तत्काल जग्गा फिर्ता गर्न देको मिवाका जग्गाधनीहरूको माग

भक्तपुर, साउन १५
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी जग्गा फिर्ता गर्न उपभोक्ताहरुले बिहिवार नगरप्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएको छ ।
आयोजना छिटो सम्पन्न गर्न गठित दवाब समूहका अध्यक्ष पुरुषोत्तम तमखूको नेतृत्वको समूहले नगरप्रमुख प्रजापतिको कार्यकक्ष पुगेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा उपभोक्ताका गुनासो छिटो भन्दा छिटो सम्बोधन गरी उपभोक्ताका जग्गा फिर्ता गर्न माग गरिएको छ । आयोजनाको काम ढिलाई हुँदा स्थानीय जग्गाधनी मोही अन्यायमा परेको उल्लेख गर्दै ज्ञापनपत्रमा जग्गाको अस्थायी पुर्जा तत्काल वितरण गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा २०७२ सालको भूकम्पदेखि वर्षौं टहरामा बसेकाहरूलाई राहत पुग्ने, जग्गा फिर्ता नपाएर दुःख पाएका जग्गावालाहरूको माग सम्बोधन गर्न माग गरिएको छ । साथै आयोजनाका विवादित जग्गाबाहेकका जग्गा तत्काल फिर्ता गर्न आग्रह गर्दै अस्थायी पूर्जा यथाशक्य चाँडो वितरण गर्नुपर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको मागबमोजिम आयोजनाको काम छिटोछरिटो सम्पन्न गर्ने तयारी गरिरहेको बताउनुभयो । आवास योजनाबारे उठेका जनगुनासो सम्बोधन गर्न नगरपालिकाले चरणबद्ध रुपमा सम्बन्धित जग्गावालाहरुसँग छलफल गर्नुका साथै आयोजनाले निवेदन परेका बाहेकका जग्गावालाहरूको यथाशक्य चाँडो जग्गा फिर्ता गर्ने क्रम अगाडि बढेको बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *