Author: news

  • राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा

    भक्तपुर, माघ ७
    नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने भएको छ । महासंघका प्रवक्ता राजु ताम्राकारले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतियोगिता हेटौंडामा हुने जानकारी दिए ।
    महासंघले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न संयोजकको जिम्मा महासचिव धरम बहादुर लामालाई प्रदान गरिएको छ । प्रतियोगितामा दुबै विधा तर्फ नै पूर्व निर्धारित फम्र्याट अनुसार सिनियर नेशनल च्याम्पियनका शिर्ष ३ खेलाडी र नेशनल बी वाट छनौट भएका उत्कृष्ट ९ खेलाडी बिच जम्मा ११ चरणको खेल प्रतिस्पर्धा हुनेछ ।
    जसमा पुरुषतर्फ नेपाल च्याम्पियन, दोश्रो अनि तेस्रो राजन सुवेदी, शुश्रुत दहाल, क्षितिज भण्डारी सहित नेशनल बी वाट छनौट भएका पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन् ।
    यसैगरी महिलातर्फ नेशनल वोमन शीर्ष तिन सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी सहित बिनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरि, शान्ति धिमाल, दानिशा पुरी, शुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जन बिच स्पर्धा हुने भएको छ ।
    महासंघको सचिवालय बैठकले राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनका लागि समन्वय विभाग प्रमुख सुशील चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ । यस्तै मकवानपुर जिल्ला बुद्धिचाल संघलाई स्थानीय व्यवस्थापनको जिम्मेदारी दिएको छ ।
    यस्तै राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गरिएको छ भने फिडे आर्विटर सरोज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टिम रहने भएको छ ।
    महासंघले २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित खर्च २४ लाख ५० हजार हुने समेत अवगत गराएको छ । बागमती खेलकुद विकास परिषद् तथा स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुने उक्त प्रतियोगिताका विजेता खेलाडीलाई आगामी वर्ष काजकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने भएको छ ।

  • सभापति कपको उद्घाटनमा चर्च व्याइज र संकटा भिड्ने

    भक्तपुर, माघ ७
    नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् । निर्देशन समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् ।
    ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल माघ १० गते बिहीबार दिउँसो ३ बजे हुनेछ । हरेक दिन एक खेल हुने पत्रकार सम्मेलनमा जनकारी गराइयो । प्रतियोगितामा आयोजकको टिम पनि रहेको छ । आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश बागमतीले खेल्नेछ ।
    त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ । खेल नकआउट हुने छ भने १४ र १५ गते सेमिफाइनलका खेल हुनेछन् । फाइनल खेल १७ गते हुनेछ ।
    प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ ।
    फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
    पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै ध्यान दिन सबैलाई आग्रह गरे । प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाउँमा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने प्रस्ट पारे । सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी दिए ।

     

  • खो खो विश्वकप–नेपाली पुरुष र महिला दुवै उपविजेतामा सिमित

    भक्तपुर, माघ ६
    पहिलो पटक आयोजना गरिएको खो खो विश्वकपमा नेपाली पुरुष र महिला दुवै टोली उपविजेतामा सिमित भएको छ । विश्वकपको आइतवार सम्पन्न फाइनलमा भारतसँग पराजित हुँदैं नेपाली टोलीहरु उपविजेतामा सिमित बनेको हो ।
    भारतको दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल पुरुषतर्फ उपविजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।
    नेपालले शनिवार सम्पन्न सेमिफाइनलमा इरानलाई ७२–२० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । शुक्रवार भएको क्वाटरफाइनलमा बंगलादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।
    यसअघि नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो । नेपाल भारतसँगको आफ्नो पहिलो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो ।
    यसैगरी नेपाली महिला टोली पनि फाइनलमा घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो । अपराजित रहँदैं फाइनल प्रवेश गरेको नेपाल फाइनलमा ७८–४० अन्तरले पराजित भएको हो । घरेलु टोलीले पहिलो टर्नदेखि नै नेपाललाई दवाबमा राखेको थियो ।


    पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दियो । भारतले डिफेन्समा १ अंक पनि थप्यो । त्यसपछि तेस्रो टर्नमा ४० अंक जोड्दै भारत बलियो स्थितिमा पुग्यो । अन्तिम टर्नमा नेपालले १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो ।
    युगाण्डालाई शनिवार ८९–१८ ले हराउँदै नेपाली टोली फाइनल प्रवेश गरेको थियो । इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो ।
    नेपाली महिला टोली समूह चरणमा समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो । विश्व कपमा महिलामा १९ र पुरुषमा २० देशको सहभागिता थियो ।

     

  • मध्यपुरका आश्रय बने ‘नेवाः आइडल–२’ को विजेता

    भक्तपुर, माघ ६
    मध्यपुर थिमिका युवा गायक आश्रय रञ्जित नेपाल भाषाको सांगीतिक रियालिटी शो ‘नेवाः आइडल–२’ को विजेता बन्नुभएको छ । नेवाः आइडल–२ को शनिवार सम्पन्न फाइनलमा अन्य ६ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै आश्रय विजेता बन्नुभएको हो । उहाँले उपाधि सँगै ट्रफी, नगद १ लाख २५ हजार रूपैयाँ र अन्य पुरस्कारहरु प्राप्त गर्नुभयो ।
    यस्तै प्रतियोगितामा रत्नमान महर्जन दोस्रो र सुजितमान शाक्य तेस्रो बन्नुभयो । दोस्रो हुन सफल रत्मानले नगद ५० हजार र तेस्रो हुन सफल सुजितमानले नगद २५ हजारका साथै अन्य पुरस्कार प्राप्त गर्नुभयो ।
    फिजिकल तथा डिजिटल अडिसनमार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फाइनलमा प्रतिस्पर्धा भएको थियो । फाइनलमा सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल सयामी, अनिशराज श्रेष्ठ र आश्रय रञ्जित पुगेका थिए ।
    नेपाल भाषाको संगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य लिएर नेवाः आइडल आयोजना गरिएको आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीले बताउनुभयो । “लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य नेवाः आइडलको रहेको छ,” उहाँले भन्नुभयो ।
    खड्गीका अनुसा ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिएको हो । आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा छन् । यसलाई अन्जीता खड्गीले निर्देशन गर्नुभएको हो । नेवाः आइडल पहिलो सिजनको विजेता मन्जिल शाक्य बन्नुभएको थियो ।

     

     

  • नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको फाइनल प्रवेश

    भक्तपुर, माघ ५
    नेपाली राष्ट्रिय पुरुष र महिला दुवै टोली खो खो विश्वकपको फाइनल प्रवेश गरेको छ । भारतको राजधानी दिल्लीमा जारी खो खो विश्वकपको शनिवार सम्पन्न सेमिफाइनलमा नेपाली पुरुष टोली इरान र महिला टोली युगाण्डालाई हराउँदैं फाइनल प्रवेश गरेको हो ।
    नयाँ दिल्ली स्थित इन्दिरा गान्थी इन्डोर हलमा आयोजित पहिलो सेमिफाइनलमा नेपालले ७२–२० अंकले इरानलाई हराउँदैं ऐतिहासिक सफलता हासिल गरेको हो । यसैगरी महिला टोलीले युगाण्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
    पुरूषतर्फ उद्घाटन खेलमा भारतसँग झिनो अंकको अन्तरले पराजित भएपनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो ।
    पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हराएको थियो । क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ को अन्तरले हराएको थियो ।


    नेपाली महिला टोली अपराजित रहँदैं फाइनलमा प्रवेश गरेको हो । युगाण्डालाई ८९–१८ ले हराउँदै फाइनल प्रवेश गरेको नेपाली महिला टोलीले इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै सेमिफाइनल पुगेको थियो ।
    नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो । नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।
    नेपालले पुरुषतर्फको फाइनलमा दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ भने महिला टोलीले भारतसँग उपाधिका लागि भिड्ने छ ।
    नेपालको टोली कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो । त्यसमा पनि महिला र पुरुष दुवै टोली फाइनलमा पुग्दै इतिहास रचेको हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकपमा अपराजित रहँदैं महिलातर्फ फाइनल पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

  • ‘चिनिया नयाँ वर्ष–२०२५’ को अवसरमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ शुभारम्भ

    भक्तपुर, माघ ५
    ‘चिनिया नयाँ वर्ष–२०२५’ को अवसरमा शनिवार भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ शुभारम्भ गरिएको छ । नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ को शुभारम्भ गर्नुभएको हो ।
    सो अवसरमा मन्त्री खड्काले नेपाल—चीनबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा उपत्यकाका विभिन्न स्थानमा विविध साँस्कृतिक कार्यक्रमहरु तय भएको जानकारी दिँदैं दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध बिस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउनुभयो ।
    मन्त्री खड्काले नेपालको सामाजिक आर्थिक विकासमा पर्यटनको महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।


    पर्यटन विकासका लागि त्यस अनुकूल कानुन र नीतिहरु तर्जुमा हुँदै आएको बताउँदै उहाँले प्रदेश र स्थानीय तहहरुले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
    अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्य स्थलको रुपमा रहेको बताउँदैं मन्त्री खड्काले नेपाल चीनबीच पर्यटनसँगैं ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
    मन्त्री खड्काले पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधाहरुको निर्माण तथा स्तरोन्नतिका कामका साथै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र बिस्तार कार्यहरु भइरहेको जानकारी गराउनुभयो ।


    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल र चीनबीच आपसी सहयोग आदान प्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदान प्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको र सोही सहमति कार्यान्वयनको सिलसिलामा यस महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
    सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका लागि नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै राजदूत सङले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने बताउनुभयो । यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान र सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


    नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ उद्घाटन गर्नुको मुख्य उद्देश्य रहेको राजदूत सङले स्पष्ट पार्नुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताउनुभयो ।


    नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै उहाँले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्म भूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरु नेपालमा रहेको र राम्रो प्रचार प्रसार नहुँदा नेपालमा आशातित पर्यटकहरु आउन नसकेको बताउनुभयो ।
    वि. सं. २०७२ सालको भूकम्प, नाकाबन्दी र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संकटको घडीमा चीन सरकारले गरेको सहयोग नेपाली जनताले सँधै सम्झिरहने बताउँदै उहाँले नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रको रुपमा लिँदै आएको स्मरण गर्नुभयो ।


    नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
    सो अवसरमा भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाचहरु प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना गरिएको थियो ।

  • मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन

    भक्तपुर, माघ ५
    भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित मीनकुमारी राणा प्रतिष्ठानद्वारा प्रदान गरिने प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी पुरस्कार छनोटका लागि प्रतिष्ठानका अध्यक्ष पत्रकार कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको छ । प्रतिष्ठानको शनिवार बसेको बैठकले राणाको अध्यक्षतामा सो समिति गठन गरेको हो ।
    समितिको सदस्यहरुमा वरिष्ठ साहित्यकार एवं आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत रहनुभएको छ ।
    प्रतिष्ठानले हरेकवर्ष मीनकुमारी राणाको वार्षिक पुण्य तिथिमा ३ विधामा पुरस्कार दिँदैं आएको छ । तीन वटै विधाको पुरस्कार राशी जनही ५१ हजार १ रुपैयाँ रहेको प्रतिष्ठानका महासचिव रवि राणाले जानकारी दिनुभयो ।
    यसैगरी प्रतिष्ठानले मीनकुमारी राणाको वार्षिक पुण्य तिथिकै अवसरमा एक विद्यालयलाई छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ । सो अनुसार यसवर्ष एक सामूदायिक विद्यालयलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिने महासचिव राणाले बताउनुभयो ।
    प्रतिष्ठानले मीनकुमारी राणाको पहिलो वार्षिक पुण्य तिथिमा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई पुरस्कृत गरेको थियो । दोस्रो वार्षिक पुण्य तिथिमा पूर्व सांसद् एवं वरिष्ठ राजनीतिज्ञ लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई पुरस्कृत गरेको थियो ।
    यस्तै प्रतिष्ठानले छात्रवृत्ति अन्तर्गत दुवै पटक राणा परिवारले अध्ययन गरेको भक्तपुर सानो थिमीस्थित आदर्श माध्यामिक विद्यालयका जेहन्दार विद्यार्थीलाई प्रदान गर्ने गरी रु ५१ हजार १ पूर्व विद्यार्थी समाजका अध्यक्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेललाई हस्तान्तरण गरेको थियो ।

     

  • चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण

    भक्तपुर, माघ ५
    भक्तपुरको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । भक्तपुर जिल्लामै पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब शुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्विकृत गरी खानेपानी गुणस्तर परीक्षणको शुल्क निर्धारण गरेको हो ।
    नगरपालिकाले सामुदायिक विद्यालयहरु, नगर अस्पताल र सरकारी स्वास्थ्य संस्थाहरु, नगरपालिका अन्तर्गतको वडा कार्यालय र अन्य मातहतका कार्यालयहरु र विपन्न नागरिकका लागि खानेपानी परीक्षण निःशुल्क गर्दै अन्य व्यक्ति र निकायलाई शुल्क निर्धारण गरेको हो ।
    यस्तै नगरपालिकाकाले नगरभित्रका घरधुरीहरुका लागि पानी परीक्षण शुल्क प्रतिपटक ३ सय रुपैंया तोकेको छ । संस्थागत विद्यालय तथा मन्टेश्वरीका लागि प्रतिपटक .६ सय ५०, संस्थागत अस्पताल र स्वास्थ्य संस्था तथा अन्य संघसंस्थाहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, होटल, जार तथा बोतलको पानी उत्पादन गर्ने कम्पनी तथा अन्य कम्पनीहरु, नगरपालिका क्षेत्र बाहिरका घरधुरीहरुका लागि प्रतिपटक एक हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
    चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा शुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ मा उल्लेखित २७ वटा मध्ये धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, सल्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफम जस्ता आधारभूत पारामितिहरु परिक्षण गर्न सकिनेछ ।
    नगरपालिकामा सञ्चालित सुरक्षित पानी र उत्थानशील नगरपालिका (सर्वोच) परियोजनासँगको साझेदारीमा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला शुरु गरिएको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले नगरवासीलाई स्वच्छ खानेपानीको बन्दोबस्त गर्नका लागि खानेपानी गुणस्तर परीक्षण गर्न र गराउनका लागि शुरु गरेको मिनी ल्याबमा पानीको गुणस्तर परीक्षणका लागि शुल्क निर्धारण गरिएको बताउनुभयो ।
    चाँगुनारायण नगरपालिकाले नेदरल्याण्डको डोपर संस्थासँगको समन्वय र लागत साझेदारीमा विभिन्न संस्थाको सहयोगमा ल्याब सञ्चालनमा ल्याइएको हो । यससँगै भक्तपुर जिल्लामा रहेको नगरपालिकाहरु मध्ये चाँगुनारायण खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने पहिलो नगरपालिका बनेको छ । काठमाण्डौं उपत्यकाको खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने चाँगुनारायण तेस्रो नगरपालिका भएको छ । यसअघि गोदावरी र महालक्ष्मी नगरपालिकाले यस्तो प्रयोगशाला शुरु गरेको थियो ।

     

  • नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश

    भक्तपुर, माघ ५
    नेपाली पुरुष र महिला दुवै टोली खो खो विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा जारी विश्वकपमा शुक्रवार नेपाली पुरुष टोली बंगलादेशमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
    क्वार्टरफाइनलमा नेपालले बंगलादेशमाथि ६७–१८ को सानदार जित हासिल गरेको हो । नेपालले फाइनल प्रवेशका लागि सेमफिाइनलमा इरानसँग खेल्ने भएको छ । नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो । नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो ।


    इरानले शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनलमा केन्यालाई ८६–१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । सेमिफाइनल खेल आज (शनिवार) हुनेछ ।
    यसैगरी अपराजित महिला टोली पनि खो खो विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । नेपाली महिला टोली इरानलाई शुक्रवार १०३–८ को फराकिलो अन्तरले हराँउदै सेमिफाइनल पुगेको हो ।
    नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो । नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।

     

  • वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा एक पक्राउ

    भक्तपुर, माघ ४
    वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले शुक्रवार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दोलखाको तामाकोशी गाँउपालिका वडा नं. १ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथली बस्ने ४८ वर्षिय ललित कुमार के.सीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौंको प्रहरी टोलीले पक्राउ गरेको हो ।
    गत माघ २ गते करिव पौने ४ बजे काठमाण्डौं जिल्ला अदालत परिसर बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठी माथि हमला भएको थियो । काठमाण्डौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगी सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सहकारीका पिडितहरुको तर्पmबाट बहश गरी फर्कने क्रममा अदालतको दक्षिणतर्फको ढोका बाहिर मूल सडकमा त्रिपाठीमाथि हमला भएको थियो ।
    लामिछानेको समर्थनमा अदालत बाहिर जम्मा भएका भिडले अदालत अगाडिको मूल सडकमा सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिहरुले हुल हुज्जत गरी त्रिपाठी माथि आक्रमण गरेको थियो ।
    प्रहरीले केसी विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।