यार्सागुम्बा लुट्ने समूह पक्राउ

भक्तपुर, साउन ३१
हिमाली जडबुटी यार्सागुम्बा लुटपातमा संलग्न भएको आरोपमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घटनाका मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका–५ घर भई हाल भक्तपुर सूर्यबिनायक कटुन्जे बस्ने ३४ वर्षिय धर्म ओखेडा, दोलखा बैतेश्वर गाउँपालिका–२ घर भई हाल काठमाण्डौं ठमेल बस्ने ३२ वर्षिय मनोज कुमार श्रेष्ठ, काठमाण्डौं नयाँबजार बस्ने रामेछाप दोरम्वा गाउँपालिका–४ का २७ वर्षिय दिपक थापामगर र विशाल लामा, काभ्रे तिमाल गाउँपालिका–४ का २३ वर्षिय योङदेन लामा, रामेछाप दोरम्बा–२ घरभई हाल मध्यपुर थिमि नगरपालिका २ सानोथिमि बस्ने २२ वर्षिय रोशन श्रेष्ठ र भारत कास्मिर आबुपाकर घरभई हाल काठमाण्डौं खुसिबु बस्ने ३७ वर्षिय मोहम्मद ईसाक छन ।


उनीहरुको समूहबाट महाशाखाको प्रहरी टोलीले यार्सा गुम्बा ७ किलो ४४० ग्राम, नगद एक लाख ५३ हजार र ८ वटा मोवाईल बरामद गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइरालाले बताउनुभयो ।
सो समूहले गत साउन २४ गते सुरेश सापकोटा र दिपक लामाको साथमा रहेको एक किलो यार्सागुम्बा डर, धाकधम्की दिई लुटेर लगेको अनुसन्धानमा खुल्न आएको एसपी कोइरालाले जानकारी दिनुभयो ।
घटना विवरण अनुसार गणेश शाहीले सापकोटा र लामालाई फोन गरी एक किलो यार्सागुम्बाको २८ लाखमा खरिद गर्छु भनी काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरमा रहेको होटेलमा बोलाएको थियो । सोही क्रममा ६÷७ जनाको समूहले सो यार्सागुम्बा लुटेका थिए । महाशाखाले सो घटनामा थप अनुसन्धान जारी रहेको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *