Author: news

  • एनकेएलको प्ले–अफ समीकरण पूरा

    भक्तपुर, माघ १३
    काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी कबड्डीको फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफ समिकरण पूरा भएको छ । लिगमा शनिवार सम्पन्न खेलमा विराटनगर ब्यान्डिट्सले पोखरा लेकर्समाथि एकपक्षीय जित हात पारेसँगै एनकेएलको प्ले–अफ समिकरण पूरा भएको हो । खेलमा विराटनगर ५०–२५ ले विजयी भएको हो ।
    योसँगै पहिलो क्वालिफायरमा अपराजित जनकपुर नाइट्स र विराटनगर भिड्ने भएका छन् । अपराजित रहँदै २३ अंक जोडेको जनकपुरले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
    विराटनगरले भने अंक तालिका काठमान्डु माभरिक्सलाई दुई अंकले पछि पार्दै जनकपुरसँगको भेट पक्का ग¥यो । यो खेलमा जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुनेले अर्को मौका पाउने छन् ।
    विराटनगरले २१ र काठमान्डुले १९ अंक जोडे । काठमान्डुलाई भने इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सले चुनौती पेस गर्नेछ । शनिबार नै भएको खेलमा हिमालयन रेइडर्सलाई ४१–३८ अंकले पराजित गर्दै धनगढीले इलिमिनेटरमा स्थान बनाएको हो ।
    पाँच खेलबाट ११ अंक जोड्दै धनगढी चौथो स्थानमा रह्यो । समान खेलबाट सात अंक जोडेको हिमालयन र जितविहीन पोखरा प्रतियोगिताबाट बाहिरिएका छन् । पोखराले चार अंकसहित पहिलो संस्करण सक्काएको हो ।

     

  • गोलकिपर एन्जिलाले युरोपमा ‘डेब्यू’ गरे

    भक्तपुर, माघ १३
    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा ‘डेब्यू’ गरेकी छिन । एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट व्यवसायिक फुटबल खेल्ने युरोपमा डेब्यू गरेकी हुन । केहि साता अघि ग्रिस पुगेकी एन्जिलाले शुक्रवार लिग खेल्ने अनुमति पाएकी थिइन् ।
    उनले ग्रिस महिला ‘ए’ लिगमा ओएफआइविरुद्ध खेल्दै युरोपमा डेब्यू गरेकी हुन् । खेलमा एन्जिलाको टोली ओएफआइसँग ०–३ ले पराजित भएको थियो । एन्जिलाको डेब्यूसँगैं उनी युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो महिला खेलाडी बनेकी छिन । यस अघि सावित्रा भण्डारी साम्बाले फ्रान्समा खेलिरहेकी छिन ।
    एन्जिलाले यसअघि पाकिस्तान र भारतमा लिग खेलेकी थिइन् । उनको कप्तानीमा नेपालले कात्तिकमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो । एन्जिलाको जीवनीमा आधारित अन्जिला फिल्म फागुन २९ गते प्रदर्शन हुँदैछ ।

     

  • नगरकोट भ्रमण वर्ष सफल बनाउन नागरिकलाई घरघरबाट जागृत गर्नुपर्नेमा जोड

    भक्तपुर, माघ १२
    चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी शुरु गरेको छ । नगरपालिकाले शुक्रवार मूल समारोह समितिको प्रथम बैठक राख्दै नगरकोट भ्रमण वर्ष–२०८२ मने औपचारिक तयारी शुरु गरेको हो ।
    नगर प्रमुख एवम् मूल समारोह समितिका संयोजक जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भ्रमण वर्षलाई सफल बनाउन प्रत्येक नगरबासीलाई घरघरबाट जागृत गर्नुपर्नेमा जोड दिईएको छ । बैठकले भ्रमण वर्षलाई व्यापक बनाउन सरोकारवाला सबै निकाय सम्मिलित समितिहरु बनाउनु पर्ने सुझाव समेत दिएको छ ।
    बैठकमा प्रमुख खत्रीले चाँगुनारायणको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई प्रचार प्रसार गरि पर्यटन मार्फत नगरलाई समृद्ध बनाउन भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँले माघभित्र सबैको सुझाव संकलन गरि फागुनदेखि प्रचार प्रसारमा लाग्ने पनि जानकारी गराउनुभयो ।
    बैठकमा प्रतिनिधिसभा सांसद तथा समितिका सल्लाहकार दुर्लभ थापाले समग्र चाँगुनारायणको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले नगरकोट भ्रमण वर्ष आयोजना गरिनु सराहनीय कार्य भएको बताउनुभयो ।


    सांसद थापाले नगरकोट–कमलविनायक सडक नगरपालिका आफैले निर्माण गर्न बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गर्दै कानूनी प्रक्रिया पुर्याएर चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरकोट भ्रमण वर्ष सफल बनाउन सबै एकजुट भएर तयारीमा लाग्नुपर्ने समेत बताउनुभयो । अर्का, संघीय सांसद तथा समितिका सल्लाहकार सन्तोष परियारले पर्यटन प्रबद्र्धन गर्दै आन्तरिक तथा बाह्रय पर्यटनमार्फत नगरको विकास गर्ने सोच राख्नु सकारात्मक कदम भएको बताउनुभयो । परियारले नगरकोट भ्रमण वर्ष सफल बनाउन संघबाट गर्नुपर्ने र खेल्नुपर्ने जस्तोसुकै भूमिका निर्वाह गर्न र सहयोग गर्न तयार रहेको बताउनुभयो ।
    बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नगरकोट भ्रमण वर्षमार्फत नगरभित्र रहेका विभिन्न जातजाती, धर्म, कला संस्कृतिको जर्गेना, उत्थान तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन प्रत्येक नगरबासी घर–घर टोल–टोलबाट लाग्नुपर्ने समेत बताउनुभयो ।
    बागमती प्रदेशका पूर्व मन्त्री तथा समितिका सल्लाहकार कृष्णलाल भँडेलले भ्रमण वर्ष अवसर र चुनौती दुवै भएको भन्दै नगरपालिका मात्रको एक्लो प्रयासले सफल नहुने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
    बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले नगरपालिकाले आफ्नै स्रोत र साधनबाट समृद्ध नगर बनाउने सोचका साथ पर्यटन प्रबद्र्धनमा लाग्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको बताउनुभयो ।


    बैठकमा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष मनाउनुको उद्देश्य, हालको तयारी, भ्रमण वर्षले पार्ने प्रभाव र पर्यटन प्रबद्र्धनमा पुग्ने लाभका विषयमा विस्तृत योेजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिको तर्फबाट राप्रपाका अर्जुन कार्की, रास्वपाका नगर अध्यक्ष रोशन थापालगायतले नगरकोट भ्रमण वर्षको लागि गर्नुपर्ने तयारीका विषयमा धारणा राख्नुभएको थियो ।
    बैठकमा नगर प्रवक्ता एवम् वडा नं. ८ का वडाअध्यक्ष जनक खत्री, वडा नंं ६ नगरकोटका वडाध्यक्ष धन बहादुर लामा भ्रमण वर्षका विषयमा विविध जनाकारी दिनुभएको थियो ।
    बैठकमा प्रमुख प्रशासकीय अधिकृत तथा समितिको सदस्य सचिव शिव प्रसाद हुमेगाई र वडा नं. १ देखि ९ वडाका वडाध्यक्षहरु, सल्लाहकारहरु, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

  • नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू

    न्यूजअफ, ललितपुर, माघ १२ गते ।

    बु. सं. २५६८ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको तह ४ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ । साथै परियत्ति तह १ देखि ३ सम्मको परीक्षा भने फागुन महिनामा संचालन हुनेगरी नियमिततर्फ जम्मा ४३७४ जना परीक्षार्थीहरु परीक्षामा सामेल छन् ।
    उपत्यका भित्रका लागि तह ७ देखि १० सम्मका काठमाण्डौ, भक्तपुर र काभ्रेका परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र वानेश्वरस्थित विश्व शान्ति विहारमा र ललितपुरको भास्सरा मा. वि. पूर्णचण्डीमा ललितपुरका परीक्षार्थीहरुले परीक्षा दिइरहनुभएको जानकारी केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले जानकारी दिनुभएको छ ।
    त्यस्तै तह ४ देखि ६ सम्मका परीक्षाका लागि ललितपुरमा पूर्वी भेगका परीक्षार्थीहरु ललितपुरको थैनामा रहेको यशोधरा मा.वि. तथा पश्चिम भेगका परीक्षार्थीहरुका लागि भास्सरा मा. वि.लाई परीक्षा केन्द्र तोकिएको छ । काठमाण्डौका लागि भने धर्मकिर्ति विहार काठमाण्डौ, किर्तिपुर, एहिपस्सिको विहार, भक्तपुरमा मुनि विहार, काभ्रेका लागि बनेपा आदि स्थानीय क्षेत्रहरुलाई परीक्षा केन्द्र तोकिएको छ ।
    यसका साथै बुटवल, धनकुटा, पाल्पा, सुर्खेत, तनहुँ, कपिलवस्तुलगायतका उपत्यकाबाहिरका क्षेत्रहरु तथा मुलुकबाहिर अमेरिका एवं अष्ट्रेलियामा पनि आजैदेखि परियत्तिका परीक्षा शुरु भएको छ ।
    आजदेखि शुरु भएको परीक्षामा तह ४–६ सम्मका परीक्षार्थीहरुले प्रथम पत्र एवं तह ७ – १० सम्मका चौथो पत्रका विषयहरू समावेश छन् ।
    तह ७ – १० सम्मका प्रथम, द्वितीय र तृतीय पत्रहरुको परीक्षा गत भदौ–असोज महिना नै भईसकेको छ ।
    स्मरणीय रहोस, अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षालाई लुम्बिनी विश्वविद्यालयले मान्यता दिइसकेकोले परियत्तिमा कोविद अर्थात तह १० पूरा गरेका विद्यार्थीहरुले लुम्बिनी विश्वविद्यालयमा बुद्ध धर्ममा स्नातकोत्तर तहमा भर्ना हुन सकिन्छ ।

  • मध्यपुर थिमिमा ४,२०३ किशोरीलाई एचपीभी खोप लगाईने

    भक्तपुर, माघ ११
    एचपीभी खोप अभियान अन्तर्गत मध्यपुर थिमिका ४ हजार २ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा मध्यपुर थिमिका विद्यालय जाने ४ हजार ७२ र विद्यालय बाहिरका १३१ जना किशोरीहरुलाई एचभीपी खोप लगाइने भएको हो ।
    मध्यपुर थिमिमा खोप अभियानका लागि ५६ विद्यालय र १० अन्य स्वास्थ्य संस्थामा केन्द्र तोकिएको छ । अभियानमा एक केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई जना महिला स्वास्थ्य स्वयम् सेविका परिचालन हुने मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । जसअनुसार ६६ जना स्वास्थ्यकर्मी र १३२ जना महिला स्वयम् सेविका गरी कुल १९८ जना जनशक्ति परिचालन हुनेछ ।


    एचपीभी खोप अहिले अभियानका क्रममा कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिरका १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाइदिने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले बताउनुभयो ।
    एचभीपी खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप हो । यो खोप एक पटक लगाए महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)मा कार्यरत डा. रमण रञ्जितले बताउनुभयो ।
    एचपीभी खोप स्वास्थ्यका दृष्टिले सुरक्षित रहेको डा. रञ्जितले बताउनुभयो । उहाँका अनुसार यो खोप लगाएपछि खोप लगाएको स्थानमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगाटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता सामान्य लक्षण देखिन सक्छ ।
    नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसमध्ये एक हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको छ, जुन औसतमा प्रत्येक दिन ४ महिलाको यो रोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।


    महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरबाट महिलाहरुको मृत्यु हुनेमा यो पहिलो स्थानमा रहेको छ ।
    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र क्यान्सरका बिरामी दिनप्रतिदिन बृद्धि भइरहेकोले यस्तो अभियानलाई शतप्रतिशत सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । नयाँ नयाँ अभियानमा अशिक्षितहरुले भन्दा पनि शिक्षित र जाने बुझेकाहरुले नै बढी आशंका गर्ने गरेको बताउँदैं उहाँले त्यस्ता आशंकाहरुलाई चिरेर अघि बढ्न जरुरी रहेको धारणा राख्नुभयो ।

     

  • स्यानिटरी प्याडमा सुन लुकाएर ल्याउने महिलाको पहिचान खुल्यो, पक्राउ पर्न बाँकी

    भक्तपुर, माघ १०
    गत पुस १४ गते दिउँसो भक्तपुरको सानो थिमिमा लुटिएको करिव आधा किलो सुन ल्याउने महिलाको पहिचान भएको छ । उनी काभ्रेकी भएको प्रहरीले जनाएको छ । उनी पक्राउ पर्न बाँकी भएकाले प्रहरीले ती महिलाको परिचय सार्वजनिक गर्न नमिल्ने बताएको छ ।
    गत पुस १४ गते फ्लाई दुवाईको उडानबाट काठमाण्डौं आएकी ती महिलाले स्यानिटरी प्याडमा लुकाएको आधा किलो सुन सानो थिमिमा फिल्मी शैलीमा लुटिएको थियो । नक्कली प्रहरीले सक्कली प्रहरीलाई डियुटीमा राखेर उक्त सुन लुटिएको थियो ।
    उक्त सुन लुटिएको विषयमा कुनै उजुरी नआएपनि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि सुन लुटिएको घटना सार्वजनिक भएको हो ।
    अनुसन्धानको क्रममा सुन ल्याउने महिला भरिया मात्र भएको खुलेको प्रहरी स्रोतले जानकारी दिए । उनी भरिया भएता पनि सुन तस्करीको कोर टिमकै सदस्य हुनुपर्ने प्रहरीको अनुमान रहेको छ ।
    “तस्करहरुले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रलोभनमा पारी १५÷२० ग्राम सुन बोकाएर पठाउने गरेपनि स्यानिटरी प्याडमा लुकाएर करिव आधा किलो सुन ल्याउनुले ती महिला सुन तस्करको कोर टिमका सदस्य हुन सक्छ,” प्रहरी स्रोतले भने ।
    प्रहरीले सुन भरियासँगैं सुन धनीको पनि खोजी गरिरहेको जनाएको छ । तर तत्काललाई भरिया पक्राउ नपरेकोले सुन धनीका बारेमा जानकारी प्राप्त नभएको प्रहरी स्रोतले बताए ।
    प्रहरीले उक्त सुन लुटिएको घटनामा संलग्न भएको आरोपमा पूर्व प्रहरीसहित तीन जनालाई गत पुस १९ गते पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाण्डौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाण्डौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाण्डौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका छन ।
    पक्राउ पर्ने मध्ये नेपाली पूर्व प्रहरी हुन । उनले तीन महिना अघि मात्र प्रहरीबाट राजीनामा दिएका थिए । राजीनामा अघि प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत नेपालीले प्रहरीको सिआइवी भएको नक्कली परिचयपत्र खेखाएर सानो थिमि प्रहरी प्रभागमा कार्यरत प्रहरी प्रयोग गरेर सुन ल्याउने महिला चढेको ट्याक्सी रोक्न लगाएर सुन लुटेका थिए ।
    उक्त घटनाका मूख्य योजनाकारहरु पनि अझै फरार छन । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ । परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीले उनीहरूविरुद्ध ठगी, संगठित अपराध र भन्सार छली लगायतका कसुरमा अनुसन्धान भइरहेको बताउनुभयो ।

     

  • भक्तपुरमा सुटिङ संघ गठन

    भक्तपुर, माघ १०
    भक्तपुरमा सुटिङ खेलको विकास र बिस्तारको लागि भक्तपुर जिल्ला सुटिङ संघ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा बिहिवार सम्पन्न भेलाले राजु सिं बजिकोको अध्यक्षतामा १३ सदस्यीय सुटिङ संघ गठन गरेको हो ।
    नेपाल सुटिङ संघका बागमती प्रदेश अध्यक्ष राजु दर्शनको उपस्थितीमा भएको भेलाले संघको उपाध्यक्षमा रामशरण बैंजु, सचिवमा रोहित मानन्धर, सहसचिवमा रचना लाखेमरु र कोषाध्यक्षमा चन्द्र प्रसाल सुवाल चयन गरेको छ ।
    यसैगरी सदस्यहरुमा सचि बनेपाली, आषिश बैद्य, रामकृष्ण लवजु, अनिल फोंजु, दिपा अधिकारी, गोपीलाल श्रेष्ठ, सरोज केसी र कपिल देव नेपाल चयन भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

  • भक्तपुरको बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन

    भक्तपुर, माघ १०
    भक्तपुर नगरपालिकाको वडा नं. १० स्थित बेखालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले वडा वडामा स्वास्थ्य सेवा पुर्याउने नीति अनुसार वडा नं. १० मा बिहिवारबाट बेखाल स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
    केन्द्रमा सामान्य स्वास्थ्य जाँच, ल्याव र आवश्यक औषधीलगायतको सुविधा रहेको छ । केन्द्र हाललाई दैनिक दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन गरिने ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले जानकारी दिनुभयो । केन्द्रमा आगामी दिनमा विशेषज्ञ सेवा थप गर्दै लाने योजना रहेको उहाँले बताउनुभयो ।


    ख्वप अस्पताल भक्तपुर नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल हो । केन्द्र नगर अस्पताल मातहत सञ्चालन हुने भएकाले बिरामीलाई थप उपचार आवश्यक परे केन्द्रले ख्वप अस्पतालमा रिफर गर्न सकिने व्यवस्था गरिएको छ ।
    स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई २५ करोड रुपैंया भन्दा बढी भुक्तानी गर्न बाँकी रहेकोले अस्पताल सञ्चालन र व्यवस्थापनमा समेत समस्या भएको डा. मल्लले बताउनुभयो ।
    केन्द्रको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य सेवा केन्द्र जनताको साझा संस्था भएकोले यसको संरक्षण र संवद्र्धनमा जनताको सहभागिता आवश्यक भएको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले हालसम्म ६ वटा वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिसकेको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा भक्तपुर नमुनाको रुपमा विकास भइरहेको बताउँदै उहाँले सरकारले सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेे धारणा व्यक्त गर्नुभयो ।
    सो अवसरमा सांसद सुवाल र नगर प्रमुख प्रजापतिलगायतले बेखाल स्वास्थ्य केन्द्रको स्थलगत अवलोकन पनि गर्नुभएको थियो ।

     

  • सवारी दुर्घटनाका घाईते महिलाको उपचारको क्रममा मृत्यु

    भक्तपुर, माघ १०
    भक्तपुर मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकलले कारलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ ७ गते भएको उक्त घटनामा गम्भिर घाईते भएकी मोटरसाइकलमा सवार भोजपुर पात्लेपानी गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौ पेप्सिकोला बस्ने २३ वर्षिया सपना राईको उपचारका क्रममा बुधवार साँझ मृत्यु भएको हो ।
    दिव्यश्वरी प्लानिङस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगर गाँउतर्फ जाँदै गरेको बा. प्र.०१–०२७ च. ९२७ नं.को कारलाई सोही दिशातर्फ जाँदै गरेको बा. ५० प. ७४१ नं.को मोटरसाईकलले ठक्कर दिँदा सपना र उनकी ३ वर्षिया छोरी ईश्वरी राई घाईते भएका थिए ।
    घाईते दुवै जनालाई उपचारका लागि मदरल्याण्ड अस्पताल पेप्सीकोला लगिएको थियो । गम्भिर घाईते भएकी सपनालाई थप उपचारका लागि काठमाण्डौं मेडिकल कलेज सिनामंगल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
    दुर्घटनामा घाईते बालिका ईश्वरी उपचार पश्चात डिस्चार्ज भइसकेको छ । दुर्घटनमा संलग्न दुई वटै सवारी साधन र कार चालक रामेछाप सुनापाती गाउँपालिका–१ घर भई हाल काठमाण्डौ बुढानिलकण्ड नगरपालिका–४ बस्ने ३४ वर्षिय कृष्ण प्रसाद गौतमलाई प्रहरी वृत्त थिमिमा राखी थप कारवाही भइरहेको प्र.नि. पौडेलले बताउनुभयो ।

     

  • भन्सारका सामान छुटाईदिने भन्दै एक करोड ठगी गरेको अभियोगमा एक जना पक्राउ

    भक्तपुर, माघ ९
    काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले करिव एक करोड रुपैंया ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– २ का ३५ वर्षीय कुशल ठकुरी भनिने दिनेश घिमिरे छन् । उनलाई मंगलबार राति १० बजे ठमेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरीदेखि भन्सारको ऐजेन्टसम्मको नक्कली परिचय दिँदै ठगी गर्ने गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजिकुमार आचार्यले बताउनुभयो ।
    एसपी आचार्यका अनुसार पक्राउ परेका दिनेशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आएका सुन, आइफोन छुटाउनेदेखि भन्सारले लिलाम गर्न लागेका स्कर्पियो, क्रेटा गाडीहरू समेत सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको खुलेको छ ।
    “विश्वासमा पारेपछि उनले आफ्नो बैंक खातामा रकम हाल्न लगाएर एक करोड रुपैयाँ बढी ठगी गरेको खुलेको छ,” एसपी आचार्यले भन्नुभयो । प्रहरीमा दिनेश विरुद्ध ठगीका ११ वटा उजुरी छन । ठगीको उजुरीका आधारमा गत असोज २० गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो । यो भन्दाअघि ठगी तथा बैंकिङ कसुर गरी उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको पाइएको एसपी आचार्यले जानकारी दिनुभयो ।