ईंटाभट्टाको खाल्डोमा १० वर्ष बालक मृत फेला

भक्तपुर, असार ५
चाँगुनारायण नगरपालिका–९ ताथलीमा शुक्रवार हराएका १० वर्षे बालक शनिवार मृत फेला परेको छ । स्थानीय राजु मछेका १० वर्षिय छोरा रोजन मछे हराएको २४ घण्टापछि घर नजिकै रहेको ईंटाभट्टाको खाल्डोमा मृत फेला परेको हो ।
रोजन शुक्रवार बिहान ११ बजे हराएका थिए । खाना खाई बाहिर निस्केका उनी केही समयसम्म घर नफर्केपछि अभिभावकले खोजी गरेका थिए । रोजन जान सक्ने सम्भावित स्थानमा र उनका साथीहरु कहाँ समेत खोजी गर्दा नभेटिएपछि अभिभावकले प्रहरीलाई मौखिक जानकारी दिएका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा शनिवार मध्यान्ह रोजनको घर नजिकै रहेको सेतो बि.एम ईट्टा भट्टाको कम्पाउण्डमा रहेको पानी जमेको खाल्डोमा बाँस भित्र छिराई पोखरीको पानी हल्लाउँदा रोजन मृत अवस्थामा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
बाँसले खाल्डोको पानी चलाएपछि शव पानीमा तैरिएको प्रनाउ गिरीले बताउनुभयो । घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरिक्षक सुर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान टोली खटिएको र शव पोष्टमार्तमका लागि के एम सी अस्पताल दुवकोट पठाएको प्रनाउ गिरीले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *