भक्तपुरको क्वाठण्डौंस्थित सरस्वती फल्चा पुनःनिर्माण शुरु

भक्तपुर, साउन २९
वि. सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको भक्तपुर नगरपालिका १० क्वाठण्डौंस्थित सरस्वती फल्चा (पाटी)को पुनःनिर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाले २४ लाखको लागतमा सो फल्चा पुनःनिर्माण गर्न लागेको हो ।
स्थानीय उपभोक्ता समिति मार्फत पुनःनिर्माण हुन लागेको उक्त फल्चाको शुक्रवार शिलान्यास गर्दै नगरप्रमुख सुनिल प्रजापतिले मौलिकता विनाको ऐतिहासिक सम्पदा पुनःनिर्माणको कुनै अर्थ नभएको बताउनुभयो । “ईतिहास जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्ने काममा कुनै किसिमको हेलचक्र्याइँ गर्नुहुन्न,” उहाँले भन्नुभयो, “सम्पदा पुनःनिर्माणको काम भनेको इतिहास निर्माण गर्ने काम हो । सयौं वर्ष टिक्ने यी सम्पदा पुनःनिर्माणको काम गुणस्तरीय हुनु जरुरी छ ।”
उहाँले यसवर्ष कोरोना महामारीका कारण नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै जनस्वास्थ्य सेवा केन्द्रलाई ख्वप अस्पतालको रुपमा सञ्चालन गरी वडा वडामा स्वास्थ्य चौकी निर्माण, नगरबासीहरूलाई निःशुल्क अक्सिजन वितरणलगायतका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यहरूलाई अगाडि बढाएको बताउनुभयो ।


वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडामा थुप्रै ऐतिहासिक पाटीहरू रहेको हुँदा आवश्यकता र प्राथमिकताअनुसार सम्पदाहरूको पुनःनिर्माण कार्यलाई अगाडि बढाईने बताउनुभयो । उहाँले नगरवासीको साथ र सहयोगकै कारण भूकम्पले भत्किएका सम्पदा अझ राम्रो र बलियो ढंगले पुनःनिर्माण गर्न नगरपालिका सफल भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका पूर्व उपप्रमुख चैत्यराज शाक्यले विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदा पुनःनिर्माण कार्यमा केही ढिलाई भएको बताउँदैं ऐतिहासिक सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्नबाट कोही पनि चुक्न नहुने बताउनुभयो ।


कार्यक्रममा वडा नं. १० का वडासदस्य जितेन्द्र मुनंकर्मी, सम्पदा शाखाका रामगोविन्द श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्ष गणेशराम मुस्याख्व, समितिका कोषाध्यक्ष चन्चला मुस्याख्व र सचिव हरिराम कर्माचार्यले फल्चा पुनःनिर्माणका विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *