काठमाण्डौं उपत्यकामा घोडाजात्रा गर्दै पाहाँ चह्रे पर्व मनाईंदैं

भक्तपुर, चैत्र ७
चैत्र कृष्ण पक्ष औंसीको अवसरमा आज काठमाण्डौं उपत्यकामा घोडाजात्रा गर्दै पाहाँ चह्रे पर्व मनाउँदैछन । यस पर्व काठमाण्डौंमा विभिन्न देवी देवताको जात्रा गरी मनाईने परम्परा रहेको छ । साथै टुडिखेलमा घोडा कुदाएर घोडा जात्रा गर्ने गरिन्छ ।
परापुर्वकालमा काठमाण्डौं उपत्यकामा भुतप्रेत, पिचाशहरुले बालबालिकाहरुलाई दुःख दिन थालेपछि त्यस्ता भुतप्रेत भगाउन यो पर्व मनाउन थालिएको किम्वदन्ती पाईन्छ । किम्वदन्ती अनुसार यो पर्व परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइएको हो । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ ।
जात्राको अघिल्लो दिन चतुदर्शीको राती टुडिखेलस्थित गुरुमापा राक्षसको बासस्थान रहेको स्थानमा भातको भोग चढाउने गरिन्छ । यसका लागि एक मुरी चामलको भात पकाएर खुवाउने प्रचलन रहेको छ ।
यसपर्वको मूल नाम पाहाँ चह्रे भएपनि घोडा कुदाएर जात्रा गर्न थालेपछि यसलाई घोडेजात्रा भन्न थालिएको सँस्कृतिकर्मीहरुको भनाई रहेको छ । यसदिन काठमाण्डौँको टुँडिखेलमा घोडचढी प्रतिस्पर्धा गराईन्छ । कुनै बेला एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको टुँडिखेलमा आयोजना गरिने घोडा जात्रा हेर्न उपत्यका र वरपरका काठ क्षेत्रबाट समेत सर्वसाधारण आउने गर्दथे । घोडेजात्रा हेर्न राष्ट्रपति, प्रधानमन्त्रीसहित देशका उच्च पदस्थ कर्मचारी, विदेशी कुटनीतिक नियोगका अधिकारीहरुसमेत टुँडिखेल पुग्ने गर्दछन ।
पाटनमा एकल घोडेजात्रा
उपत्यकाकै पाटन (ललितपुर)मा भने एकल घोडेजात्रा गरिन्छ । पाटनको बालकुमारीमा हुने पाटनको ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले यो जात्रा सम्पन्न गर्दै आएको छ । यो एकल घोडेजात्रालाई कतै अन्धो घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाईन्छ ।

यो एकल घोडेजात्रा गर्नेक्रममा सबैभन्दा पहिला पाहाँच¥हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगो बलि दिइन्छ । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्टी जलाईन्छ । यसरी बलि दिई पूजा गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति दाफा भजनमा गाईन्छ ।
यसै दिन पाँच पाण्डवलाई पूजा गरी समय्बजि खुवाइन्छ । भोलिपल्ट दिउँसो दुई बजे यही भीमसेनस्थानमा नेपाली सेनाले एउटा घोडा ल्याइपु¥याउने गरेको छ । त्यसपछि भीमसेन गुठीका सम्पूर्ण गुठियारले त्यस स्थानदेखि स्वागत गरी घोडालाई ललितपुरको ओल्खु चिबहाःको ताहाफल्चामा ल्याइन्छ । यस गुठीका थकालीले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहि¥याइ, टीका पूजा गरिन्छ ।
त्यस स्थानदेखि यो एकल घोडेजात्रा सुरु हुन्छ । गुठी संस्थानले नै बन्दोबस्त गरिने लाय्कु बाजाबाट शुभारम्भ हुने यो जात्रा विधिवत् रूपमा पाटनको मूलचोकबाट सुरु भई ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै फर्किन्छ ।
नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने चलन छ । जात्राको पछि–पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छत्र ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ । परिक्रमापछि घोडा चढ्ने व्यक्तिलाई बालकुमारी मन्दिरको दायाँ राखी पान, सुपारी दिएर बिदावारी गरी जात्रा समापन गरिन्छ ।
त्यसपछि सम्पूर्ण गुठियार त्यहाँदेखि पाहाँच¥हेमा गाइने धातु लयमा गीत गाएर भीमसेन मन्दिरमा फर्किने चलन छ ।

जात्राको भोलिपल्ट सीकाःभ्वय् गर्ने भनी ५१ गुठियार बसी भोज खाइन्छ । भीमसेन देवताको पछाडिपट्टकिो गुठीको घरमा तीन दिनसम्म गरिने यो भोजमा गुठियारबाहेक घरको परिवारलाई समेत राखिँदैन । पाहाँच¥हेको दिनमा भीमसेन मन्दिरमा बलि दिएको राँगोको अगाडिको भाग भीमसेनको भाग भनी त्यस दिन खाइन्छ । बलिको टाउकोको भाग सीकाःभ्वय् खाने भनी जात्राको भोलिपल्ट सम्पूर्ण गुठियारले सी लिएर भोज खाइन्छ । एउटा अचम्मको कुरा के भने तीन–चार दिनसम्म खाने भोजमा नुन, तेलबाहेक अरू कुनै पनि मरमसला राख्न मनाही छ ।
यो जात्रा कसरी मनाइयो भन्नेबारे एउटा किंवदन्ती छ । सिमसिम राजाको एउटा घोडाको सुसारे यही ओल्खुटोलमा बस्ने ज्यापु थियो । एक दिन राजा सँधैजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापु थाकेर आराम लिइरहेको रहेछ । तर, राजाले त्यो सुतिरहेको ज्यापुसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देख्दा केही नभनी हिँडेरै राजदरबार फर्किए ।
यता ज्यापु झसङ्ग भई निद्राबाट ब्युँझदा राजा आएर पनि फर्किसकेको थाहा पायो । डरले ज्यापु घोडा लिई राजदरबार गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्न लाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी भगवानको अवतारलाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए ।
त्यसपछि राजाले उसलाई त्यही घोडा चढाई फूलमाला पहि¥याई नगर परिक्रमा गराए । यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औंशीको दिन यो जात्रा मनाउने चलन रहेको हो । नेवारहरूको संस्कृतिबारे ऐतिहासिक अध्ययन गर्दै आएका संस्कृतिविदका अनुसार ‘सिमसिम राजा भनेको शिवसिंह देव हो । पाटनको तिभय राजाको नामबाट प्रख्यात नरसिंह, पुरन्दसिंह र उद्धव सिंहलाई विजय गरी ने.सं. ७४२ मा यी राजाले ‘माणिग्लाधिपति’ उपाधि प्रदान गरेका हुन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *