Category: अन्तराष्ट्रिय

  • गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

    गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

    भक्तपुर, जेठ ३१
    विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताउनुभएको हो ।
    जोनसनले ती खोप केही कोभ्याक्स कार्यक्रम र केही सिधै दिन सकिने जानकारी दिनुभयो । उक्त परिणाममा बेलायतले मात्र १० करोड मात्रा उपलब्ध गराईने जोनसनले बताउनुभयो । “विश्वलाई खोप लगाउने यो अर्को महत्वपूर्ण कदम हो,” जोनसनले भन्नुभयो ।
    उहाँले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै विश्वकै सबैभन्दा लोकप्रिय खोपको संज्ञा दिनुभयो । लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई ‘उदारतापूर्ण कार्य’ भएको बताउनुभयो । उहाँले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताउनुभयो ।

  • बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने

    बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने

    भक्तपुर, जेठ २८
    बेलायतले विश्वका गरिव राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप १० करोड डोज अनुदान दिनेभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा गरिव देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
    बेलायतले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने र यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ । प्रधानमन्त्री जोनसनले भन्नुभयो, ‘यूकेको खोप कार्यक्रमको सफलताका कारण हामी आफूसँग अतिरिक्त संख्यामा रहेका खोपहरू आवश्यकता रहेकाहरूलाई दिनसक्ने अवस्थामा छौँ । त्यसो गर्दा हामीले महामारीलाई पराजित गर्न एउटा ठूलो कदम चालेका हुनेछौँ ।’ उहाँले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेको उल्लेख गर्दै अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने बताउनुभयो ।
    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । कोर्नवालमा बोल्दै अमेरिकी राष्ट्रपति बाइडनले भन्नुभयो, ‘संयुक्त राज्य अमेरिकाले कुनै पनि सर्त बिना खोपहरू उपलब्ध गराउनेछ । हाम्रो खोप अनुदानमा हामीलाई कुनै किसिमको सहयोग गर्न दबाब वा सम्भावित छूट जोडिएको छैन । मानव जीवन रक्षा गर्न हामीले यस्तो गरिरहेका छौँ ।’

  • दक्षिण अफ्रिकी महिलाले एकै पटक १० शिशुलाई जन्म दिईन

    दक्षिण अफ्रिकी महिलाले एकै पटक १० शिशुलाई जन्म दिईन

    भक्तपुर, जेठ २६
    दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छिन । ३७ वर्षीया गोसियामे थमराले एकै पटक १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् ।
    यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकै पटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।

  • उत्तर कोरिया: विदेशी चलचित्र, भाषा र लुगामा प्रतिबन्ध लगाउने कडा कानुन

    उत्तर कोरिया: विदेशी चलचित्र, भाषा र लुगामा प्रतिबन्ध लगाउने कडा कानुन

    लोरा बिकर, बि बि सि न्यूज, सोल, जेठ २४

    उत्तर कोरियाले देशमा हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको छ।

    किन यस्तो कानुनहरू लागु गरिएका हुन्?

    युन मी-सोले ११ वर्षको हुँदा दक्षिण कोरियाली चलचित्रसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्ड दिइएको देखेको बताउँछिन्।

    मृत्युदण्ड सारा समुदायलाई हेर्न भनिएको थियो।

    “यदि तपाईँले नहेरेको भए त्यो राजद्रोह हुन्थ्यो,” सोलबाट उनले बीबीसीलाई बताइन्।

    उत्तर कोरियाली सैनिकहरूले सबैलाई गैरकानुनी भिडिओ लुकिछिपी ल्याएमा हुने सजायको बारेमा जानकारी दिन चाहन्थे।

    “म अझै पनि पट्टि बाँधिएको आँखाबाट आँसु बहिरहेको सम्झन्छु। मेरो मनमा त्यो आघात पुग्ने घटना थियो। पट्टि आँसुले भिजेको थियो।”

    “उनीहरूले उसलाई बाँधे र गोली हाने।”

    बिनाहतियारको युद्ध

    कल्पना गर्नुहोस् कि तपाईँ नियमित लकडाउनमा हुनुहुन्छ, तपाईँसँग इन्टरनेट वा सामाजिक सञ्जाल छैनन् र टिभीमा राज्य नियन्त्रित केही च्यानल आउँछन् जसमा नेताहरूले तपाईँलाई सुनाउन चाहेका कुरा मात्रै बज्छन्। यो उत्तर कोरियाको जीवन हो।

    र अब त्यहाँका नेता किम जङ-अनले यसलाई थप कडा बनाएका छन्। उनले ‘प्रतिक्रियावादी सोच’विरुद्ध भनेर नयाँ कानुनहरू लागु गरेका छन्।

    अब दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको ठूलो सङ्ख्यासहित पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइने छ। हेर्नेलाई मात्रै पनि १५ वर्षको जेल शिविर तोकिएको छ।

    र ती कानुन हेर्ने कुरामा मात्रै सीमित छैनन्।

    हालै किमले सरकारी मिडियामा एउटा पत्र लेख्दै युथ लीगलाई युवाहरूको ‘एकाङ्की र असामाजिक व्यवहार’लाई नियन्त्रण गर्न भने। उनले ‘खतरनाक विष’ भन्दै विदेशी भाषा, कपाल काट्ने तरिका र लुगा रोकिनु पर्ने बताए।

    उत्तर कोरियाभित्र स्रोत भएको सोलको अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई के-पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाइयो। बीबीसीले यो कुरा पुष्टि गर्न सकेको छैन।

    देशभित्र जनजीवन कठिन बनिरहँदा मानिसहरूसम्म बाहिरी खबरहरू नपुगोस् भन्ने किमले चाहेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

    उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बताइन्छ। नेता किमले भने उनीहरूलाई एशियाको धनी सहर सोलको जीवनको झल्को नमिलोस् भन्ने चाहन्छन्।

    गत वर्ष कोभिड महामारीका कारण सीमा बन्द गरिएपछि उत्तर कोरिया पहिलेभन्दा बाहिरी विश्वबाट छुट्टिएको छ। छिमेकी चीनबाट हुने अत्यावश्यक वस्तुहरूको आपूर्ति निकै कम भएको छ।

    त्यहाँ हतियार कार्यक्रममा धेरै पैसा खर्च गर्ने शासकको चाहनाले अर्थतन्त्र असफल हुँदै गएको मानिन्छ। यो वर्षको सुरुमा किमले ‘आफ्ना नागरिकहरूले सबैभन्दा गाह्रो अवस्था भोगिरहेको’ स्वीकारेका थिए।

    नयाँ कानुनमा के ?

    डेली एनके सो कानुनको विवरण प्राप्त गर्ने उत्तर कोरिया बाहिरको पहिलो सञ्चारमाध्यम हो।

    त्यसका प्रधान सम्पादक ली साङ योङले बीबीसीलाई भने: “यसमा कुनै कामदारलाई आरोप लागेमा उद्योगको प्रमुखलाई सजाय हुनसक्ने र कुनै बालक समस्याकारी भएमा अभिभावकलाई सजाय हुनसक्ने भनिएको छ। उत्तर कोरियाले प्रोत्साहन गरिरहेको एकअर्काको निरीक्षण गर्ने सिद्धान्तलाई यसले अँगालेको देखिन्छ।”

    उनले यो कानुनको उद्देश्य दक्षिण कोरियाको बारेमा त्यहाँका युवाले देख्ने सपनालाई तोड्नु हो।

    भिडिओ क्याप्शन सुरु हुँदैछ,

    उत्तर कोरियाको सैन्य शक्ति प्रदर्शन

    “अर्को शब्दमा भन्नुपर्दा अन्य देशको संस्कृति भित्रिएमा देशमा विद्रोहको सोच आउन सक्ने त्यहाँको शासकको निष्कर्ष हो।”

    गत वर्ष उत्तर कोरियाबाट भाग्न सफल थोरैमध्ये एक चोई जङ-हुनले बीबीसीलाई भने: “जति असहज समय हुन्छ त्यति नै कडा नियम कानुन र सजाय हुन्छन्।”

    “मनोवैज्ञानिक हिसाबले जब तपाईँ टन्न खाएर दक्षिण कोरियाली चलचित्र हेर्नुहुन्छ, त्यो मनोरञ्जन हुन्छ। तपाईँसँग खानेकुरा छैन र बाँच्न सङ्घर्ष गरिरहनु भएको छ भने त्यसले आक्रोशित बनाउँछ।”

    के यसले काम गर्छ?

    यसअघिका नियन्त्रणमुखी प्रयासले मानिसहरू चीनको सीमाबाट आउने विदेशी चलचित्र हेर्न कति सिर्जनात्मक हुन्छन् भन्ने कुराको उदाहरणहरू प्रस्तुत गरेका थिए।

    उत्तर कोरियामा पेन ड्राइभ ढुङ्गा जत्तिकै भेटिने र त्यसमा नै चलचित्रहरू लुकिछिपी आउने बताइन्छ। पेन ड्राइभ लुकाउन पनि सहज र पासवर्ड राख्न पनि मिल्ने भएकोले त्यो प्रचलनमा रहेको बुझ्न सकिन्छ।

    “तपाईँले तीन पटक गलत पासवर्ड हाल्नुभयो भने पेन ड्राइभका सबै कुरा मेटिने बनाउन मिल्छ। अझ संवेदनशील सामग्री छन् भने त एकै पटकको गलत पासवर्डले मेटिने बनाउन मिल्छ,” चोईले भने।

    युनले आफ्नो घरमा चलचित्र हेर्न कतिसम्म गरिन्थ्यो भन्ने कुरा बताइन्। उनले आफ्नो परिवारले कारको ब्याट्री मागेर त्यसको ऊर्जाले टेलिभिजन चलाएर दक्षिण कोरियाली चलचित्र स्टेरवे टु हेभन हेरेको सम्झिन्छन्।

    चीनबाट सस्ता सीडी र डीभीडी आउन थालेपछि विदेशी चलचित्रको आकर्षण बढेको चोई बताउँछन्।

    सन् २००२ मा विश्वविद्यालयमा छापा मार्दा करिब २०,००० सीडी जफत गरिएको चोई सम्झन्छन्।

    “त्यो त एउटा विश्वविद्यालयमा थियो। देशभरि कति थियो होला अनुमान लगाउन सकिन्छ। सरकार छक्क परेको थियो। त्यसपछि उनीहरूले सजाय कडा बनाए।”

    कसरी पक्राउ गरिन्छ?

    किम गेम-होइकलाई सन् २००९ मा १६ वर्षको हुँदा गैरकानुनी भिडिओ साटफेर गर्ने व्यक्ति पक्राउ गर्न बनाइएको विशेष एकाइको सुरक्षाकर्मीले पक्राउ गरे।

    उनले एक जना साथीलाई बुवाले चीनबाट लुकाएर ल्याएका दक्षिण कोरियाली सङ्गीतको सीडी दिएका थिए।

    उनलाई सुत्न नदिई सोधपुछ गरियो। उनले आफूलाई चार दिन कुटिएको बताए।

    “म त्रसित थिएँ,” उनले सोलबाट भने।

    “मलाई लाग्यो मेरो दिन सकियो। उनीहरू मैले सीडी कहाँबाट पाएँ र कति जनालाई देखाएँ जान्न चाहन्थे। मैले बुवाले चीनबाट ल्याएको भन्न सक्दिन थिएँ। मैले केही भनिनँ, खालि ‘मलाई थाहा छैन, मलाई जान देऊ’ भनेँ।”

    आफ्नो परिवार उत्तर कोरियाका केही राम्रा परिवारमध्ये भएकोले बुवाले घुस खुवाएर आफूलाई छुटाएको उनी बताउँछन्। यो कुरा नयाँ कानुन लागु भएपछि असम्भव हुन्छ।

    धेरै व्यक्तिहरूलाई पक्राउपछि श्रम शिविरमा पठाइयो तर यसले विदेशी चलचित्रप्रतिको आकर्षण कम भएन। त्यसैले सजाय कडा गरिएको बताइन्छ।

    “सुरुमा एक वर्षको सजाय थियो। पछि तीन वर्षको बनाइयो। अहिले श्रम शिविरमा भएका आधाभन्दा धेरै युवाहरू विदेशी चलचित्र हेरेका आरोपमा त्यहाँ छन्,” चोईले भने।

    “यदि कसैले दुई घण्टाको विदेशी चलचित्र हेर्‍यो भने उस्ले तीन वर्ष श्रम शिविरमा बस्नु पर्छ। यो ठूलो समस्या हो।”

    किन अझै आकर्षण?

    “चलचित्र हेर्न हामीले धेरै जोखिम मोल्नुपर्छ तर हाम्रो रहरलाई केहीले रोक्न सक्दैन। हामी बाहिरी विश्वमा के भइरहेछ भनेर जान्न चाहन्थ्यौँ,” गेम-होइकले भने।

    उनको लागि आफ्नो देशको बारेमा जानेको तथ्यले जीवन परिवर्तन गर्‍यो। उनी चीनसम्म पढ्न आउन पाउने थोरै भाग्यमानीमा थिए जहाँ उनले इन्टरनेट देखे।

    “पहिले त मलाई उत्तर कोरियाबारेको विवरणको विश्वासै लागेन। मलाई लाग्यो पश्चिमा मानिसहरू झुटो बोलिरहेछन्। म दोमन भएँ।”

    “त्यसैले मैले उत्तर कोरियाबारे वृत्तचित्रहरू हेरेँ, धेरै पढेँ। र त्यसपछि मलाई थाहा भयो कि ती कुरा सत्य थिए।”

    “यति भएपछि म फर्केर जाने कुरै थिएन।”

    उनी सोल भागे।

    युन मी-सो फ्याशन सल्लाहकारको रूपमा आफ्नो जीवन बाँचिरहेकी छन्। भागेर दक्षिण कोरिया आएपछि उनले गरेको पहिलो काम नै स्टेरवे टु हेभन भन्ने चलचित्रमा देखिएका सबै स्थानहरूको भ्रमण थियो।

    तर उनीहरू जस्तो भागेर आउने कम भएका छन्।

    अहिले कडा तरिकाले नियन्त्रित सीमामा भाग्न खोज्नेहरूलाई देख्ने बित्तिकै मार्ने निर्देशन छ। र नेता किमको नयाँ कानुनका अरू असर पनि देखिन्छन्।

    आफ्नो परिवारलाई उत्तर कोरियामै छोड्नु परेका चोई भन्छन् एउटा वा दुइटा चलचित्र हेरेर दशकौँदेखि नियन्त्रित सोचलाई ठूलो प्रभाव पर्दैन। तर यसले सायद जे उत्तर कोरियाली सरकारले भनेको छ त्यो सत्य होइन कि भन्ने आशङ्का भने जन्माउँछ।

    “उत्तर कोरियाली नागरिकहरूका मनमा गुनासो छ तर उनीहरूलाई त्यो गुनासो किन छ भन्ने थाहा छैन,” चोईले भने।

    “यो दिशाविहीन गुनासो हो। उनीहरूलाई त्यो गुनासो कसलाई सुनाउने भन्ने पनि थाहा छैन। कसैले उनीहरूलाई यो कुरा बुझाउनु पर्नेछ, उनीहरूलाई दिशा देखाउनु पर्नेछ।”

    साभार–बिबिसि नेपाली सेवा

  • बुर्किना फासोमा बन्धुकधारीको आक्रमणबाट एक सय भन्दाबढीको मृत्यु

    बुर्किना फासोमा बन्धुकधारीको आक्रमणबाट एक सय भन्दाबढीको मृत्यु

    एजेन्सी, जेठ २३
    अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारीहरूले आक्रमण गर्दा एक सय भन्दा बढीको ज्यान गएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शुक्रवार राति सोल्हान गाउँमा गरिएको गोलाबारी र आगजनीमा कम्तिमा १३२ जनाको ज्यान गएको छ ।
    आक्रमणको हालसम्म कसैले जिम्मा लिएको छैन । तर पछिल्ला दिनहरूमा त्यहाँ इस्लामी समूहहरूको गतिविधि बढेको बताईएको छ । उक्त क्षेत्रमा सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् ।
    खासगरी नीजेर र मालीसँग जोडिएका क्षेत्रमा त्यस्ता घटनाहरू सामान्य भइरहेका छन् । बुर्किना फासोले आफ्ना छिमेकी राष्ट्रहरूमा जस्तै गहिरिँदै गएको सुरक्षा संकटको सामना गरिरहेको छ ।
    फ्रान्सेली फौजले माली, चाड, मोरीटेनीया, नीजेर र बुर्कीना फासोका सैनिकलाई अतिवादीहरूसँग लड्न सहयोग गरिरहेका छन् । तर हालसालै भएको कु का कारण फ्रान्सले यसै हप्ता मालीलाई गरिरहेको सहयोग भने रोकेको छ ।
    बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो । बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । दानवी शक्तिविरुद्ध सबै एक हुनु पर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाको गम्भीर निन्दा गर्दै आफूलाई आक्रोशित बनाएको बताउनुभएको छ ।
    शुक्रबार राति नै भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको छ । अघिल्लो महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

  • चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति

    चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति

    भक्तपुर, जेठ १९
    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ ।
    सिनोभ्याक कम्पनीले बनाएको यो खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ । आपत्कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्लुएचओले जनाएको छ ।
    अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ । सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो ।
    सिनोभ्याकका अनुसार उसले स्वदेश र विदेश गरी मे महिनाको अन्त्यसम्म ६० करोड मात्रा आपूर्ति गरिसकेको छ, जसमध्ये ४३ करोड मात्रा खोप लगाइसकिएको छ । सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ । अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डार गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो सहज हुनेछ ।
    भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइदिएपछि कोभ्याक्सले गरिब देशहरूलाई आपूर्ति गर्न सकिरहेको थिएन । गत महिना डब्लुएचओले चीनको सिनोफार्म खोपलाई पनि अनुमति दिएको थियो ।
    बिबिसीबाट

  • ग्रीक अक्षरबाट कोरोना भाइरसका नयाँ भेरियन्टको नामाकरण गर्ने डब्लुएचओको निर्णय

    ग्रीक अक्षरबाट कोरोना भाइरसका नयाँ भेरियन्टको नामाकरण गर्ने डब्लुएचओको निर्णय

    भक्तपुर, जेठ १८
    विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टको नयाँ नामाकरण गर्ने निर्णय गरेको छ । भाइरसका नयाँ नयाँ भेरियन्ट देखिन थालेपछि डब्लुएचओले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गर्दै यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर नामाकरण गरेको हो ।
    जहाँ कोरोनाको नयाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँको नामबाट चिनिने अहिलेको प्रणालीले स्थान विशेष विरुद्ध विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्लुएचओले पछिल्लो निर्णय गरेको बताईएको छ । नयाँ नामाकरण अनुसार अबदेखी यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा र भारतीय भेरियन्टलाई डेल्टा भनिने छ ।
    डब्लुएचओकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले भेरियन्ट पत्ता लागेकै आधारमा कुनै पनि देशलाई अप्ठेरोमा पारिन नहुने बताउनुभयो । उहाँले संक्रमण बिस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताउनुभयो । अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन् । तिनका नामहरूको पूर्ण विवरण डब्लुएचओको वेबसाइटमा राखिएको छ ।
    डब्लुएचओका अनुसार ग्रीक अक्षरहरुले ती भेरियन्टको वैज्ञानिक नामलाई विस्थापन भने नगर्ने जनाएको छ । कर्खोभका अनुसार २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिने भएकाले त्यसपछि नयाँ प्रणाली घोषणा गरिनेछ ।

  • सिटीलाई पराजित गर्दै चेल्सीले जित्यो च्याम्पियन्स लिग

    सिटीलाई पराजित गर्दै चेल्सीले जित्यो च्याम्पियन्स लिग

    इंग्लिस क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिवार राती भएको खेलमा चेल्सीले सिटीलाई १–० ले पराजित गरी उपाधि जितेको हो ।
    चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको यो दोस्रो अवसर हो । यसअघि उसले सन् २०१२ मा उपाधि जितेको हो । चेल्सीलाई उपाधि जिताउन पहिलो हापमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोल काफी रह्यो । सिटीले अपेक्षित प्रदर्शन गर्न नसक्दा पहिलो पटक फाइनलमा पुगेर पनि च्याम्पियनसिपको उपाधि जित्नबाट वञ्चित हुनुप¥यो ।
    चेल्सीका लागि पहिलो हाफको अन्त्यतिर हाभर्ट्जले गोल गरे । मेसन माउन्टले आफ्नै हाफबाट दिएको उत्कृष्ट थ्रु पासलाई हाभर्ट्जले सिटीका गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए । अन्ततः खेलमा अन्य कुनै गोल हुन नसक्दा चेल्सीलाई दोस्रो पटक उपाधि जिताउन उक्त गोल निर्णायक बन्यो ।
    चेल्सीले दोस्रो हाफको ७३ औं मिनेटमा खेल बराबरीमा ल्याउने सुवर्ण अवसर खेल फालेका थिए । क्रिस्टियन पुलिसिचको प्रहार गोलरक्षक बिट भएपनि बलले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफमा मिडफिल्डर केभिन डे ब्रुयन चोट लागेपछि मैदान छाड्न बाध्य भए । डिफेन्डर एन्टोनियो रुडीगरसँग जुध्न पुग्दा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि सिटीले लगातार खेलाडी परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।
    सिटीबाट अन्तिम खेल खेलिरहेका अर्जेन्टिनी स्टार सर्जियो अगुएरो वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेपनि उनले पनि टोलीलाई उद्धार गर्न सकेन । उनले सिटीको यात्रा हारका टुंग्याए ।
    चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् । जर्मन प्रशिक्षक टुचेलको यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो । तर, टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् । गत सिजन जर्मन प्रशिक्षक टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥राएका थिए । तर, गत सिजन पीएसजी फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो ।

  • इराकविरुद्ध नेपाल ६–२ गोल अन्तरले पराजित

    इराकविरुद्ध नेपाल ६–२ गोल अन्तरले पराजित

    भक्तपुर – घरेलु टोली इराकविरुद्ध शनिवार राती सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले एक समय २–१ ले अग्रता बनाएपनि लय गुमाउँदा अन्त्यमा खेलको नतिजा इराकलाई सुम्पिन पुगेको हो ।
    इराकको जितमा अयमन हुसेन गबधनले दुई, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक÷एक गोल गरे । नेपालका लागि मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।
    शारिरीकरुपमा निक्कै बलिया इराकविरुद्ध नेपालले खेलको सातौं मिनेटमै गोल व्यहोरेको थियो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरेर इराकलाई अग्रता दिलाए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो । नेपालका मनिष डाँगीले अला अब्दुललाई फल गरेपछि इराकले फ्रिकिकको मौका पाएको थियो ।
    तर इराकी खेलाडीले गोल खुसी मनाउन नपाउँदैं नेपालले बराबरी गोल गरे । खेलको आठौं मिनेटमा अञ्जन बिष्टको शक्तिशाली प्रहार बचाउने क्रममा इराकी अहमद इब्राहिम खलाफले आत्मघाती गोल गर्दा नेपाल बराबरी गर्न सफल भयो ।
    त्यसअघि खेलको दोस्रो मिनेटमा नै बल हेड गर्नेक्रममा विपक्षी खेलाडीसँग ठोकिएपछि नेपालका रोहित चन्दको टाउकोमा चोट लागेको थियो । उनी त्यसपछि पट्टि बाँधेर खेलेका थिए ।
    खेलको १३ औं मिनेटमा नेपालले अग्रता बनाउन अवसर गुमाए । अन्जनले इराकी डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए । त्यस लगत्तै इराकले केहि मुभ सिर्जना गरेपनि नेपालको डिफेन्स चिर्न सकेन । सुरुवाती १५ मिनेटपछि खेलको गति केहि सुस्त हुँदा इराकले बल पोसेसनमा पकड जमाउन सुरु गरेको थियो ।
    खेलको २७ औं मिनेटमा किरणले क्रसमा आएको हेडरलाई बचाउँदै नेपालको संकट टारे । त्यसकै काउन्टरमा सिर्जना भएको आक्रमणमा मनिषले पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रण गर्न खोज्दा ह्याण्ड भएपछि नेपालले अग्रता बनाउने अर्को अवसर गुमाए ।
    मनिषले नै खेलको २९ औं मिनेटमा शानदार गोल गर्दै नेपाललाई अग्रता दिलाए । मनिषले सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए । उनको यो डेब्यु खेलमा डेब्यु गोल हो ।

    खेलको ३६ औं मिनेटमा कप्तान किरणले क्रसमा आएको अर्को हेडरलाई विफल पार्दै नेपालको अग्रता जोगाए । इराकले ३९ औं मिनेटमा मोहमद अब्दुल्जारा ओबेदको हेड गोलबाट खेल बराबरी गोल गरे । कर्नरमा आएको बललाई ओबेदले ६ यार्र्ड बक्स नजिकबाट हेडरमार्फत गोल गरेका थिए ।
    त्यस लगत्तै नेपालको डिफेन्स लाईनले गम्भिर गल्ती गरे । रोहितले डिबक्स भित्र दिएको ब्याकपासमा अयमन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा गबधनले सहज अवसर पाएका थिए । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।
    दोस्रो हाफमा नेपालले तीन खेलाडी परिवर्तन गरे । सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको सुरुवातमा इराकले दबाब बनाएपनि गोल भने निकाल्न सकेन ।
    खेलको ६८ औं मिनेटमा नेपालको डिफेन्स लाइनले अर्को गम्भिर गल्ती गरे । फेरी एक पटक डिफेन्स र गोलकिपरबीच तालमेल नमिल्दा नेपालले अर्को गोल व्यहोर्नु प¥यो । डिफेन्डर सुमन अर्यालको खराब व्याकपासमा वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले गोल गर्दै इराकलाई ५–२ को अग्रता दिलाए ।
    खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।
    नेपालले इराकविरुद्ध पहिलो हापमा प्रभावशाली प्रदर्शन गरेको थियो । नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६–२ को हार व्यहोर्नु परेको थियो । पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो । नेपालभन्दा निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो ।
    नेपाली टोली अब स्थलमार्ग हुँदै कुवेत प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप २०२२ र एसियन कपको छनोटका बाँकी खेल खेल्नेछ । समूहको चौंथो स्थानमा रहेको नेपालको विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने सम्भावना कम भएपनि एसियन कपमा छनोट हुने सम्भावना भने बाँकी रहेको छ ।
    छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।
    नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ ।

  • यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

    यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

    चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।

    यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८ सेमी छ । यो ल्यापटपको वजन ७ सय ग्राम रहेको छ ।

    म्याग वानमा एप्पलको म्याकबुकमा भन्दा धेरै पोर्टस् रहेका छन् । यसमा तीनवटा फूलसाइज युएसबी ३.० पोर्ट, टाइप सी कनेक्टर, माइक्रो एसडी कार्ड रिडर, एउटा अडियो सकेट तथा एउटा माइक्रो एचडीएमआई पोर्ट रहेको छ ।

    म्याग वान अल्ट्रा पोर्टेबल ल्यापटपको मूल्य Gearbest मा ७ सय ९० डलर रहेको छ ।

    समाचार अनुसार यो एउटा सानो, हलुका, पातलो तर शक्तिशाली डिभाइस हो । यसमा अत्याधुनिक इन्टेल कोर एमथ्री ८१००वाई सीपीयू रहेको छ । त्यस्तै १६ जिबी र्याम तथा ५ सय १२ जीबीको इन्टनरल स्टोरेज रहेको छ । ल्यापटपको टचस्क्रिन डिस्प्लेको रिजोलुसन २५६० गुणा १६०० पिक्सेल रहेको छ ।

    निकै सानो हुनुका बाबजुत पनि यो ल्यापटपमा शक्तिशाली ३० एम्पियर आवर क्षमताको ब्याट्री राखिएको छ । यो ब्याट्रीले ७ घण्टाको ब्याकअप दिन्छ । यो ल्यापटपलाई टाइप सी कनेक्टरको सहयोगमा कुनै पनि पावर बैंैकबाट समेत चार्ज गर्न सकिन्छ ।

    यद्यपि यो ल्यापटपमा वेबक्याम छैन र यसमा ३६० डिग्री हिन्ज र एक्टिभ पेन सपोर्ट पनि उपलब्ध छैन ।

    -एजेन्सीको सहयोगमा