धुमधामले मनाउँदैं यःमरी पुन्ही

भक्तपुर, मंसिर ३०
संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समूदायले आइतवार यःमरी पुन्ही धुमधामले मनाउँदैं छन । हेमन्त ऋतुमा पर्ने यो पर्वलाई मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमा तथा नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।
नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पक्वानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन । मार्ग शुक्ल पुर्णिमाको दिन मनाईने यःमरी पुन्ही पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।
“यसपर्वमा विशेषगरी चामलको पिठोबाट बनाईने स्वादिष्ट पकवान यःमरी खाने र पुर्णिमाको दिन मनाईने भएकाले यसपर्वको नाम यःमरी पुन्ही रहन गएको हो,” सँस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भन्नुभयो । कृषि कर्म गर्नेहरुका लागि मार्ग शुक्ल पुर्णिमा ठूलो पर्व हो । यसदिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन । त्यस्तै उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समूदायले पनि यसदिनलाई ठूलो दिनको रुपमा कुल पुजा, देवाली पुजा गर्ने प्रचलन रहेको छ ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।
नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाईन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।
धानका भकारी लगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रही आएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।


यःमरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।
अचेल युवापुस्ताहरुले यःमरी माग्न भने जान छाडेका छन । युवावर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदैं जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदैं गएको सँस्कृतिकर्मीहरु बताउँछन ।
यःमरी नयाँ धानको चामलको पिठोबाट बनाईन्छ । चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ ।
त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोली खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामाग्री राख्ने प्रचलन पनि रहेको छ ।
यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले यःमरी पकाईन्छ । करिव ५ मिनेट जति वफाएपछि यःमरी तयार हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *