कांग्रेसको १४ औं महाधिवेशन मंसिर भित्र सम्पन्न गर्नुको विकल्प छैन – नेता घिमिरे

भक्तपुर, कार्तिक १३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरुको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ५ इकाई समितिले शनिवार चक्रपाणी चोक कटुञ्जेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता घिमिरेले कांग्रेसको १४ औं महाधिवेशन मंसिर भित्र सम्पन्न गर्नुको विकल्प नभएको बताउँदैं त्यसका लागि सबै नेता कार्यकर्ता एकजुट भएर लाग्र्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसको महाधिवेशन मंसिर भित्र सम्पन्न गर्नुको विकल्प छैन । निर्धारित मिति सारेर कांग्रेसलाई अब जाने ठाउँ छैन । कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सम्पूर्ण ताकत, मेहनत र परिश्रम महाधिवेशनमा केन्द्रीत गरौं ।’ नेता घिमिरेले कांग्रेसको १४ औं महाधिवेशन हालै निर्धारित मितिमा हुनेमा कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह समेत गर्नुभयो ।
उहाँले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र कांग्रेस बलियो हुन महाधिवेशनलाई सफल बनाउनुपर्ने बताउनुभयो । ‘महाधिवेशन पार्टीको लागि सबैभन्दा ठूलो पर्व हो । यसले पार्टीलाई सुव्यवस्थित गर्छ र गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी आन्तरिकरुपमा कमजोर भए, जरादेखी मजबुद नभए र पार्टीका नेता व्यवस्थापन गर्न नसके पार्टीलाई स्वस्थ बनाउन सकिँदैन ।’ नेता घिमिरेले अधिवेशनबाट नेतृत्वमा पुगेका सबैले आ—आफ्नो पदिय जिम्मेवारी जिम्मेवार ढंगले पुरा गरेर पार्टीलाई थप सक्षम र सवल बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेकपा एमालेलाई आरोलो लागेको मृगको संज्ञा दिँदैं त्यसको पछि लाग्नु र एमालेका नेताहरुको विरुद्ध टिका टिप्पणी गरि हिँड्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले कम्युनिष्टहरुले जनतालाई ढाँट्ने सिवाय अरु गर्न नजानेको आरोप लगाउनुभयो । उहाँले एउटै बाटो तीन चोटी शिलान्यास गरेर जनतालाई झुक्याउने गरेको उदाहरण प्रस्तुत गर्दै जनता सस्तो प्रचारमा लाग्न नहुनेमा जोड दिनुभयो ।


नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जग्गा दलाली र भू–माफियाको जग्गा प्लटिङमा बाटो पुर्याउँदैमा कसैलाई विकास प्रेमी नेताको बिल्ला भिडाउनु गलत भएको बताउनुभयो । धनवाद र डनवादको राजनीति गरेर जनतालाई दिग्भ्रमित पार्ने कांग्रेसको नीति नभएको स्पष्ट पार्दै सभापति थापाले चाहेको अवस्थामा आफुहरु पनि धनवाद र डनवादमा उत्रन तयार भएको चेतावनी दिनुभयो ।
उहाँले कांग्रेसले स्वस्थ र स्वच्छ ढंगले लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर पार्टीको विभिन्न तहको अधिवेशन सम्पन्न गरेको र बाँकी पनि सौहार्दपूर्ण ढंगले सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टीको आन्तरिक प्रतिष्पर्धामा जो अघि बढेपनि आगामी आगामी निर्वाचनमा पार्टीलाई एक ढिक्का भई निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले जनतालाई केन्द्रविन्दुमा राखेर ल्याउने विकासका प्रस्तावलाई आफुले दलगत, नातावाद भन्दा माथि उठेर निर्णय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सुरेन्द्र केसी, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति नारायण खायमली, जिल्ला सचिव एवम् नवनिर्वाचित सूर्यविनायक नगरसभापति निशान ढुंगेल, प्रदेशसभा क्षेत्रीय सभापति प्रदिप कार्की, वडा इकाई सभापति राजु ढुंगेल र सचिव सुयोग ढुंगेलले कांग्रेसको महाधिवेशनले पार्टीलाई थप उर्जा प्रदान गर्ने भएकाले निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *