भक्तपुरमा पनि देखियो हैजा

भक्तपुर, असार २२
भक्तपुरमा पनि हैजाको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–४ दुवाकोटमा संक्रमित भेटिएको हो ।
भक्तपुरसँगै हेटौंडामा पनि हैजा देखिएको छ । दुवाकोटका संक्रमितको सरुवा रोग अस्पताल टेकु र हेटौंडाका संक्रमितको काठमाण्डौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय हैजा संक्रमितको संख्या २१ पुगेको महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले जानकारी दिनुभयो ।
गर्मी र वर्षायाममा दुषित पानी र खानाका कारण झाडापखाला, हैजा जस्ता सरुवा रोगको संक्रमण देखा पर्छ । पछिल्लो समयमा उपत्यकाका बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।
उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने पानीका साथे जारको पानीमा समेत हैजाका जिवाणु ईकोलाई र कोलिफर्म भेटिएका छन । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाको संक्रमण बढ्न थालेको सतर्कता अपनाउन अनुरोध गरेको छ । हैजाबाट बच्न विशेषगरी बासी सडेगलेका, खुल्ला र झिंगा भन्किएका खानेकुरा नखाने, निर्मलीकरण र शुद्धिकरण गरिएको पानी मात्र पिउने बानी बसाल्नु पर्छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।
चिकित्सकका अनुसार झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक पिउने, प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकरा थोरै–थोरै गरी खाने, स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङक चक्कीको मात्रा नविराइकन खाने, व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानुपर्छ ।
त्यसैगरी खान, पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्यादै तिर्खाएमा, ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
झाडापखलाबाट बच्न दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने बासी, सडेगलेको, किरा भन्केको खानेकुरा नखाने चिकित्सकहरुको सुझाव छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *