भक्तपुरका निवा शाक्यहरुको ४सय बर्ष पुरानो ईतिहास सम्बन्धी पुस्तक विमोचन

लक्ष्मी गारु, भक्तपुर, भाद्र २६
भक्तपुर दरवार स्क्वायरमा रहेको लुंःध्वाका (सुनकोे ढोका अर्थात गोल्डेन गेट) बनाउने ‘निवा’ शाक्यहरुको ईतिहास समेटिएको नेपाल भाषामा लेखिएको ‘ख्यपया ‘निवा’ शाक्यतयेगु इतिहास’ नामक पुस्तक आज (शनिवार) विमोेचन गरिएको छ ।
भक्तपुरका निवा शाक्यहरुको चारसय बर्ष पुरानो ईतिहास समेटिएको सो पुस्तक प्राध्यापक सूवर्ण शाक्यले विमोचन गर्नुभएको हो । सो पुस्तक भक्तपुरको खौमा निवासी आरती गुठी निवा संघका नायो (अध्यक्ष) संघरत्न शाक्यले लेख्नुभएको हो ।
पुस्तकको विमोचन गर्दै प्रा. शाक्यले काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका निवा शाक्यहरुको ईतिहासका बारेमा चर्चा गर्दै पुस्तकले निवा शाक्यहरुको बारेमा धेरै जानकारी दिन सफल भएको बताउनुभयो ।
पुस्तकका लेखक संघरत्नले भक्तपुरको विश्व प्रसिद्ध लुंःध्वाका र ङाताःपोल्हँ (पाँच तल्ले मन्दिर)को गजुर लगायत विभिन्न मुर्तिहरुको निर्माणमा भक्तपुरका निवा शाक्यहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको विषयमा विभिन्न प्रमाणको आधारमा पुस्तक तयार गरिएको जानकारी दिनुभयो ।

“शाक्य समुदायमा निवा शाक्य छ भन्ने धेरैलाई थाहा नभएको हुनाले जानकारीको लागि यो पुस्तक प्रकाशन गरेका हौं,” लेखकका छोरा शाक्यन शाक्यले भन्नुभयो, “वास्तवमा निवा भनेको शब्द के हो ? कस्तो ब्यक्तिलाई प्रयोग गरिन्छ ? कहाँबाट आएको हो ? निवाहरुसँग भएको कला कौशल कस्तो हो ? भन्ने बारे जान्न चाहनेहरुको लागि यो पुस्तक धेरै सहयोगी हुनेछ ।”
कार्यक्रममा त्रिरत्न शाक्य, प्रा.सिद्धिरत्न शाक्य, साहित्यकार तिलक प्रकाश कायस्थ, वौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले पुस्तकले भक्तपुरमा रहेका लुकेका इतिहास उजागर गर्न र राजामहाराजाहरुको मात्र नभइ वास्तविक कामदारहरुको समेत ईतिहासबारे बुझ्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
आरती गुठी निवा संघले प्रकाशन गरेको सो पुस्तकमा मल्लकालीन राजा विश्वमल्लदेखि रणजीत मल्लसम्मको ईतिहास समेटिएको छ । सो अवसरमा पुस्तकका लेखकले निवा शाक्यहरुको ईतिहास सम्बन्धी प्रमाणहरु गुठीलाई हस्तान्तरण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *