तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र : सभापति देउवा

भक्तपुर, जेठ १९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमा व्यापार घाटा कम गर्ने नाममा चुरेभावर क्षेत्रको नदिजन्य वस्तु निकासी गर्ने योजना ल्याएर तराई मधेशलाई मरुभुमि बनाउने गम्भिर षडयन्त्र गरेको आरोप लगाउनुभएको छ । सभापति देउवाले बुधवार विज्ञप्ती जारी गर्दै चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै हुने चेतावनी समेत दिनुभएको छ ।
विगतमा चुरे क्षेत्रबाट ढुंगागिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भूक्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको उल्लेख गर्दै सभापति देउवाले विज्ञप्तीमा विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन, प्रकृतिविरुद्ध अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र भएको उल्लेख गर्नुभएको छ ।
देउवाले ढुंगागिटी, बालुवा निकासी गर्नेगरी सरकारले हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी समेत दिनुभएको छ । ‘ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको निति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो,’ देउवाले विज्ञप्तीमा भन्नुभएको छ, ‘निश्चयनै देशले बर्सौंदेखि ब्यापार घाटा ब्यहोरिरहेको छ, तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन ।’
अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नितिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको देउवाले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको स्मरण समेत देउवाले गराउनुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *