पार्टीको सम्पूर्ण एकता नै आफ्नो विश्वास र अडान – गोकर्ण बिष्ट

भक्तपुर, जेठ २०

एमाले नेता गोकर्ण विष्टले पार्टीको सम्पूर्ण एकता नै आफ्नो विश्वास र अडान भएको बताउनुभएको छ । उहाँले बिहिवार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका पक्षमा निरन्तर लागिरहने बताउनुभएको हो ।
‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो’, विष्टले भन्नुभयो, ‘ हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

विष्टले नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गर्दै एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि झुठा प्रचार गराउँदैछन् ? भन्दै प्रश्न समेत गर्नुभएको छ ।
विष्टसहित सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई ओली समुहका नेताहरुसँग निरन्तर संवादमा छन् । विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका खबर आएका थिए । यसबारे प्रष्टाउन विष्टले बिहीबार फेसवुकमा आफ्ना धारणा राख्नुभएको हो ।

यस्तो छ बिष्टको भनाई

नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् ।

एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।

पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *