भक्तपुरका ५३८ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

भक्तपुर, असार २१
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चार वटा स्थानीय तहमा उम्मेदबार बनेका मध्ये ५ सय ३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएको छ । गत स्थानीय निर्वाचनमा भक्तपुरमा कुल ९२८ जना उम्मेदवार बनेका थिए । ती मध्ये ५३८ जनाले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तहमा उम्मेदवार बनेका प्रत्येकले निर्वाचन सम्पन्न भएको ३० दिन भित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था छ ।
सो व्यवस्था अनुसार भक्तपुरमा अझै ३९० जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले असार मसान्तसम्ममा बाँकी उम्मेदवारले पनि खर्च विवरण बुझाउने बताउनुभयो ।
उहाँले विवरण बुझाउनेहरुको विवरण रुजु गर्न बाँकी रहेकोले कुन दल, कुन स्थानीय तहका उम्मेदवार र निर्वाचित वा पराजित क–कसले खर्च विवरण बुझाएको हो एकिन गर्न बाँकी रहेको बताउनुभयो । “समय अभावका कारणले खर्च विवरण बुझाउनेहरुको पार्टी, नगरपालिका र वडा केही छुट्याउन सकिएको छैन,” उहाँले भन्नुभयो, “आएको जति सबैको अहिले दर्ता मात्र छ, अरु केही खुलाएको छैन ।” उहाँले असार मसान्तसम्म पनि विवरण नबुझाउनेहरुलाई निर्वाचन सम्बन्धी ऐन अनुसार कारवाही गरिने जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *