मध्यपुर थिमि नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

भक्तपुर, फागुन १
मध्यपुर थिमि नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिवार शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा मध्यपुर थिमि नगरभित्रका २९ विद्यालयका ७ सय ६९ जना छात्रछात्राहरुले प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, मार्सल आर्ट अन्तर्गत उसु, कराँते र तेक्वान्दोका कुल ६० स्पर्धामा प्रतिष्पर्धा हुने मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।
प्रतियोगिताका भलिबलका खेलहरु बोदे मावि बोदे, मार्सल आर्टका खेलहरु आदर्श मावि लाय्कू थिमि, कबड्डी आदर्श मावि सानो थिमि र एथलेटिक्सका खेलहरु सानो थिमिस्थित मध्यपुर युथ एशोसियसनको खेल मैदानमा सञ्चालन हुनेछ ।


प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पढाई सँगसँगैं शारीरिक तन्दुरुष्टीका लागि खेलकुदमा पनि सक्रियता बढाउनुपर्नेमा जोड दिँदैं प्रतियोगितामा सहभागीहरुलाई स्वस्थ र स्वच्छ प्रतिष्पर्धामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरुले अनुशासित भएर प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलमा जित हार स्वभाविक भएको बताउँदैं हार जित जे भएपनि सहर्ष स्विकार गरी थप मेहनतका साथ अझ ठूलो प्रतियोगिताको लागि तयारी गर्नुपर्ने सुझाव दिनुभयो ।


यसैगरी उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रको विकासका लागि वडा लिग फुटबल, विद्यालयस्तरीय फुटबल प्रतियोगिता लगायत विभिन्न खेलका प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको बताउनुभयो । उपप्रमुख श्रेष्ठले नगरपालिकाले खेल मैदान र खेल क्षेत्रको भौतिक पूर्वाधार विकासमा पनि महत्वका साथ योजना निर्माण गरी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले फागुनको दोस्रो साताभित्र जिल्लाका चार वटै पालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुलाई एकआपसमा प्रतिष्पर्धा भएता पनि खेल क्षेत्रको विकासका लागि एउटै मञ्चमा उभिन आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा आस्था महिला विद्यालयका छात्राहरुले नृत्य, चन्द्र सूर्य तेक्वान्दो डोजाङ्गले तेक्वान्दोको प्रदर्शन खेल, उसुको प्रदर्शन प्रस्तुत गरिएको थियो । साथै सहभागी विद्यालयहरुबीच मार्चपासको प्रतिष्पर्धा पनि गराईएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *