प्रधानमन्त्री देउवा, दाहाल र सापकोटालाई आगामी दिन महँगो हुन्छ – नेता बस्नेत

काठमाडौं, भाद्र ४
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता एवम् सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाउनुभएको छ । उहाँले एमाले कमजोर बनाउन खोज्ने प्रधानमन्त्री देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिन महँगो हुने चेतावनी समेत दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज (शुक्रवार) आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले भन्नुभयो, ‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छैन् । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र भएको बताउनुभयो । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्याधिक बहुमतका साथ आउने उहाँको दाबी थियो । उहाँले भन्नुभयो, ‘हिजो दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने प्रावधान थियो । केपी ओली प्रधानमन्त्री हुँदा उहाँले त्यो ४० प्रतिशत प्रावधान कायमै राखेर केन्द्रीय कमिटी वा संसदीय दल राखेर अध्यादेश ल्याउँदा यहाँ कांग्रेसलगायतका दलले ठूलो हल्लाखल्ला मच्चाए । तर, त्यतिखेरको मूल मर्म के थियो भने संसदीय दल र केन्द्रीय कमिटीमध्ये एउटामा ४० प्रतिशत पुर्याउँदा दल विभाजन गर्न सजिलो थियो । तर, त्यो राजनीतिक प्रणाली बलियो बनाउनको लागि ल्याईएको अध्यादेश थियो । नेपालमा पनि अमेरिकामा जस्तै दुई दलीय प्रणालीमा लगिए राजनीतिक स्थायित्व हुन्छ भन्ने नै हो । जनताको मनोविज्ञान भनेको दुई दलीय व्यवस्था नै हो ।’


उहाँले ठूलो गर्जनका साथ एमाले विभाजन गर्ने खेल शुरु भएको तर अन्तिममा म्याउँ भएर टुँग्गिएको टिप्पणी गर्नुभयो । ‘माधव नेपालले हिजो बहुमत छ भन्नुहुन्थ्यो । म केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउँछु भन्नुहुन्थ्यो, अहिले उहाँ २० प्रतिशतमा पुग्नुभयो । मैले बुझेअनुसार अहिले माधव नेपाललाई दल विभाजनको लागि संसदीय दल वा केन्द्रीय कमिटी दुवैमा २० प्रतिशत पुर्याउन पनि हम्मेहम्मे छ, निकै कठिन छ । अहिले उहाँले घोषणा गरेको ९५ सदस्यीय केन्द्रीय कमिटीका पनि १३ जना सदस्यहरुले हामी त्यो पार्टीमा छैनौं र जाँदैनौं भनेर नाम फिर्ता लिने स्थिति आएको छ,’ उहाँले भन्नुभयो ।
नेता बस्नेतले वरिष्ठ नेता झलनाथ खनाल पनि माधव नेपालको पार्टीमा नजाने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब माधव नेपाललाई सजिलो बनाउनेगरि १५ प्रतिशत वा १० प्रतिशतमात्रै प्रावधान राखेर अध्यादेश ल्याउँदैछ अरे । हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दलको महत्वपूर्ण भूमिका हुन्छ ।’
उहाँले सभामुख सापकोटासमेत एमाले विभाजन गर्ने षड्यन्त्रमा लागेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँ त्यो कमर्ममा किन मुछिनुभयो ? मैले बुझेको छैन । हेर्नुहोस, संसद माग गर्नेहरु नै आज संसदलाई अधिवेशन स्थगित् गर्ने ठाउँमा पुग्नुभयो । संसद् चलेको एक महिनाभित्र एसिड आक्रमणमा परेका पीडितको पक्षमा बनेको अध्यादेश अलपत्र पारियो । नागरिकता ऐनमा छलफल भएन । विभिन्न विद्येयकहरु अलपत्र पारियो । धेरै विद्येयक त्यहाँ थाँती थियो । यो सदन चल्न सक्दैन भन्ने कुरा उहाँले पुष्टि गर्नुभयो । ह्वीप उल्लंघन गर्ने कुरा दलभित्रको गम्भीर विषय हो । १४ जनाले ह्वीप उल्लंघन गर्नुभएको थियो । पार्टीले कारबाही गरेको छ । तर, सभामुखले अहिलेसम्म कारबाहीको सूचना दिनुभएन । हामीले धर्ना दिनुपर्ने अवस्था छ । सभामुख त संविधान, ऐन र प्रतिनिधिसभा सञ्चालन नियामवलीअनुसार चल्नुपर्छ ।’
उहाँले सभामुखले आफू निष्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँ सभामुख भएपनि प्रचण्ड र देउवाको आदेशविरुद्ध जाने देखिएन ।’
उहाँले माधव नेपाल पक्षमा नगएकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका अध्यक्ष केपी कमरेडले पनि यो कुरा गर्नुभएको छ । माधव नेपालहरुले पार्टीलाई गुटबन्दीबाट ध्वस्त पारेर अराजक र अपराधिक काम गर्ने कांग्रेसको पाउमा चढाउने र प्रचण्डको टाङमुनि छिराउन खोजिएको थियो, यो अराजक र अपराधी गुटलाई बिदा गरियो । केही केही मान्छेहरु गए । अहिले एमालेभित्र वसन्त ऋतुमा पालुवा पलाएको छ । माधव नेपाल कांग्रेस र माओवादीको मल बन्न जानुभयो । उहाँले गम्भीर अपराध गर्नुभयो । न भुईँमा न भाँडोमा हुनुभयो । प्रचण्ड, देउवा र अग्नि सापकोटाको भूमिका ईतिहासले गम्भीर समिक्षा गर्नेछ ।’
उहाँले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसंगठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने जनाउनुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमाले सशक्त र बहुमतसहित आउने पनि दाबी गर्नुभयो । उहाँले एमाले विभाजन भएको नभई चोइटिएको र माओवादीको ठूलो पँक्ति एमालेमा प्रवेश गर्ने जिकिर समेत गर्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *