कथिन दानोत्सवको दोश्रो दिन मणिमण्डप, कुटि विहार लगायत ११ स्थानका विहारहरुमा कथिन चीवर दान सम्पन्न

सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
कथिन चीवर दानको दोश्रो दिन आज ललितपुरको मणिमण्डप महाविहार, काठमाण्डौको कुटी विहारलगायत अन्य विहारहरुमा दाताहरुले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका छन् ।
अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष एवं मणिमण्डप महाविहारका विहारप्रमुख अग्गमहासद्धम्मजोतिकधज भिक्षु शीलभद्र महास्थविर र भिक्षु गवेसको विनयपूर्वक ३ महिना वर्षावास बस्नुभई पूर्ण गर्नुभएको उपलक्ष्यमा उपासिका नूतन बज्राचार्य, निशा शाक्य बज्राचार्य, शोभा शाक्य परिवारले भिक्षु महासंघलाई कथिन चीवर दान गर्नुभएको छ ।


ललितपुरको पट्कोस्थित उक्त विहारमा आज बिहान सम्पन्न सो कथिनोत्सवमा यसको महत्व एवं उद्देश्यबारे प्रकाश पार्नुहुँदै भिक्षु संकिच्च महास्थविरले महाअष्टकुशल पुण्यकार्य मध्ये पहिलो एवं श्रेष्ठ पुण्य कथिन पुण्यकार्य रहेको र यसबाट प्राप्त फल आनन्तरे कर्मबाहेक अन्य कुनैपनि कर्म वा शक्तिद्वारा रोक्न–छेक्न नसक्ने धर्मदेशना दिनुभयो ।
कथिनको अर्थ एकदमै दरिलो, एकदमै बलियो एकदमै शक्तिशाली भएको बताउनुहुँदै उहाँले विनयलंकार टिकामा उल्लेख गरिए अनुसार कथिनको तीन प्रकारको अर्थ रहेको जसमा यसबाट प्राप्त हुने फल स्थिर हुने भन्नुभयो । साथै यसबाट पाँचवटा आनिशंस फल प्राप्त हुने बताउनुभयो ।
भिक्षु शीलभद्र महास्थविरले उपस्थित उपासकोपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभई शुरु भएको उक्त उत्सवमा भिक्षु भद्दिय महास्थविरले सामूहिक बुद्धपुजा गराउनुभएको थियो । अ.ने भि. महासंघका अध्यक्ष फ्राखु बिसाल धम्मसोभन महास्थविरले कथिन चीवर दानको वाक्य वाचन गराउनुभएपछि दाता परिवारले भिक्षु महासंघलाई चीवर दान गरेका थिए । उहाँले नै अष्ट परिष्कारको पनि वाक्य वाचन गराउनुभएपछि दाताले अष्ट परिष्कार दान गनुभएको थियो ।

साथै आजै दिउँसो काठमाण्डौको कोटेश्वरस्थित कुटी विहारमा भिक्षु रेवतो वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा कथिन दाता रमिता शाक्य, रत्नशोभा शाक्य र रोशनी शाक्यले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका थिए ।
सो अवसरमा धर्मदेशना दिनुहुँदै भिक्षु कोण्डन्य महास्थविरले वर्षावासको इतिहास तथा कथिन चीवर दान शुरु भएको बुद्धकालिन घट्ना उल्लेख गर्नुहुँदै एकचोटी कथिन दान गरेका फलस्वरुप ३० महाकल्पसम्म पनि नरकीय लोकमा दुःख भोग्न नपरेको कुरा नागित भन्तेले भगवान बुद्धलाई बताउनुभएको कुरा सुनाउनुभयो ।
सो कार्यक्रममा भिक्षु सुमेध महास्थविरले कथिनदानको वाक्य वाचन गराउनुभएपछि दाताहरुले भिक्षु महासंघलाई कथिन चीवर दान गरेका थिए भने अ.ने.भि. महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले अष्टपरिष्कारको वाक्य वाचन गराउनुभएपछि दाताहरुले भिक्षु महासंघलाई अष्टपरिष्कार दान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *