मध्यपुर थिमि तीन वटै स्वास्थ्य सेवा शुरु गर्ने देशकै पहिलो पालिका

भक्तपुर, जेठ २९
भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक गरी तीन वटै स्वास्थ्य सेवा शुरु गर्ने देशकै पहिलो पालिका बनेको छ । मध्यपुर थिमिले बिहिवार वडा नं. ७ नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र शुरु गरेसँगैं स्वास्थ्यका तीन वटै सेवा उपलब्ध गराउने पहिलो पालिका बनेको हो ।
मध्यपुर थिमिले नगरका ९ वटै वडामा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र एवम् पालिका स्तरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट विशेषज्ञ सेवा सहित एलोपेथिक र मध्यपुर आयुर्वेद औषधालयमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको छ ।


होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रमा हाल दुई जना डाक्टर, एक जना नर्स र एक जना कार्यालय सहयोगीले सेवा दिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना डाक्टर मध्ये एक जनाले दिनको ४ घण्टाको दरले आलोपालो सेवा दिनेछ । केन्द्रले दिने सबै सेवा निःशुल्क हुने प्रजापतिले बताउनुभयो ।
केन्द्रमा बाथ, हाडजोर्नीको दुखाई, युरिक एसिड, नसा सम्बन्धी, प्यारालाईसिस, मृर्गौला र पित्तथैलीको पत्थरी, पाइल्स, फिस्टुला, ट्युमर, सिष्ट, दाद पोतो, दुवी, सेतो दुवी, मुसा, छाला चिलाउने, पिनास नाकमा मासु पलाएको, रुघाखोकी र टनसिलको उपचार हुनेछ ।


यसैगरी टाउको दुखाई, माइग्रेन, नाक कान घाँटी, ग्याष्ट्रिक, कब्जियत, अपच, पखाला, पेट सम्बन्धी, सेतो पानी बग्ने, महिनावारी सम्बन्धी, फाइब्रोइड, यौन रोग, सिष्ट महिला पुरुष सम्बन्धी विभिन्न रोग, पिसाब पोल्ने, पिसाब र प्रोष्टेट सम्बन्धी, दम, छाति दुःखेको, मनोरोग, तनाव, चिन्ता डिप्रेशन, मोटोपना, उच्च रक्तचाप, मधुमेहलगायतका रोगको उपचार हुने केन्द्रका डा. रामहरी श्रेष्ठले बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुरुप नगदेशमा होमियोप्याथिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा शुरु गरेको बताउनुभयो । उहाँले एलोपेथिक र आयुर्वेदसँगै होमियोप्याथिक सेवाको शुरुवातले स्वास्थ्यका तीन वटै सेवामा नगरबासीको सहज र सरल पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले वैकल्पिक स्वास्थ्य सेवाको रुपमा विकास भएको होमियोप्याथिक स्वास्थ्य सेवाले रोगको निदान गर्न र नगरवासीलाई स्वस्थ राख्न सहयाग पुग्ने बताउनुभयो ।
वडा नं. ७ का वडाअध्यक्ष कृष्णकुमार प्रजापतिले आर्थिक र सामाजिकरुपमा सक्षम नागरिक बन्न स्वास्थ्य स्वस्थ हुनुपर्ने भएकोले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।
नगरपालिकाका सामाजिक विकास महाशाखा एवम् शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले सन् १७९६ मा जर्मनीबाट शुरु नेपालमा वि. सं. २०१० मा औपचारिक प्रवेश पाएको होमियोप्याथिक स्वास्थ्य सेवा थोरै मात्र औषधिको प्रयोगले रोगको राम्रो व्यवस्थापन र विना साईट इफेक्ट उपचार गर्न सकिने सेवा भएकोले नगरपालिकाले यसको शुरुवातमा जोड दिएको बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *