प्रजातान्त्रिक आन्दोलनका वीर विरंगनाहरुको जीवनी समावेश कायष्थको प्रकाशोन्मुख कृति ‘वीरग्रन्थ’

भक्तपुर, फागुन १०
वरिष्ठ साहित्यकार, लेखक एवम् राजनीतिज्ञ तिलकप्रकाश कायष्थको नयाँ पुस्तक ‘विरग्रन्थ’ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । सुवर्ण स्मृति परिषदले प्रकाशनमा ल्याउन लागेको यो पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका ६० जना शहिद तथा वीर विरंगनाहरुको जीवनी समावेश गरिएको छ ।
पुस्तका नेपालका प्रथम शहिद लखन थापादेखी वि. सं. १९९७ साल, २००७ सालहुँदैं २०४६ सालको आन्दोलनका शहिद तथा वीर विरंगनाहरुले शारीरिक एवम् मानसिक दुःख कष्ट के कति भोगे ती घटनाक्रम उल्लेख रहेको लेखक कायष्थले बताउनुभयो ।
“नेपालको मौलिक अधिकारयुक्त स्वतन्त्रता प्राप्तिको दौरान शहादत प्राप्त गरेका शहिद, तानाशाहहरुको जेलमा अति पिटाईबाट जेलमै मृत्यु वरण गरेका र जेलबाट छुटेपछि घर पुगेर केही समयमा मृत्यु भएका र जीवनभर प्रजातान्त्रिक अधिकारका लागि लडेका वीर विरंगनाहरुका घटनाक्रम उल्लेख छ,” लेखक कायष्थले भन्नुभयो ।
वीरग्रन्थ तयार गर्न चार वर्ष लागेको लेखक कायष्थले बताउनुभयो । पुस्तक तयार गर्न अनगिन्ती पुस्तक, पत्रपत्रिकाको अध्ययन गरेको बताउँदैं पुस्तकमा उल्लेखित कुनै पनि घटना कपोल्कल्पित नभएको उहाँले दावी गर्नुभयो ।
वीरग्रन्थ यही फागुन १७ गते विमोचन हुँदैछ । लेखक कायष्थको यो १४ औं कृति हो । लेखकको प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ७ गते मात्र ‘झुक्न नजानेका राष्ट्रवादी नेता बी.पी कोइराला’ सार्वजनिक भएको थियो ।
यसअघि कायष्थको नेपाल भाषाका ‘योमरी’ (उक्ति संग्रह), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘नुगः जः’ (निबन्ध संग्रह), ‘वयागु हाथ्या’ (कथा संग्रह), ‘ख्वबि झसुका’ (शोक काव्य), ‘उत्सर्ग’ (कविता संग्रह), ‘कमला’ (कथा संग्रह) प्रकाशन भइसकेको छ भने जीवन दर्शन प्रकाशोन्मुख छ ।
यस्तै नेपाली भाषाका ‘परिवार नियोजन के, किन, कसरी’ (लेख संग्रह), ‘यौन ज्ञान मनोविज्ञान’ (लेख संग्रह), ‘शारदा’ (शोक काव्य), ‘लक्ष्मण रेखा’( निबन्ध संग्रह) प्रकाशन भएका छन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *