नेवार समूदायले मनाए बली पुजासहित ‘स्याक्वट्याक्व’

भक्तपुर, असोज २५
कला र संस्कृतिका धनी नेवार समूदायले आज (शुक्रवार) महानवमीको अवसरमा मोहनी नखःको स्याक्वट्याक्व मनाएका छन । मोहनी नखः नेवार समूदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । यो पर्वको मूख्य दिन आज नेवार समूदायले बलीसहित अस्त्रशस्त्र, ज्यावल, सवारी साधन र मेशनरी सामानको पुजा गरी शक्तिको आराधना गर्दै स्याक्वट्याक्व मनाएका हुन ।
यस अवसरमा आज बिहानैदेखी भक्तपुरका विभिन्न धार्मिक तिर्थस्थल, शक्तिपिठ र टोलटोलका मठमन्दिरहरुमा भक्तजनको भिड लागेको थियो ।
कौलाथ्व पारु अर्थात आश्विन शुक्ल प्रतिपदाको दिन नलास्वाँ (जमरा) राखेपछि शुरु हुने मोहनी नखःको महत्वपूर्ण र प्रमुख दिन हो महानवमी अर्थात स्याक्वट्याक्व । स्याक्वट्याक्व मनाउनु अघि महाअष्टमीको रातीलाई कालरात्रीको रुपमा मनाएका थिए । यस अवसरमा शक्तिपिठहरुमा बली पुजा गरेका थिए ।


यसवर्ष पञ्चाङ्गको पात्रो अनुसार महाअष्टमी र महानवमी आज एकै दिन परेको थियो । तर नेवार समूदायले महाअष्टमीको दिन बिहान दशैंको मासु भित्र्याई साँभल कुछि भ्वय् खानुपर्ने, राती कालरात्री मनाउनुका साथै महानवमीको दिन बलीसहितको पुजा गरी स्वाक्वट्याक्व मनाउनु पर्ने भएकाले भक्तपुरमा एक दिन अगाडि अर्थात हिजो नै महाअष्टमी बनाएका थिए ।
कालरात्रीमा शक्तिपिठहरुमा राँगा, हाँस, कुखुरा, बोकालगायतका पशुपन्छीहरुको बली दिएर भगवतीको आराधना गरेपछि घरघरमा स्याक्वट्याक्वको रुपमा मोहनी नखः मनाउने प्रचलन रहेको छ । जसअनुसार नेवार समूदायले यसदिन बिहानै गणेशको पुजाबाट मोहनी नखःको पुजा शुरु गर्ने प्रचलन रहेको छ ।


त्यसपछि आफ्ना ईष्टदेव, टोलछिमेकका विभिन्न देवीदेवताहरुको पुजा सम्पन्न गरेपछि घरघरमा भिमसेन, नवदुर्गा भगवती, ज्यावल, अस्त्रशस्त्र, औजार, मेसिन, सवारीसाधनमा पुजा गरी बली दिईन्छ । ज्यावल, अस्त्रशस्त्र, औजार, मेसिन, सवारीसाधनमा पुजा गरी बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ ।
यसरी पुजा गर्नेक्रममा एक विशेष प्रकारको कालो टिकाको रुपमा मोहनी राख्ने गरिन्छ । तान्त्रिक विधिद्धारा पुजा गरी तयार गर्ने मोहनी सिन्ह (टिका)कै कारण यसपर्वलाई मोहनी नखः भनिएको सँस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।
मोहनी नखःमा नेवार समूदायले विशेष खालको कालो टिका तयार गर्दछन । यही टिकालाई मोहनी भनिन्छ । दशैंमा तान्त्रिक विधिद्धारा पुजा गरी सली (माटोको सानो भाँडो)मा मोहनी तयार गरिन्छ । मोहनी तयार गर्न विशेष खालको भाँडोमा तेल हालेर दियो बालिन्छ, त्यस दियो माथी सली घोप्टो पारेर राखिन्छ । सली माथी पुजा गरिन्छ । यसरी सलीको भित्रि भागमा दियोको ध्वाँसो जम्मा गरेर तयार गरिने टिका नै मोहनी सिन्ह हो । यस टिकालाई पहिले तान्त्रिक विधिबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धी प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।
“सली (माटाका सानो प्याला) दियोको ध्वाँसो जम्मा गरेर तयार पारिएको एक प्रकारको टीकालाई नेपाल भाषामा मोहनी सिन्ह भनिन्छ । मोहनी सिन्ह अरू पूजामा पनि तयार पार्ने गरिएको छ,” सँस्कृतिकर्मी धौभडेलले भन्नुभयो ।


मोहनी सिन्ह अत्यन्तै महत्वपूर्ण भएकाले नेवार समुदायमा निधारमा लगाउँदा रातो र पहेँलो टीकाभन्दा माथि लगाउने चलन छ । यो टीका लगाउँदा अञ्जन सिद्धि प्राप्त हुने, भुतप्रेत, पिचासले छुन नसक्ने र शत्रु नाश हुने विश्वास छ । मोहनी सिन्हनै वास्तवमा शक्तिको प्रतीक हो ।
मोहनी नखःमा नेवार समूदायले विशेषगरी तुलजा भवानीको पुजा गरिन्छ । चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंह देव मुसलमानहरुको आक्रमण झेल्न नसकेपछि भागेर नेपाल मण्डल प्रवेश गरे । उनले आफ्ना इष्टदेवी तुलजा भवानीलाई पनि साथै ल्याए । उनले ती तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ । यही तुलजाको अपभ्रंश भई तलेजु नाम रहन गएको हो । भक्तपुरपछि क्रमशः काठमाण्डौँ, पाटन र कीर्तिपुरका प्राचीन राजदरबारभित्र तलेजुका भव्य मन्दिर निर्माण गरिएका छन् ।
मोहनी नखःको सम्बन्ध अर्को ठूलो पर्व स्वन्ती नखः (तिहार)सँग पनि रहेको छ । मोहनी नखःको दिन नवदुर्गा भवानीलाई चढाएको बली दिइएको पशुपन्छीको एक टुक्रा मासु लक्ष्मीको भाग भनी अलग्गै छुट्याइएको हुन्छ । त्यो मासुको टुक्रालाई खंला भनिन्छ । लक्ष्मीपूजाका दिन त्यही खंला चढाएर लक्ष्मीको पूजा गरिन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *