Author: news

  • मन्त्रिपरिषद पुनर्गठन, जसपाका १० नेता मन्त्री बने

    मन्त्रिपरिषद पुनर्गठन, जसपाका १० नेता मन्त्री बने

    भक्तपुर, जेठ २१
    प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० सहित १३ नयाँ अनुहारलाई समावेश गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहण भएको छ ।
    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नेक्रममा मौजुदा मन्त्रिपरिषदका उपप्रधानमन्त्रीसहित ९ मन्त्री र ३ राज्यमन्त्रीलाई बिदा गर्नुभएको छ । पुरानो मन्त्रिपरिषदका अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई मात्र निरन्तरता दिईएको छ ।
    नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
    नयाँ मन्त्रिपरिषदमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएको छ ।
    त्यस्तै चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ । जसपाकै चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त हुनुभएको छ । सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।
    मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे बिदा हुनुभएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकलाई पनि सरकारबाट बिदा गरिएको छ ।
    प्रधानमन्त्र िओलीले सात मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैंसँग राख्नुभएको छ ।
    सरकारमा रहेका केही वरिष्ठ नेताहरुलाई पार्टीमा सक्रिय बनाउन सरकारबाट बिदा गरिएको बुझिएको छ । त्यस्तै पुर्वमाओवादी पृष्ठभुमिका केही नेता र एमाले भित्र पनि माधव–झलनाथ समूह छाडेर आउने नेतालाई मन्त्री बनाउन सात मन्त्रालयले ओली आफैंले राखेको स्रोतले बताएको छ ।

    तस्विर, सेतोपाटीबाट साभार

  • ख्वप अस्पताललाई थप २७ लाख ५४ हजार सहयोग

    ख्वप अस्पताललाई थप २७ लाख ५४ हजार सहयोग

    भक्तपुर, जेठ २१

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

    ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा शुक्रवार थप २७ लाख ५४ हजार ६४ रुपैयाँ सहयोग प्राप्त भएको छ । सो कोषमा हालसम्म ४ करोड ६० लाख ४५ हजार ४२ रुपैंयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भइसकेको नगरपालिकाले जनाएको छ ।

  • महतोको नेतृत्वमा जसपा सरकारमा जाने

    महतोको नेतृत्वमा जसपा सरकारमा जाने

    भक्तपुर, जेठ २१

    नेता राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) (नेपाल) सरकारमा जाने भएको छ । जसपा १० मन्त्रीसहित सरकारमा सहभागी हुन लागेको जसमध्ये ८ मन्त्री र २ राज्यमन्त्री छन । महतोले उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय सम्हाल्ने छ ।
    त्यस्तै शरत सिंह भण्डारी उर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, बिमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भूमि व्यवस्था तथा सहकारी, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री बन्ने भएका छन ।
    त्यसैगरी एकवाल मियाँ वन तथा वातावरण, चन्द्रकान्त चौधरी राज्य मन्त्री उर्जा र रेणुका गुरुङ राज्यमन्त्री महिला तथा बालबालिका बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी गरेको छ । दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

  • नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त

    नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त

    भक्तपुर, जेठ २१
    नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोही अवधीमा १०१ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    कुल २० हजार ८१३ नमुना परीक्षण गर्दा ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । तीमध्ये ६ हजार ६३१ एन्टिजेन परीक्षण हो जसबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
    नेपालमा कुल संक्रमित संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले ९७ हजार छ सय ९९ जनामा सक्रिय संक्रमित छन् । कुल संक्रमितमध्ये ३९ प्रतिशत महिला हुन् ।
    कुल संक्रमितमध्ये ८२ प्रतिशत निको भएका छन् भने मृत्यु हुनेको प्रतिशत कुल संक्रमितको १.३३ प्रतिशत रहेको छ । अहिलेसम्म कुल ७ हजार ७३१ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितमध्ये ६ हजार ८०७ जना संस्थागत आइसोलेशनमा छन् । ती मध्ये १ हजार ४२२ आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
    शुक्रवार काठमाण्डौंमा ८९७, भक्तपुरका १८८ र ललितपुरमा २९९ जना गरी काठमाण्डौं उपत्यकामा १ हजार ३८४ जना संक्रमित थपिएका छन् ।
  • झुठको पुलिन्दा धेरै बेर टिकेन

    झुठको पुलिन्दा धेरै बेर टिकेन

    भक्तपुर, जेठ २१, जगत प्रजापति

    राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टिका प्रसाद ढकालले बिहिवार राती ९ बजेर ३५ मिनेटमा एउटा सनसनीपूर्ण ट्वीट गरे । उनले ट्वीटमा राष्ट्रपतिको अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको खुलासा गरे ।
    ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ,’ ढकालले ट्वीटमा उल्लेख गरेका थिए ।
    जेठको पहिलो साता विकसित भएको राजनीतिक घटनाक्रम र ती घटनामा प्रधानमन्त्री के पी शर्मा ओलीको रबरस्ट्यामको रुपमा काम गरेको भन्दै आलोचित बनेका राष्ट्रपति भण्डारीले त्यसयता कोरोना विरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा ल्याउन पहलकदमी र अग्रसरता देखाएका छन । उनले टेलिफोनमा प्रत्यक्ष सम्वाद गरेपछि चिनिया राष्ट्रपतिले तत्काल १० लाख खोप दिने घोषणा गरे । सो घोषणा अनुसारको खोप नेपाल आइसकेको छ । राष्ट्रपतिकै आग्रहमा थाई राजपरिवारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । उनले भारतका समकक्षीलाई पनि पत्र पठाई खोप सहयोग गर्न आग्रह गरेका छन ।
    यसै सन्दर्भमा राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नेपालका राजदुत डा. युवराज खतिवडामार्फत अमेरिकी राष्ट्रपति जे वाइडेन समक्ष खोप सहयोगको आग्रह गरेका थिए । ढकालको ट्वीटले आम मानिसमा चासो बढ्नु स्वभाविक हो ।
    ढकालको ट्वीटपछि यो खबर राती नै कयौं अनलाईन सञ्चारमाध्यमहरुले ब्रेकिङ न्यूजको रुपमा प्रकाशन गरे । राती नै यो खबरले सनसनी मच्चायो । नमचाउनु पनि किन ? नेपाल अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । मानिसमा त्राहीत्राही छ । जनता निषेधाज्ञाले घरभित्र थुनिनु परेको अवस्था छ । खोप लगाउन बाँकी जनता खोप कहिले आउला भनेर सरकारको मुख ताकेर बसेका छन । सरकारले समयमा खोपको व्यवस्थापन गर्न चासो नदिएको, कोरोना विरुद्धको लडाईंका लागि आवश्यक तयारी समयमा नगर्नाले जनता अक्सिजन र औषधिउपचार गर्न नपाएरै प्राण त्याग्न बाध्य भएको आरोप विपक्षीहरुले लगाउँदै आएका छन । सरकारलाई यो चुनौतीको रुपमा खडा भएको अवस्थामा एकाएक विश्व शक्ति राष्ट्र अमेरिकाले ५० लाख डोज खोप दिने खबर राष्ट्रपतिको सञ्चार विज्ञजस्तो गरिमामय पदमा आसिन ढकालबाट सार्वजनिक भएपछि नपत्याउनु पनि कसरी ?
    लगत्तै प्रधानमन्त्री के पी शर्मा ओलीका अन्धभक्त समर्थकहरुले पनि यसलाई भाइरल नै हुने गरी सामाजिक सञ्जालमा शेयर गरे । राष्ट्रपतिलाई गाली गर्नेहरुलाई गतिलो जवाफ फर्काए ।
    बिहिवार राती नै अर्को समाचार प्रकाशनमा आयो, जुन समाचारले ढकालको ट्वीटको खण्डन ग¥यो । समाचार अनुसार अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको थियो । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई उपलब्ध गराउने घोषणा गरिएको थियो ।
    कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जाने र बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको थियो ।
    एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिने घोषणा अमेरिकी राष्ट्रपति कार्यालयको छ ।
    अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ, यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जे वाइडेनले सार्वजनिक गरेका हुन् । कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।

    बिहिवार राती नै खण्डित भईसकेको समाचारलाई पुष्टि गर्न शुक्रवार बिहान प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि एक तिहाई खोपको व्यवस्थापन भन्दै खोप सम्बन्धी एक ट्वीट गरे । उनले पनि अमेरिकाले नेपाललाई ५० लाख खोप दिने जानकारी दिए । उनले लेखेका छन, ‘एक तिहाई खोपको व्यवस्थापन– अमेरिकाबाट अनुदान ५० लाख, चीनबाट अनुदान १८ लाख, भारतबाट अनुदान १० लाख, सुरक्षकर्मीलाई प्राप्त १ लाख, भारतबाट खरिद १० लाख, खरिदको आउनबाँकी १० लाख, कोभ्याक्स अनुदान ३ लाख ४८ हजार–जम्मा १ करोड २ लाख ४८ हजार, कुल चाहिने ४ करोड डोज । बधाई छ सरकार ।’
    ढकालले आफ्नो ट्वीट राती हटाए । किनकी उनको ट्वीटमा कुनै सत्यता थिएन । उनले सरासर झुठ बोलेर जनतालाई झुक्याउने प्रयास गरेका थिए । तर त्यो झुठको पुलिन्दा धेरै बेर टिक्न सकेन । उनले राती नै उक्त ट्वीट डिलिट गरेर अर्को ट्वीट गरे । उनले नयाँ ट्वीटमा लेखेका छन, ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।’
    ढकालको ट्वीट झुठो भएको प्रमाणित भइसकेपछि पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारले पुनः अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको ट्वीटर मार्फत सार्वजनिक गर्नु अर्को लज्जाको विषय हो । उनले पनि पहिलेको ट्वीटलाई हटाएर अर्को ट्वीट गरिसकेका छन । त्यसमा उनले भनेका छन, ‘तथ्यांक लेख्न उचित लागेन । हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसका निम्ति राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन । आफु र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ ।’
    देशको गरिमामय पदमा आसिन व्यक्तिको सचिवालयमा बसेका जिम्मेवार व्यक्तिहरुले गर्ने यस्ता गल्तीलाई के भन्ने ? के यो जानी जानी जनता झुक्याउन गरेको ट्वीट थियो ? यसको जवाफ ढकाल र थापा दुवैले दिनैपर्छ । यस्ता ट्वीटले थापा र ढकालको व्यक्तिगत प्रतिष्ठामा आँच ल्याएको त छ नै, यसले प्रधानमन्त्री र राष्ट्रपतिको गरिमामा समेत ठेस पु¥याएको छ ।

  • भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

    भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

    भक्तपुर, जेठ २१

    भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन ।
    यससँगै जिल्लामा कोरोना संक्रमित मध्ये १७ हजार ६९९ जना कोरोना संक्रमण मुक्त भएका छन । यो कुल संक्रमितको ८७ दशमलव ४० प्रतिशत हो । भक्तपुरमा बिहिवारसम्म २० हजार २५० जना संक्रमित भएका छन ।
    भक्तपुरमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादर मिजारले बताउनुभयो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिकाका महिला छन । यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट १७१ पुरुष र ९५ महिलाको मृत्यु भएको मिजारले बताउनुभयो ।

  • थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक

    थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक

    भक्तपुर, जेठ २१
    थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।
    सप्तरीमा खिचिएको चलचित्र निपुत्रमा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडि आलम, आकाश बिक, आरके पाण्डे, सोभाकान्त चौधरीलगायातका कलाकारहरुले अभिनय गरेका छन् ।
    लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेब चौधरीको कथा, कोपी कान्छुको श्रृंगार, अनिल शाहको छायांकन, निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ । सेबिल ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण गएको चलचित्रले निःसन्तान महिलालाइ हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ । चलचित्रका अन्य २ भाग क्रमशः रिलिज हुने निर्माण पक्षले बताएको छ ।
  • सर्वाेच्चको पूर्ण बैठक आज बस्दै

    सर्वाेच्चको पूर्ण बैठक आज बस्दै

    भक्तपुर, जेठ २१

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो ।
    बैठकमा संवैधानिक इजलास गठनलगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा बिस्तारलगायतका विषयमा छलफल गर्न ‘फुल कोर्ट’को बैठक बोलाइएको जनाइएको छ ।
    संसद विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासका न्यायाधीशका सम्बन्धमा विवाद उठेपछि प्रधानन्यायाधीश राणाले इजलास नै विघटन गर्दै नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने बताउनुभएको थियो ।
    प्रधानन्यायाधीश राणा र सर्वोच्च अदालतको बार एशोसियसनका पदाधिकारीहरूसँग भएको छलफलमा नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा इजलास गठन गर्ने व्यवस्था गर्ने सहमति भएको सार्वजनिक थियो ।

  • आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

    आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

    काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,

    काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको ‘आनन्दकुटी आइसोलेसन केन्द्र’लाई ‘चु जि च्यारिटी फाउण्डेशन’ ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको पहलमा सो सामग्री सहयोग प्राप्त भएको केन्द्रले जनाएको छ ।
    त्यसैगरी सो केन्द्रलाई सिद्धार्थ बनस्थली इन्स्टिच्यूट ‘४७ व्याच समूह’ ले पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त समूहले केन्द्रलाई आवश्यक मास्क, पञ्जा, औषधि र सर्जिकलका सामानहरु सहयोग गरेको केन्द्रका सल्लाहकार एवम् भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले जानकारी दिनुभयो । सो अवसरमा ईन्टरनेशनल बुद्धिस्ट सोसाईटी लुम्बिनीलाई पनि एक थान अक्सिजन कन्सेन्टरेटर हस्तान्तरण गरिएको थियो ।


    साथै यस आइसोलेसन केन्द्रलाई थुप्रै शुभेच्छुकहरुबाट पनि आर्थिक सहयोग प्राप्त भैरहेको छ । र हाल साधारण खालका कोविदका विरामीहरुले यहाँ उपचार पाई स्वास्थ्य लाभ पाइरहेका छन ।

    काठमाण्डौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ मोडेल स्कूल अफ नर्सिंगको व्यवस्थापनमा सो केन्द्र गत जेठ २ गते देखी सञ्चालनमा आएको हो । यहाँ सबै सेवा सुविधा निःशुल्क व्यवस्था गरिएको छ ।

  • विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)

    विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)

    भक्तपुर, जेठ २१

    अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको छ । कुवेतमा बिहिवार राती सम्पन्न खेलमा नेपालले अञ्जन बिष्ट र नवयुग श्रेष्ठको गोलमा ताईपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
    अञ्जनले खेलको ४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले खेलको तेस्रो पेनाल्टी पाएको थियो । अन्जनले सो पेनाल्टी प्रहारमा कुनै गल्ती नगरी नेपाललाई अग्रता दिलाएका हुन ।
    त्यस्तै वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफपछि मैदान प्रवेश गरेका नवयुगले खेलको ८१ औं मिनेटमा उत्कृष्ट फ्लिक किक मार्फत गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । ताईपेईको पेनाल्टी क्षेत्रमा रहेका नवयुगले सुमन अर्यालको क्रसमा कुनै गल्ती नगरी फ्लिक किकमा बललाई जाली चुमाएका थिए ।
    नेपालले जितसँगै महत्वपूर्ण ३ अंक बटुलेको छ । समूह चरणमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपाललाई ताईपेईलाई उसैको घरेलु मैदानमा २–० ले पराजित गरेको थियो । उक्त दुवै गोल अञ्जन बिष्टले नै गरेका थिए ।
    फोटो सौजन्य ः एन्फा