भक्तपुरका अधिवक्ता न्यौपानेको केन्द्रिय सदस्यमा उम्मेदवारी

भक्तपुर, फागुन २६
भक्तपुरका अधिवक्ता किरण न्यौपानेले नेपाल बार एसोसिएसनको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । कानुन क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएका न्यौपानेले प्रजातान्त्रिक कानून व्यासायीहरुको संस्था डिएलएको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
न्यौपानेले लोकतान्त्रिक, प्रगतिशील, देशभक्त कानून व्यवसायी समूह को नेतृत्व गर्दै प्रा.डा. विजय प्रसाद मिश्रको अध्यक्षतामा घोषणा गरिएको समूह बाट उम्मेदवारी दिनुभएको हो ।
पेशालाई पहिलो धर्म मान्दै, कानूनी सेवाको सुदृढीकरण र न्यायिक सुधारका पक्षमा दृढ अडान राख्दै आउनुभएका न्यौपानेले २०५२ सालदेखि कानुन व्यवसायको पेशा अंगाल्नुभएको हो । अनवरत रूपमा क्रियाशील न्यौपाने २०५७ सालमा अधिवक्ताको रूपमा अनुमोदित हुनुभएको थियो ।
उहाँले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको विभिन्न तहमा रहेर नेतृत्व सम्हाल्नुका साथै नेपाल बार एसोसिएसन भक्तपुर शाखाको सचिव, जिल्ला कानुन व्यवसायी संघका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । हाल उहाँ मानव अधिकार तथा जनसरोकार समिति, भक्तपुरको संयोजकका रूपमा कार्यरत हुनुहुन्छ ।
न्यायपालिकामा सुधार, कानुनी सेवालाई जनमुखी बनाउने तथा कानुन व्यवसायीहरूको हकहित संरक्षणका लागि आफुले उम्मेदवारी दिएको न्यौपानेले बताउनुभयो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *