राप्रपा कहिल्यै नफुट्ने अध्यक्षद्धय राणा र थापाको उद्घोष

भक्तपुर, भाद्र २८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्धय पशुपति शमशेर जबरा र कमल थापाले राप्रपा अब कहिल्यै नफुट्ने प्रतिवद्धता जनाउनुभएको छ । राप्रपा भक्तपुरले आइतवार आयोजना गरेको जिल्ला समायोजन घोषणा सभामा दुवै अध्यक्षले राप्रपा कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा अघि बढ्ने जनाउँदैं पार्टी नफुट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष पशुपति शमसेर जबराले दुई ठूला कम्युनिष्ट मिलेर करिव दुई तिहाईको सरकार चलाएपनि बेइमानी र भ्रष्टाचारको जगमा राजनीति गर्दा हालको अवस्थामा देश पुगेको बताउँदै नेपालमा कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र हुन सक्ने दावी गर्नुभयो ।
उहाँका अनुसार तीन वर्ष भन्दा बढी सञ्चालन भएको पूर्ण बहुमतको सरकारले मुलुकलाई केही दिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्ण बहुमतको सरकारले तीन वर्षमा देश र जनतालाई केही दिन सकेन । हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भयो । उल्टै महंगी भ्रष्टाचार अनी बेभिचार मात्र आयो ।”
उहाँले नेपालकै ठूलो दल बनेको नेकपा टुक्रिएर तीन टुक्रा भएको सन्दर्भमा अहिलेको ठूला दल देशका लागि सान्दर्भिक नभएको पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका ठूला दलको सान्दर्भिकता सकिएको छ । ठूला भनिएका पार्टीबाट जनताले मुक्ती चाहेका छन् ।”
अर्का अध्यक्ष कमल थापाले एमसीसीका कारण मुलुक विदेशी रणनीतिक स्वार्थको प्रतिस्पर्धाको गर्ने थलो बनेको आरोप लगाउनुभयो । उहाँले एमसीसीको विवाद नेपालीको हितमा भन्दा पनि विदेशी शक्तिको हितका लागि भएको बताउँदैं एमसीसीका कारण नेपालको राष्ट्रियता तथा देशको भविष्य खतरामा पर्न सक्ने ठोकुवा गर्नुभयो । उहाँले एमसीसी जस्ता धेरै राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज गरिनुपर्नेमा जोड दिनुभयो ।
गणतन्त्र केही सिमित नेताको पोल्टाको तुरुप भएको बताउँदै उहाँले माफियाहरु स्थानीय तहदेखि सदनसम्म पस्दा एउटा वडामा चुनाव लड्न पनि २० औं लाख खर्च गर्नूपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रजातन्त्र हैन यो विकृति हो ।”
ठूला दलका केही सिमित नेताले संवैधानिक आयोगका प्रमुखहरुलाई नै खरिद गरी आफ्नो खल्तीमा हालेको आरोप थापाले लगाउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दल र नेतालाई बाटो देखाउने संवैधानिक आयोग, न्यायिक निकाय, लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार भनेका देशका रेफ्रि हुन । यी निकायलाई ठूला दलका केही नेताहरुले आफ्नो पोल्टामा पार्दै भ्रष्टाचारलाई सिस्टाचार जस्तै बनाई रजाई गरी रहेका छन ।”
समायोजनबाट राप्रपा भक्तपुरको अध्यक्ष चयन हुनुभएका रामशरण लामिछानेले एक महिना भित्रमा समायोजन पछिको जिल्ला अधिवेशन सम्पन्न गर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु रविन्द्र प्रताप शाह, योवती कार्की, रामेश्वर थापा, रामहरी थापा, रामसुन्दर विष्ट, राजेन्द्र लाखा, नरगोविन्द शंखदेव, सानुकाजी हेक्का, मिन सुवेदी, प्रेम बलायर, रविकृष्ण श्रेष्ठ, जमुना थापा, पूर्व मन्त्री विक्रम पाण्डे, विषेश निर्देशन समितिका बुद्दिमान तामाङ, पूर्व मन्त्री टंक ढकाल, निर्देशन समितिका दिनेश श्रेष्ठ, निर्वतमान अध्यक्ष माधब खत्री, युवक संघका केन्द्रिय उपाध्यक्ष राजिव लामिछाने, किसान संगठनका उपाध्यक्ष राममणी न्यौपाने, सह अध्यक्ष श्याम नेपाल लगायतका सहभागिता रहेको थियो ।
यस्तै कार्यक्रममा पूर्व नेपाल आर्मीका जर्नल भरत बहादुर खड्का, नेकपा माओवादीका किसान संगठनका पूर्व अध्यक्ष नवराज दुलाल, नेकपा एमालेबाट शिक्षक बद्रि भँडेल, समता पार्टीबाट कृष्ण राज शाही, दिनेश मगर र दिप गुरुङको नेतृत्वमा तीन सय जना युवा राप्रपामा प्रवेश गरेका थिए । राप्रपा भक्तपुर नगरका अध्यक्ष बद्री लाखाको सक्रियतामा भक्तपुर नगरपालिकाबाट ५० जना राप्रपा प्रवेश गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *