राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा

भक्तपुर, माघ ७
नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने भएको छ । महासंघका प्रवक्ता राजु ताम्राकारले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतियोगिता हेटौंडामा हुने जानकारी दिए ।
महासंघले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न संयोजकको जिम्मा महासचिव धरम बहादुर लामालाई प्रदान गरिएको छ । प्रतियोगितामा दुबै विधा तर्फ नै पूर्व निर्धारित फम्र्याट अनुसार सिनियर नेशनल च्याम्पियनका शिर्ष ३ खेलाडी र नेशनल बी वाट छनौट भएका उत्कृष्ट ९ खेलाडी बिच जम्मा ११ चरणको खेल प्रतिस्पर्धा हुनेछ ।
जसमा पुरुषतर्फ नेपाल च्याम्पियन, दोश्रो अनि तेस्रो राजन सुवेदी, शुश्रुत दहाल, क्षितिज भण्डारी सहित नेशनल बी वाट छनौट भएका पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन् ।
यसैगरी महिलातर्फ नेशनल वोमन शीर्ष तिन सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी सहित बिनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरि, शान्ति धिमाल, दानिशा पुरी, शुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जन बिच स्पर्धा हुने भएको छ ।
महासंघको सचिवालय बैठकले राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनका लागि समन्वय विभाग प्रमुख सुशील चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ । यस्तै मकवानपुर जिल्ला बुद्धिचाल संघलाई स्थानीय व्यवस्थापनको जिम्मेदारी दिएको छ ।
यस्तै राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गरिएको छ भने फिडे आर्विटर सरोज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टिम रहने भएको छ ।
महासंघले २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित खर्च २४ लाख ५० हजार हुने समेत अवगत गराएको छ । बागमती खेलकुद विकास परिषद् तथा स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुने उक्त प्रतियोगिताका विजेता खेलाडीलाई आगामी वर्ष काजकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *