भक्तपुरमा माघे संक्रान्तीको अवसरमा सम्यक महादान पर्व मनाउँदै

लक्ष्मी गारु, भक्तपुर, माघ १
भक्तपुरका बौद्ध समूदायले आज माघे संक्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन । नेवार समूदायमा हाम्ह सँलु अर्थात तिल संक्रान्तिको रुपमा परिचित माघे संक्रान्तिमाहरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्वीहरुले ऐतिहासिक एवं साँस्कृतिक रुपले वडो हर्षउल्लासका साथ मनाइने एक मौलिक पर्व हो ।
दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दिपंकर बुद्ध, विभिन्न बिहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकांक्षा पुरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो ।
सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकिर्ति महाविहार (थथुवहि) दुधपाती र बौद्ध समकृत विहार भार्वाचो गरी पाँच दीपंकर बुद्धहरु एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्ति महाविहार (थिमि)का उपाध्याय गुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई भक्तपुर जयकिर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात दुधपाटीस्थित नःपुखु परिसरमा जम्मा गरिन्छ ।
सम्यक महादानमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको छ । यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । संगै क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यससँगै लामवद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहेको छ ।

सम्यक महादानमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरुका साथै फलफुल र मिठाई दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ ।
विशेष गरी सम्यक महादान पर्वमा गेडा मास, मासको दाल, रातो मास, गेडा मुगी, केराउ, सेतो भटमास, मस्याङ, बोडी, गहत लगायत २५ थरीको गडागुडीको परिकार दान गरिन्छ । बेठी, मेठी, लत्तेको साग, पिँडालु, लप्सी, रायोको साग, मटरकोसालगायतका तरकारी दान गरिन्छ । यसैगरी मिठाईमा लड्डु, पुरी, घिउचाकु, पंच पकुवान, चटामरी, मासको बारा, फुलफुलमा अमला, देलचा, बल, सतबेल, चयपि, खयपि र उखु दान गरिन्छ भने दुध, दही र भाइमसला पनि दान गरिन्छ ।
त्यस्तै सम्यक महादानमा सहभागी गृहस्थ भिक्षुहरु बज्राचार्य र शाक्य वर्गहरुलाई धान चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य भन्टेहरुलाई भोजन, अन्न र दक्षिणा दान गरी भब्य रुपमा मनाउँदै आएको स्थानीय बुद्धरत्न शाक्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दिपंकर बुद्धलाई ठुलो ठालमा भोजन चढाइ साथमा एक पाठी सरुवा चामल चढाइन्छ । त्यसपछि स्थानीयहरुले गच्छे अनुसार दिपंकर बुद्ध, सम्यक देवता, तथागत लगायतलाई धान, चामल, गहुँ, केराउ, मास, भटमास लगायतका गेडागुडी, तीलको खीर, विस्कुट, विभिन्न थरीका मिठाई, मौसम अनुसारको फलफुल, सख्खर, घिउ तिल मुछेर बनाएको लडडु, सागपात, र दक्षिण आदि चढाइन्छ ।”
यसरी सम्यक महादान गर्दा दिपंकर बुद्ध लगायत सम्यक देवताहरुको विधिवत पुजापाठ गरी सकेपछि स्थानिय धर्मगुरु थपाजुलाई पनि सम्यकदान दिने परम्परा छ । त्यसपछि मात्र बौद्ध धर्मालम्बीहरुको पुरोहित, बजाचार्य, शाक्यवर्गलाई सम्यकदान दिइन्छ । यसरी दान गर्दा स्थानीय भक्तजनहरु क्रमश लामबद्ध भएर दिइने परम्परा रहेको छ । यसरी सम्यकदान दिँदा मनोवान्चित फल पाउने धार्मिक विश्वास रहेको छ ।
सम्यक दानपर्व बुद्धको पालादेखी चल्दै आएको विश्वास रहेता पनि ऐतिहासिक प्रमाणको रुपमा लिच्छवीकालिन धार्मिक राजा वृषदेवको पालामा शुरु भएको हो । काठमाण्डौं उपत्यकामा साँंस्कृतिक सम्यक दान पर्व नियमित र ऐच्छिक रुपमा चल्दै आएको छ । काठमाण्डौमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भुमा र ललितपुरमा ५ वर्षमा एकपटक नागवहालमा सम्यक महादान पर्व मनाईन्छ । भक्तपुरमा प्रत्येक वर्ष माघे संक्रान्तीको दिन यो साँंस्कृतिक पर्व मनाउँदै आएको छ ।
भक्तपुरमा सम्यक महादान पर्व नेपाल संवत ७८७ मा शुरु भएको ईतिहास पाईन्छ । भक्तपुर दरवार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित ईतिहास रहेको छ ।
उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाट नै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णाेद्वार गरी सोही वर्ष राजा जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको ईतिहास पनि रहेको छ । जयरत्नले सम्यक दानपर्व नियमित रुपमा वर्षेनी आयोजना गर्न करीव ३ सय ६० रोपनी जग्गाको आयस्ता ब्यवस्था गरिएको थियो । जयरत्न पछि वहाँका छोराहरु जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भब्य रुपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरिएको थियो ।
ने.सं.१०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपंकरहरु, सुवर्ण देवता सहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुरु, नाला, सांगा, थिमि आदि ठाउँमा रहेका दीपंकर तथागतहरु समेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिनुभयो ।
नियमित रुपमा सम्यक दानपर्वका लागि ब्यवस्था गरिएको ३ सय ६० रोपनी जग्गा मध्ये करिव २० रोपनीमात्र जग्गा बाँकी रहेको अध्यक्ष बज्राचायले बताउनुभयो । बाँकी जग्गा राणा प्रधानमन्त्री जङ्गबहादुरदेखी विभिन्न समयमा अधिकरण गरिएकोले सम्यक दान पर्व सञ्चालन हुने स्थान साँघुरिन्दै गएको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।
सम्यक दान पर्व सञ्चालन हुने भुईख्य क्षेत्रमा अधिकरण गरी सरकारले हाल भक्तपुर अस्पताल, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, जिल्ला हुलाक कार्यालय लगायत सरकारी निकायहरु छन ।
माघे संक्रान्तिको दिन मनाइने सम्यक महादान पनि भाद्र कृष्ण चर्तुथीमा मनाइने पञ्चदानकै रुपमा लिने स्थानीयहरु बताउँछन । पञ्चदान पर्वमा भक्तपुर नगरका सबै टोल टोलमा गई भुमीमा उब्जनी हुने पाँच किसिमका वस्तु दान दिन्छ भने सम्यक महादान पर्वमा भुईख्योमा आई भक्तजनले गच्छे अनुसारको दान दिन्छ ।
भक्तपुरमा पञ्चदान र सम्यक महादान पर्व बडो धुमधामका साथ मनाउँदै आएको छ । यसरी धुमधामका साथ चाडपर्व मनाउन स्थानीय नेवार समुदाय, बजाचार्य, शाक्य, मानन्धर आदि हुन । यो पर्व बौद्ध धर्मका अनुयायीहरुका साथै धार्मिक संहिष्णुता भएका हिंन्दु नेवारहरुको समेत उल्लासमय पर्वका रुपमा लिइन्छ ।
सम्यक दान गौतम बुद्धको पालादेखि चलि आएकाले लिनेदिने, भौतिकवादमा विश्वास गर्ने, आधुनिक र सभ्य भनाउँदाहरुलाई मानिसले एक अर्का प्रति दायामाया गर्नुपर्छ, दिनदुखी र असाहायलाई आवश्यक सहयोग गरी उद्दार भावना हुनु पर्ने सन्देश दिइन्छ ।
प्रत्येक वर्ष सम्यक संघ भोजन दान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछें खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *