“सतकुलपुत्र् अल्पकालिन श्रामणेर प्रव्रज्या – २०८१” माझखण्ड बुद्ध विहारमा शुभारम्भ

सुनीता तुलाधर शिल्पकार, ललितपुर, चैत २२ गते ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु धर्मगुप्त महास्थविरको उपाध्यायत्वमा १० दिवसीय “सतकुलपुत्र् दुर्लभ श्रामणेर प्रव्रज्या” कार्यक्रम माझखण्ड बुद्ध विहार, माझखण्ड, ललितपुरमा आज शुभारम्भ भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको संरक्षणमा विश्व शान्ति विहार, माझखण्ड बुद्ध विहार र धम्मकायको संयुक्त आयोजना तथा शाक्यसिंह विहारको सह आयोजना एवं प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
आजदेखि शुभारम्भ भएको सो प्रव्रज्या कार्यक्रममा अ.ने.भि. महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले ‘सब्ब दुक्ख निस्सरण निब्बानस्स सच्छिकरणत्थाय इमं कासावं गहेत्वा’ भनी धम्मदायादहरुलाई वाक्य वाचन गराउनु भइसकेपछि उहाँहरुले सो चीवर उपाध्याय भन्ते लगायत गुरु भन्तेहरुलाई प्रदान गरेका थिए । र ‘सब्ब दुक्ख निस्सरण निब्बानस्स सच्छिकरणत्थाय एतं कासावं दत्वा’ भनी वाक्य वाचन गरिसकेपछि गुरु भन्तेहरुले चीवर धम्मदायादहरुलाई नै प्रदान गर्नुभएको थियो ।
उहाँहरुले चीवर पहिरिसकेपछि भिक्षु निग्रोध महास्थविरले श्रामणेर प्रव्रज्याको याचना पाठ गराउनुभएको थियो भने उपाध्याय भिक्षु धर्मगुप्त महास्थविरले धम्मदायादहरुलाई दश शील प्रदान गर्नुभएपछि उहाँहरुले श्रामणेर प्रव्रज्या प्राप्त गर्नुभएको थियो ।
उपाध्याय भन्ते भिक्षु धर्मगुप्त महास्थविरले गाउँगाउँमा कुलपुत्रहरुलाई भिक्षु, श्रामणेरमा प्रव्रजित गराएर प्रचारप्रसार गर्न सकेमा बहुजनले पनि लाभ लिन सक्ने र छिटै नै बुद्ध धर्मको विकास हुने बताउनुभयो । प्रव्रज्या भनेको दुर्लभ र गाह्रो छ, त्यस्तो मौका पाउन पनि धेरै धेरै नै अवस्थाहरु मिल्नु पर्दछ भन्नुहुँदै उहाँले यस प्रकारको कार्यक्रम माझखण्ड जस्तो विकट क्षेत्रमा गर्न अथक प्रयास गरीरहनु भएका भिक्षु बोधिज्ञान महास्थविरको अटुट कार्यको प्रशंसा पनि गर्नुभयो ।
अ.ने.भि. महासंघका सचिव भिक्षु निग्रोध महास्थविरले जीवनमा एकचोटि प्रव्रजित हुनु भनेको ठूलो सौभाग्य हो भन्नुभयो । उहाँले भगवान बुद्धको जन्मभूमि यस पुण्यभूमि नेपालको ललितपुरको दक्षिण भेगमा रहेको माझखण्ड बुद्ध विहारमा प्रव्रजित हुन घरबार त्यागेर आउनु पनि अति महत्वपूर्ण रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा माझखण्ड बुद्ध विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरले यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुहुँदै यस कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नु हुने अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु संघ, माझखण्डवासीहरु लगायत दाताहरु र उपासकउपासिकाहरु एवं प्रचारप्रसारमा लागिरहनु भएका मिडियाकर्मीहरु सम्पूर्णलाई साधुवाद दिनुभयो ।
समारोहको शुरुवात आज बिहान उपाध्याय भन्ते धर्मगुप्त महास्थविरले धम्मदायाद (प्रव्रजित हुने व्यक्ति) हरुलाई “तचपञ्चक” भावना गराई केश छेदन गराउनु भएपछि उपस्थित नेपाली तथा थाई भन्तेहरुले धम्मदायादहरुको कपाल खौरिदिनु भएको थियो । कपाल खौरिसकेपछि सेतो वस्त्र लगाई उनीहरुले माझखण्डको स्थानीय क्षेत्रमा परिक्रमा गरी विहारमा पुगेका थिए ।
नव श्रामणेरहरु २०८१ चैत २२ गते देखि २०८२ बैशाख २ गतेसम्म पूर्णरुपमा भगवान बुद्धले बताउनु भएको नियममा बस्नुभई ध्यान भावना गर्नुभएर अकुशललाई त्याग गरी कुशल चित्त वृद्धि गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *