भक्तपुरमा भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन हुने

भक्तपुर, भाद्र १४
नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरले पार्टीको १४ औं अधिवेशनको तयारी शुरु गरेको छ । जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सोमवार बसेको जिल्ला समिति बैठकले यही भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गर्दै अधिवेशनको तयारी थालेको हो ।
अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलको उपस्थितीमा सम्पन्न बैठकले केन्द्रले निर्धारण गरेको महाधिवेशन कार्यतालिका बमोजिम भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सचिव निशान ढुंगेलले जानकारी दिनुभयो ।
वडा अधिवेशनका लागि निर्वाचन अधिकृत र जिल्ला प्रतिनिधि डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) र नेपाल शिक्षक संघसँग समन्वय गरी वडा वडामा खटाईने ढुंगेलले बताउनुभयो ।
बैठकले अधिवेशनलाई सौहार्दपूर्ण तरिकाले भव्य र सभ्यरुपमा सम्पन्न गर्न कांग्रेसका नेता कार्यकता, शुभचिन्तक, शुभेच्छुक सबैमा आह्वान समेत गरेको छ ।
भक्तपुरमा चार स्थानीय तहका ३८ वटा वडा छन । जिल्लामा कांग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन । ती मध्ये क्षेत्र नं. १ मा ३ हजार ७८२ र क्षेत्र नं. २ मा ६ हजार ५०४ जना छन । भक्तपुरमा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा ७ सय १८ जना क्रियाशील सदस्य छन भने सबैभन्दा कम भक्तपुर नगरपालिकाको वडा नं. ८ मा छन । त्यहाँ जम्मा २५ जना क्रियाशील सदस्य रहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *