउनुभयो । ध्वाखाको कार्य मूल्यांकन ५७ लाख ९ हजार ४४० रुपैंया रहेको छ ।
    ध्वाखा निर्माणका लागि निर्माणका लागि भक्तपुर नगरका १८० वटा गुठीले आर्थिक सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाईजुले बताउनुभयो ।
    यसैगरी हनुमानघाटस्थित छिपा ताँ (छिपा पुल)को पनि पुनःनिर्माण सम्पन्न भएको छ । कुल एक करोड ७७ लाख ८ हजार ७३० रुपैंयाँमा उक्त पुल पुनःनिर्माण भएको छिपा ताँ निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मी रञ्जितले जानकारी दिनुभयो । उक्त पुलको कार्य मूल्यांकन २ करोड ९ लाख ९८ हजार ५१६ रुपैंया रहेको उहाँले बताउनुभयो ।

  • लागाजु पुनः अध्यक्ष चुनिए

    भक्तपुर, कार्तिक २५
    भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघको अध्यक्ष पुनः कृष्णगोविन्द लागाजु चुनिएका छन । संघको बिहिवार सम्पन्न १७ औं वार्षिक साधारणसभाले लागाजुलाई पुनः अध्यक्ष चुनेको हो ।


    भक्तपुर जिल्लाका वचत तथा ऋण सहकारीहरुको छाता संघको उपाध्यक्षमा हरि बल्ल, सचिवमा जगनाथ प्रजापति र कोषाध्यक्षमा कान्छा भक्त घजु चुनिएका छन् । यस्तै सदस्यहरुमा पञ्चकृष्ण श्रेष्ठ, काजीबहादुर पञ्च, इन्द्र्रप्रसाद ब्यान्जु, कृश्नश्वरी प्रजापति र सन्तोषी खतिवडा चुनिएका छन् ।
    संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा बालमुकुन्द उपाध्याय र सदस्यहरुमा श्रीप्रसाद त्यातजु तथा शुशिला पराजुली चयन भएका छन् । साधारणसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए ।

  • भक्तपुरका चार वटै नगरपालिकामा चेम्बरको कमिटी गठन

    भक्तपुर, कार्तिक १७
    भक्तपुरका चार वटै नगरपालिकामा चेम्बर अर्फ कमर्शको कमिटी गठन गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्शले जिल्लाका चार वटै नगरपालिकामा चेम्बरको कमिटि गठन गरेको हो ।
    चेम्बरको भक्तपुर नगर कमिटीमा रोधे सुन्दर साँयजु अध्यक्ष, रस्मी शिल्पकार उपाध्यक्ष र न्हुछे राम धुख्वा, बालमुकुन्द प्रधान र विजय हाछेथु सदस्य रहेका छन । चाँगुनारायण नगर कमिटीमा गोकुल प्रसाद प्रजापति अध्यक्ष, सुनिता जोन्छें धौभडेल उपाध्यक्ष र सदस्यहरुमा विक्रम प्रजापति, जीवन मारिखु र रमेश ह्यौमिखा रहेका छन ।
    त्यसैगरी सचिन श्रेष्ठको अध्यक्षतामा मध्यपुर थिमि नगर चेम्बर अफ कमर्श गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा उषा प्रजापति र सदस्यहरुमा रविन्द्रकुमार श्रेष्ठ, पुष्पलाल मानन्धर र प्रविनलाल श्रेष्ठ रहेका छन भने राम गोपाल सुवालको अध्यक्षतामा गठित सूर्यविनायक नगर चेम्बर अफ कमर्शमा सुचित्रा श्रेष्ठ उपाध्यक्ष र रवि नारायण कायष्ठ, नानी बाबु थापा र कृष्ण सदन अवाल सदस्य रहेका छन ।
    चेम्बरले मंगलवार आयोजित नेपाल सम्वत् ११४२ न्हुदं, शुभ दिपावली २०७८ र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नवगठित कमिटी र कमिटीका पदाधिकारी घोषणा गरिएको थियो ।
    सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले राज्यको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत हिस्सा आगटेको नीजि क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।


    उहाँले राज्यलाई आत्मनिर्भर गर्न घरेलु उत्पादनलाई निर्यात गर्नुपर्ने र नेपालको उद्योग व्यवसायले रोजगारीको क्षेत्रमा समेत उल्लेख्य योगदान दिईरहेको चर्चा गर्नुभयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीले आर्थिक गतिविधिहरुका अलावा सामाजिक सेवामा समेत योगदान गर्दै आएको कार्य अत्यन्तै सराहनिय रहेको बताउनुभयो । उहाँले सरकार नीजि क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताउँदैं नीजि क्षेत्रले रोजगारी प्रर्वद्धनका लागि ठोस कार्ययोजना सहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे रत्न मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य रोशन भोयद्यो र भक्तपुर लायन्स सेवा समन्वय समितिका संयोजक विष्णु भक्त मारिखु, कोषाध्यक्ष जगत बहादुर श्रेष्ठले चेम्बरले कोरोना महामारीको दोस्रो लहरका बेला सेवा परमो धर्म अभियान अन्तर्गत आइसोलेसन केन्द्र, निःशुल्क एम्बुलेन्स सञ्चालन, निःशुल्क परामर्श, रक्तदान अभियान, अक्सिजनको सहजीकरणलगायतका कार्यगरी मानवीय सेवा र सामाजिक उत्तरदायित्व बहन गरेको जानकारी दिनुभयो ।
    सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शबाट प्रकाशित स्मारिका आर्थिक सम्वाह २०७८ को विमोचन गरिनुका साथै चेम्बरका पदाधिकारी र नवगठित नगर कमिटीका पदाधिकारीहरुलाई चेम्बरको लोगो वितरण गरिएको थियो । त्यस्तै माधव प्रसाद प्रजापति, ज्ञानेन्द्र मानन्धर र सुरेन्द्र जाकीबन्जारलाई चेम्बरको कार्यसमिति सदस्यमा मनोनित गरेको घोषणा गरेको थियो ।

  • भक्तपुरको दुवाकोट क्षेत्रमा म्याद नाघेका खाद्यवस्तू बिक्रिमा

    भक्तपुर, कार्तिक ११
    चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटका खाद्य पसलमा म्याद नाघेका र मासु पसलमा फोहोर मासु बिक्रिका लागि राखिएको पाइएको छ । नगरपालिकाले बिहिवार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु र फोहोर मासु बिक्रिका लागि राखिएको पाईएको हो ।
    नगर उपप्रमुख विणा बास्तोलाको नेतृत्वको टोलीले बस्ताकोटी मिनी स्टोर, बस्ताकोटी दुध डेरी, लाइभ मिट जोन, ढकाल दुध डेरी, काभ्रे दुनोट पसल, पाथीभरा खाद्य स्टोर, न्यू चोङ्गा गणेश मिटसपलगायतको अनुगमन र निरिक्षण गरेको थियो । अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिनुभयो । तयसैगरी पसल दर्ता नभएको, मुल्य सुची नराखेको र मासु पसल तथा खाजा घर सफा नभएको पाईएको घिमिरेले बताउनुभयो ।


    बजार अनुगमन टोली समक्ष केही पसल सञ्चालकले घरभेटीले गर्दा पसल दर्ता गर्न नपाएको गुनासो गरेका थिए । पसल सञ्चालकले व्यवसाय दर्ता गर्ने चाहना हुँदा हुँदै पनि घरभेटीले आवश्यक कागजपत्र उपलब्ध नगराउँदा दर्ता गर्न नसकिएको जवाफ टोलीलाई दिएको थियो । दुवाकोटमा कपडा पसल संचालन गर्ने एक व्यवसायीले भन्नुभयो, “घरको कागजपत्र छैन् भन्दै दिनु भएको छैन् हामीले दर्ता गर्न पाएनौं ।”
    घरबहाल करको कारणले गर्दा दुवाकोटका धेरै घरधनीहरुले पसल संचालकसँग घरभाडा सम्झौता नगर्दा वडा कार्यालय र कर कार्यालयमा दर्ता गर्न नपाएको उप प्रमुख बाँस्तोलासँग व्यवसायीले गुनासो गरेका थिए ।
    अनुगमन टोलीमा राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, संचारकर्मीसहित चाँगुनारायण नगरपालिकाको प्रतिनिधि सहभागी थिए ।