मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरु, ३२ विद्यालयका ७८० खेलाडी सहभागी

भक्तपुर, माघ २२
मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतवारदेखी शुरु भएको छ । प्रतियोगितामा नगरका ३२ विद्यालयका ७८० जना छात्रछात्राको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिबल छात्र÷छात्रा, कब्बडी छात्र÷छात्रा, एथलेटिक्सतर्फ १५०० मिटर दौड छात्र÷छात्रा, ३००० मिटर दौड छात्र÷छात्रा, त्रिपलजम्प छात्र÷छात्रा, सटपुट छात्र÷छात्रा, हाइजम्प छात्र÷छात्रा, लम्पजम्प छात्र÷छात्रा, ज्याभलिन थ्रो छात्र÷छात्रा, रिले दौड ४ गुणा ४०० मिटर छात्र÷छात्रा, ४ गुणा १०० मिटर दौड छात्र÷छात्रा, ८०० मिटर दौड छात्र÷छात्रा र मार्सल आर्टतर्फ कराँते, उसु र जिम्न्यास्टिकमा प्रतिष्पर्धा हुनेछ ।


प्रतियोगितामा पदक संख्याका आधारमा विजेता विद्यालयको छनोट हुने नगरपालिकाले जनाएको छ । विजेता विद्यालयलाई आकर्षक शिल्ड प्रदान गरिनेछ । त्यसैगरी प्रत्येक खेल र खेलका विभिन्न स्पर्धामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका खेलहरु एसओएस हर्मन ग्रामर सेकेन्डरी, बोडे मावि, सानो थिमिस्थित मध्यपुर खेल मैदान, निलबाराही बैंक्वेटमा हुनेछ ।


प्रतियोगितामा आस्था महिला विद्यालय, आयाम मन्टेश्वरी, एक्टिभ इङ्गलिस स्कुल, आदर्श जनप्रेमी इङ्गलिस सेकेन्डरी स्कुल, आदर्श मावि सानोथिमि, आदर्श मावि लाय्कु थिमि, भक्तपुर इङ्गलिस सेकेन्डरी स्कुल, बोडे मावि, चाणक्य सेकेण्डरी स्कुल, ग्लाडस्टोन एकेडेमी, क्रियटिभ लर्नर्स एकेडेमी, एभरेष्ट पब्लिक एकेडेमी, गणेश सेकेन्डरी स्कुल, ग्लोरी इङ्गलिस स्कुल, हिमचुली एकेडेमी, कौशलटार इङ्गलिस बोर्डिङ स्कुल, माउण्ड सिनाई इङ्गलिस बोर्डिङ स्कुल, नौलो ज्योती इङ्गलिस बोर्डिङ स्कुलको सहभागिता रहेको छ ।


यसैगरी नवरत्न इङ्गलिस सेकेन्डरी स्कुल, नर्थ प्वाईन्ट इङ्गलिस बोर्डिङ स्कुल, साहारा राष्ट्रिय विद्यालय, सरस्वती आधारभुत विद्यालय, सिवर्ड इन्टरनेसनल सेकेन्डरी स्कुल, श्री बालप्रेमी सेकेन्डरी स्कुल, श्री जनक सिद्धिकाली सेकेन्डरी स्कुल, स्मल किड्स एकेडेमी, एसओएस हर्मन ग्रामर सेकेन्डरी स्कुल, सुप्रिम एकेडेमी, युनिक नेपाल एकेडेमी, विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल, वेलफेयर एकेडेमी र जेनिथ एकेडेमीले पनि भाग लिएका छन ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं विद्यालयस्तरबाटै खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुरुवात गरेको बताउनुभयो ।


उहाँले नगरपालिकाले खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको जानकारी दिँदैं नगर खेलकुद विकास समिति गठन गरी खेल क्षेत्रलाई थप व्यस्थित गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले खेलकुदमा पोख्त विद्यार्थी पढाईमा पनि पोख्त हुने उल्लेख गर्दै खेलले मानिसलाई अनुशासित बनाउने र राष्ट्र प्रति जिम्मेवार नागरिक उत्पादन गर्ने बताउनुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले पहिलो पटक आयोजना गरिएको मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालय र विद्यार्थीहरुको सहभागी संख्याले नगरपालिकालाई हौसला प्रदान गरेको बताउनुभयो ।
उहाँले भविष्य उत्कृष्ट खेलाडी र कर्णधार भनेका आजका बालबालिका भएकाले उनीहरु भित्र रहेको प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिताहरु नगरपालिकाले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
खेलकुदले बौद्धिक र सक्षम नागरिक तयार गर्ने चर्चा गर्दै उहाँले खेलकुद मार्फत मध्यपुर थिमिको पहिचान स्थापित गराउने नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।


कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको शुरुवात गरेर खेलक्षेत्रमा ठूलो योगदान दिएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताको तयारी छोटो समयमा भएकाले केही प्राविधिक समस्या देखिएपनि सहभागी विद्यार्थी र विद्यालयको संख्याले प्रतियोगिता भव्य रुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक समितिका सदस्य एवम् वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले आगामी दिनमा थप व्यस्थित र परिष्कृत गर्दै प्रतियोगिता सञ्चालन गर्दै जाने बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *