मृतकको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाईंदै

लक्ष्मी गारु, भक्तपुर, भाद्र ७
हाँस्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै आज काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिती रहेको मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ साँपारु (गाईजात्रा) पर्व मनाईंदैछ ।
साँपारु धार्मिक तथा सांस्कृति महत्व बोकेको पर्व हो । भक्तपुरमा साँपारुको औपचारिक शुरुवाट जनैपुर्णिमाको साँझ नै गरिन्छ । साँपारुको पूर्व सन्ध्यामा जनैपुर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा साँपारु पर्व शुरु हुने परम्परा रहेको छ ।
यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण साँपारु पर्वलाई औपचारिकतामा सिमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायहरुको आग्रह र निर्णयका कारण आइतवार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

फाइल तस्विर

भक्तपुर साँपारु पर्व औपचारिक शुरुवात जनैपुर्णिमाको साँझ भएपनि दरवारस्क्वायरस्थित तलेजु भवानीको साँया (गाईजात्रा) निकालेपछि मात्र सर्वसाधारणले आफ्ना मृतक आफन्तको सम्झनामा साँया निकालिन्छ । सो अनुसार सोमवार बिहान भाले नबास्दै तलेजुको साँया निकालिएको तलेजुका मुल नाईके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्रा भन्दा भिन्न र मौलिक शैलीको रुपमा लिईन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । त्यससँगै दिवंगतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा भक्तपुरमा मनाईने गाईजात्राको अर्को आकर्षण हो । त्यसैले भक्तपुरमा गाईजात्रा हेर्न तथा अवलोकन गर्न उपत्यकाका तीन जिल्लाका साथै आसपासका हजारौं मानिस आउने गर्दछ ।
धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त लयमा घिन्ताङघिसी नाच करिव एक हात लामो गोलाकार काठको लट्ठी एक आपसमा बाजाको तालमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकोले जति बढी सहभागीको संख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ ।

फाइल तस्विर

तहामचा बाँसबाट बनाईन्छ । हरियो करिव १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाईन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाईन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराईन्छ । तहामचामा मृतकको तस्विर समेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ । तहामचालाई नगरपरिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्धारा संकल्प गराई विधि विधान अनुसार पुजा गर्ने प्रचलन रहेको छ ।
भक्तपुर कै तालाकोस्थित कुमालेहरुले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराईन्छ । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशा अन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराईने गरेको संस्कृतिकर्मी प्रा डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन ।
गाईंसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिला समेत प्रदर्शन गरिन्छ । साथै केटाकेटीहरुलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा श्रृंगारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलन समेत रहेको छ ।
गाईजात्राको दिन विधिवत रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।
गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाईंदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको प्रा. डा. श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालिन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा. डा. श्रेष्ठको भनाई छ ।
प्रा. डा. श्रेष्ठ गाईजात्रा नेवार समूदायले लिच्चवीकालदेखी नै मनाउँदैं आएको दावी गर्नुहुन्छ । ‘यो जात्रा प्रताप मल्लले चलाएको भन्ने कुरा सत्य होइन । मल्लहरुका पूर्वज जयस्थिति मल्ल हुन् । जयस्थिति मल्ल प्रतापमल्ल भन्दा तीन सयवर्ष अधिका उनका पूर्वज हुन् । जयस्थिति मल्लको पालामा लेखिएको प्रसिद्ध गोपालराजवंशावली ग्रन्थमा साँयात शव्दको उल्लेख छ, उहाँले भन्नुभयो, ‘साँ को अर्थ हो गाई र यात को अर्थ हो यात्रा वा जात्रा । यस प्रमाणको आधारमा जयस्थिति मल्लको पालामै गाईजात्रा मनाइन्थ्यो भन्ने कुरा थाहा पाइन्छ ।’
लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाईएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाईन्छ भन्ने मान्न सकिने उहाँको भनाई रहेको छ । उहाँले १४ औ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरु भएको बताउनुभयो ।
प्रताप मल्लकी रानी पुत्र वियोगको शोकमा डुबेकाले रानीको मन शान्त पार्न सो बेलादेखी गाईजात्रामा हाँस्य व्यग्य, ख्याल ठट्टा समेत प्रदर्शन गर्न थालिएको हुन सक्ने संस्कृतिकर्मीहरुको मत रहेको छ ।
भक्तपुरमा साँपारु पर्व तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएको अर्का संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । ‘भक्तपुर तन्त्र विद्यायुक्त शहर हो । यहाँका हरेक साँस्कृतिक परम्पराहरु तान्तिक विधि पूर्वक मनाइन्छ,’ उहाँले भन्नुभयो, ‘भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ सापारु मनाइन्छ ।’

फाइल तस्विर

भक्तपुर नगर तन्त्रको आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर यहाँ मृतकको नाममा ताहासाँ, दोसाँ, महादेव पार्वती, बासा लाकेगुलगायत गरी नगरपरिक्रमा गराईने परम्परा रहेको राजोपाध्यायले बताउनुभयो । त्यसका साथै यहाँ राधाकृष्णको प्रतिक नागाचा प्याखं, देवी प्याखं, भैल प्याखं, माकचा प्याखं, लाखे प्याखं, लगायत विभिन्न नाचहरु प्रर्दशन गरिन्छ ।
साँपारुको दिन मध्य रातमा तलेजुको ताहासाँले नगर परिक्रमा गरेर साँपारु शुरु गरिन्छ भने अन्तमा महादेव र पार्वतको प्रतिकका रुपमा परालको भैरव र नकीजु अजिमाको ताहासाँ बनाएर महादेवको गणहरुको प्रतिक घिङताघिसी लाने गरेको उहाँले बताउनुभयो ।
‘जात्रा एउटा शिवशक्तिको प्रतिकका रुपमा पनि लिइन्छ । नगर पक्रिमा गर्दा पाइला पाइलामा भएका दैविक शक्तिले मृतकको आत्मा शान्त गराइन्छ । यी सबै काठमाण्डौ र पाटनको भन्दा निकै फरक र पृथक छ,’ उहाँले भन्नुभयो ।
गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाएपनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको राजोपाध्यायले बताउनुभयो । ‘पाटनमा दशमहाविद्या तन्त्र भएर पनि त्यो अनुसारको जात्रा मनाउँदैन । सामाजिक विकासको क्रममा काठमाण्डौ पाटनमा त्यो विस्थापित हुँदै गएकाले यहाँको जस्तो नमनाएको हो,’ उहाँले भन्नुभयो ।
कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष गाईजात्रा पर्व दिउँसो नै समापन गर्ने तयारी भएको भैरव नाइके माइला छुकांले जानकारी दिनुभयो । भक्तपुरमा भैरवनाथको साँया निकालेपछि गाईजात्रा सम्पन्न हुने परम्परा रहेको छ । गुठी संस्थान, नगरपालिका र सरोकारवालाहरुको बैठकले यसवर्ष दिउँसो २ बजे नै भैरवको ताहासाँ निकालेर नगर परिक्रमा गर्ने तयारी भएको छुंकाले बताउनुभयो ।

भक्तपुरमा यो पर्वको अवसरमा भाद्रकृष्ण अष्टमीसम्म शहरका देवीदेवताहरु दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाच, भैरव नाच, लुसिचा प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । तर यसवर्ष कोरोनाका कारण ती नाचहरुको प्रदर्शनलाई स्थगित गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *