Category: अर्थ

  • अधुरो किरियापुत्री भवनको निर्माण पुरा गर्न गटठ्ठाघरमा महायज्ञ

    भक्तपुर, जेठ १
    अधुरो किरियामुत्री भवन निर्माणका लागि मध्यपुर थिमि–३, गठ्ठाघरमा श्रीमद् भागवत महायज्ञ हुने भएको छ । पितृमुक्तिको लागि १३ दिनसम्म गरिने किरिया कर्मका लागि निर्माण शुरु गरिएको पितृमुक्ति भवनको निर्माण कार्य आर्थिक अभावका कारण बन्द भई अधुरो भएपछि उक्त भवनलाई पुरा गर्न महायज्ञ आयोजना गर्न लागिएको हो ।
    महायज्ञ यही जेठ ४ गतेदेखी शुरु हुने बिहिवार गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महायज्ञ आयोजक सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको जानकारी दिनुभयो । जेठ ४ देखि सुुरु हुने महायज्ञमा मञ्जरी राधिका दाशीले कथावाचन गर्नुहुने उहाँले बताउनुभयो । श्रीमतद् भागवत महायज्ञ जेठ १० गतेसम्म सञ्चालन हुनेछ ।
    “किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागेका छौ,” उहाँले भन्नुभयो । महायज्ञ सफल पार्न विभिन्न १७ वटा उपसमिति बनाएको उहाँले बताउनुभयो ।
    वि. सं. २०६९ सालमा लगाएको पुराणबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । “भवन निर्माण गर्न धेरै समाजसेवीहरुसंग सहयोग संलकन ग¥यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्येश्यले पुनः महायज्ञ लगाउनु परेको हो,”सुवेदीले भन्नुभयो । महायज्ञबाट दुई करोड भन्दा बढी संकलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
    महायज्ञबाट उठेको रकमबाट बहुउद्देशीय भवन बनाउन सफल हुने र त्यसका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्न दाताहरु आतुर रहेको उहाँले बताउनुभयो । “दाताले दिएको सहयोगको आधारमा सम्मानको विशेष व्यवस्था मिलाएका छौं,” उहाँले भन्नुभयो ।
    पाँच आना दुई पैसा जग्गामा तीन तला भवन निर्माण भइसकेको छ । भवन निर्माण, शौचालय, ढिकुरो उठाउन सहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । “अधुरो भवन निर्माण गर्न १६ लाख अहिले पनि ऋण छ,” उहाँले भन्नुभयो, “ऋण तिर्न र नयाँ संरचना बनाउन पनि महायज्ञ लगाउनु परेको हो ।

     

  • सहकारी दिवसमा आयोजित प्रभातफेरीमा सिद्धिकाली प्रथम

    भक्तपुर, चैत्र २०
    ६८ औ सहकारी दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा चपाचोस्थित सिद्धिकाली वचत तथा ऋण सहकारी संस्था लि. प्रथम भएको छ ।
    साँस्कृतिक झाँकीसहितको प्रभातफेरीमा उपकार वचत तथा ऋण सहकारी संस्था दोस्रो, श्री महालक्ष्मी वचत तथा ऋण सहकारी संस्था तेस्रो भएका छन भने बालकुमारी वचत तथा ऋण सहकारी संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
    प्रभातफेरीमा महिलाहरु मात्र सञ्चालक रहेको महिला सहकारीहरु मध्ये दक्षिणकाली वचत तथा ऋण सहकारी संस्था उत्कृष्ट हुन सफल भयो ।


    प्रभातफेरी पछि कमेरोटार जग्गा एकिकरण आयोजनास्थित खेल मैदानमा आयोजित सभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उत्कृष्ट हुन सफल सहकारीहरुलाई प्रमाणपत्र र शिल्डसहित पुरस्कृत गर्नुभयो ।
    सो अवसरमा उहाँले सहकारीविज्ञहरुको सहयोगमा र मध्यपुर थिमि नगरभित्रका सहकारीहरुकै सहकार्यमा नगरपालिकाले सहकारी सम्बन्धी विभिन्न ऐन नियम, नीति, कार्यविधि निर्माण गरी कार्यान्वयन गरेको बताउनुभयो ।


    उहाँले एकाध सहकारीका कारण सहकारी क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै नगरपालिका सहकारीका सबै वचतकर्ताको वचत सुरक्षित गराउन कतिवद्ध रहेको बताउनुभयो । सहकारी प्रति आम नागरिकहरुमा नकारात्मक सोच विकास भइरहेको अवस्थामा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहकारीकर्मीहरुको सहभागिताले वचतकर्तामा उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।


    प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले सहकारीका शेयरधनी सदस्यहरु पनि चनाखो हुनुपर्ने चर्चा गर्दै सहकारीहरुले पनि वचतकर्ता माथि विश्वासघात गर्ने, ठगी गर्ने उद्देश्यले आर्थिक अपचलन गर्न नहुनेमा जोड दिनुभयो ।
    कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका उपाध्यक्ष विरेन्द्रभक्त प्रधानाङ, नगरपालिकाका सहकारी शाखाका प्रमुख अभयेन्द्र रञ्जितलगायतले सहकारीका विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।


    यसअघि नगरपालिकाको वडा नं. १, २ र ३ को सानोथिमिबाट, वडा नं. ४ को शंखधर चोकबाट, वडा नं ५ र ६ भुलांखेलबाट, वडा नं ७ को नगदेशबाट र वडा नं ८ र ९ को बोदेबाट साँस्कृतिक झाँकीसहितको प्रभातफेरि कार्यक्रम स्थल कमेरोटार खेल मैदानमा आएको थियो ।
    कार्यक्रममा नगरभित्रका करिव १ सय २८ वटा सहकारी संस्था मध्ये ९६ वटा सहकारी संस्थाबाट करिव ४ हजार सहकारीकर्मीको सहभागीता रहेको थियो ।

     

     

  • मध्यपुर थिमिको आन्तरिक आम्दानी ६ महिनामा १४ करोड

    भक्तपुर, माघ ४
    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा १४ करोड रुपैंया भन्दा बढी आन्तरिक स्रोतबाट राजश्व संकलन गरेको छ । चालु आ.व.को साउन १ गतेदेखी गत पुस २० गतेसम्म मध्यपुर थिमि नगरपालिकाले १४ करोड २८ लाख १९ हजार ६ सय ९० रुपैंया आन्तरिक स्रोतबाट राजश्व संकलन गरेको हो ।
    यो नगरपालिकाको कुल वार्षिक लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । मध्यपुर थिमि नगरपालिकाले चालु आ.व.मा ३६ करोड २८ लाख ७ हजार आन्तरिक स्रोतबाट राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
    गत आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा यसवर्ष घर नक्सा पास कम हुनुले लक्ष्य अनुरुप राजश्व संकलन हुन नसकेको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गतवर्ष मध्यपुर थिमि नगरपालिकाले घर नक्साको अभिलेखीकरण र नियमित खुलाएको थियो । सोही कारण नक्सापास दस्तुर र जरिवाना वापत उल्लेख्य राजस्व संकलन भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
    यसवर्ष घर नक्सा पासमा राजश्व संकलनमा कमी आएपनि व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शिर्षकमा राजश्व संकलन बृद्धि भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शिर्षकमा गत आ.व.२०८०÷०८१ को तुलनामा २ करोड ५२ लाख ८९ हजार ८ सय ८८ रुपैंया बढी राजश्व संकलन भएको छ ।
    मध्यपुर थिमि नगरपालिकाले चालु आ.व.को पहिलो ६ महिनामा सबै भन्दा धेरै असोजमा ३ करोड ६० लाख ५६ हजार ३७ रुपैंया आन्तरिक आम्दानी गरेको छ । यस्तै साउनमा ३ करोड २७ लाख ८५ हजार ४ सय ५२ रुपैंया राजश्व संकलन गरेको थियो भने भाद्रमा २ करोड ४३ लाख ५३ हजार ४ सय ७३ रुपैंया आन्तरिक आम्दानी गरेको थियो ।
    यसैगरी कार्तिकमा १ करोड ९८ लाख १२ हजार ३ सय ६६ रुपैंया, मंसिरमा २ करोड ८ लाख १६ हजार एक सय ७४ रुपैंया आम्दानी गरेको मध्यपुर थिमिले पुसमा सबैभन्दा कम ९४ लाख १७ हजार ९ सय ८१ रुपैंया मात्र राजश्व संकलन गरेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

     

  • शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार

    भक्तपुर, असोज ६
    मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को तुलनामा १२ लाख ५९ हजार ८०५ रुपैंयाले बढी हो ।
    संस्थाको शनिवार सम्पन्न १७ औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष न्हुँछेंराज बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष संस्थाले ४७ करोड २१ लाख ७५ हजार ४६५ रुपैंया निक्षेप संकलन गरी कुल ३० करोड ८९ लाख ४२ हजार ८६२ रुपैंया ऋण लागनी गरेको जानकारी दिनुभयो ।
    उहाँका अनुसार संस्थाको जगेडा कोषमा ३ करोड ९ लाख २० हजार ३१३ रुपैंया रहेको छ भने अन्य कोषमा ६८ लाख ९९ हजार ५७० रुपैंया रहेको छ ।
    सभामा संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाले सहकारी मूल्यमान्यता र सिद्धान्तका आधारमा सदस्यहरुलाई कुनै भेदभाव नगरी सरल ढंगले वित्तिय सुविधा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले समूदायमा आधारित नभएका सहकारीहरुमा देखिएको आर्थिक अपचलन घटनाले शंखधर जस्तो समूदायमा आधारित सहकारी संस्थाका बारेमा पनि एक पटक सोच्नु पर्ने अवस्था आएको बताउनुभयो ।


    उहाँले संस्थाले चालु आर्थिक वर्ष संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभरी कायम रहने गरी बिस्तारको पहल गर्ने जानकारी दिँदैं संस्थाको चारवर्षे रणनीतिक व्यवसायिक योजना तयार गरेको र सो योजनाबाट तोकिएको लक्ष्य हासिल गरी संस्थालाई थप मजबुद बनाईने बताउनुभयो ।
    यसअघि संस्थाको साधारणसभाको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सहकारी मूल्य मान्यता सिद्धान्तमा आधारित भएर सहकारी संस्थाहरु समूदायमा आधारित भएर सञ्चालन भए कुनै समस्या नआउने उदाहरण शंखधर रहेको बताउनुभयो ।
    उहाँले बागमती प्रदेशले छिट्टै स्वास्थ्य विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिँदैं उक्त विधेयक प्रदेशसभाबाट पारित भएसँगै बागमती प्रदेशमा रहेका नीजि स्वास्थ्य संस्था, अस्पतालहरुको स्तरबृद्धि लगायतका कार्य सहज हुने विश्वास दिलाउनुभयो ।


    सो अवसरमा मध्यपुर थिमि नगरपालिकाको सहकारी शाखा प्रमुख अभयेन्द्र रञ्जितले नगरभित्र १२८ वटा सहकारी सञ्चालनमा रहेको जानकारी गराउँदैं केही सहकारीले नियमितरुपमा नगरपालिकालाई आवश्यक कागजपत्र उपलब्ध गराई नियमित नगरेको बताउनुभयो । उहाँले त्यस्ता सहकारीहरुलाई पत्रद्धारा सचेत पार्ने र आवश्यकता अनुसार अनगुमन समेत गरी वचतकर्ताको वचतको सुरक्षाको लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
    संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले संस्थाका सचिव र कोषाध्यक्षको प्रस्ताव पारित गरेको थियो । कार्यक्रममा संस्थाका सदस्यका छोराछोरी मध्ये एसईई २०८० मा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्रा, ज्येष्ठ सदस्यलगायतलाई सम्मान गरिएको थियो ।
    संस्थामा हाल ३ हजार ४५० सदस्य रहेका छन भने यसको शेयर पुँजी ४ करोड ६४ लाख ९२ हजार ५ सय र कुल सम्पत्ति ५८ करोड ३५ हजार ९६७ रुपैंया रहेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

  • शुभकामना सहकारीको खुद नाफा ३ करोड ८५ लाख

    भक्तपुर, भदौ २९
    भक्तपुरको सूर्यविनायकमा अवस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नारायण बहादुर बासुकलाले सो जानकारी दिनुभएको हो ।
    संस्थाले गत आर्थिक वर्ष ४ करोड २८ लाख ९८ हजार ८१५ रुपैंया कुल नाफा आर्जन गरेकोमा आयकर ४३ लाख १७ हजार ५८६ रुपैंया कटाएर सो नाफा आर्जन गरेको हो ।
    सभामा वासुकलाले संस्थामा शेयर पुँजी १० करोड ८६ लाख, सदस्य संख्या ९ हजार ४०६ जना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल सम्पत्ति एक अर्ब ४८ करोड १८ लाख १६ हजार ९१५ रुपैंया रहेको छ ।
    सभामा वार्षिक प्रतिवेदन पेश गर्दै सचिव पुष्पलाल तिमिलाले संस्थामा सहकारी ऐन नियम बमोजिम रही पल्र्स मापदण्डको आधारमा १५ प्रतिशत सदस्य बृद्धि गर्ने, शेयर पुँजी बृद्धिलाई निरन्तरता दिने, औसत वचतलाई बृद्धि गर्ने, संस्थाको कुल तरलता मध्ये कम्तीमा ५० प्रतिशत अल्पकालिन वित्तिय लगानीको रुपमा व्यवस्थापन गर्ने र कम्तिमा ७० प्रतिशत ऋण लगानी उत्पादनमूलक क्षेत्रमा जाने गरी परिचालन गर्ने नीति चालु आर्थिक २०८१÷०८२ मा लिने जानकारी गराउनुभयो ।
    सभाको उद्घाटन गर्दै नेपाल वचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले भक्तपुरमा नागरिक र समाजमा सहकारी शिक्षामा बढी सचेत रहनु र जिल्ला वचत संघको अभिभावकीय भूमिकाका कारण भक्तपुरका स्थानीय सहकारीहरुमा समस्या नदेखिएको बताउनुभयो ।


    सो अवसरमा शुभकामनाले पुर्वअध्यक्ष एव्म सल्लाहकार समितिका प्रमुख सल्लाहकार बाल मुकुन्द सुवाललाई विशेष सम्मान गरेको छ । सुवालले हालै मानार्थ विद्या वारिधी उपाधि पाउनुभएको थियो ।
    यस्तै शुभकामनाले विद्यावारिधी गर्ने संस्थाका सदस्यहरुलाई पनि सम्मान गरेको छ । उक्त सम्मान पाउनेहरुमा डा. मुनलक्ष्मी त्वायना र डा. सुन्दर हेगाेंजु रहेका छन । त्वायनाले युनिभर्सिटी अफ नर्थ टेक्सासबाट वायोकेमेष्ट्री मोलेकुलर वायोलोजी र हेगोंजुले फ्रेण्डरिच स्केलर युनिभर्सिटी जेनाबाट बायोलोजिकल साईन्समा विद्यावारिधि गर्नुभएको हो ।
    यस्तै हाडजोनी तथा नशा रोगमा एमडी गर्नुहुने डा. सरोज कुमार सुवाल, टेबुलटेनिसका राष्ट्रिय खेलाडी नर्मदा खाईतु, नियमति वचतकर्ता पुरुषतर्फ देवराज जोशीर महिलातर्फ शिला बासुकला, दैनिक वचतकर्ता रमेश ख्याजु, असल ऋणी पुरुषतर्फ सुवर्ण मानन्धर, महिलातर्फ तेजमाया भंडेल र कक्षा ८, एसईई २०८० र कक्षा ११ एवम् १२ को परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
    कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले संस्थाले सुसूचित सदस्य, दिगो सहकारीलाई आत्मसाथ गर्दै सहकारी शिक्षा तथा वित्तिय साक्षरताको कार्यक्रमलाई विशेष जोड दिँदैं आइरहेको बताउनुभयो । उहाँले समूदायमा आधारित भएर सञ्चालन भएकै कारण शुभकामनाले सदस्यहरुको विश्वास जित्न सफल भएको बताउनुभयो ।
    सभामा भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, संस्थाका उपाध्यक्ष निर्मला सुवाल, पुर्वअध्यक्ष एवम् नासमना सेवा केन्द्रका प्रमुख न्हुछेंकुमार त्वयनालगायतले संस्थाको विविध गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।

     

  • ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने

    भक्तपुर, भदौ २४
    भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ ।
    नेपालीको सबैभन्दा ठुलो पर्व दशैंको अवसर पारेर आयोजना गरिएको महोत्सव यही असोज ९ गतेदेखि १९ गतेसम्म ११ दिन चल्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले बताउनुभयो । महोत्सव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित खुल्ला मैदानमा हुने छ ।
    महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गार्मेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकाय गरी १५० भन्दा बढी स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै, राष्ट्रिय आविष्कार केन्द्रको स्टल समेत रहने उहाँले बताउनुभयो ।


    महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
    भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुरÞ्याउने उद्देश्य महोत्सवको रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    महोत्सवका संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको बताउनुभयो । औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धमा सामिप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुरÞ्याउने उहाँले बताउनुभयो ।
    महोत्सवमा राखिने बस्तुहरुको प्रकृत्तिका आधारमा स्टलको साइज र शुल्क फरक हुने महोत्सव व्यवस्थापक सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.का प्रमुख संगम लामाले बताउनुभयो । स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुने उहाँले जानकारी दिनुभयो ।
    ११ दिनको उक्त महोत्सवमा एक लाख रुपैयादेखि १८,५०० सम्म स्टल भाडा हुने जनाइएको छ । महोत्सव अवधिभर करिब दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोवार हुने अनुमान रहेको छ ।
    महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने आयोजकले विश्वास लिएको छ ।

  • मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस

    मध्यपुर थिमि, भाद्र ६
    मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु आर्थिक वर्ष २०८१÷०८२ मा कर तिर्दा विभिन्न छुट तथा सहुलियतको योजना ल्याएको हो ।
    जसअनुसार २०८१ श्रावणदेखी असोज महिना भित्रमा सम्पत्ति कर बुझाएमा आ.व. २०८१÷०८२ मा लाग्ने करमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
    यस्तै अघिल्ला वर्षहरूको समेत सम्पत्ति करमा समेत छुटको व्यवस्था गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख रविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार करदाताहरूले २०८१ श्रावण देखी असोज भित्र कर बुझाएमा अघिल्लो ३ बर्षको बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको छ ।
    नगरपालिकाले नयाँ व्यवसाय दर्तालाई प्रोत्साहन गर्न आर्थिक बर्ष २०७४÷०७५ लाई आधार बर्ष मानी उक्त आर्थिक बर्ष भन्दा अगाडिको व्यवसाय कर छुट गरिएको छ । यसैगरी २०८१ साल श्रावणदेखी असोज महिना भित्र व्यवसाय दर्ता नविकरण गर्न आएमा बक्यौता करमा लाग्ने सम्पूर्ण जरिवाना छुट गरिएको छ ।
    नगरपालिकाले सम्पत्तिकरमा जस्तै व्यवसाय करमा पनि २०८१ साल श्रावणदेखी असोज महिना भित्र व्यवसाय कर बुझाएमा आ.ब. २०८१÷०८२ मा लाग्ने व्यवसाय करमा मात्र १० प्रतिशत छुट गरिएको छ ।
    नगरपालिकाले नयाँ व्यवसाय दर्तामा समेत १० प्रतिशत छुटको प्रावधान लागु हुने भएकोले दर्ता नभएका व्यवसाय असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा गई दर्ता गर्न आग्रह गरेको छ ।
    नगरपालिकाले घरबहाल करमा समेत विशेष छुटको व्यवस्था गरेको छ । जसअनुसार २०८१ श्रावणदेखी असोज महिना भित्रमा आ.व. २०८१÷०८२ मा लाग्ने सम्पूर्ण घरबहाल कर एकमुष्ट अग्रिम बुझाउने करदातालाई चालु आ.ब. मा लाग्ने बहाल करमा मात्र १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
    नगरपालिकाले करदाताको चाहना अनुरुप आवासिय र व्यवसायिक प्रयोजनका लागि छुट्टाछुट्टै बहालकरको दर लागु गरेको छ । नगरपालिकाले आवासीय प्रयोजनका लागि बहालमा लगाएको अवस्थामा ५ प्रतिशत र व्यवसायिक प्रयोजकन लागि दिईएको बहालमा १० प्रतिशत कर लागु गरेको छ ।
    नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोतले जनताले तिर्ने विभिन्न कर भएकाले करदाताको चाहना र उनीहरुलाई थप सुविधा दिई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले करमा विभिन्न छुटको योजना ल्याएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
    उहाँले बहालकरमा धेरै जनगुनासो आएको र करको दर बढी भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बहालकरमा दुई थरी करको दर लागु गरिएको जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले नगरपालिकाले ल्याएको छुटको सुविधा लिई मौकाको फाइदा उठाउन आग्रह समेत गर्नुभयो ।
    “समयमा कर तिर्नु सबैको दायित्व हो । ढिलो चाँडो कर तिर्नै पर्छ । करदातालाई सम्मान गर्नु राज्यको पनि दायित्व हो । यसै अनुरुप करदाताको सम्मानको लागि पनि छुटको व्यवस्था ल्याएका हौं,” उहाँले भन्नुभयो, “समयमा तिर्ने करदाता र ढिला तिर्ने करदातालाई एउटै सुविधा र व्यवस्था न्यायोचित नभएकाले पनि समयमा तिर्ने करदातालाई प्रोत्साहित गर्न छुटको व्यवस्था गरेका हौं ।”

     

  • धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन प्रविधि आवश्यक – डा. राणा

    भक्तपुर, असार १५
    नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा नेपाल किसान महासंघ भक्तपुरले सल्लाघारीमा आयोजित रोपाईं कार्यक्रममा डा. राणाले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।
    उहाँले बंगलादेशले धान उत्पादनमा गरेको प्रगतीबाट नेपालले सिक्नुपर्ने बताउनुभयो । “बंगलादेशले थोरै जमिनमा धेरै उत्पादन हुने प्रविधिबाट धानमा आत्मनिर्भर भई निर्यात समेत गर्न सफल भएको छ । त्यसबाट नेपालले सिक्नुपर्छ,” उहाँले भन्नुभयो ।


    उहाँले नेपालमा नार्क जस्तो अनुसन्धान गर्ने निकाय भएपनि राजनैतिक हस्तक्षेपका कारण आशातित सफलता पाउन नसकेको बताउँदैं त्यस्ता निकाय स्वतन्त्र र राजनैतिक हस्तक्षेप मुक्त हुनुपर्ने धारणा राख्नुभयो ।
    कृषकलाई समयमा मलखाद उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराउँदैं उहाँले नेपालमा जमिन बाँझो राख्ने प्रवृत्ति बढेको कारणले पनि धान उत्पादनमा कमी आएको बताउनुभयो । “एकातर्फ धानको खपत बढेको छ, अर्कोतर्फ जमिन बाँझो राख्ने प्रवृत्ति बढ्दो छ । यसले पनि माग र आपुर्तीको असन्तुलन बढेको हो,” उहाँले भन्नुभयो ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले धान उत्पादन बृद्धिका लागि उन्नत जातको धानको बिउ किसानलाई सरकारले समयमा उपलब्ध गराउने र आवश्यक सिचाईंको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।


    नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले नेपालमै मल उत्पादन नभएसम्म किसानले समयमा मलखाद पाउन नसक्ने बताउनुभयो ।
    उहाँले पार्टीको संगठनमा कुनै कमीकमजोरी नहुने विश्वास दिलाउँदैं सबैलाई एकतावद्ध भएर लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सम्मुनत नेपाल निर्माणमा सबैले आ–आफ्नो स्थानबाट योगदान पुर्याउन निर्देशन समेत दिनुभयो ।
    कार्यक्रममा नेपाल किसान महासंघ भक्तपुरका सभापति ईन्द्रबहादुर प्रजापतिले ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारालाई व्यवहारमा उतार्न सके नेपाल धानमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

     

  • सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

    भक्तपुर, असार ११
    आर्थिक वर्ष २०८१÷८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमवार बसेको सोमबार नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा उपप्रमुख सरिता तिमसिना भट्टराईले सो बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
    नगरपालिकाले कुल बजेटको ४५.३४ प्रतिशत रकम अर्थात् १ अर्ब १ करोड ५६ लाख ५३ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरेको छ । त्यस्तै, १ अर्ब २२ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । उक्त रकम नगरपालिकाको कुल बजेटको ५४.६६ प्रतिशत हो ।


    आगामी आर्थिक वर्षमा नगरपालिकाले संघिय सरकारको विभिन्न शिर्षकबाट ७२ करोड ३१ लाख ९९ हजार ५ सय रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै प्रदेशबाट विभिन्न शिर्षकमा ४८ करोड ७ लाख ३९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख तिमसिनाले बताउनुभयो । नगरपालिकाको आन्तरिक आय १ अर्ब ३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ रहने अनुमान सहित २ अर्ब २४ करोडको बजेट ल्याइएको उहाँले बताउनुभयो ।
    आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास तर्फ ११ करोड ८९ लाख रुपैयाँ, सामाजिक विकास तर्फ ८३ करोड ८४ लाख रुपैयाँ र पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ सहित कुल २ अर्ब २४ करोड खर्च हुने बजेटमार्फत अनुमान गरिएको छ ।

  • आगामी आर्थिक वर्षको लागि चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

    भक्तपुर, असार ११
    चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले सोमबार बजेट सार्वजनिक गरेको हो ।
    नगरपालिकाले कुल बजेटको ५३.८१ प्रतिशत अर्थात् १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ पूँजीगत खर्च शीर्षकमा विनियोजन गरेको छ । त्यस्तै, चालू खर्चका लागि ९६ करोड १७ लाख १३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । जुन नगरपालिकाको कुल विनियोजित बजेटको ४६.१९ प्रतिशत हो ।


    आगामी आर्थिक वर्षमा नगरपालिकाले सिफारिस दस्तूर, व्यवसाय रजिष्ट्रेशन शूल्क, पानी ठेक्का, घर–नक्सा पास दस्तूर लगायतका शिर्षकबाट ३२ करोड ५५ लाख २० हजार रुपैयाँ बराबर आन्तरिक आय हुने अनुमान गरेको छ । संघिय सरकारको विभिन्न शिर्षकबाट ७६ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको नगरपालिकाको रहेको छ ।
    त्यस्तै, प्रदेशबाट विभिन्न शिर्षकमा ७ करोड ७४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो । साथै, सवारी साधनको राजस्व बाँडफाँटबाट ८ करोड १३ लाख ३४ हजार रुपैयाँ र घर–जग्गा रजिष्ट्रेशनबाट ६० करोड रुपैयाँ गरी कूल जम्मा ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
    हाल नगरपालिका संचित कोषमा मौज्दात रकम २१ करोड ४४ लाख ९२ हजार २ सय रुपैयाँ रहेको उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
    आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास क्षेत्रतर्फ ११ करोड ५० लाख १५ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्र तर्फ ७३ करोड ५५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खानेपानी तथा सरसफाइ तर्फ १० करोड ९८ लाख १० हजार विनियोजन गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
    पूर्वाधार विकास क्षेत्र तर्फ ८८ करोड ८५ लाख ५० हजार मात्र विनियोजन गरिएको छ । जसमध्ये यातायात पूर्वाधार तर्फ ६६ करोड ११ लाख , भवन आवास तथा सहरी विकास तर्फ ७ करोड ४१ लाख , सम्पदा पूर्वाधार तर्फ ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ २ करोड ८८ लाख विनियोजन भएको छ ।