फुटाउँलान् ओलीले माधव नेपाल समुह ?

रामकृष्ण अधिकारी

जेठ २ मा पार्टी फर्काउन तयार ओलीको नेपाल पक्षका नेतासँग एउटै शर्त छ-अदालतमा वुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने 

काठमाडौं  झण्डै २७ वर्ष आफैले हाँकेको पार्टी एमालेसँगको साइनो सम्वन्ध तोडदै छुट्टिन ‘तम्तयार’ देखिएका झलनाथ खनाल र माधव नेपाल समुहभित्रै प्रधानमन्त्री केपी ओलीले विभाजन प्रयास थालेका छन् । पार्टी स्थायी कमिटिबाट नेपाल, खनाल सहित ११ विघटित संसदका सांसदलाई निश्कासन गरेका ओलीले नेपाल समुहका प्रभावशाली चार नेतालाई मूल घरमै अल्झाउने अस्त्र फ्याँकेका छन् ।

नेपाल समुहमा रहेका चार नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टको मनोविज्ञान वुझेरै ओलीले नेपालसमुहभित्र खेल्न थालेका हुन् । चार नेतालाई नेपाल समुहबाट अलग्याउन सके अन्य युवा पुस्ताका नेता-कार्यकर्तालाई पनि नेपाल समुहबाट छुट्टयाउन सकिने वुझाईमा ओली छन् ।

त्यसका लागि नेपाल समुहका एक-एक नेतालाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सघन छलफल जारी राखेका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका थप १२ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेका ओलीले हप्तादिन पुग्दा पनि कारवाही प्रक्रिया अगाडी नबढाई नेपाल समुह फोर्ने रणनीति अगाडी बढाएका हुन् ।
तीन दिन अगाडी मात्रै ओलीले नेपाल समुहका नेता भीम् आचार्यलाई बालुवाटार बोलाएर झण्डै चार घण्टा कुरा गरेर फर्काए । सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीलाई परिचालन गरेर नेपाल पक्षका नेताहरु पाण्डे, भुषाल, भट्टराई र विष्टलाई ‘इन्गेज’ गराईराखे ।

एमालेभित्रै स्पेस खोजिरहेका भुषाल वाहेकका नेतासँग त ओली पक्षका नेताहरुले भित्रीरुपमा अनेकौ पटक वार्ता गरेका थिए । भुषालसहित पनि दुई पटक ओली पक्षका नेताले सम्वाद गरेर पार्टीभित्रको एकता जोगाउने , नेपाल र खनाललाई कमजोर बनाउने रणनीति अवलम्वन गरिरहेका छन् ।

ओलीले नेपाल पक्षका चार नेता सामु २०७६ जेठ २ मा पार्टी फर्काउन र त्यसका लागि नीतिगत बक्तब्य दिन आफु तयार रहेको प्रष्टाईसकेका छन् । तर त्यसका लागि उनले नेपाल पक्षका नेतासँग शर्त राखेका छन्,-सर्वाेच्च अदालतमा शेरवहादुर देउवाको पक्षमा लागेर गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने र विगत गतिविधिप्रति आत्मआलोचित हुनुपर्ने ।’ ‘योगेशहरु यसका लागि तयार भईसक्नुभएको छ,’ ओली पक्षका एक स्थायी समिति सदस्यले मेरोन्यूज सँगको कुराकानीका क्रममा भने,–‘यसको परिणाम अव छिट्टै देखिन्छ ।’

संसद पूर्नस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गदै सर्वाेच्चमा हस्ताक्षर बुझाउन योगेश गएका थिएनन । त्यसमा गोकर्ण विष्टको पनि हस्ताक्षर छैन । घनश्याम र सुरेन्द्रको मात्र त्यहाँ हस्ताक्षर छ । ‘सुरेन्द्रले वारेसनामामार्फत गराउनुभएको हो, उहाँ फिर्ता लिन तयार हुनुहुन्छ, घनश्यामसग भने अझै यसमा छलफल जारी छ,’ ओली निकटका ति नेताले भने ।

नेपाल समुहका यी प्रभावशाली चार नेतालाई अलग्याउन सके उनीहरुसँग निकट रहेका गणेश पहाडी, दीपकप्रकाश भट्ट, नारायण खतिवडा लगायतका नेताहरु पनि नेपाललाई छोडेर एमालेमै रहने आकलन ओली पक्षले गरेको छ । यो समुहमा यज्ञराज सुनुवार स्पष्ट भई नसकेपनि उनी पनि आउन सक्ने सम्भावना ओली पक्षले गरेको छ ।

यस्तो अवस्थामा नेपाल समुहमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुषाल लगायतका नेताहरु मात्र देखिने छन् । भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपनि नेपाल समुहमा हुनेछन् । पार्टी विभाजित हुँदा नेपाल समुहलाई यसरी विभाजन गर्न सकिए फिल्डमै अलिक पकड भएका रावल वाहेक अन्य नेताहरु नरहेको निश्कर्ष सहित ओली समुह नेपाल समुह विभाजित गर्ने कसरथमा जुटेको हो ।

युवा पुस्तामा राजेन्द्र राई र जगन्नाथ खतिवडा मात्र नेपाललाई साथ दिन कम्मर कसेका देखिन्छन् । ठकुर गैरे एकताका लागि नै पहल गरिरहेका छन । रामकुमारी झाँकी पनि योगेश, घनश्यामहरु एमालेभित्रै मिल्न प्रयास गरेपछि अहिले वीचवीचमा देखिन खोजेकी छिन् । कतिपय नेतालाई ओली आफैले बालुवाटार बोलाएर छलफल गरिरहेका छन् । भीम आचार्य, विरोध खतिवडालगायतसँग ओली आफैले छलफल गरिरहेको बालुवाटार स्रोतको भनाई छ ।

ओलीले कथंकदाचित अदालतबाट संसद पूर्नस्थापना भयो भनेपनि निर्वाचित सांसद आफनो पक्षमा पार्ने र समानुपातिक लाई फेर्ने गरी योजना बनाएको देखिन्छ । त्यसो गर्दा फेरि पनि सरकार गठनको कोसिस हुँदा आफ्नै पल्लाभारी बनाउने गरी ओली अगाडी बढेका देखिन्छन् ।

अहिले नेपाल समुहमा रहेका जिल्ला तहका करिव ६० देखि ७० प्रतिशत नेताहरु पार्टी फोडेरै भएपनि ओलीलाई ‘सवक’ सिकाउनु पर्ने बताईरहेका छन् । तर विभाजनकै घडीमा पुग्दा र ओलीले नेपाल समुहभित्रका योगेश, सुरेन्द्रहरुलाई मिलाउँदा त्यो समिकरणमा फेरवदल गर्नेगरी खेल्न सकिनेमा ओली समुह देखिएको छ । सोही कारण पनि नेपाल समुह पार्टीभित्रै टास्सिएर अव धेरै नखेलिरहुन् भन्ने ओलीले ठानेको देखिन्छ ।

उनी माधव नेपालले पार्टी फोड्ने नै भएपनि छिटो फोडिदिएर जाउन भन्ने पक्षमा उभिईसकेका छन् । त्यहीकारण पनि उनले एक सार्वजनिक कार्यक्रममै माधव नेपालसँगको सम्वन्ध अव ‘पास्ट टेन्स’ भईसकेको बताएका थिए । अव नेपाल, झलनाथ खनाल र भीम रावल एमालेमा नरहने सम्मको निश्कर्षमा ओली पुगिसकेका छन् । त्यसो हुँदा ओलीले नेपालले पार्टी फोडेमा त्यही समयमा एमाले २०७५ जेष्ठ २ मा पुगेको सन्देश दिने गरेर वक्तब्य दिने तयारी सम्म गरेका छन् ।

खासगरी नेपाललाई ‘घर न घाट’को बनाउने योजना ओलीको देखिन्छ । ओलीले आफु निकट नेताहरुसँग भन्ने गरेका पनि छन्,– एमाले छोड्दा सिपि मैनालीको जुन हाल अहिले भएको छ, माधव नेपालको हालत पनि हुने त्यही हो । माधव नेपाल हुने सिपि मैनाली नै हो ।’

नेपाल समुहले अडान लिईरहेकै जेष्ठ २ मा पार्टी फर्किएको नीतिगत वक्तब्य दिन, साविक एमालेको स्थायी कमिटि बैठक बोलाउन ओली तयार भईसकेका छन् ।

‘साविक कमिटि ब्यूँताउने विषयमा ओली धेरै नजिक पुगेका छन् । तल्लो कमिटिमा उनले सिनियरलाई माथील्लो पदमा र जुनियरलाई तल्लो पदमा राखेर जाने भन्ने कुरा बोलिरहेका छन्,’ एकता प्रयासमा लागेका नेपाल समुहमा रहेका एक नेता भन्छन्,–‘कमिटि ब्यूताएपनि जस्ताको तस्तै ब्यूताउने या अलिक सिनयिरलाई मुख्य जिम्मेवारी दिएर थोरै तलमाथी गर्ने भन्ने मात्र नमिलेको हो, सायद अव छलफलका क्रममा त्यो विषय पनि फिनिसिङ भईसकेको होला ।’

यदि नेपाल समुहका दोस्रो तहका यी नेताहरुले ओलीसग सहमति जनाए भने नेपाल समुह विभाजित हुनेछ । विभाजित हुदा झण्डै ५०/५० प्रतिशतकै रुपमा नेपाल समुहमा विभाजन आउन सक्ने नेपाल समुहकै एक नेता बताउँछन् । नेता नेपाल भने अहिले जेठ २ मा फर्किने भने पनि ओलीले चालवाजी मात्र गरेकोले अव नयाँ क्रान्तिकारी पार्टी निर्माण गरेरै जानुपर्नै निश्कर्षमा पुगिसकेका देखिन्छन् । यसले एमालेमा पनि नेपाल समुहभित्र विभाजनको रेखा कोरिने सम्भावना वढेर गएको देखिन्छ ।

ओलीसँग सहमति भएमा नेपाल पक्ष छोडेर आउन चाहने योगेश, सुरेन्द्रहरुले आफु पक्षका नेता–कार्यकर्ताको राष्ट्रिय भेला जस्तो गरेर पार्टी जेठ २ मै फर्काउदासम्म नेपाल र खनालले नमानेको आरोप लगाएर ओलीमा समाहित हुने गरी भित्री योजना बनाएको वुझिएको छ ।

नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग सघन छलफल बढाएको ओली पक्षले अझै स्थायी समितिको बैठक रोकेर नेपाल पक्षका नेतासँग थप छलफल गर्न चाहिरहेको छ । वुधबार साँझ बोलाईएको स्थायी समिति अव विहिवार साँझलाई सारिएको छ । ‘नेपाल पक्षका साथीहरुसँग अझै छलफल जारी छ, निश्कर्ष निस्कन केही ढिलाढाली भएकोले स्थायी समिति एक दिन पछि सार्ने निर्णय भएको हो,’ ओली पक्षका नेताहरु बताउँछन् ।

नेपाल समुह फोर्ने योजनामा ओली कति सफल हुन्छन् ? त्यो आज-भोलिमै छिनोफानो लाग्ने देखिएको छ ।

साभारः मेरो न्यूज डटकम

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *