थ्री नेसन्स कपको फाइनल खेल्ने टोलीको निर्णय अन्तिम खेलबाट हुने

भक्तपुर, चैत्र ११
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्ने दुई टोलीको निक्र्यौल यही मंगलवार हुने नेपाल र भुटानबीचको खेलले तय गर्नेभएको छ ।
प्रतियोगिताको शनिवार सम्पन्न खेलमा लाओसले भुटानलाई २–१ ले पराजित गरेपछि फाइनल प्रवेश गर्ने टोलीको निर्णय नेपाल र भुटानबीचको खेलबाट हुने भएको हो ।
तीन राष्ट्र सम्मिलित प्रतियोगिताको बुधवार सम्पन्न पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल र लाओसको ३÷३ अंक रहेको छ र गोल अन्तरको आधारमा नेपाल समूहको शिर्ष स्थानमा रहेको छ ।
चैत्र १४ गते समूहको अन्तिम खेलमा भुटानले नेपाललाई कम्तिमा २–० गोल अन्तरले पराजित गरे नेपाल र भुटानले फाइनल खेल्नेछ भने नेपालको जित वा बराबरीमा नेपाल र लाओस फाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको शनिवार सम्पन्न खेलमा बोन्पाचान बोन्कोंगको २ गोल मद्दतले लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरे । पहिलो हाप १–१ को बराबरीमा सकिएको खेलमा बोन्पाचाले खेलको ७१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अन्ततः त्यही गोल निर्णायक हुँदा लाओस विजयी भए ।
यसअघि पहिलो हापको तेस्रो मिनेटमा लाओसले अप्रत्याशित अग्रता लिएको थियो । बोन्पाचानले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको प्रहार भुटानका गोलरक्षक छिरिङ धोन्दुपले बचाउन सकेनन् ।
भुटानका स्टार फरवार्ड चेन्चो ग्याल्सेनले खेलको ३४ औं मिनेटमा अर्को उत्कृष्ट गोल निकाल्दै खेललाई बराबरीमा ल्याए । निमा वाङदीले मिडफिल्डबाट खेलेको लामो पासलाई चेन्चोले छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा फिनिस गरे । लाओसले डिफेन्सबाट खेलेको बल निमाले रोक्दै खेलेको लामो पासमा गोल सम्भव भएको थियो । पहिलो हापमा दुवै टोलीले थप केही आक्रमण बुने पनि गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।
दोस्रो हापको खेलमा केही सुस्तता आयो । दुवै टोलीले काउण्टर अट्याक्टमा जोड दिँदा खेलको रौनक केही घटेको थियो । दोस्रो हाफको ७१ औं मिनेटमा बोन्पाचानले लाओसलाई पुनः अग्रता दिलाए । कप्तान सुकाफोन भोङचेखामले दिएको लामो पासलाई उनले पेनाल्टी क्षेत्रको कुनाबाट सिधै गोल गरे । उनको हाफ भली गोलरक्षक छिरिङले बचाउने कुनै अवसर पाएनन् । ९० औं मिनेटमा तेन्जिङ दोर्जीको प्रहार पोस्टमा लाग्दा भुटान बराबरी गर्नबाट चुक्यो ।
प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *