कक्षा १२ को परीक्षा भाद्र ३० बाट हुने, होम सेन्टरको व्यवस्था

भक्तपुर, भाद्र १६
यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा यही भाद्र ३० गतेदेखी सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले परीक्षाको तालिका समेत प्रकाशन गरेको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर, कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।
बोर्डले होम सेन्टरबाटै परीक्षा दिन पाईने व्यवस्था गरेको छ । बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कोरोनाको जोखिम रहेको अवस्थामा परीक्षार्थीलाई अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, कोठा खोजेर बस्नुपर्ने बाध्यता हुने भएकाले होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताउनुभयो ।
कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएपनि १२ को भने भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।
कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन । सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियानसमेत सञ्चालन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *