बागमति प्रदेश पूर्वाधार विकास साझेदारीमा मध्यपुर थिमिमा १० योजना सम्पन्न

भक्तपुर, साउन २
बागमति प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ मा मध्यपुर थिमि नगरपालिकाभित्र १० वटा योजना सम्पन्न भएका छन । जसमध्ये सार्वजनिक शौचालय, अस्पताल भवन, फल्चा (पाटी), अति विभिन्न आवास निर्माणका साथै बाटो सुधार, खानेपानी तथा ढल बिस्तार र टेवा पर्खाल निर्माणलगायतका योजना छन ।
प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा निर्माण सम्पन्न भएका ती योजनामा मगरगाउँ शिक्षा विभागतिर खानेपानी लाईन पाइप बिस्तार, नमूना फुलबारी मार्ग सुधार, नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन निर्माण, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल प्रशासकिय भवन निर्माण रहेका छन ।


त्यसैगरी भुलाङखेल कलात्मक कुटु फल्चा पुनःनिर्माण, अति विपन्न आवास निर्माण अन्तर्गत चार वटा घर निर्माण, नीलबाराही सार्वजनिक शौचालय पुनःनिर्माण, बोडे थिमिलाँ कलात्मक फल्चा पुनःनिर्माण, हाडोल–कुण्डोलबाट गाखु जोड्ने बाटो सुधार र गट्ठाघर अरनिको बस्तीमा ढलान, ढल निकास, टेवा पर्खाल निर्माण योजना प्रदेश पूर्वाधार विकास साझेदारीमा सम्पन्न भएको प्रदेश सभा सदस्य डा. श्रेष्ठले बताउनुभयो ।


नगरको वडा नं. २ को मगरगाउँमा गरिएको खानेपानी पाइप लाइन बिस्तारले ५० घर लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताउनुभयो । करिव ५ सय मिटर लामो उक्त पाइप लाइन बिस्तारका लागि १२ लाख ५१ हजार ८३ रुपैंया खर्च भएकोमा स्थानीय उपभोक्ताहरुबाट २ लाख ५० हजार २१७ रुपैंया व्यहोरेको खड्काले जानकारी दिनुभयो ।


त्यसैगरी भुलाँखेल कलात्मक कुटु फल्चा पुनःनिर्माणमा १७ लाख ९८ हजार ५५० रुपैंया खर्च भएको उपभोक्ता समितिका अध्यक्ष श्यामचन्द्र श्रेष्ठले बताउनुभयो । पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत नै मध्यपुर थिमिमा चार अति विपन्न परिवारलाई आवास निर्माण गरिएको छ । प्रदेश सरकारको करिव २० लाख सहयोगमा मध्यपुर थिमि ४ मा २ वटा, वडा नं. ७ र ८ मा एक एक वटा एकतल्ले आवास निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नविन प्रकाश श्रेष्ठले बताउनुभयो ।


त्यस्तै करिव ४ सय वर्ष पुरानो बोडे थिमिलाँ कलात्मक फल्चा निर्माणमा १७ लाख ९७ हजार ३९३ रुपैंया खर्च भएको उपभोक्ता समितिका अध्यक्ष द्रव्यलाल जयना श्रेष्ठले बताउनुभयो ।
बागमति प्रदेशबाट पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गट्ठाघर अरनिको बस्तीमा ढलान, ढल निकास, टेवा पर्खाल निर्माणका लागि २० लाख, हाडोल–कुण्डोलबाट गाखु जोड्ने बाटो सुधारका लागि २० लाख, नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन निर्माणका लागि ९१ लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल प्रशासकिय भवन निर्माणका लागि ५० लाख, नीलबाराही सार्वजनिक शौचालय पुनःनिर्माणका लागि ३० लाख विनियोजन गरेको प्रदेश सभा सदस्य डा. श्रेष्ठले जानकारी दिनुभयो ।
उल्लेखित योजनाहरुको कार्य प्रगतिको शनिवार डा. श्रेष्ठको नेतृत्व र जिल्ला समन्वय समितिका सदस्य उमेशलाल श्रेष्ठको अगुवाईमा अनुगमन गरिएको थियो । सो अनुगमनमा जिससका सदस्यहरु, सञ्चारकर्मी, स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *