साफ च्याम्पियनसिप – फाइनलको पहिलो हाफ गोलरहित बराबरी

भक्तपुर, असोज ३०
भारी वर्षाका बीच माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलको पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्स राष्ट्रिय रंगशालामा जारी फाइनलमा नेपाल र भारत दुवैले गोलका केही अवसर बुने पनि फिनिसिङमा चुक्दा पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको हो ।
वर्षाका कारण दुवै टोलीका खेलाडीलाई बल नियन्त्रण गर्न कठिनाई परेको थियो । खेलमा तुलनात्मकरुपमा भारतले बल माथि पकड जमाएका छन । खेलको ४ औं मिनेटमा भारतले अग्रता बनाउने सुवर्ण अवसरमा नेपालका कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बु बाधक बने । उनले यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई विफल मात्र पारेन रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई समेत उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो ।


खेलको १४ औं मिनेटमा भारतको लगातार तीन आक्रमण गरे तर नेपाली डिफेन्सले संगठित खेल पस्कँदै तीन वटै प्रहारलाई विफल पारे । पानीका कारण रोहितले सन्तुलन गुमाउँदा खेलको १७ औं मिनेटमा नेपालले अग्रता बनाउनबाट चुक्यो । रोहितले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि प्राप्त सुवर्ण अवसरमा सन्तुलन गुमाउन पुक्दा चिप्लिएर लडेपछि गोलको अवसर खेर गएको थियो ।
भारतीय कप्तान सुनिल क्षेत्रीले २७ औं मिनेटमा पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए भने ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएपछि खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको हो ।


फाइनलमा नेपालको सुरुवाती ११ मा गोलरक्षकमा कप्तान किरण, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *