Author: news

  • नेमकिपाको ८ औं महाधिवेशन शुक्रवार भक्तपुरमा शुरु हुने

    भक्तपुर, फागुन १५
    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन शुक्रवारबाट भक्तपुरमा शुरु हुँदैछ । ‘देश र जनताको निस्वार्थ सेवा गरौं, समाजवादी अवधारणालाई व्यवहारमा लागू गरौं’ भन्ने मूल नाराका साथ भक्तपुरको सल्लाघारीमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुने नेमकिपाले जनाएको छ ।
    महाधिवेशनको उद्घाटन नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले गर्नुहुने केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताउनुभयो । महाधिवेशन उद्घाटन अघि उपत्यकाका विभिन्न ५ स्थानबाट सहभागीहरुको ¥याली निस्कने गोसाईंले जानकारी दिनुभयो ।
    उहाँका अनुसार बिहान १० बजे भक्तपुरको कमलविनायकको लाँचाफल्चा, चाँगुनारायणको पकुनेपाटी र ताथलीको पैmढोका, सूर्यविनायक चोक, मध्यपुर थिमिको बोदे चारदोबाटो र काठमाण्डौंको कोटेश्वरबाट ¥याली सुरु भई महाधिवेशन उद्घाटन स्थल सल्लाघारी जाने छ ।
    महाधिवेशनले नेमकिपाको नयाँ नेतृत्व चयन समेत गर्नेछ । वि. सं. २०३१ साल माघ १० गते विधिवत स्थापना भएको नेमकिपाको नेतृत्व अध्यक्ष नारायणमान विजुक्छें रोहितले गर्दै आइरहनुभएको छ । करिव ५ दशक नेमकिपाको नेतृत्व गर्नुभएका बिजुक्छेंको उमेर हाल साढे आठ दशक पुगी सकेको छ ।
    पार्टीको आठौं महाधिवेशनको पूर्वसन्ध्यामा नेमकिपाको नेतृत्व परिवर्तन हुन्छ की पुनः बिजुक्छेंले नै बागडोर सम्हाल्छन भन्नेमा आमचासो बढेको छ । त्यसो त नेमकिपा यस्तो विषयमा खुलेर कुरा गर्न चाहँदैन । निर्वाचनको उम्मेदवारका विषयमा होस या पार्टीको नेतृत्व, पदाधिकारी र सदस्य चयन होस अन्तिम समयमा मात्र घोषणा गर्ने नेमकिपाको परम्परा रहेको छ ।
    संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भए पश्चात सम्पन्न २०७४ को पहिलो आम निर्वाचनमा आफुले जित्दै आइरहेको भक्तपुर क्षेत्र नं. १ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएका बिजुक्छेंले संसदिय राजनीतिबाट विश्राम लिनुभएको थियो ।
    वि. सं. २०३१ साल स्थापना भएको नेमकिपाको पहिलो महाधिवेशन प्रजातन्त्र प्राप्ती पछि २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा भएको थियो । वि. सं. २०५१ असोज ३ र ४ गते भक्तपुरमा दोस्रो सम्मेलन भएको नेमकिपाको तेस्रो सम्मेलन भक्तपुरमा २०५५ माघ १२, १४ र १५, चौथो महाधिवशेन २०६० भदौ ११, १२ र १३ भक्तपुर, पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाण्डौं, छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाण्डौं र सातौ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो ।

     

  • जबरजस्ती करणी मुद्दामा दोषी भई फरार एक व्यक्ति पक्राउ

    भक्तपुर, फागुन १५
    जबरजस्ती करणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले गत मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु घरभई हाल चाँगुनारायण नगरपालिका–९, ताथली बस्दै आएका ४९ वर्षिय अच्युतमणी रिसाल हुन । रिसाललाई प्रहरीले भक्तपुर नगरपालिकाको च्याम्हसिंहबाट पक्राउ गरेको हो ।
    रिसाललाई भक्तपुर जिल्ला अदालतले गत कार्तिक २१ गते जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख रुपैंया दण्ड जरिवाना हुने फैसला गरेको थियो । रिसाल अदालतको पैmसलापछि फरार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो । रिसाललाई बिहिवार भक्तपुर जिल्ला अदालत बुझाएकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाएको नेउपानेले जानकारी दिनुभयो ।

     

  • “५०० वृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” को क्रममा अक्षयश्वर महाविहारमा केश छेदन सम्पन्न (फोटो फिचर सहित)

    ललितपुर, फागुन १४ गते ।

    “५०० वृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” को क्रममा आज अक्षयश्वर महाविहारमा श्रामणेर बन्न आएका धम्मदायाद अर्थात उपासकहरुको केश छेदन (कपाल खौरिने) कार्य सम्पन्न भएको छ । अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष एवं प्रव्रज्या सामाजिक नेपालका अध्यक्ष भिक्षु बोधिज्ञान महास्थविर, भिक्षु उदयभद्र महास्थविर, भिक्षु अशोक महास्थविर एवं प्रव्रज्या सामाजिक नेपालका संरक्षक थाइल्याण्डका भिक्षु थावरो लगायतका भिक्षुहरुले धम्मदायादहरुको केश छेदन गर्नुभएको थियो ।
    सो कार्यक्रमको केही झलकहरु

  • नाम दर्तासँगै “५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम” शुरु

    ललितपुर, फागुन १४ गते ।
    ‘५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम’ कोे पहिलो दिन आज अक्षेश्वर महाविहार पुल्चोकमा अल्पकालिन श्रामणेर बन्न चाहने धम्मदायद (उपासक) हरुले प्रव्रज्यामा सहभागी हुन नाम दर्ता गराएका छन् । “अखिल नेपाल भिक्षु महासंघ”“थाईधर्मदूत ईन्डिया नेपाल” को संयुक्त आयोजना तथा “प्रव्रज्या सामाजिक नेपाल” को व्यवस्थापनमा बुद्ध जन्मभूमि लुम्बिनीमा फागुन १४ गतेदेखि चैत ३ गतेसम्म हुने उक्त कार्यक्रमका लागि नाम दर्ता गर्नुका साथै उहाँहरुको स्वास्थ्य जाँच तथा प्रव्रज्या अवधिभर आवश्यक सामाग्रीहरु उहाँहरुलाई वितरण गरिएको थियो ।
    अखिल नेपाल भिक्षु महासंघका प्रव्रज्या उपसमितिका संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरले नेपालका जुनसुकै धर्म, सम्प्रदाय, वर्ण र जातिका भएपनि स्वस्थ पुरुष यस श्रामणेर प्रव्रज्यामा सहभागी हुन सक्ने बताउनुभयो ।
    प्रव्रज्यामा सहभागी हुन आएका धम्मदायादहरुको स्वास्थ्य जाँच गरीरहनुभएका स्वास्थ्यकर्मी डा. बिनोदलाल बज्राचार्यले धम्मदायादहरुमा खासै स्वास्थ्य समस्याहरु नदेखिएको बताउनुभयो ।
    प्रव्रजित जीवन नै सारपूर्ण जीवन भएको महसुस भएकाले सन् २०११ को पहिलो प्रव्रज्या कार्यक्रमदेखि नै भाग लिँदै आइरहेको मध्यपुर थिमि नगरपालिको वडा नं ७ नगदेशका वडा अध्यक्ष कुष्ण कुमार प्रजापतिले भन्नुभयो । काठमाण्डौ, ललितपुर, मध्यपुर, भक्तपुर, मकवानपुर, झापा, दैलेख लगायतका स्थानहरुबाट कार्यक्रममा सहभागी हुन आउनेहरु धम्मदायादहरुले नाम दर्ता गराएका छन् ।
    आज नामदर्ताबाट शुरु भएको ५०० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम भोलि फागुन १५ गते अक्षेश्वर महाविहार, पुल्चोकमा दिउँसो १ बजे केश छेदन कार्यक्रम हुनेछ । फागुन १६ गते नागबहालमा चीवरदानपछि त्यहाँबाट मंगलबजार पाटन दरवारस्क्वायर हुँदै नगरपरिक्रमा गरी पुल्चोकसम्म पुगी त्यहींबाट लुम्बिनी प्रस्थान गरीने जानकारी आयोजकले दिएको छ ।
    त्यस्तै २० गते लुम्बिनीको पवित्र मायादेवी परिसरमा अल्पकालिन दुर्लभ श्रामणेर प्रव्रज्या, २२ गते भिक्षाटन, २४ गते दीप प्रज्वलन, चैत २ गते रामग्राम, देवदह तथा भैरहवाको लुम्बिनी गेटमा धम्मयात्रा, ३ गते सहभागीहरुलाई प्रमाणपत्र वितरण तथा ४ र ५ गते गृहनगरमा भिक्षाटनको कार्यक्रम रहेको जानकारी पनि आयोजकले दिएको छ ।

  • महाशिवरात्रीको अवसरमा भक्तपुरको डोलेश्वरमा मूल शिला छोएर पुजा गर्न सकिने

    भक्तपुर, फागुन १४
    फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रीको अवसरमा आज (बुधवार) बिहानै देखी भक्तपुरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ । महाशिवरात्रीको दिन सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने भएकोले भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव (सिपारे महादेव), कमलविनायकस्थित यातु महादेव, भक्तपुर नगरस्थित गुरु दत्तात्रय, सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित अनन्तलिङ्गेश्वर, वडा नं. ५ स्थित सुवर्णेश्वर, वडा नं. १० चित्तपोलस्थित अग्लो शिवमन्दिर, चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित ज्योतिर्लिङ्गेश्वरलगायतका शिवालयमा भक्तजनको भिड लागेको हो ।
    सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेवमा महाशिवरात्रीको अवसरमा मन्दिरका चारवटै ढोका खुल्ला गरी भक्तजनले मन्दिरभित्र पुसी मूल शिला छोएर पुजा गर्न सकिने व्यवस्था गरिएको छ ।


    डोलेश्वरलाई भारतको उत्तराखण्डस्थित केदारनाथको शिर भाग घोषणा गरेपछि यहाँ स्वदेशी तथा विदेशी भक्तजनको दैनिक घुईंचो लाग्दै आएको छ । महाशिवरात्रीमा यहाँ भारतका विभिन्न भागबाट नागाबाबासहितका साधुसन्त आउने गरेका छन ।
    यसवर्ष डोलेश्वरमा मंगलवार साँझसम्म १६० जना नागाबाबा एवम् साधुसन्त आएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण एवम् विकास समितिका महासचिव हरीशरण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको महाकुम्भ मेलाका कारण यसवर्ष साधुसन्त आगमनमा केही कमी आएपनि बुधवार बिहानसम्म २ सय पुग्ने अनुमान गरिएको छ ।
    भारतबाट आएका नागाबाबा, साधुसन्त तथा जोगीका लागि समितिले निःशुल्क भोजन र धुनी बाल्नको लागि आवश्यक दाउरा प्रदान गर्दै आइरहेको बस्नेतले बताउनुभयो । उनीहरूलाई दक्षिणा भेटीसहित बिदाइ गर्ने गरेको छ ।


    भक्तजनको भिड व्यवस्थापनको लागि नेपाल स्काउट र स्थानीय स्वयम् सेवक परिचालन गरिएको छ । लाइनमा बसेर दर्शन गर्न असमर्थलाई मन्दिरको पुर्वी ढोकाबाट दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । साथै पञ्चामृत पुजाको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिनुभयो ।
    डोलेश्वरमा भक्तजनका लागि निःशुल्क प्रसादी एवम् भोजनको व्यवस्था गरिएको छ भने खानेपानी निःशुल्क वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले रक्तदान, मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

     

  • चिनियाँ मन्त्री फान यूएद्वारा भक्तपुर अवलोकन

    भक्तपुर, फागुन ११
    चीनको राष्ट्रिय जनजाति मामिला आयोग मन्त्री फान यूएको नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले आइतवार विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।
    टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर स्वागत गर्नुभएको थियो ।
    सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा भक्तपुर नगरपालिकाले विशेष प्राथमिकता दिएर काम गर्दै आएको जानकारीदिँदैं भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरुबाट विदेशी पर्यटक आकर्षित भइरहेको बताउनुभयो ।
    चिनिया मन्त्री फान यूएले भक्तपुरका सम्पदा, कला कृतिहरु धेरै राम्रो लागेको र घुम्न धित नपुगेको बताउँदैं अवसर मिलेमा पुनः भक्तपुरमा आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुब्र्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको थियो ।

     

  • रोमाञ्चक प्रतिष्पर्धामा नेपाल र म्यानमार बराबर, फाइनलमा पुनः भिड्ने

    भक्तपुर, फागुन ११
    चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले बराबरी खेलेको छ । काठमाण्डौंको दशरथ रंगशालामा आइतवार सम्पन्न रोमाञ्चक प्रतिष्पर्धामा नेपाल र म्यानमारले २–२ को बराबरी खेलेको हो ।
    खेलमा सबै गोल पहिलो हाफमै भएका थिए । फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमारलाई बराबरीमा रोक्न नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । बराबरी नतिजासँगैं म्यानमार लिग विजेता र नेपाल उप विजेता बनेको छ ।
    खेलमा म्यानमारले शुरुवाती अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गर्दै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाए । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई ठम्याउनै सकिनन् । सविताले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि–किक पाएको थियो ।


    खेलको ११ औं मिनेटमा नेपालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्यायो । साबित्रा भण्डारी ‘साम्बा’ले एकल प्रयासमा अगाडि बढाएर दिएको सटिक पासमा सविता रानामगरले पेनाल्टी बक्सबाट ट्याप इन गर्दै बललाई सही दिशा दिइन् । सविताको यो तेस्रो अन्तराष्ट्रिय गोल हो । यसअघि उनले वाफ र साफ च्याम्पियनसीपमा एक–एक गोल गरेकी थिइन् ।
    एक एकको बराबरीपछि थप रोमाञ्चक बनेको खेलमा नेपालले १६ औं मिनेटमा दोस्रो गोल बेहोर्यो । डिफेन्सिभ इररका कारण नेपालले दोस्रो गोल खाएको थियो । म्यानमारका मे टेट लुले नेपाली ३ डिफेण्डर र गोलकिपर अञ्जनालाई जिल्लाउँदै गोल गरिन् । उनको जारी च्याम्पियनसिपमा यो तेस्रो गोल हो ।
    खेलको ४१ औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन् । यो सँगै पहिलो हाफ २–२ को बराबरीमा सकियो ।


    दोस्रो हाफमा म्यानमारले केही दवाब बनायो । खेलको ६३ औं मिनेटमा म्यानमारले अग्रता लिने मौका गुमायो । विन थेङ्गी तुनले हानेको फ्रि–किक प्रहारलाई गोल किपर अन्जनाले बचाईन । दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन् । खेल २–२ को बराबरीमा सकियो ।
    आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो । उनले एक एसिस्ट र एक गोल गरिन् । उनी प्लेयर अफ दि म्याच घोषित भए ।
    लिगको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपाल र म्यानमार दुवैको लागि आइतवारको खेल वाम अफ खेल जस्तै थियो । यस्तोमा दुवै टोलीले एक अर्का विरुद्ध रणनीतिक खेल खेलेका थिए ।


    म्यानमारले पहिलो प्लेइङ सेटमा ७ परिवर्तन गरेका थिए भने नेपालले तीन परिवर्तन गरेका थिए । नेपाली प्रशिक्षक राजेन्द्र तामाङले कप्तान तथा गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगर, स्ट्राइकर रेखा पौडेलको स्थानमा रश्मिकुमारी घिसिङ र विमला चौधरीको स्थानमा सरु लिम्बुलाई मैदानमा उतारेका थिए ।
    म्यानमार र नेपाल यसअघि दुई पटक एएफसी वुमन्स ओलम्पिक क्वालिफाईङमा खेलेको थियो । जहाँ नेपाल एक पटक म्यानमारसँग ३–१ ले हार्दा एक खेल १–१ को बराबरीमा सकिएको थियो ।
    नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनलमा पुगेका हुन् । यसअघि नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराएका थिए । फाइनल खेल बुधवार हुनेछ ।

     

  • प्रथम बज्रबाराही बुद्धिचालमा भक्तपुरको मेधा स्कुलकी यशस्वी प्रथम

    भक्तपुर, फागुन ११
    प्रथम बज्रबाराही अन्तर काठमाण्डौं उपत्यका बुद्धिचाल प्रतियोगितामा छात्रातर्फ मेधा सेकेण्डरी स्कुल, भक्तपुरकी यशस्वी शर्माले उपाधि जितेकी छिन । यशस्वीले ६.५ अंक जोडेर पहिलो भएकी हुन । उनले नगद ४ हजार, आकर्षक ट्रफि, गोल्डमेडल र प्रमाणपत्र प्राप्त गरिन ।
    गोदावरी नगरपालिकाको प्रायोजन र गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ मनकामना सेकेण्डरी स्कूलका प्रतिक सुवेदीले उपाधि जिते । उनले ७ चरणको खेलमा ६.५ अंक जोडेर उपाधि जितेको हो ।
    काठमाण्डौं उपत्यकाका ६० विद्यालयको सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि प्रतिकले नगद ४ हजार, आकर्षक ट्रफि, गोल्डमेडल र प्रमाणपत्र प्राप्त गरे ।
    कूल १२० जना विद्यार्थी सहभागी रहेको प्रतियोगितामा पुष्प सदनका हार्दिक पन्त ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोश्रो भए । एक्सेलसर स्कूलका श्रीजित श्रेष्ठ तेस्रो भए । समान ६ अंकका पेभेलियन चेस एकेडेमीका अग्रिम शैंजु चौथो, फ्लोसेण्ट स्कूलका जेसिक मैनाली पाँचौ स्थानमा रहे ।
    यस्तै पेभेलियन चेस एकेडेमीका ओस्कर पन्थी, त्रियोग हाइस्कूलका आभाष रिमाल, आदर्श सौल स्कूलका श्याम उज्वल महर्जन, हिमालयन चेस एकेडेमीका सात्विक मान तुलाधर र पेभेलियन चेसका सोशम श्रेष्ठ क्रमशः छैंटौ देखी दशौं स्थानमा रहे ।


    यसैगरी छात्रातर्फ ग्रीनहिल स्कूलकी एञ्जल महर्जनले ६ अंक जोडेर दोस्रो हुँदैं नगद २ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ ५.५ अंक बनाएर तेस्रो स्थान रहे । उनले नगद सहित काँस्य पदक हात पारिन ।
    प्रतियोगितामा मनकामना स्कूलकी प्रिसियस् अधिकारी, मनकामना सेकेण्डरीकी संस्कृति गजुरेलले समान ५ अंक प्राप्त गर्दै क्रमशः पाँचौ स्थानमा रहिन् । यस्तै श्री श्रृंगेरी उच्च माविकी इशा घिमिरे ४.५ अंक छैटौं, बालकुञ्जकी इन्शु ओलि, प्रेरणा विद्याश्रीकी अलिषा महर्जन,सिरियस स्कूलकी अनुजा घर्ती, प्रकृति राई दशौं स्थानमा रहिन्।
    गोदावरी नगरवाट बज्र एकेडेमीका बिभव जोशी प्रथम, लालीगुराँस स्कूलका विभिन गुरुङ दोस्रो र विराट जंग शाही तेस्रो भए । महिला तर्फ लालीगुराँसकी कामना थापामगर प्रथम, किटिनिकी नन्दलक्ष्मी खड्का दोस्रो र पेरिशा पहरी तेस्रो भए ।
    सो अवसरमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकाले खेल क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको बताउँदैं प्रतियोगितालाई अर्को वर्ष पनि निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरे ।
    विजयी खेलाडीहरुलाई नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य तथा प्रवक्ता राजु ताम्राकारले पुरस्कार वितरण गरे ।

     

  • भक्तपुरको नलिञ्चोकमा बस र दुई मोटरसाइकल ठाक्किँदा एक जनाको मृत्यु, दुई घाईते

    भक्तपुर, फागुन ९
    भक्तपुरको नलिञ्चोकमा बिहिवार राती एक यात्रु बहाक बस र दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा भएको सो दुर्घटनामा रामेछाप सुनापाति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो भने सूर्यविनायक नगरपालिका–९ काँक्राबारीका २४ वर्षीय साजन तामाङ र रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ घाईते भएका छन ।
    घाईते मध्ये तामाङको अवस्था गम्भिर रहेको छ । उनको थिमिस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । अर्का घाईते श्रेष्ठ उपचारपछि घर फर्किएका छन ।
    जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि जगातीबाट साँगातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।
    घाईते मध्ये बा ४४ प ७३४२ नम्बरको मोटरसाइकलमा सवार रामेछापको सुनापाती गाउँपालिका–४ घर भई हाल भक्तपुरको पाण्डुबजार बस्ने २१ वर्षीय तिम्बा दोर्जे तामाङको उपचारको क्रममा डा. इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको निधारमा गम्भीर चोट लागेको थियो ।

     

  • के वान युथ लिगमा एरिकालाई रजत

    भक्तपुर, फागुन ९
    करातेकी एरिका गुरुङले के वान युथ लिगमा रजत पदक जितेकी छिन् ।संयुक्त अरब इमिरेट्स (युएई)को दुवईमा जारी लिगमा एसियाली खेलकुदकी रजत पदक विजेता एरिकाले बिहिवार ६८ केजी माथिको तौल समूहमा रजत पदक जितेकी हुन ।
    सेमिफाइनलमा टर्कीकी खेलाडीलाई ५–२ ले हराउँदैं फाइनल प्रवेश गरेकी एरिका इरानी खेलाडीसँग ९–१ ले पराजित भई दोस्रो भएकी हुन । यसअघि उनले पहिलो खेलमा भारतीय खेलाडीलाई ८–० ले, क्वाटरफाइनलमा काजाकास्तानको खेलाडीलाई ४–१ ले पराजित गरेको नेपाली टोलीका अफिसियल सविना श्रेष्ठले जानकारी दिए ।
    एरिकाले एसियन च्याम्पियनसिपमा पनि रजत पदक जितिसकेकी छिन् । एसियाली खेलकुद र एसियन च्याम्पियनसिपमा रजत पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् । एरिकाको प्रशिक्षकमा अमिर राना छन् । फागुन ११ गतेसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।