बडादशैंको तिथि विवाद – भक्तपुरमा २३ गते फुलपाती

भक्तपुर, असोज २१
बडादशैंको सातौं दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन मनाईने फुलपाती पर्व भक्तपुरमा असोज २३ गते मनाईने भएको छ । पञ्चाङ्गको पात्रो अनुसार असोज २४ गते फुलपाती मनाईने उल्लेख भएतापनि भक्तपुरमा एक दिन अघि नै फुलपाती मनाईन लागेको हो ।
कुनै चाडपर्व मनाउने क्रममा तिथिमिति विवाद उत्पन्न भए भक्तपुरमा तलेजुका मूल पुजारी र आचाजुहरुको निर्णय अनुसार चाडपर्व मनाउने परम्परा रहेको छ । सो अनुसार यसवर्ष असोज २५ गते शुक्रवार एकै दिन महाअष्टमी र महानवमी दुई वटा पर्व मनाउनु पर्ने तिथि परेकोले सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका मूलपुजारी र सरोकारवालाहरुको बैठक बसी असोज २३ गते नै फुलपाती मनाउने निर्णय गरेको हो ।
बैठकले २०८१ आश्विन २३ गते बुधबार विहान ७ः३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुँदा सोही दिन फुलपाती मनाउने, आश्विन २४ गते बिहीबार विहान ७ः२७ बजेदेखि अष्टमी तिथि लाग्ने हुँदा अष्टमी पूजा गरी कुछि (कुलछि) भोय् गर्ने, आश्विन २५ गते शुक्रबार विहान ६ः५२ बजेदेखि नवमी तिथि लाग्ने हुँदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँःपूजा) गर्ने र आश्विन २६ गते शनिबार चालँ (विजया दशमी) पूजा गर्ने निर्णय गरेको हो
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, तलेजुका पुजारीहरू प्रजेश राज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।
सोही क्रममा भक्तपुर नगरपालिकाले स्थानीय पुजारीहरुको सल्लाहअनुसार असोज २३ गते फूलपाती मनाउने निर्णय भएको हुँदा उक्त दिन भक्तपुर नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


यसैबीच मध्यपुर थिमिमा पनि असोज २३ गते फुलपाती मनाउन आग्रह गरिएको छ । थिमिको लाय्कूस्थित तलेजुमा नायो पमा श्यामकृष्ण श्रेष्ठले बडादशैंको तिथि गणना अनुसार २३ गते नै फुपाती मनाउन आग्रह गर्नुभएको हो ।
उहाँले पनि असोज २४ गते महाअष्टमी, २५ गते महानवमी र २६ गते विजयादशमी मनाउन आग्रह गर्नुभएको हो ।
यस्तै मध्यपुर थिमिको बोदेस्थित लाय्कूका नायो पमा माइला भासिंकले पनि असोज २३ गते फुलपाती, असोज २४ गते महाअष्टमी, २५ गते महानवमी र २६ गते विजयादशमी मनाउन आग्रह गर्नुभएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *