स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिलको पहिरो नियन्त्रण भएन

भक्तपुर, कार्तिक २८
स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिलको पहिरो नियन्त्रण तथा बाटो बन्न सकेको छैन ।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरका सडक बिस्तार तथा बाधा व्यवधानका विषयमा छलफलका लागि गएको टोलीलाई सडक डिभिजन कार्यालय भक्तपुरले स्थानीय बासिन्दा र कार्यालय तथा ठेकेदारको विवादका कारण खड्का डिलको पहिरो नियन्त्रण हुन नसकेको बताएको हो ।
भक्तपुर क्षेत्र नम्बर १ क मा रहेका बाटोहरू निर्माण तथा मर्मत सम्भारको विषयमा बारम्बार कुरा उठ्न थालेपछि श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले विभिन्न बाटोहरूको विषयमा सडक डिभिजन कार्यालय भक्तपुरलाई जानकारी गराउँदै बाटो बन्न ढिला सुस्तीको विषयमा ध्यानाकर्षण गराएको थियो ।
सडक डिभिजन कार्यालय अन्तर्गत पर्ने प्रस्तावित वीर अस्पताल सडक, भत्केपाटी नगरकोट सडक लगायतका सडकको विषयमा उहाँहरूले जानकारी तथा निर्माणमा ढिलाइको विषयमा कार्यालयलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
सोही क्रममा सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले प्रस्तावित वीर अस्पताल सडक अन्तर्गत दुवाकोट खड्का डिलमा भने स्थानीय बासिन्दा र सडक डिभिजनको कुरा मिल्न नसक्दा पहिरो नियन्त्रण तथा बाटो निर्माणमा ढिलाइ भएको जानकारी दिनुभएको थियो ।
“पहिरो ठुलो छ । स्टेप स्टेप गरी नबनाई हुँदैन तर स्थानीयले प्लम बाल लगाउन पाए हुने थियो भन्ने विवादका कारण नै उक्त स्थानमा बजेट फिर्ता जान लागी सक्दा पनि काम गर्न नसकेको हो,” उहाँले भन्नुभयो । उहाँले बरु जनप्रतिनिधि तथा स्थानीयले त्यहाँको विवाद समाधान गरिदिएका खण्डमा एक साता भित्र नै काम शुरु गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।
टोलीमा प्रदेश सभा सदस्य श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सचिव तथा पूर्व वडा अध्यक्ष राजेश खड्का, चाँगुनारायण नगर सभापति तथा पूर्व वडा अध्यक्ष शिवहरि केसी, चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की, वडा सभापतिहरू नरेन्द्र श्रेष्ठ र रिगेन कार्की लगायत चाँगुनारायणका स्थानीयको सहभागिता रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *