सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदैं सकिमना पुन्ही अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाएका छन ।
सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरुले विशेष पर्वको रुपमा मनाईन्छ । आजको दिन गत कोजाग्रत पूर्णिमाको दिन शुरु गरेको एक महिने रात्रीकालिन भजन किर्तनलाई समापन गर्ने दिनको रुपमा पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय)बाट भगवानका आकृति बनाउने र त्यसैलाई प्रसादको रुपमा बाँडेर खाने प्रचलन रहेको छ ।
यसदिन नेवार समुदायमा आ–आफ्नो टोल टोलमा रहेका दाफा भजन खलःले नसाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवानको आकृति बनाउँछ । आकृति बनाउँदा गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानको स्वरुप बनाउँछ । त्यसलाई चारैतिर भुटेको मकैले घेरा बनाउँछ । त्यसमाथि पुरी र माल्पुवाले घेरेर फुलको मालाले श्रृगार पटार गरी दक्षिणा चढाई दियो बालेर भजन किर्तन गाउने गर्छ ।
कोजाग्रत पुर्णिमाको दिनदेखि दैनिक रुपमा हुने भजन किर्तन समापन हुने भएकोले नेवार समुदायमा प्रत्येक घरमा एक एक जना ब्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पुजा चढाउँछन् । पुजामा माल्पुवा, पुरी, नसा, गाईको दुधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खर खण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायण देवतालाई प्रसादको रुपमा चढाउँछन् । यसरी पुजा चढाउँदा प्रसादका रुपमा मन्दिरबाट नसाः लिएर आउने गर्छ । साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुल्सीलाई गाईको दुध अध्र्य दिई विधिवत रुपमा पुजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ । मन्दिरबाट ल्याएको प्रसाद स्वरुप नसा राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, माल्पुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा रहको छ ।
ऋतु अनुसारको भोजन भगवानलाई चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । पुन्हीको दिन विषेशगरी नारायणको पुजाआराधना गरिने हुनाले नेपाल सम्वतको बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायण, लगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तीका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
वर्षभरीको बाह्रवटा महिनाको प्रत्येक पुन्हीमा भगवानलाई फरक फरक भोजन प्रसादको रुपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृति अनुसार कार्तिक शुक्ल पुन्हीको दिन कण्डमुल, खिर र नसाःलाई प्रसादको रुपमा भगवानलाई चढाइने संस्कृतिकर्मीहरु बताउँछन् ।
नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन पिँडालु, सख्खर खण्ड, नसाः लगायतका भोजन प्रसादको रुपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । यसले शरिरमा ताकत दिनुका साथै शरिर स्वस्थ्थ हुने जनविश्वास रहेको उहाँको कथन छ ।
अन्नपातबाट बनाएको भगवानको आकृतिबाटै मठमन्दिर तथा भगवानको मुर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । पुरोहित राजोपाध्ययका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कण्डमुललाई सबै भन्दा पहिलो भोजनको रुपमा ग्रहण गरेका थिए । त्यसपछि अन्नपात उब्जनी गर्न थाल्यो । त्यतीबेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवानको मठमन्दिरको विकास भएको थिएन । उहाँले भन्नुभयो, “पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवानको आकृति कोरेपछि बिस्तारै यसको विकसित रुप विभिन्न मठमन्दिरहरुको निर्माण हुन थाल्योे । त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाःमा भगवानको आकृति बनाएर त्यसलाई पुजा गरी कण्डमुललाई प्रसादका रुपमा चढाएर खाने प्रचलन थालेको हो ।”
नेवार समुदायमा नसालाई सकिमना पुन्हीको दिनमा मात्र नभई गणेश चतुर्थीका दिनमा पनि प्रसादको रुपमा चढाई विधिवत रुपमा पुजा गर्ने परम्परा रहेको छ । साथै गुफा राख्दा गुफा बसेका बालिकाहरुलाई सुर्यसँग विवाह गर्ने क्रममा पनि प्रसाद स्वरुप नसाः खुवाउन जाने परम्परा रहेको छ । त्यसैगरी नेवार समुदायको जन्म दिनको अवसरमा पनि भुटेको मकै, गहुँ, भटमास लगायतको समिश्रण नसाः दान गर्ने प्रचलन रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *