Author: news

  • ओलीलाई माधव–झलनाथ समूहको शर्त – संसद विघटनको निर्णय फिर्ता हुनुपर्ने (विज्ञप्ती सहित)

    ओलीलाई माधव–झलनाथ समूहको शर्त – संसद विघटनको निर्णय फिर्ता हुनुपर्ने (विज्ञप्ती सहित)

    भक्तपुर, जेठ २४
    नेकपा एमालेको माधव–झलनाथ समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री के पी शर्मा ओलीको प्रस्तावको जवाफ दिएका छन । आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग दिउँसो भएको छलफलका आधारमा नेता माधवकुमार नेपालले सोमवार सााझ विज्ञप्तीमार्फत जवाफ दिनुभएको हो ।
    अध्यक्ष ओलीले आइतवार साँझ अप्रत्याशितरुपमा पार्टी एकताको लागि ६ बुँदे प्रस्ताव राख्दै आफु २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पार्टीलाई लैजान तयार भएको तर त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा हस्ताक्षर गरेका एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राख्नुभएको थियो ।
    जवाफमा नेता नेपालले ओलीले संसद विघटन गर्ने निर्णय फिर्ता लिएमा आफुहरुले हस्ताक्षर फिर्ता लिने बताएका छन । नेपालले एकताका लागि ओलीले राखेका ६ प्रस्तावको एक÷एक गरेर जवाफ दिएको छ । नेपालले जारी गरेको विज्ञप्तिमा ओलीले अगाडि सारेका कुराहरु पार्टीको एकतालाई अक्षुण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको ठहर गरेको छ ।
    ‘उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ’, विज्ञप्तिमा भनिएको छ,‘अतः पार्टी विधान अनुरुप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।’

    हेर्नुहोस् माधवकुमार नेपालको जवाफको पूर्णपाठ 

  • जोर्डनविरुद्ध नेपालको शुरुवाती ११

    जोर्डनविरुद्ध नेपालको शुरुवाती ११

    भक्तपुर, जेठ २४
    प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाईनिज ताईपेई विरुद्धको टोलीमा तीन परिवर्तन गर्दै जोर्डन विरुद्धको शुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठको स्थानमा अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवासलाई जोर्डन विरुद्ध शुरुवाती ११ मा समावेश गरेको हो ।
    गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्समा अनन्त तामाङ र रोहित चन्द छन् । विंगब्याकमा विकास खवास र दिनेश राजवंशी रहेका छन् । सुमन अर्यालले मिडफिल्डमा स्थान बनाएपनि रक्षात्मक रुपमा उनले साथ दिनेछन् ।
    पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् । आक्रमणमा सुमन लामा, अभिषेक रिजाल र अन्जन विष्ट छन ।

  • भक्तपुरमा गोली बरामद

    भक्तपुरमा गोली बरामद

    भक्तपुर, जेठ २४
    भक्तपुरको सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक एसएलआर राइफलको गोली बरामद भएको छ । स्थानीय चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली बरामद भएको हो ।
    चौतारा ममर्तमा खटिएका कामदारले गोली फेला परेको जानकारी दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । महानगरिय प्रहरी वृत्त थिमिको प्रहरीले गोली बरामद गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • जोर्डन विरुद्ध नेपाल तयार – जितको लक्ष्यका साथ मैदानमा ओर्लने

    जोर्डन विरुद्ध नेपाल तयार – जितको लक्ष्यका साथ मैदानमा ओर्लने

    भक्तपुर, जेठ २४
    आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज राती पौने दश बजे जोर्डनको सामना गर्दैछ ।
    दुवै टोलीको लागि आजको खेल निक्कै महत्वपूर्ण रहेको छ । नेपालको लागि कम्तीमा एसियन कप छनोटको तेस्रो चरणमा सिधै प्रवेशको सम्भावना जिवित राख्न आजको खेल जित्नै पर्ने दवाब रहेको छ भने जोर्डनको लागि विश्वकप छनोटको अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न खेल जित्नै पर्ने दवाब रहेको छ । यस्तोमा दुवै टोलीले सम्हालिएर खेल्ने जनाएको छ ।


    समूहमा अष्ट्रेलियाको ५ खेलमा १५ अंक छ । दोस्रो स्थानमा कुवेतले ६ खेलमा १० तथा जोर्डनले ५ खेलमा १० अंक जोडेको छ । नेपालको ६ अंक हुँदा ताइपेइ अंकविहिन छ । जोर्डनले आजको खेलमा जित हासिल गरे समूहमा स्पष्ट तीन अंकको अग्रतासहित दोस्रो स्थानमा उक्लने छ । आज नै हुने अर्को खेलमा अष्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दैछन् । अष्ट्रेलियाले यो खेल जितेपछि समूहमा शीर्ष स्थान पक्का गर्नेछ ।
    नेपाल र जोर्डन चौथो पटक आमनेसामने हुन लागेको हो । यसअघि तीन पटक यी दुई टोली एकआपसमा भिडिसकेको छ । यस्तोमा दुई खेल जोर्डनले जितेको छ भने एक खेल बराबरीमा रोकिएको छ ।


    नेपाल र जोर्डन पहिलो पटक सन् २०१२ को विश्वकप छनोटमा भेट भएको थियो । दुई लेगको छनोट खेलमा नेपाल पहिलो खेलमा जोर्डनसँग पराजित भएको थियो । जोर्डनको घरेलु मैदानमा भएको सो खेलमा नेपाल ९–० गोल अन्तरले पराजित भएको थियो । लगत्तै नेपालमा भएको दोस्रो खेल बराबरीमा सम्पन्न भएको थियो । दशरथ रंगशालामा भएको खेल १–१ को बराबरी भएको थियो ।
    नेपाल र जोर्डनबीच तेस्रो भेट यही छनोटमा भएको थियो । जोर्डनमा सम्पन्न खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।
    नेपाल जोर्डनसँग जितको लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भएपनि जितको लक्ष्यसाथ नै उत्रने बताए । ‘कतिपय संचारमाध्यममा जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन । हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मिहिनेत गरिरहेका छौं ।’


    ‘दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउँछ । हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्न लागिरहेका छौं । सुरुवातदेखि नै हाम्रो लक्ष्य जित हासिल गर्नु नै हुनेछ,’ उनले भने,’ एसियन कपमा छनोट हुने हाम्रो लक्ष्य हो । त्यसका लागि यो खेलमा जित आवश्यक छ ।’
    प्रशिक्षक अलमुताइरीले खेलमा नतिजा हासिल गर्न खेलाडीको मानसिकता कस्तो छ भन्ने निकै महत्वपूर्ण हुने बताए । ‘खेलाडीहरु उच्च मनोबलका साथ खेलिरहेका छन् । ग्रिसले सन् २००४ मा युरो जित्दा कसले सोचेको थियो र ? हामीले नतिजाका लागि भन्दापनि उच्च प्रदर्शन गर्ने लक्ष्य लिएर खेल्ने हो । मिहिनेत अनुसार हामीले नतिजा हासिल गर्ने नै छौं,’ उनले भने ।

  • मध्यपुर थिमि नगरपालिकाले निःशुल्क पिसिआर परीक्षण गर्ने

    मध्यपुर थिमि नगरपालिकाले निःशुल्क पिसिआर परीक्षण गर्ने

    भक्तपुर, जेठ २४
    मध्यपुर थिमि नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नगरबासीको निःशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाको सोमवार बसेको ५२ कार्यपालिका बैठकले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आर्थिक अवस्था कमजोर भएका नगरबासीको निःशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो ।
    त्यसैगरी बैठकले कोभिड–१९ विरुद्धको खोप नगरपालिका आफैंले व्यवस्थापन गर्ने गरी अनुदानका लागि आवश्यक प्रक्रिया गर्न स्वास्थ्य मन्त्रालयमा स्विकृतिको लागि प्रस्ताव गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. २ का वडाअध्यक्ष राम थापामगरले जानकारी दिनुभयो ।
    यसैगरी बैठकले नगरपालिकाको नगरसभा आगामी असार ७ गते गर्ने निर्णय गरेको प्रवक्ता थापामगरले बताउनुभयो ।

  • भक्तपुरमा ९३ प्रतिशत कोरोना संक्रमण मुक्त

    भक्तपुरमा ९३ प्रतिशत कोरोना संक्रमण मुक्त

    भक्तपुर, जेठ २४
    भक्तपुरमा आइतवार १५८ महिलासहित ३३९ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै भक्तपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार ८४ पुगेको छ । यहाँ कुल संक्रमितको ९३ प्रतिशत संक्रमित कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    भक्तपुरमा कुल २० हजार ६१३ संक्रमित मध्ये १ हजार २५९ सक्रिय संक्रमित छन । ती मध्ये ६३८ पुरुष र ६२१ महिला छन । सक्रिय संक्रमित मध्ये ३६ महिलासहित ८५ जना अस्पताल र संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । त्यस्तै ५८९ पुरुष र ५८५ महिलागरी एक हजार १७४ संक्रमित होम आइसोलेसनमा छन ।
    भक्तपुरमा कारोना संक्रमणबाट २७० जनाको मृत्यु भएको मिजारले बताउनुभयो । ती मध्ये १७४ पुरुष र ९६ महिला छन । मृत्यु हुनेमा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा ९२ छन । त्यस्तै सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकामा समान ७२÷७२ जनाको कोरोना संक्रमितको मृत्यु भएको मिजारले बताउनुभयो । चाँगुनारायण नगरपालिकामा भने ३६ जनाको मृत्यु भएको छ ।

  • उत्तर कोरिया: विदेशी चलचित्र, भाषा र लुगामा प्रतिबन्ध लगाउने कडा कानुन

    उत्तर कोरिया: विदेशी चलचित्र, भाषा र लुगामा प्रतिबन्ध लगाउने कडा कानुन

    लोरा बिकर, बि बि सि न्यूज, सोल, जेठ २४

    उत्तर कोरियाले देशमा हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको छ।

    किन यस्तो कानुनहरू लागु गरिएका हुन्?

    युन मी-सोले ११ वर्षको हुँदा दक्षिण कोरियाली चलचित्रसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्ड दिइएको देखेको बताउँछिन्।

    मृत्युदण्ड सारा समुदायलाई हेर्न भनिएको थियो।

    “यदि तपाईँले नहेरेको भए त्यो राजद्रोह हुन्थ्यो,” सोलबाट उनले बीबीसीलाई बताइन्।

    उत्तर कोरियाली सैनिकहरूले सबैलाई गैरकानुनी भिडिओ लुकिछिपी ल्याएमा हुने सजायको बारेमा जानकारी दिन चाहन्थे।

    “म अझै पनि पट्टि बाँधिएको आँखाबाट आँसु बहिरहेको सम्झन्छु। मेरो मनमा त्यो आघात पुग्ने घटना थियो। पट्टि आँसुले भिजेको थियो।”

    “उनीहरूले उसलाई बाँधे र गोली हाने।”

    बिनाहतियारको युद्ध

    कल्पना गर्नुहोस् कि तपाईँ नियमित लकडाउनमा हुनुहुन्छ, तपाईँसँग इन्टरनेट वा सामाजिक सञ्जाल छैनन् र टिभीमा राज्य नियन्त्रित केही च्यानल आउँछन् जसमा नेताहरूले तपाईँलाई सुनाउन चाहेका कुरा मात्रै बज्छन्। यो उत्तर कोरियाको जीवन हो।

    र अब त्यहाँका नेता किम जङ-अनले यसलाई थप कडा बनाएका छन्। उनले ‘प्रतिक्रियावादी सोच’विरुद्ध भनेर नयाँ कानुनहरू लागु गरेका छन्।

    अब दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको ठूलो सङ्ख्यासहित पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइने छ। हेर्नेलाई मात्रै पनि १५ वर्षको जेल शिविर तोकिएको छ।

    र ती कानुन हेर्ने कुरामा मात्रै सीमित छैनन्।

    हालै किमले सरकारी मिडियामा एउटा पत्र लेख्दै युथ लीगलाई युवाहरूको ‘एकाङ्की र असामाजिक व्यवहार’लाई नियन्त्रण गर्न भने। उनले ‘खतरनाक विष’ भन्दै विदेशी भाषा, कपाल काट्ने तरिका र लुगा रोकिनु पर्ने बताए।

    उत्तर कोरियाभित्र स्रोत भएको सोलको अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई के-पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाइयो। बीबीसीले यो कुरा पुष्टि गर्न सकेको छैन।

    देशभित्र जनजीवन कठिन बनिरहँदा मानिसहरूसम्म बाहिरी खबरहरू नपुगोस् भन्ने किमले चाहेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

    उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बताइन्छ। नेता किमले भने उनीहरूलाई एशियाको धनी सहर सोलको जीवनको झल्को नमिलोस् भन्ने चाहन्छन्।

    गत वर्ष कोभिड महामारीका कारण सीमा बन्द गरिएपछि उत्तर कोरिया पहिलेभन्दा बाहिरी विश्वबाट छुट्टिएको छ। छिमेकी चीनबाट हुने अत्यावश्यक वस्तुहरूको आपूर्ति निकै कम भएको छ।

    त्यहाँ हतियार कार्यक्रममा धेरै पैसा खर्च गर्ने शासकको चाहनाले अर्थतन्त्र असफल हुँदै गएको मानिन्छ। यो वर्षको सुरुमा किमले ‘आफ्ना नागरिकहरूले सबैभन्दा गाह्रो अवस्था भोगिरहेको’ स्वीकारेका थिए।

    नयाँ कानुनमा के ?

    डेली एनके सो कानुनको विवरण प्राप्त गर्ने उत्तर कोरिया बाहिरको पहिलो सञ्चारमाध्यम हो।

    त्यसका प्रधान सम्पादक ली साङ योङले बीबीसीलाई भने: “यसमा कुनै कामदारलाई आरोप लागेमा उद्योगको प्रमुखलाई सजाय हुनसक्ने र कुनै बालक समस्याकारी भएमा अभिभावकलाई सजाय हुनसक्ने भनिएको छ। उत्तर कोरियाले प्रोत्साहन गरिरहेको एकअर्काको निरीक्षण गर्ने सिद्धान्तलाई यसले अँगालेको देखिन्छ।”

    उनले यो कानुनको उद्देश्य दक्षिण कोरियाको बारेमा त्यहाँका युवाले देख्ने सपनालाई तोड्नु हो।

    भिडिओ क्याप्शन सुरु हुँदैछ,

    उत्तर कोरियाको सैन्य शक्ति प्रदर्शन

    “अर्को शब्दमा भन्नुपर्दा अन्य देशको संस्कृति भित्रिएमा देशमा विद्रोहको सोच आउन सक्ने त्यहाँको शासकको निष्कर्ष हो।”

    गत वर्ष उत्तर कोरियाबाट भाग्न सफल थोरैमध्ये एक चोई जङ-हुनले बीबीसीलाई भने: “जति असहज समय हुन्छ त्यति नै कडा नियम कानुन र सजाय हुन्छन्।”

    “मनोवैज्ञानिक हिसाबले जब तपाईँ टन्न खाएर दक्षिण कोरियाली चलचित्र हेर्नुहुन्छ, त्यो मनोरञ्जन हुन्छ। तपाईँसँग खानेकुरा छैन र बाँच्न सङ्घर्ष गरिरहनु भएको छ भने त्यसले आक्रोशित बनाउँछ।”

    के यसले काम गर्छ?

    यसअघिका नियन्त्रणमुखी प्रयासले मानिसहरू चीनको सीमाबाट आउने विदेशी चलचित्र हेर्न कति सिर्जनात्मक हुन्छन् भन्ने कुराको उदाहरणहरू प्रस्तुत गरेका थिए।

    उत्तर कोरियामा पेन ड्राइभ ढुङ्गा जत्तिकै भेटिने र त्यसमा नै चलचित्रहरू लुकिछिपी आउने बताइन्छ। पेन ड्राइभ लुकाउन पनि सहज र पासवर्ड राख्न पनि मिल्ने भएकोले त्यो प्रचलनमा रहेको बुझ्न सकिन्छ।

    “तपाईँले तीन पटक गलत पासवर्ड हाल्नुभयो भने पेन ड्राइभका सबै कुरा मेटिने बनाउन मिल्छ। अझ संवेदनशील सामग्री छन् भने त एकै पटकको गलत पासवर्डले मेटिने बनाउन मिल्छ,” चोईले भने।

    युनले आफ्नो घरमा चलचित्र हेर्न कतिसम्म गरिन्थ्यो भन्ने कुरा बताइन्। उनले आफ्नो परिवारले कारको ब्याट्री मागेर त्यसको ऊर्जाले टेलिभिजन चलाएर दक्षिण कोरियाली चलचित्र स्टेरवे टु हेभन हेरेको सम्झिन्छन्।

    चीनबाट सस्ता सीडी र डीभीडी आउन थालेपछि विदेशी चलचित्रको आकर्षण बढेको चोई बताउँछन्।

    सन् २००२ मा विश्वविद्यालयमा छापा मार्दा करिब २०,००० सीडी जफत गरिएको चोई सम्झन्छन्।

    “त्यो त एउटा विश्वविद्यालयमा थियो। देशभरि कति थियो होला अनुमान लगाउन सकिन्छ। सरकार छक्क परेको थियो। त्यसपछि उनीहरूले सजाय कडा बनाए।”

    कसरी पक्राउ गरिन्छ?

    किम गेम-होइकलाई सन् २००९ मा १६ वर्षको हुँदा गैरकानुनी भिडिओ साटफेर गर्ने व्यक्ति पक्राउ गर्न बनाइएको विशेष एकाइको सुरक्षाकर्मीले पक्राउ गरे।

    उनले एक जना साथीलाई बुवाले चीनबाट लुकाएर ल्याएका दक्षिण कोरियाली सङ्गीतको सीडी दिएका थिए।

    उनलाई सुत्न नदिई सोधपुछ गरियो। उनले आफूलाई चार दिन कुटिएको बताए।

    “म त्रसित थिएँ,” उनले सोलबाट भने।

    “मलाई लाग्यो मेरो दिन सकियो। उनीहरू मैले सीडी कहाँबाट पाएँ र कति जनालाई देखाएँ जान्न चाहन्थे। मैले बुवाले चीनबाट ल्याएको भन्न सक्दिन थिएँ। मैले केही भनिनँ, खालि ‘मलाई थाहा छैन, मलाई जान देऊ’ भनेँ।”

    आफ्नो परिवार उत्तर कोरियाका केही राम्रा परिवारमध्ये भएकोले बुवाले घुस खुवाएर आफूलाई छुटाएको उनी बताउँछन्। यो कुरा नयाँ कानुन लागु भएपछि असम्भव हुन्छ।

    धेरै व्यक्तिहरूलाई पक्राउपछि श्रम शिविरमा पठाइयो तर यसले विदेशी चलचित्रप्रतिको आकर्षण कम भएन। त्यसैले सजाय कडा गरिएको बताइन्छ।

    “सुरुमा एक वर्षको सजाय थियो। पछि तीन वर्षको बनाइयो। अहिले श्रम शिविरमा भएका आधाभन्दा धेरै युवाहरू विदेशी चलचित्र हेरेका आरोपमा त्यहाँ छन्,” चोईले भने।

    “यदि कसैले दुई घण्टाको विदेशी चलचित्र हेर्‍यो भने उस्ले तीन वर्ष श्रम शिविरमा बस्नु पर्छ। यो ठूलो समस्या हो।”

    किन अझै आकर्षण?

    “चलचित्र हेर्न हामीले धेरै जोखिम मोल्नुपर्छ तर हाम्रो रहरलाई केहीले रोक्न सक्दैन। हामी बाहिरी विश्वमा के भइरहेछ भनेर जान्न चाहन्थ्यौँ,” गेम-होइकले भने।

    उनको लागि आफ्नो देशको बारेमा जानेको तथ्यले जीवन परिवर्तन गर्‍यो। उनी चीनसम्म पढ्न आउन पाउने थोरै भाग्यमानीमा थिए जहाँ उनले इन्टरनेट देखे।

    “पहिले त मलाई उत्तर कोरियाबारेको विवरणको विश्वासै लागेन। मलाई लाग्यो पश्चिमा मानिसहरू झुटो बोलिरहेछन्। म दोमन भएँ।”

    “त्यसैले मैले उत्तर कोरियाबारे वृत्तचित्रहरू हेरेँ, धेरै पढेँ। र त्यसपछि मलाई थाहा भयो कि ती कुरा सत्य थिए।”

    “यति भएपछि म फर्केर जाने कुरै थिएन।”

    उनी सोल भागे।

    युन मी-सो फ्याशन सल्लाहकारको रूपमा आफ्नो जीवन बाँचिरहेकी छन्। भागेर दक्षिण कोरिया आएपछि उनले गरेको पहिलो काम नै स्टेरवे टु हेभन भन्ने चलचित्रमा देखिएका सबै स्थानहरूको भ्रमण थियो।

    तर उनीहरू जस्तो भागेर आउने कम भएका छन्।

    अहिले कडा तरिकाले नियन्त्रित सीमामा भाग्न खोज्नेहरूलाई देख्ने बित्तिकै मार्ने निर्देशन छ। र नेता किमको नयाँ कानुनका अरू असर पनि देखिन्छन्।

    आफ्नो परिवारलाई उत्तर कोरियामै छोड्नु परेका चोई भन्छन् एउटा वा दुइटा चलचित्र हेरेर दशकौँदेखि नियन्त्रित सोचलाई ठूलो प्रभाव पर्दैन। तर यसले सायद जे उत्तर कोरियाली सरकारले भनेको छ त्यो सत्य होइन कि भन्ने आशङ्का भने जन्माउँछ।

    “उत्तर कोरियाली नागरिकहरूका मनमा गुनासो छ तर उनीहरूलाई त्यो गुनासो किन छ भन्ने थाहा छैन,” चोईले भने।

    “यो दिशाविहीन गुनासो हो। उनीहरूलाई त्यो गुनासो कसलाई सुनाउने भन्ने पनि थाहा छैन। कसैले उनीहरूलाई यो कुरा बुझाउनु पर्नेछ, उनीहरूलाई दिशा देखाउनु पर्नेछ।”

    साभार–बिबिसि नेपाली सेवा

  • कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

    कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

    भक्तपुर, जेठ २४
    शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । स्व. जोन्छेंको ९ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।
    गत चैत्र २७ गते सम्पन्न प्रतियोगिताको दश जोड दुई र कलेजतर्फ आदर्श माध्यामिक विद्यालयका सुष्मा तिमल्सिना प्रथम हुनुभएको थियो । उहाँले नगद १० हजार पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी द्धितिय हुने सैनिक आवासिय विद्यालयकी सुस्मिता श्रेष्ठले ७ हजार, तृतिय हुने सैनिक आवासिय विद्यालयकै रोमिका शर्माले ५ हजार र सान्तवना पुरस्कार पाउने सैनिक आवासिय विद्यालयका आदर्शबाबु ढकाल र आदर्श माविका ईन्दिरा नेपालले जनही ३÷३ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

    त्यसैगरी विद्यालयतर्फको प्रतियोगितामा प्रथम हुने महेन्द्र विद्या आश्रम माविका अपेक्षा लामाले ५ हजार, द्धितिय हुने अरनिको माविका समिक्षा न्यौपानेले ३ हजार, तृतिय हुने दुई जना श्री मेधा माविका आयुष दंगाल र एमिनिटी ई. स्कुलका संयोग अधिकारीले जनही २÷२ हजार, तथा सान्तवता पुरस्कार पाउने दुई जना सैनिक आवासिय विद्यालयका श्रेया नेपाल र बालमिकेश्वर माविका प्रवेश तिमिल्सिनाले जनही एक एक हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

    पुरस्कृत विद्यार्थीहरुलाई प्रतिष्ठानका अध्यक्ष एवम् बागमति प्रदेशसभा सदस्य रजनी जोन्छेंले पुरस्कार प्रदान गर्नुभएको थियो । संक्षिप्त कार्यक्रममा सहभागीहरुले स्व. जोन्छेंको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
    स्व. जोन्छेंको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदैं आएको जिल्ला व्यापी विद्यालयस्तरिय कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई स्मृति दिवसको दिन पारेर नगद पुरस्कार वितरण गरेको अध्यक्ष जोन्छेले बताउनुभयो । प्रमाणपत्र र शिल्ड कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएर वातावरण सहज भएपछि खुल्ला कार्यक्रम आयोजना गरी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

  • ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर

    ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर

    काठमाण्डौं, जेठ २४

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्कन राखेको प्रस्ताव माधव–झलनाथ समूहले अस्वीकार गर्ने भएको छ । आफूहरुले जेठ ३ को अवस्थामा नभएर जेठ २ पूर्वको अवस्थामा फर्कनुपर्ने माग गर्दै आएको सो समूहका नेताहरुको भनाइ छ ।

    ‘ओलीको प्रस्तावमा झेली कुरा देखियो, उहाँले जेठ २ गते ३८ जना नयाँ केन्द्रीय सदस्यहरु मनोनयन गर्नुभएको थियो, हामीले त्योभन्दा अघिको अवस्थामा फर्कनुपर्छ भनेका हौं’ माधव समूहका एक नेताले रातोपाटीसँग भने, ‘२०३ जनाको केन्द्रीय कमिटीले मान्यता पाउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो, उहाँले जेठ ३ को कुरा गरेर २४१ लाई मान्यता दिने कुरा गर्नुभयो, त्यसमा पनि एकताबाट आएका भनेर बादल समूहका २३ जनालाई घुसाएर आफ्नो बहुमत पुर्याउने चालबाजी बुँदा नम्बर १ मा प्रष्ट देखियो । ’अध्यक्ष ओलीको प्रस्ताव सार्वजनिक भएपछि आइतबार साँझ माधव पक्षका नेताहरुले यसबारे विश्लेषण गरे पनि औपचारिक प्रतिक्रिया बाहिर ल्याएका छैनन् । सोमबार स्थायी कमिटीका सदस्यबीच यसबारे छलफल गर्ने र औपचारिक धारणा सार्वजनिक गर्ने एक नेताले बताए ।

    ओलीको प्रस्ताव प्रथम दृष्टिमै कपटपूर्ण देखिएको ती नेताले बताए । उनले भने, ‘माधव कमरेडहरुमाथिको कारवाही फिर्ताको कुरै गरिएको छैन, संसद विघटन गरिएकोमा कुनै पश्चाताप वा आत्मालोचना गरिएको छैन । एक व्यक्ति, एक पदको कुरा गरिएको छैन, यस्तो अवस्थामा हामीले हस्ताक्षर फिर्ता लिने कुनै सम्भावना छैन ।’

    माधव पक्षका ती केन्द्रीय सदस्यका अनुसार सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता गर्न आइतबार ओली पक्षका नेताले  केही नेतालाई दबावसमेत दिएका थिए । उनले भने ‘गोकर्ण विष्ट, योगेश भट्टराई, राजबहादुर बूढा र गणेश पहाडीले हस्ताक्षर नै गर्नुभएको छैन, अरुबाट हस्ताक्षर फिर्ता लिने कुनै सम्भावना छैन ।’

    रातोपाटीबाट

  • नेकपा एमालेलाई २०७५ जेठमा फर्काउने ओलीको घोषणा (प्रेस विज्ञप्तीसहित)

    नेकपा एमालेलाई २०७५ जेठमा फर्काउने ओलीको घोषणा (प्रेस विज्ञप्तीसहित)

    भक्तपुर, जेठ २३
    नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते फर्काउन तयार भएको बताउनुभएको छ । उहाँले आइतवार साँझ विज्ञप्ती जारी गर्दै पार्टीलाई २०७५ जेठमा फर्काउन तयार भएको घोषणा गर्नुभएको हो ।
    उहाँले माधव नेपाल पक्षका सबै सांसदमाथिको कारवाही समेत फिर्ता लिनुभएको छ । माधव नेपाल पक्षले नयाँ पार्टी खोल्ने निर्णय गरेपछि ओलीले ब्याक भएका हुन् । त्यसका लागि ओलीले प्रतिनिधिसभा बिघटनविरुद्ध अदालतमा दायर गरिएको निवेदन फिर्ता लिनुपर्ने शर्त राख्नुभएको छ । अदालतमा दायर निवेदनमा माधव नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका छन् । ओलीले पार्टी एकताको आह्वान समेत गर्नुभएको छ ।

    ‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ ओलीले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

    हेर्नुहोस प्रेस विज्ञप्ती

    २३ जेठ २०७८
    नेकपा (एमाले) को एकताका लागि आह्वान

    प्रिय कमरेडहरु ।
    नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र पार्टी एकताका विषयमा पार्टी पङ्क्ति एवं आम जनसमुदायबाट समेत व्यक्त भएका चासो, सरोकार र चिन्तालाई मैले गंभीरतापूर्वक लिएको छु । पचास वर्ष भन्दा पहिले विभाजन र विखण्डनको दुःखद शृङ्खलाबाट गुज्रिरहेको कम्युनिष्ट आन्दोलनलाई आधारभूत तहबाटै पुनर्गठन एवं एकतावद्ध गर्न नयाँ अभियान सुरुवात गर्ने सीमित व्यक्तिहरुमध्ये एक हुनुको नाताले मैले पार्टी एकताको महत्व र खाँचोलाई गहिरो गरी बुझेको छु । म सधैभरि कम्युनिष्ट आन्दोलनको एकता, लोकतान्त्रिक शक्तिहरुको एकता र राष्ट्रिय एकताको पक्षमा रहँदै आएँ । भोलिका दिनमा पनि म यसैका निम्ति क्रियाशील रहने छु।
    कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौं। एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रुपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहो¥याइरहन आवश्यक देख्दिनँ ।
    तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन । यसका कारणहरु बारे यहाँ धेरै भन्न चाहन्नँ । २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् । तर यो यथार्थ होइन । सर्वोच्च अदालतले त नेपाल कम्युुनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । र यसका लागि समय पनि दिएको हो । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण मेरो प्रयाश सफल हुन सकेन । त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरुको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा (एमाले) लाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं ।
    नेकपा (एमाले) को निर्माण र विकासमा हजारौं योद्धाहरुको पसिना, त्याग र बलिदान अन्तरनिहित छ । यस पार्टीप्रति जनताको अपार विश्वास छ । नेकपा (एमाले) लाई सुदृढ गरेर मात्रै कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउन सकिन्छ । यसो गरेर मात्रै मुलुकको लोकतन्त्र सुदृढ हुन सक्छ । त्यसको जगमा मात्रै राष्ट्र एकताबद्ध र  सबल हुन सक्छ । विकसित र समृद्ध हुन सक्छ । त्यसैले यस पार्टीलाई किमार्थ कमजोर बन्न दिनु हुँदैन ।
    आज नेकपा (एमाले) को आन्तरिक जीवनमा समस्याहरु देखा परेका छन् । ती समस्याहरुबाट पार्टी पङ्क्ति मात्रै होइन, राजनीतिक स्थिरता र लोकतन्त्रका पक्षधर आम जनसमुदाय समेत चिन्तित छन् । परिस्थितिको गांभीर्यलाई ध्यानमा राखेर पार्टी अध्यक्षका हैसियतले मैले एकताका निम्ति गरेको अथक प्रयाश र निरन्तर पहलबारे यहाँहरु सबै परिचित हुनुहुन्छ । तर हाम्रा अनवरत प्रयाशका बाबजुद जे नहुनुपथ्र्यो, त्यही भइरहेको छ । जे हुनु पथ्र्यो, त्यो भने भइरहेको छैन ।
    पार्टी एकताको मुख्य आधार पार्टीका स्थापित सिद्धान्त र नीति, विधि र पद्धति एवं मूल्य र मान्यताहरु हुन् । राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर असल मनशायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरु समाधान हुन नसक्ने म कुनै कारण देख्दिनँ । त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ । एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक छ ।
    तसर्थ, पार्टी एकताको पक्षमा निरन्तर पहल गर्ने कमरेडहरुका भावना र सुझावलाई समेत ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न देहायको प्रस्तावसहित आह्वान गर्दछु–
    १.    नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।
    २.     मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।
    ३.     सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।
    ४.     आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित  सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।
    ५.     यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।
    ६.     नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ ।

    केपी शर्मा ओली
    अध्यक्ष