चैतसम्म थप ३ करोड मात्रा कोरोना विरुद्धको खोप आउने

भक्तपुर, साउन १२
सरकारले १२ देखी १८ वर्षसम्मका किशोर किशोरीहरुलाई समेत गरी आगामी चैतसम्म ३ करोड मात्रा कोरोना विरुद्धको खोप ल्याउने तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतवार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिनुभएको हो ।
“असोजदेखि चैतसम्म तीन करोड खोप आउने गरी काम अगाडि बढाइएको छ । जुन देशमा नेपालले खोप ल्याउनका लागि पहल अगाडि बढाएको छ, ती देशबाट सकारात्मक सन्देश आएकाले खोप आउनेछ,” डा. लोहनीले भन्नुभयो ।
उहाँले १२ देखी १८ वर्ष उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी ६० लाख मात्रा खोप खरिद प्रक्रिया अघि बढाएको बताउनुभयो । सरकारले अमेरिकाको फाइजर कम्पनीको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अघि बढाएको हो । फाइजरले ढिलामा आगामी बैशाखसम्म सो खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
यसअघि सरकारले ७२ प्रतिशत जनसंख्यालाई खोपको प्राथमिकतामा राखेपनि बालबालिकाहरुलाई पारेको थिएन । अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख किशोरकिशोरीसमेत गरी दुई करोड ६४ लाख जनालाई खोप दिने लक्ष्यले अब खोपको दायरामा उनीहरु पनि परेका छन् ।
डा. लोहनीले असोज मसान्तभित्रै एक करोड पाँच लाख ४८ हजार मात्रा खोप आइसक्नेछ र त्यसले देशको एक तिहाइ जनसंख्यालाई खोप पुग्ने बताउनुभयो । उहाँले जापानबाट १६ लाख मात्रा एक्स्ट्राजेनिका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने बताउनुभयो । यस्तै कोभ्याक्सबाटै तीन लाख ४८ हजार डोज खोप भदौको चौथो साता नेपाल आइपुग्नेछ । डा. लोहनीले कोभ्याक्स र विश्व बैङ्कले खोप दिने सुनिश्चित गरेको बताउनुभयो । चीनबाट भदौ मसान्तसम्म ६० लाख मात्रा खोप नेपाल भित्रिनेछ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीमा भारतबाट प्राप्त गर्न बाँकी १० लाख मात्रा कोभिसिल्ड खोपसमेत चाँडै आउने विश्वास व्यक्त गर्नुभयो ।
हालसम्म ३४ लाख पाँच हजार १५४ अर्थात् १५.८ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । यस्तै १४ लाख ३० हजार ४१५ अर्थात् ६.६ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।
हालसम्म कोभ्याक्समार्फत् १८ लाख ८२ हजार ८ सय ५० डोज खोप नेपाल आएको छ । जसमा कोभिसिल्ड ३ लाख ४८ हजार, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८ सय ५० डोज खोप प्राप्त भएको छ । वैदेशिक अनुदानबाट २९ लाख डोज खोप प्राप्त भएको छ । जसमध्ये चीनबाट १८ लाख र भारतबाट ११ लाख डोज खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
खरिदबाट ५० लाख डोज खोप आएको छ । भारतबाट कोभिसिल्ड खोप १० लाख डोज र चीनबाट भेरोसेल खोप ३२ लाख आएको छ । चीनबाट ४० लाख डोज खरिद गरेकोमा अब ८ लाख डोज खोप शुक्रबार नेपाल आइपुग्ने कार्यतालिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *