र्यापिड रेटिङ्ग बुद्धिचालमा पाँच खेलाडीको संयुक्त अग्रता

भक्तपुर, मंसिर १४
शंखरापुर युथ क्लबको आयोजनामा सञ्चालन भएको तेश्रो राष्ट्रब्यापी खुल्ला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता अन्तर्गत चार चरणको खेल हुँदा ५ जना राष्ट्रिय खेलाडीहरुले संयुक्त रुपमा अग्रता लिएका छन् ।
सन गार्डेन व्यांक्वेट, मेलम्ची रोड शांखुमा आज सम्पन्न सबै खेलमा जीत दर्ता गर्दै काठमाण्डौंका सुमन लामा, सर्लाहीका कमल श्रेष्ठ, झापाका मिशन दाहाल, भक्तपुरका दामोदर गाँइजू र काठमाण्डौंका सुरज सिंहले समान ४ अंक बटुल्दै संयुक्तरुपमा अग्रता लिएका हुन ।
चौथो चरणको खेलमा सुमनले हर्क बहादुर सांम्पाङ, कमलले जसवीर सेन्धन लिम्वु, मिसनले गोपालकृष्ण श्रेष्ठलाई पन्छाउन सफल भए । यसैगरी दामोदरले शिर्ष खेलाडी जनार्दन श्रेष्ठलाई निरास पारे भने सुरजले भगवती प्रसाद शर्मा माथि जीत निकाले ।
यस्तै प्रतिस्पर्धामा बनेपाका शैलेन्द्र न्यौपाने र शांखुका रमेशवीर मालीद्वयले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगट्न सफल भएका छन् । रमेशवीरले चौथो चरणको खेलमा समयक श्रेष्ठलाई पराजित गरे ।


कडा खेलका बिच ललितपुरका रत्न ब्यञ्जनकार, काठमाण्डौका जनार्दन श्रेष्ठ, हर्क साम्पाङ, काभ्रेका एक्स मार्सल, काठमाण्डौ सुशन गौतम, गोविन्द प्रसाद पौडेल, भक्तपुरका बृजेश रंजितकार सहित २४ जना खेलाडीले समान ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर रोशन नापितले गरेका थिए । शंखरापुर युवा क्लबका अध्यक्ष कृष्णभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा उप मेयर समिता श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, संयोजक कुमार महर्जन, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजूले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।
दुई दिने प्रतियोगितामा १९०० रेटिङ्ग मुनिका ४० जिल्लावाट १०४ जना खेलाडीहरुको सहभागीता रहेको छ । जस मध्ये २० जना खेलाडीले कूल १ लाख २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *