झुटा फेसबुक पेज तथा ग्रुप तत्काल हटाउन आयोगको निर्देशन

भक्तपुर, कार्तिक ८
निर्वाचन आयोगले फेसबुक पेज÷ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता फेसबुक पेज÷ग्रुपहरू तत्काल नहटाइए प्रचलित कानुनबमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
‘मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार तथा दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेन समेतका फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य ÷ श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आयोगले झुटा फेसबुक पेज÷ग्रुपहरू सिर्जना गरी नेताहरुविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर गरेको छ ।
आयोगले उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा त्यस्ता झुठा फेसबुक पेज÷ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत समेत गराएको छ । आयोगले त्यस्ता फेसबुक पेज÷ग्रुपहरू तत्काल नहटाइए प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *